मुक्कुमलुङ, पाथीभरा र केबलकार : एक बागीको वयान | Khabarhub Khabarhub

अन्तरवार्ता

मुक्कुमलुङ, पाथीभरा र केबलकार : एक बागीको वयान

मुक्कुमलुङ विगतमा प्राकृतिक स्वरूपमा भेटिन्थ्यो : सरु सिंगक


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 20 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय खबरहबले ताप्लेजुङको पाथीभराका विषयमा विविध सामग्री पस्कँदै आएको छ । ‘पाथीभरा’ वा ‘मुक्कुमलुङ’ नामसँग जोडिएको बहसदेखि लिएर त्यहाँ केबलकार बन्नुपर्छ या बन्नुहुन्न भन्ने विषयको बहससमेत हामीले पाठकसमक्ष पस्कँदै आएका छौं । पाथीभरा मुक्कुमलुङ क्षेत्रमा चलिरहेको पहिचानको आन्दोलन के हो ? आन्दोनकारीका माग र चासोहरु के-के हुन् ? यी विषयलाई हामीले प्राथमिकताका साथ संप्रेषित गर्दै आएका छौं । यही सिलसिलामा आन्दोलनकारी र राज्यतर्फका विभिन्न व्यक्तिका अन्तरवार्ता पनि हामीले पस्केका छौं । प्राज्ञिक लेख र रिपोर्टहरु पनि बेला-बेलामा प्रस्तुत गरेका छौं ।

ताप्लेजुङका चारवटा पालिकाहरु– फुङलिङ, फक्ताङलुङ, पाथीभरा याङवरक र सिरिजंगाको भूभाग समेटिएको ‘पाथीभरा’ क्षेत्रलाई हिन्दु धर्मावलम्बीहरुले पूर्वी नेपालको महत्वपूर्ण तीर्थस्थल मान्ने गरेका छन् । अर्कोतिर स्थानीय याक्थुङ लिम्बुहरुले यसलाई मुक्कुमलुङ नामले चिन्दछन् र आफ्नो पवित्र भूमि मान्ने गरेका छन् । लिम्बूहरुको पवित्र स्थलमा धार्मिक अतिक्रमण भएको उनीहरुको आरोप छ ।

यो ठाउँलाई पाथीभरा भन्ने कि मुक्कुमलुङ नामकरण गर्ने भन्नेबारे बहस चलिहरेकै बेला केही वर्षयता केबलकार परियोजनाले अर्को विवाद थपेको छ । र, यो विवादले गर्दा पाथीभरा मुक्कुमलुङ क्षेत्रमा भित्रभित्रै अशान्त बन्न पुगेको छ ।

राज्य पक्ष सशस्त्र प्रहरी क्याम राखेर भए पनि केबलकार परियोजना अघि बढाउने तयारीमा छ भने स्थानीय पहिचानवादी अभियन्ताहरु कुनै पनि हालतमा केबलकार बन्नै नदिने अडानमा छन् ।

यो पनि

पाथीभरा, जहाँ पानी नपरी चट्याङ पर्छ (कार्यकारी निर्देशक प्रजिन हाङबाङसँगको कुराकानी)

मुक्कुमलुङ आन्दोलनका ५ एजेन्डा, केबलकार रोकिन्छ : श्री लिङ्खिम लिम्बू

कङ्क्रिटले भत्काउँदै मुन्धुमी आस्था : अर्जुनबाबु माबुहाङ

पाथीभरा -मुक्कुमलुङसम्बन्धी बहसको सिलसिलालाई निरन्तरता दिँदै यहाँ हामीले मुक्कुमलुङ आन्दोलनकी अभियन्ता सरु सिंगकसँगको अन्तरवार्ता प्रस्तुत गरेका छौं । उनीसँगको यो अन्तरवार्ताले मुक्कुमलुङ आन्दोलन र आन्दोलनकारीको माग र सरोकारबारे बुझ्न सहयोग पुग्ने ठानिएको छ ।

राजनीतिक एवं सामाजिक वृत्तमा सीमान्तकृत समुदाय एवं आदिवासी जनजातिको हक अधिकारका निमित्त लामो समयदेखि लड्दै आइरहेकी अभियन्ता हुन्- सरु सिंगक । मुक्कुमलुङ संरक्षण आन्दोलनको शुरूआती चरणदेखि आन्दोलनको परिकल्पना गर्ने, योजना बनाउने र भौतिक रूपमा आन्दोलनमा उत्रँदै आएकी सिंगक स्थानीय तहदेखि प्रदेश हुँदै संघीय तहका संयन्त्रसँग आन्दोलनको तर्फबाट भेटवार्ता गर्ने एक सक्रिय सदस्य हुन् ।  उनी प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति महिला सञ्जालको समन्वयकर्तासमेत हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा विभाजन आउनुअघिसम्म पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी सिंगक हाल स्वतन्त्र रुपमा गठन भएको डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चासमेत आवद्ध छिन् ।

प्रस्तुत छ- अभियन्ता सरू सिंगकसँग समाज विज्ञानकी अध्येता एवं इन्डिजिनियस विदाउट बोर्डर्सकी सह-संस्थापक कैलाश राईले मुक्कुमलुङ, पाथीभरा र पाथीभरा दर्शन केवलकारको सेरोफेरोमा केन्द्रित रहेर गरेको अन्तरसंवाद-

सरू सिंगक

सेवारो सरुजी, केही महिनाअघि म आफैं मुक्कुमलुङको शीरमा पुग्दा अधिकांश मानव निर्मित संरचना देखेँ । सजिसजाउ पाथीभरा दुर्गा माताको मूर्ति, भक्तजन र देवीको सेवामा तल्लीन पूजारी, देवीलाई बलि चढाउने, त्रिशुल चढाउने आदि सबैको तर्जुमा व्यवस्थित ढंगले गरिएको थियो । भक्तालुहरूले देवीलाई भेटी, फूल अक्षेता, त्रिशुल, घण्टी, हिन्दू नारीहरूको सौभाग्यका सामानहरू- टीका, चुरा, पोते, घुम्टी/चुनरी, काइँयो, ऐनालगायत चढाएको देखेँ । अन्यत्रका हिन्दू शक्तिपीठमा देखिने देवीको मूर्ति, तिनको आसपासमा राखिने अरू देवीदेउता र तिनलाई पुज्ने उस्तै शैलीको झल्को देखियो । त्यहाँ पुग्ने जोसुकैले पनि पाथीभरा माताको भौतिकीकरण गरिएको स्वरूपमा दुर्गा मातालाई देख्न र पूज्न सकिन्छ । तपाई सानै उमेरदेखि मुक्कुमलुङ र युमा माङको दर्शन गर्दै हुर्किनुभएको व्यक्ति हुनुहुन्छ । ऊबेला तपाईंले दर्शन गर्दै ल्याउनुभएको मुक्कुमलुङ र युमा माङबारे बताइदिनुहोस् न । 

पहिलोचोटि म ६ वर्षको हुँदा २०४३ सालमा आमा-बुबाको ढाडमा बोकीमागेर मुक्कुमलुङको शीरमा पुगेको याद छ । त्यसयता थुप्रैपल्ट युमा माङको दर्शन गर्न र आशिर्वाद लिन जाने गरेकी छु । दुःख बिमारदेखि कुनै आपत विपत पर्दा होस् वा आफूले चाहेको सोचेको कुनै पनि मनोकामना पूरा गर्नका लागि स्वच्छ पवित्र मन, वचनले भाकल गर्दा पूरा भएको छ । यो हाम्रो  हाम्रो अटल आस्था र विश्वास हो ।

अहिले त्यही आस्थाको केन्द्र जोगाउनुपर्ने स्थिति राज्यले नै सिर्जना गरिदिएको छ । यो जत्तिको विडम्बना अरू के हुन सक्ला र !

पचासको दशकको मध्यसम्म मुक्कुमलङ क्षेत्रमा मानव निर्मित कुराहरू भेटिँदैनथे । हामी घरबाटै पैदल हिँडेर मुक्कुमलुङको शीरसम्म पुग्ने गर्थ्यौं। कान्छी थानभन्दा माथि मानिसको चहलपहल र बसोबास हुँदैनथ्यो । युमा माङको दर्शनमा जाने आउने तीर्थालुहरूको पदचापहरू त्यहाँको प्राकृतिक वातावरणले क्षणभरमै आफ्नो बनाइहाल्थ्यो ।

घना जंगल थियो, जहाँ विश्वकै दुर्लभ बन्यजन्तुहरू- रेडपाण्डा, घोरल, मृग, मयूर, डाँफेलगायतका विभिन्न पशुपंक्षीहरूको निर्वाध बासस्थान हुने गर्थ्यो । वर्षायाममा दूधजत्तिकै सङ्लो र सेतो पानीको मूल जताततै फूटेका हुन्थे । वसन्त याममा पूरै पहाड राष्ट्रिय फूल लालीगुराँस, कक्फेवाफुङ फुलेर मनमोहक देखिन्थ्यो ।

कान्छी थान (माथिल्लो फेदी) युमा माङको पाउका रूपमा पुजिँदै ल्याइएको छ । युमा माङको दर्शन गर्न सफल हुनुको बेग्लै महत्व र प्रभाव हुन्छ । त्यसैले हाम्रो यात्रा सफल होस्, हामीले भाकल गरेको सोचेको-चिताको सबै पूरा होस् भनेर कान्छी थानमा सेवा पूजा गर्छौ । माङ्सँग बल (शक्ति) मागेर धागो टाँग्ने परम्परा युमासँग जोडिन्छ । “थाक्पेदाङमे खिबेदाङ्मे, आसुनु युमा माङङे, थाक्पे मेम्बु ? ए खिमे मेम्बुए रो” (ए ! तान र धागोको मालिक युमा माङ, जीवनको प्रतिक धागो नचुडियोस् है) हाम्रो माङ्गेना चोत्लुङ कहिले नढलोस् है भनेर युमा माङलाई मुन्धुम फलाकेर श्रद्धा र पूजा गरिन्छ । युमाले यो क्षेत्रको आसपासमा धागो टाँगेर तान बुनेको मिथक छ । त्यसैले कान्छी थानबाटै काँचो धागो नचुँडाइकन टाँग्दै-टाँग्दै मुक्कुमलुङको शीर चोत्लुङसम्म पुर्याउँने गरिन्थ्यो । विशेष भाकल पूरा गर्नको लागि पुजाआजा गराउनुपर्ने भएमा फेदाङ्वा, सेवा, साम्बाहरूलाई साथमै लिएर जान्थ्यौं ।

मुक्कुमलुङको शीर खुल्ला, शान्त र प्राकृतिक स्वरूपमा भेटिन्थ्यो । युमा माङको दर्शन गर्नुपहिले हामीले खोला पूजा, शिकारी पूजा र वनको प्रतिरूप लुङहरूको पूजा गर्नुपर्थ्यो । युमा माङलाई दाहिने पारेर यी पूजा गर्दै-गर्दै जानुपर्थ्यो । र, अन्तिममा युमा माङको प्रतिरूप शिलालुङ पुज्थ्यौं । बलि दिनेहरूले युमा माङको शिलालुङभन्दा २० मिटरजति परतिर काटमार गरिन्थ्यो । बलि चढाएको कुरा घर फर्काएर लगिदैनथ्यो । बलि नदिनेहरूले फुल-पाती, ढ्याके पैसाहरू चढाउँथे ।

युमा माङलाई पूज्न र हाम्रो यात्रामा आवश्यक पर्ने सबै कुराहरू साथमै बोकेर जाने गर्थ्यौं । युमा माङको बासस्थान आसपास र मुक्कुमलुङ शीर आसपास  कोही पनि बास बस्दैनथ्यौं । पूजा सकेर तलतिर ओर्लिएर वीचमा कतै ओढारमा रात बिताउँथ्यौं । त्यसरी युमा माङ पुज्न पाउनुको आनन्द बेग्लै खालको थियो । विडम्बना, अब त्यस्तो अवस्था रहेन ।

२०५८ सालमा पाथीभरा माताको रूपमा दुर्गा देवीको मूर्ति स्थापना गरियो । त्यसपश्चात के-के परिवर्तन आएको पाउनुभयो ? 

युमा माङको शिलालुङ पहिले जहाँ हामीले दर्शन गर्न पाउँथ्यौं त्यही स्थानमा दुर्गा माताको मुर्ति ढ्याप्पै राखेर स्थापित गरियो । हामीले अनेक माध्यमहरूबाट थाहा पाउँदै गयौं कि हाम्रो मुक्कुमलुङलाई पाथीभरा बनाइयो । युमा माङलाई पाथीभरा दुर्गा माताको पहिचानले छोपियो ।

हामी पवित्र चोत्लुङ मुक्कुमलुङमा सधैं जाने-आउने गर्दैनौं । हाम्रो पुज्य आस्थाको केन्द्रलाई मनोमानी भ्रमण, अवलोकन र मनोरञ्जनको क्षेत्र मान्दैनौं । विशेष अवसर, भाकल र पूजाआजाको अवसरमा हामी त्यहाँ पुग्ने हो । बाँकी समय हामी आ-आफ्नै ठाउँबाटै चोखो मन, वचनले पुज्ने गर्छौं ।

हामीलाई थाहै भएन, युमा माङको प्रतिरूप शिलालुङ कहिलेबाट त्यहाँ दर्शन गर्न पाउन छाडियो ! हामी पुग्दा त्यहाँ शिलालुङको दर्शन गर्न त पाएनौं, पाएनौं, आखिर शिलालुङलाई किन त्यहाँबाट हटाइयो र कहिले ? भन्ने प्रश्नको पनि सही र विश्वासिलो जवाफ पाउन सकेका छैनौं । कसैले भने, त्यो अप्ठ्यारोमा बस्ने देवी हो त्यसैले कोही जान नसक्ने ठाउँमा सारिएको छ । कसैले दुर्गा मातासँगै सुरक्षित रूपमा छोपेर राखिएको छ भने ।

युमा माङको अस्तित्व छोपेर त्यसलाई हिन्दूहरूको पवित्र स्थलमा परिणत गरियो । अनेकथरीको मानव निर्मित संरचनाहरू ठड्याइए । जनशक्ति परिचालन गरिए । हिन्दू पूजारी राखिए । युमा माङ केवल याक्थुङ्हरूको मात्रै हो पाथीभरा दुर्गा माता सबैको हो भनेर हाम्रो आस्थामाथि हेयभाव उत्पन्न गराइयो । पहिले हामीले पुज्ने गरेको मुक्कुमलुङ र युमा माङको अस्तित्वलाई नै अहिले धरापमा पारिएको छ । त्यो ठाउँलाई पाथीभरा मातामय बनाइएको छ । जुन खेदजनक छ ।

अहिले पाथीभरा माता पुज्नका लागि आवश्यक सेवा सुविधाहरूको बन्दोबस्त राम्रै गरिएको रहेछ । मुक्कुमलुङ र युमा माङ पुज्न चाहनेहरूका लागि के कस्तो व्यवस्था छ ? धर्मनिरपेक्ष राज्यमा पाथीभरा माता र युमा माङ दुबैलाई पुज्ने व्यवस्था हुनुपर्छ कि पर्दैन ? तपाईं के भन्नुहुन्छ सरुजी ? 

तपाईंको यो प्रश्नको जवाफ सजिलो छ पनि, छैन पनि कैलाशजी । हामी धर्मनिरपेक्षताको अभ्यासमा छौं । संवैधानिक तवरमै धर्मनिरपेक्ष राज्य भयो । तर, संविधानले दिएको धर्मनिरपेक्षताको रक्षा हामीले
गर्नुपरिरहेको छ । धर्म निरपेक्ष राज्यमा हामीले मौलिक परम्पराअनुसार आफ्नै भाषा, शैली, संस्कृति र मुन्धुमी सेवा पूजा गर्दै आएको अधिकारलाई एकल ब्राह्मणवादी राज्यसत्ताले खोसिदियो । कुनै एक (हिन्दुको मात्र)को पूजा विधि शैली हावी भएर गयो । आदिमकालदेखि बसोबास गर्दै आएको आदिवासीहरूले सदियौंदेखि जोगाएर ल्याएको मुक्कुमलुङको सम्पदा, संस्कृति, सभ्यतालाई राज्यले अतिक्रमण गरेर विस्थापित गरिदियो ।

मुक्कुमलुङ हामी याक्थुङहरूका लागि एक मात्र यस्तो पवित्र मुन्धुमी स्थल हो, जुन संसारको जुनसुकै कुनामा रहे पनि यो भूमिसँगको हाम्रो सम्बन्ध अटुट रहिरहेको देखाउँछ । त्यसैले हामीले मुक्कुमलुङलाई र युमा माङप्रतिको आस्थालाई प्राकृतिक स्वरूपमा रहिरहन दिनुपर्छ भनेर संघर्ष गरिरहेका हौं ।

मुक्कुमलुङ संरक्षण गर्ने संघर्षमा तपाईं कसरी संलग्न हुनुभयो ? 

