अर्थसंक्षेप : अरुण तेस्रो आयोजनाको सुरुङमार्ग छिचोलियो, काठमाडौं चक्रपथ विस्तार भने अन्यौलमा | Khabarhub Khabarhub

अर्थसंक्षेप : अरुण तेस्रो आयोजनाको सुरुङमार्ग छिचोलियो, काठमाडौं चक्रपथ विस्तार भने अन्यौलमा


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । मंगलबार नेप्से ६.२२ अंकले वृद्धि भएको छ । दोस्रो चरणको चक्रपथ विस्तारको काम अन्योलमै छ ।

अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधनको आयातमा १० प्रतिशत कर वृद्धि गर्ने निर्णय व्यवहारिक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक सेवा कम्पनीहरू पे वेल र सजिलो पे को बैंक खाता रोक्का गरेको छ । स्टार्ट अप नीति पारित भएकोमा नेपाल उद्योग वाणिज्य महसंघले स्वागत गरेको छ ।

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरू :

अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ 

संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । मकालु गाउँपालिका–५ आम्राङमा एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडिट २ मा स्वीच थिचेर सुरुङ मार्ग ब्रेक थु्र गरेका हुन् ।

त्यसक्रममा प्रधानमन्त्रीले यसलाई ठूलो उपलब्धि भनेका छन् । आयोजनाका अनुसार फाक्सिन्दामा रहेको ड्यामसाइडदेखि विद्युत् गृह रहने दिदिङसम्म पानी पथान्तरका लागि ९.५ मिटर परिधिको करिब १२ किलोमिटर लामो सुरुङ निर्माण भएको छ । करिब १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ ।

नेप्से ६.२२ अंकले वृद्धि 

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा ६.२२ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब ८ करोड ४७ लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले वृद्धि भएर २ हजार ७९ दशमलव ०७ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा मंगलबार ८३ लाख ५ हजार ७८६ वटा शेयर कारोबार हुँदा १२५ कम्पनीको मूल्य वृद्धि भएको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो

दोस्रो चरणको चक्रपथ विस्तार अन्योल

दोस्रो चरणको चक्रपथ विस्तार अन्योलमा परेको छ । चिनियाँ पक्षको ढिलासुस्तीका कारण दोस्रो चरणअन्तर्गत कंलकीदेखि चाबहिल (धोबीखोला पुल) सम्मको सडक विस्तार अघि बढ्न नसकेको हो ।

विगत डेढ वर्ष अघि नै आयोजनास्थलमा पूर्वतयारीका काम सकिए पनि चिनियाँ निर्माण कम्पनी परिचालन भएको छैन । चक्रपथ विस्तार गर्न सरकारले चिनियाँ पक्षलाई सम्पर्कमा ल्याउन खोजे पनि सफल हुन सकेको छैन ।

विभिन्न बहाना बनाएर चिनियाँ पक्षले चक्रपथ विस्तारमा आलटाल गरिरहेको नेपालका सरकारी अधिकारीहरूले बताइरहेका छन् । यतिसम्म कि चिनियाँ कम्पनीले अहिलेसम्म आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत टुंग्याउन सकेको छैन ।

मंगलबार भएको शेयर कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएका छन् । सोमबार भने नेप्से ३.९७ अंकले घट्न पुगेको थियो ।

विद्युतीय गाडीमा १० प्रतिशत कर वृद्धि व्यवहारिक: अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधनमा लगाइएको कर व्यवहारिक रहेको जवाफ दिएका छन् । मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यसो भनेका हुन् ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र इन्धनको आयातको भन्सारबाट चालु आर्थिक वर्ष कम्तीमा ४० अर्ब राजस्व गुमेको भन्दै विद्युतीय सवारीसाधनको आयातमा १० प्रतिशत कर वृद्धि गर्ने निर्णय व्यवहारिक रहेको बताएका हुन् ।

उनले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको जानकारी दिए । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उनले कार्बन उत्सर्जन गर्ने वस्तुहरूमा हरित कर सुरु गरिएको बताए ।

नेपाल राष्ट्र बैंकद्वारा पे वेल र सजिलो पे को बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक सेवा कम्पनीहरू पे वेल र सजिलो पे को बैंक खाता रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ती कम्पनीहरूको बैंक खाता रोक्का गरिएको जनाएको हो ।
राष्ट्र बैंकबाट अनुमति लिएर डिजिटल भुक्तानी सेवा सम्बन्धी काम गर्दै आएका ती कम्पनीहरूको कारोबार नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेकोले बैंक खाता रोक्का गरिएको जनाइएको छ ।

स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा स्वागत 

नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ । उद्योग वाणिज्य महासंघले दुई वर्ष अगाडि स्टार्टअप नीतिको मस्यौदा तयार गरेको थियो, त्यसमाथि व्यापक छलफल पश्चात सरकारले सो नीति पारित गरेकोमा महासंघले खुसी व्यक्त गरेको हो । मंगलबार नीति संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो विषय स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा भएको बताए ।

उनले नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समयदेखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरूबाट निकै खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भूषालले नीतिले अंगिकार गरेको स्टार्टअपको परिभाषा, स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरू, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाहरूका विषयमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ५८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि