एमालेको राजनीतिमा आउलिन् विद्या भण्डारी ? | Khabarhub Khabarhub

एमालेको राजनीतिमा आउलिन् विद्या भण्डारी ?



काठमाडौं– नेकपा एमालेले गत बुधबार प्रज्ञा भवनमा राष्ट्रिय महिला भेला गर्‍यो । उक्त भेलाकी प्रमुख अतिथि थिइन् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । जुन कार्यक्रमलाई एमाले बृत्तमा भण्डारीको शक्ति प्रदर्शनका रुपमा पनि ब्याख्या गरियो । दुई कार्यकाल राष्ट्रपतिमा रहेर शीतल निवासबाट बिदा भएपछि एमालेको सार्वजनिक कार्यक्रममा भण्डारी पहिलो पटक प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख वक्ता बनाइएको थियो । एमालेका अरु सबै कार्यक्रममा ओली प्रमुख अतिथि हुन्थे । तर महिला भेलाका नाममा एमालेले त्यस दिन भण्डारीका लागि ‘रेड कार्पेट’ ओछ्यायो ।

कुनैबेला एमालेकी उपाध्यक्ष रहेकी भण्डारी र वर्तमान अध्यक्ष ओली उपस्थित भएको उक्त भेलामा सहभागीका कारण प्रज्ञा भवनको हल पूरै भरिएको थियो ।

यो भेलामा प्रमुख अतिथि बनेपछि भण्डारी अब एमालेको राजनीतिमा फर्किने धेरैले आकलन गरेका छन् । उनी आफैंले पनि राजनीतिमा फर्किने इच्छा जाहेर गरेको नेताहरू बताउँछन् । राजनीतिमै आउने अन्तिम निर्णय भने भइनसकेको उनीनिकट नेताहरू बताउँछन् ।

एमालेकै केही वरिष्ठ नेताहरू भने भण्डारीले पार्टीको सदस्यता पनि नवीकरण गरिसकेको बताउँछन् । तर यसबारे औपचारिक पुष्टि कसैले गरेका छैनन् । तर भण्डारीको सदस्या दुई महिनाअघि नै नवीकरण भइसकेको स्रोतले जनाएको छ ।

भण्डारी एमालेको राजनीतिमा फर्किन तयार रहेको चर्चाबीच महिला भेलाको प्रमुख अतिथि बनाउन दिएर अध्यक्ष ओलीले पनि हरियो झण्डा देखाएको विश्लेषण गरिएको छ ।

उक्त भेला आयोजनाको नेतृत्व लिएका एमाले जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल नेपालको महिला आन्दोलनमा भण्डारीको भूमिका र पार्टीको एक महत्वपूर्ण आइकन भएकाले प्रमुख अतिथिका रुपमा स्वागत गरिएको बताउँछन् ।

पुनःस्थापित प्रतिनिधिसभामा २०६३ जेठ १६ गते एमालेकी तत्कालीन उपाध्यक्षको हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकारसम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरिएको थियो ।

उक्त सङ्कल्प प्रस्तावमा आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुन खारेजी र महिला हिंसाको अन्त्य लगायत विषय समेटिएको थियो ।

त्यसैको सेलिब्रेशन, प्राप्त उपलब्धि रक्षा गर्दै अबको बाटो र कार्यदिशा तय गर्न उक्त बृहत्त् भेला आयोजना गरिएको पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेल बताउँछिन् । उनी भेलामा पनि २३ वटै जनसंगठनका महिला नेताहरू सहभागी भएर सामूहिक छलफलसमेत गरेको बताउँछिन् ।

जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश र जिल्ला कमिटी महिला पदाधिकारी, अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित महिला प्रतिनिधिसहित ५ हजार जना सहभागी भएको नेतृ विद्या भट्टराई बताउँछिन् ।

यसलाई लिएर भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने अनुमान गरिएको छ । यसबारे प्रतिनिधि सभाकी सांसदसमेत रहेकी भट्टराई भन्छिन्, ‘आवश्यक परेमा परिस्थितिले के भन्छ उहाँको कुरा भयो। उहाँले हामीले केही भन्नु भएको छैन । महिला आन्दोलनमा उहाँ हाम्रो आदर्श हो ।’

के भने सहभागीले ?
भण्डारी एमालेको राजनीतिमा फर्किनुपर्ने धारणा भेलाका सहभागीले पनि राखे । खबरहबको प्रश्नमा उनीहरुले भण्डारी राजनीतिमा आएर नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुपर्ने बताए ।

दिवंगत पति मदन भण्डारीजस्तै उनमा पनि संगठन निर्माणको खुबी रहेको सहभागीहरूले बताएका थिए । सुदूरपश्चिमबाट सहभागी सरिता राउतले भनिन्, ‘मैले त विद्या कमरेडलाई मदन भण्डारीको दोस्रो रूप हो भन्छु ।’

महिला भेलामा भाग लिनसानोठिमी क्याम्पसबाट विद्यार्थीको नेतृत्व गरेर आएकी नम्रता न्यौपाने पूर्व राष्ट्रपति भण्डारीले अब एमालेबाट देशको नेतृत्व गर्नुपर्ने बताउँछिन् ।

उनले भनिन, ‘अब उहाँ एमालेको राजनीतिमा आएर प्रधानमन्त्री बन्नुपर्छ । म उहाँलाई देशको प्रधानमन्त्री भएको हेर्न चाहन्छु ।’

मुगुबाट प्रतिनिधि भएर आएकी गार्मु लामा पनि भण्डारी एमालेको राजनीतिमा आएर महिलाका मुद्दालाई अझ व्यापक बनाउनुपर्ने बताउँछिन् ।

उनले भनिन्, ‘म जस्ता सामान्य महिलाहरूको मुद्दा उठाउने उहाँ नै हो । अब उहाँ हाम्रो पार्टीको सेविका बन्नुपर्छ ।’

झापाबाट आएकी विद्यार्थी नेतृ सनजोती नेम्बाङ भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनुपर्ने बताउँछिन् । कानुनकी विद्यार्थी नेम्बाङले भण्डारी राजनीतिमा आउनु देशका लागि गैरवको कुरा भएको तर्क गरिन्

सुर्खेतबाट आएकी नेतृ देवी राउत पनि विद्या भण्डारी एमालेको राजनीतिमा आउनु नेपालका लागिे उपलब्धिमूलक हुने बताउँछिन् । उनले भनिन, ‘म त चाहन्छु उहाँ छिटै नै एमालेको राजनीतिमा आउनुपर्छ । उहाँजस्तो मान्छे देशलाई चाहिएको छ ।’

उनी भण्डारीसँग सबै महिलालाई संगठित गेरर लैजान सक्ने क्षमता भएको बताउँछिन् । भनिन्, ‘विज्ञताका हिसाबले पनि उहाँ एमालेको राजनीतिमा आएर हामीजस्ता महिलालाई अगाडि बढाउँदा राम्रो हुन्छ ।’

यस्तै, कपिलवस्तुबाट आएकी तालिमुन्न्री साह पनि विद्या भण्डारी राजनीतिमा आउनु राम्रो हुने बताउँछिन् । भन्छिन्, ‘उहाँबाट मधेसका महिलाले धेरै आश राखेका छन् । म चाहन्छु, उहाँ पार्टी राजनीतिमा आउनुपर्छ ।’

भेलामा उपस्थित स्मृति न्यौपानेले भने फरक तर्क गरिन् । उनले भण्डारी राजनीतिमा आउनुभन्दा देशको साझा व्यक्ति भएर पार्टीलाई बाहिरबाट सहयोग गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘उहाँ हाम्रो साझा व्यक्ति हो । उहाँले विज्ञका रूपमा सबै पार्टी र हाम्रो पार्टीलाई सहयोग गर्दा हुन्छ । राजनीतिमा आउन चाहे हाम्रो स्वागत छ । तर उहाँ आएर के पाउँछ देशले ? यो प्रश्न महत्वपूर्ण हो ।’

यता पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाम्फे भण्डारी एमालेको राजनीतिमा आउनेबारे आफूलाई जनकारी नभएको बताउँछिन् ।

उनले खबरहबसँग भनिन, ‘उहाँले त्यस्तो केही भन्नु भएको छैन । उहाँको चाहना हो । हामी जे गरे पनि उहाँको साथमा भरुइहाल्छौं । यसबारे पार्टीमा कुरा उठेको थाहा भएन ।’

विद्यानिकट भएका एमाले नेताहरूका अनुसार उनी सामाजिक कार्यमा अहिलेबाटै सक्रिय भइसकेकी छन् । तर राजनीतिमा आइहाल्ने या कुर्नेबारे उनी पनि दोधारमा छिन् ।

यदि उनी राजनीतिमा नआए मदन भण्डारी फाउन्डेसनमार्फत आफूलाई सक्रिय बनाउँदै लैजाने योजनामा छिन् ।

एमाले सचिवालयका एकजना नेताका अनुसार उनले महिला भेला गर्न भनेकी थिइन् । नेता ढकालसहितलाई उनले महिला भेलाका लागि आग्रह गरेको खुलेको छ । यो महिला भेलाको मनोभाव बुझेपछि उनले राजनीतिमा फर्किनेबारे धारणा बनाउँदै छिन् ।

ओली के चाहन्छन् ?

हुन त भण्डारी ६३ वर्ष मात्रै पुगेकी छन् । उनी अझै सक्रिय राजनीति गर्न सक्ने अवस्थामा छिन् । दुई पटक राष्ट्रपति हुनुअगाडि उनी ०५४ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनिन् । त्यसपछि रक्षा र वातावरण तथा जनसंख्या मन्त्रीका रूपमा पनि काम गरेकी थिइन ।

उनी एमाले उपाध्यक्ष र अखिल नेपाल महिला संघकी अध्यक्ष भइसकेकी छन् । विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय उनलाई २०५० जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा भएर पति मदन भण्डारीको निधन भएपछि पार्टीले नै राजनीतिमा ल्याएको थियो ।

उनले काठमाडौं क्षेत्र नम्बर १ मा २०५० सालमै भएको उपनिर्वाचनमा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराइन् । त्यसपछि उनको राजनीतिक उचाइ बढेको थियो ।

त्यसपछि उनी निरन्तर एमालेबाट लाभको पद लिने व्यक्तिमा पर्छिन् । त्यही भएर अब अरूलाई पालो दिनुपर्ने पक्षमा पनि एमाले शीर्ष नेताहरू देखिएका छन् ।
अध्यक्ष ओलीनिकट एमाले नेताले भने, ‘भण्डारीजी अब राजनीतिमा फर्किएपछि देशले के पाउँछ र ?’

ती नेताका अनुसार ओली आफू शक्तिमा रहुन्जेल भण्डारीलाई रोक्ने पक्षमा देखिएका छन् । ओली अब एक पटक प्रधानमन्त्री हुने दाउमा रहेकाले आफ्नो हैसियत समानका नेतालाई ल्याउन चाहँदैनन् । ओली अहिले पनि उत्तराधिकारी खोज्ने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  २ : २९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि