एमसीसी उपाध्यक्ष ब्रुक्सले भेटे अर्थमन्त्री पुनलाई | Khabarhub Khabarhub

एमसीसी उपाध्यक्ष ब्रुक्सले भेटे अर्थमन्त्री पुनलाई


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।

नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।

भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे ।

‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ’, उनले भने ।

एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्ड-खण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनले बताए ।

परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत समाधान हुने विश्वास मन्त्री पुनले दिलाए ।

उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे अवगत गराएका थिए ।

उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए ।

झण्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ ।

सम्झौताअनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसीसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकार आफ्नोतर्फबाट लगानी गर्नेछ ।

एमसीसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ ।

आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्नेछ । ३ सय १५ किलोमिटर लामो डबल सर्किट ४ सय केभी प्रसारण लाइन निर्माण हुनेछ ।

यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भुमहीमा सब–स्टेशन निर्माणको काम अघि बढेको छ ।

रातमाटेबाट काठमाडौंको लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन ४ सय केभी सब–स्टेशन र मकवानपुरको हेटौंडामा रहेको प्राधिकरणकै ४ सय केभी सब–स्टेशन दुवैमा रातमाटेबाट विद्युत प्रवाह गरिनेछ ।

४ सय किलोभोल्ट उच्च क्षमताको विद्युत प्रवाह गर्न सक्ने यो नेपालको हालसम्मकै ठूलो प्रसारण लाइन हो ।

आयोजनाअन्तर्गत ८ सय ५६ वटा टावर बन्नेछन् । काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारण लाइनले छुन्छ ।

परियोजनाअन्तर्गत ३ सय ५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भार र गुणस्तर सुधारकोे काम हुनेछ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा त्यही राजमार्गको दाङ र अर्खाचाँखीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ ।

एमसीसीअन्तर्गत मध्य पहाडी पुष्पलाल लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विस्तारको काम करिब सकिएको छ ।

नेपाल र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसदले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १ : ५८ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय