चक्रपथ विस्तारको दोस्रो चरण अन्योलमा, डीपीआर नै टुङ्गिएन | Khabarhub Khabarhub

चक्रपथ विस्तारको दोस्रो चरण अन्योलमा, डीपीआर नै टुङ्गिएन



काठमाडौं – दोस्रो चरणको चक्रपथ विस्तार अन्योलमा परेको छ । चिनियाँ पक्षको ढिलासुस्तीका कारण दोस्रो चरणअन्तर्गत कंलकीदेखि चाबहिल (धोबीखोला पुल)सम्मको सडक विस्तार अघि बढ्न नसकेको हो ।

विगत डेढ वर्ष अघि नै आयोजनास्थलमा पूर्वतयारीका काम सकिए पनि चिनियाँ निर्माण कम्पनी परिचालन भएको छैन । चक्रपथ विस्तार गर्न सरकारले चिनियाँ पक्षलाई सम्पर्कमा ल्याउन खोजे पनि सफल हुन सकेको छैन ।

विभिन्न वहाना बनाएर चिनियाँ पक्षले चक्रपथ विस्तारमा आलटाल गरिरहेको नेपालका सरकारी अधिकारीहरूले बताइरहेका छन्‌ । यतिसम्म कि चिनियाँ कम्पनीले अहिलेसम्म आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत टुंग्याउन सकेको छैन ।

२०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोलीले आयोजनास्थलमा आएर २ महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने प्रतिवद्धता जनाएको थियो । तर, अहिलेसम्म पनि चिनियाँ पक्षले नेपाल सरकारलाई डीपीआर प्रतिवेदन बुझाउन सकेको छैन ।

चिनियाँ पक्ष पूर्वतयारीका काम सकिएको कंलकीदेखि बसुन्धरा चौकीसम्म मात्र विस्तार गर्न इच्छुक देखिएको थियो । अहिले उक्त खण्डको झन्डै ९५ प्रतिशतभन्दा बढी पूर्वतयारीको काम सकिइसकेको सडक विभागले जनाएको छ ।

कंलकीदेखि चाबहिल (धोबीखोला पुल) सम्म विस्तार गर्ने लक्ष्य भए पनि नारायणगोपालचोकदेखि चाबहिलतर्फ ठूला पूर्वाधार संरचना हटाउनुपर्ने, जग्गा अधिग्रहणलगायत समस्याका कारण चीनले बसुन्धरासम्म मात्र चक्रपथ विस्तार गर्ने जनाएको थियो ।

साढे आठ किलोमिटर लम्बाइ रहेको उक्त सडक पहिलो चरणमा चिनियाँ पक्षले अघि बढाउने योजना बनाएको थियो । तर, चिनियाँ निर्माण कम्पनी आउने टुंगो अझै नलागेको हो ।

चिनियाँ पक्षका कारणले चक्रपथ विस्तारमा केही ढिलाइ भएको सडक विभागको महानिर्देशक शुशीलबाबु ढकाल बताउँछन् । आन्तरिक व्यवस्थापन र कानूनी प्रबन्ध मिलाएर चिनियाँ पक्षलाई आयोजना हस्तान्तरण गर्न चाहिरहेको उनले बताए ।

‘चिनियाँ पक्षबाट केही ढिलाइ भएको हो, हामीले पनि आन्तरिक रूपमा कानुनी व्यवस्था मिलाउँदैछौं, त्यसका प्रावधान र जटिलताहरू टुङ्ग्याएर चक्रपथ विस्तार चिनियाँ पक्षलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘किनकी, एउटा राज्यभित्र आएर काम गर्ने विषय हो । त्यसका लागि भौतिक पूर्वाधार र अर्थ मन्त्रालयले काम गरिरहेका छन् ।’

सडकखण्डमा बढ्दै सास्ती
दोस्रो चक्रपथ विस्तारको काम लामो समयदेखि रोकिँदा उक्त सडक खण्डहर जस्तै बन्न थालेको छ । चक्रपथ विस्तार अघि नबढ्दा सडकको दायाँदायाँ क्षेत्रमा अनावश्यक पार्किङ, निर्माण सामग्री थुपार्ने र वर्षामा हिलो तथा गर्मीमा धुलोको सास्ती हुने गरेको महानगरबासीको गुनासो छ ।

पूर्वतयारीका काम अघि बढाउँदा थुपारिएको माटो, ढुंगा र अन्य संरचनाहरू नहट्दा सवारी दुर्घटनाको जोखिमसँगै यात्रामा कठिनाइ हुने गरेको छ ।

मनसुन केही दिनभित्रै नेपाल भित्रिने क्रममा छ । वर्षा याममा चक्रपथ विस्तार गर्न बाँकी खण्डमा सडक हिलाम्मे हुने, पानी जम्ने, बाढी र डुबान हुने उत्तिकै सम्भावना देखिन्छ ।

तीन वटा आकासे पुल बन्ने
चक्रपथको कलंकी–महाराजगञ्ज खण्डमा हालको चार लेन सो सडक आठ लेनमा विस्तार गर्ने लक्ष्य छ ।

सो खण्डका विभिन्न तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । खासगरी, स्वयम्भू, बालाजुु र बसपार्क क्षेत्रमा आकासे पुल निर्माण गर्न सकिने सम्भावना रहेको देखिएको हो ।

डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनी आफैंले गर्नेगरी आयोजना अघि बढाउने योजना छ । कलंकी–महाराजगञ्ज खण्ड विस्तार गर्न ६ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

२०७९ फागुन १९ गते तत्कालीन उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छङ सोन लगायतको संयुक्त टोलीले आयोजनाको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनपछि चिनियाँ पक्षले छिट्टै नै चक्रपथ विस्तार गर्ने प्रतिवद्धता जनाएको थियो ।

धार्मिक तथा ऐतिहासिक मानिएको स्वयम्भू क्षेत्रको भौतिक संरचनालाई जोगाएर चक्रपथ अघि बढाउन डिजाइन केही परिवर्तन गर्न चिनियाँ पक्ष तयार भएको थियो । चिनियाँ पक्षले दुई वर्षभित्र सडक विस्तार गरिसक्ने योजना बनाएको थियो ।

पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तार चिनियाँ निर्माण कम्पनी र अनुदानमै निर्माण गरिएको थियो ।

पहिलो चक्रपथको सिकाइ र प्राविधिक कुराहरू सुधार गरेर मात्र दोस्रो चक्रपथ विस्तार चिनियाँ पक्षलाई हस्तान्तरण गर्न चाहेको विभागका महानिर्देशक ढकालले बताए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : २५ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

धरान– धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन