रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र | Khabarhub Khabarhub

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मस्कोमा नेपाली नै लुट्न बसेका रहेछन्, दूताबासले सक्दिनँ भन्यो


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४ वर्षको भएँ । म गत कात्तिक १५ मा रुसी सेनामा भर्ना हुन गएको थिएँ । चैत ११ गते घाइते अवस्थामा नेपाल आइपुगेँ । अहिले रत्नपार्क शान्तिबाटिकामा साथीहरुसँगै धर्नामा बसेको छु ।

नेपालबाट युएईको शारजाहको ट्रान्जिट हुँदै म रुस पुगेको हुँ । जाँदा–आउँदा १२ लाख रुपैयाँ खर्च भयो । मजस्तै सबैले ऋण काढेर गएका हुन् । अब मैले त्यो १२ लाख कसरी तिर्ने ? नेपाल सरकारले राहतका लागि पहल गर्दिनुप¥यो भन्ने हामी धर्नामा बसेकाहरुको माग छ ।

रुस जानुअघि म हुँदा घर बनाउने काम गर्थेँ । रुसी सेनामा भर्ना भएर पैसा कमाइन्छ भन्ने मैले टिकटकमा देखेँ । रोल्पाबाट केही साथीहरु पनि गएका थिए । तिनीहरुले ठिकै छ, कमाइ राम्रै छ भने । त्यसपछि थप केही नबुझी एकजना एजेण्ट समाएर म गएँ ।

रुस जानुअघि एजेण्टले हामीलाई सेनामा भर्ना हुने हो तर फ्रन्टलाइन होइन भनेका थिए । रसियन सेनाले कब्जा गरेको ठाउँहरुको रेखदेख गर्ने, सुरक्षा गर्ने भनिएको थियो । तर, फ्रन्टलाइनमा बसेर लड्नुपर्ने रहेछ ।

मस्को ओर्लेपछि एयरपोर्टबाट एजेण्टले आफनै् कोठामा लगे । अर्को दिन पिटरबक्स भन्ने भर्ति गर्ने ठाउँमा लगे । त्यहाँ राजु घर्तिमगर म थियौं । हाम्रो पासपोर्ट लिए । केही फर्म भर्न लगाए । बैंक खाता खोलिदिए । त्यही रात हामीलाई बालाशिखा हेडक्वार्टरमा लगे ।

त्यहाँ सामान्य मेडिकल जाँच गर्ने रहेछन् । १२ दिनको सामान्य तालिम हुने रहेछ । डमी हतियार हुन्छ, त्यसमार्फत सिकाइने रहेछ । त्यसपछि रुस्तोब भन्ने ठाउँमा लगेर फायरिङ सिकाए । आर्मीको युनिफर्म सबै त्यहीँ दिएका थिए ।

त्यसपछि हामीलाई युक्रेनतिरको भूभागमा पठाए । त्यहाँ पनि १५ दिनको तालिम भयो । खाल्टोमा लुक्ने, घर कब्जा गर्ने, भित्र ग्रिनेटहरु हाल्ने, दुश्मन अगाडि कसरी लुक्ने र जोगिने भन्ने लगायत सिकाइयो ।
त्यहाँबाट हामीलाई डोनेक्स भन्ने ठाउँमा लगे । त्यहाँ २६ दिन बस्यौं । एउटै घरमा लुक्ने । भित्र–बाहिर गर्न पाइँदैनथ्यो । शौचालय जाँदा–आउँदा पनि खुर्र कुद्नुपर्थ्र्यो ।

त्यहाँ ३० जना टोलीलाई लिएर फेरि हप्ता दिन तालिम गरायो । नेपाली, रसियन, तुर्किस्तानका सैनिक धेरै थिए ।

हामीलाई डानेक्स भन्दा २५ किलोमिटर अगाडि लगियो । चार फिटको गोलाइ भएको टनेलभित्र छिरियो । त्यहाँबाट १२ फिटमाथि निस्केर लडाइँ लड्नुपर्ने थियो । हरेक टिममा २५ देखि ३० जना हुन्थे । हामी भन्दा अगाडि चारवटा टिम पठाइसकेको थियो ।

साढे ६ बजे पाइपबाट निस्कनेबित्तिकै त्यो एरिया घेराऊ गर्दागर्दै फायरिङ सुरु भयो । १८ तारिखको दिन थियो । हाम्रो डिपार्टमा १० वटा बंकर परेका थिए । चारवटा बंकर कब्जा गर्ने बित्तिकै मलाई गोली लाग्यो र ढलिहालेँ ।

दायाँ हातको पाखुरामा गोली लाग्यो । म ढलेपछि पनि साथीहरु निरन्तर लडिरहेका थिए । त्यहाँ दुश्मनहरु धेरै मरे । हातहतियारमा धेरै जफत भयो । २२ जना हाम्रा साथीहरु पनि मरे ।
मेरो टिमका म लगायत चार नेपाली घाइते भयौं । त्यहाँ हामी सातजना नेपाली थियौं ।

मैले अस्पतालबाट मस्कोस्थित नेपाली दूताबासमा सम्पर्क गरें । दूताबासले तपाईहरुले एक वर्षको कन्ट्रयाक्ट गरेको छ, आर्मीको नियमलाई हामीले केही गर्न सक्दैनौं, हामी उद्धार गर्न सक्दैनौं भन्ने जवाफ दियो   

धेरै रगत बगेर म नाजुक भएको थिएँ । घाइते भएपछि कमाण्डरले ब्याक हुन भने । जबरजस्ती घिर्सिँदै जहाँबाट माथि निस्किएको हो त्यहीँ टनेलमा छिर्नुपर्ने थियो । त्यतिमाथिबाट झर्न सकिनँ । रगत कम हुँदै गएपछि मेरो दिमागले काम गर्न सकिरहेको थिएन ।

खुट्टा नै लागेन । लगलग कामेँछु । सास फेर्न सकिरहेको थिइनँ । तर, झट्ट के याद आयो भने तल पुगे भने रसियन सेनाले उद्धार गरेर अस्पताल पुर्याउँछ । तल चाहिँ जसरी पनि पुग्नुपर्छ ।
खुट्टाले झर्न नसकेपछि टाउको छल पारेर हामफालेँ । घाटीको हड्डी भाँचिए भाँचियोस् तर अस्पताल पुग्न पाए बाँच्ने थिएँ भन्ने लाग्यो ।

रेस्क्यु टिमले मलाई समायो र भित्र तान्यो । त्यहाँ घाइतेलाई हिलोमाथि राखिन्थ्यो । मलाई पनि त्यसैगरी राखे ।

१०ः१५ मा गोली लागेको मान्छे, लगभग ६ बजे मात्रै रेस्क्यु टिममा पुग्न सकेँ । रगत रोक्ने केही उपाय नभएपछि मर्छु नै भन्ने लागेको थियो । नेपाली भाइहरु दाबा लामा र महेन्द्र भाइले सात किलोमिटर जति बोकेर उद्धार गरे । उनीहरु नभएको भए सायद त्यही युद्धभुमिमा मर्नुपर्ने थियो ।

एक ठाउँमा उपचार सुरु त भयो तर त्यहाँ नहुने भएपछि रिफर गरे । एम्बुलेन्सबाट रसिया ल्यायो । दुई महिना अस्पताल बसेँ । केही सन्चो भएपछि फेरि युनिटमा फर्किने भनेपछि भाग्नुपर्छ भन्ने लाग्यो ।
एकपटक भाग्यले बचाँएर ल्याएको छ । अब फेरि गएँ भने जिउँदो फर्कन्न भन्ने लाग्यो र भाग्ने सोचेँ ।
तर, भाग्न त्यति सजिलो थिएन ।

आर्मीले थेरापीका लागि भल्गगराद सिभिल अस्पतालमा राखेको थियो । मैले अस्पतालबाट मस्कोस्थित नेपाली दूताबासमा सम्पर्क गरें । म यहाँ छु, घाइते छु, मलाई यहाँको व्यवहार मन परेन, उद्धार गर्दिनु, यहाँ बस्न मन छैन भनेँ ।

दूताबाससम्म कसरी आउने त ? भनेर सोधे । दूताबासले तपाईहरुले एक वर्षको कन्ट्रयाक्ट गरेको छ, आर्मीको नियमलाई हामीले केही गर्न सक्दैनौं । आर्मीको रुल यहाँको सरकारको रुल नै हो । हामी उद्धार गर्न सक्दैनौं भन्ने जवाफ दियो ।

अब दलालको फन्दामा परियो ।

नेपाली दलालहरुले ४ हजार डलर मागेका थिए तर मसँग पैसा थिएन । नेपालीले नेपालीलाई लुट्न बसेका रहेछन् । नेपालीहरु त्यति खराब त्यहाँ देखेँ । जिउँदो लासमाथि बार्गेनिङ गर्ने पनि नेपाली हुन्छन् ?

अस्पतालबाट ट्याक्सी चढेर बिहानको ११ बजे भागेँ । रातिको ३ बजे मस्को पुगेँ । ७५ हजार रसियन पैसा तिरेँ । नेपाली दलालहरुले ४ हजार डलर मागेका थिए तर मसँग पैसा थिएन । नेपालीले नेपालीलाई लुट्न बसेका रहेछन् । नेपालीहरु त्यति खराब त्यहाँ देखेँ । जिउँदो लासमाथि बार्गेनिङ गर्ने पनि नेपाली हुन्छन् ?

ती नेपालीहरुले बार्गेनिङ गरेको अडियो सुरक्षित राखेको थिएँ, पछि कता हरायो । त्यसपछि आफ्नै रिक्सले भागेँ ।

सोलुखुम्बुको भाइ पेम्बा शेर्पाको इन्स्युरेन्सको पैसा ३० लाख रहेछ । उसको खुट्टाको औंला भाँचिएको थियो । त्यही पैसाले हामी दुबैजना भाग्यौं ।

मसँग एक रुपैयाँ पनि थिएन । नेपाल आएपछि साथीको पैसा ऋण खोजेर तिरेँ । उसले पनि रगत बगाएर कमाएको पैसा थियो त्यो । उसले पैसा दिएर नै म नेपाल फर्किन पाएँ । उसको गुन म कहिले बिर्सन्नँ ।
मैले रसियामा रगत मात्र बगाएँ, एक रुपैयाँ ल्याउन पाइनँ । त्यत्रो खर्च गरेर गएँ, क्षतिपूर्ति, तलब, भत्ता केही पाएको छैन ।

रोजगारीका लागि अथवा भनौं पैसाका लागि गएको हो । युद्ध लड्न राष्ट्र प्रतिको भक्तिभाव आउनुपर्ने रहेछ । अर्काको देशका लागि लड्दा त्यो भाव आएन । किन आएन भने न त्यो देशको नागरिक, न त युद्धमा दुश्मन भनिएकाहरु हाम्रा दुश्मन नै थिए ।

हामी यता (रुस) को पनि मित्र होइन, उता (युक्रेन) को पनि दुश्मन होइन । लड्नका लागि प्रेरित गर्ने पैसा मात्रै थियो । पैसाले योद्धा बनाउन सक्दैन रहेछ । युद्धमा लड्ने योद्धा मन, विचार र आत्माले देशप्रति समर्पित हुन आवश्यक थियो तर, हामी वाग्नर (भाडाका सिपाही) थियौं

यता (रुस) को पनि मित्र होइन, उता (युक्रेन) को पनि दुश्मन होइन । लड्नका लागि प्रेरित गर्ने पैसा मात्रै थियो । तर, पैसाले योद्धा बनाउन सक्दैन रहेछ । युद्धमा लड्ने योद्धा मन, विचार र आत्माले देशप्रति समर्पित हुन आवश्यक थियो । तर, हामी वाग्नर (भाडाका सिपाही) थियौं । त्यो पनि एक वर्षको । समर्पण नहुँदा लडाइँ लड्न गाह्रो पर्यो । खान लाउन पुगेन, परिवार पाल्न पर्यो ।

रुसी सेनामा भर्ना भएका नेपालीहरुको अवस्था निकै नाजुक छ । हप्ता–दश दिनको छोटो तालिमपछि लडाइँमा पठाइन्छ । हतियार फिट गर्ने, चलाउन सक्ने भएपछि नै पठाइन्छ । उमेर, उचाइ र वजनको कुनै हदबन्दी छैन । त्यसकारण म ४४ वर्षको उमेरमा पनि भर्ना भएँ ।

घाइते मृतकहरुले पाउनुपर्ने रकम रसिया सरकारले सेनाको परिवारको नाममा वा जोइन्ट एकाउण्ट खोलेर जम्मा गर्दिनुपर्छ भन्ने मेरो माग छ । हर महिनाको तलब जम्मा हुनुपर्छ । यसो गर्ने हो भने सेनाको ज्यान गए पनि परिवारका लागि केही राहत त मिल्ने थियो ।

(खबरहबका लागि सीता न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : ५३ बजे

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

न्युयोर्क– परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा

काठमाडौं– आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर

मन्डेलासँगै गुमेको दक्षिण अफ्रिकी नागरिकको भरोसा

संसारका हरेक राजनीतिक परिवर्तन पक्कै केही आशा र अपेक्षाका साथ

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन– नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्