कोभिड-१९को लकडाउनको बेलामा मुन्धुमी स्थाननामहरू हिन्दूकरण गरिएकोबारेको जुम छलफलमा जोडिएँ । छलफलहरूमा भएका कुराकानीहरूले मलाई आफ्नो भूमि र पहिचान रक्षाका निमित्त नबोली नहुने, नलडी नहुने रहेछ भन्नेतर्फ गम्भीर बनाउँदै लग्यो ।

संयोग नै भनुँ, तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईको स्वकीय सचिव, पुरातत्व विभागका अधिकारीहरूसहितको समूह ताप्लेजुङ आइपुगे । विकास समितिको गुरूयोजनाबारे छलफल गर्न लागेको कुरा हामीले छ्वास्स सुन्यौं । ज्ञानु फुरूम्बो ‘चरपे’ पहिलेदेखि मुक्कुमलुङ संरक्षणमा लागि परिराख्नुभएको व्यक्ति हुनुहुन्थ्यो । उहाँसँगै भेटेर हामीले सामूहिक रूपमा केही गरौं भन्ने सहमति गर्यौं  ।

ताप्लेजुङमा पहिल्यैदेखि आदिवासी तथा रैथानेहरूको हकअधिकारमा लागि परेका राजनीतिक दलका युवाहरू, धार्मिक तथा साहित्यिक समूहका अभियन्ताहरू, र पहिचानको मुद्दामा लडिरहेकाहरू जम्मा भयौं । धेरै छलफलपश्चात हामीले आन्तरिक रूपमा एउटा आन्दोलनकारी समूह बनायौं र केवलकार बन्न नदिने प्रण गर्यौं  ।

२०७७ साउन ८ गते फुङलिङको सामुदायिक भवन सिटी हलमा राजनीतिक दलका नेता तथा कार्यकर्ता, कर्मचारीहरू र जिल्लाबाहिरबाट आएका टोलीहरूको बीचमा उनीहरूले कार्यक्रम राखे । हामीलाई त्यस कार्यक्रममा निम्ता थिएन  । हामीले भने निम्ता नदिएपनि सहभागी भएर छाड्ने निर्णय गर्यौं । सामूहिक रूपमै १५ जनाको टोली कार्यक्रममा सहभागी भयौं।

त्यहाँ पाथीभरा क्षेत्र विकास समितिको गुरूयोजना भनेर एकसरो कार्यक्रमको विवरण सरर प्रस्तुत गरियो । तर पाथीभरा केवलकारबारे चुइँक्कै केही भनेनन् । संयोगवस एकजनाले पाथीभरा क्षेत्र विकास समितिको गुरूयोजनाको नाममा पाथीभरा केवलकारको योजना अघि बढाउन आउनुभएको होइन ? भनेर कुरा उक्काए । कार्यक्रम अन्तिम-अन्तिम हुँदै जाँदा बल्ल उनीहरूमध्येको एकजनाले यथार्थ कुरा खोले- गुरूयोजनाभित्र पाथीभरा केवलकार निर्माण पनि हो ।

तपाईंहरूको समूह उक्त छलफलमा निम्ताबिना नै जानुभयो । के तपाईंहरूलाई त्यहाँ छलफल गर्न लागेको गुरूयोजनामा पाथीभरा केवलकार निर्माण पनि हो भन्ने कुरा पहिल्यै थाहा थियो ? कि त्यही कुरा बुझ्नका लागि पुग्नुभएको थियो ? 

हामीलाई अनुमान मात्रै थियो । केवलकारको योजनाबारे छलफल भएमा गर्ने नभएमा पनि जे पर्ला-पर्ला भनेर पुगेका थियौं । केवलकार बनाउने कुरा उठ्नासाथ हामीले असहमति जनायौं । बोल्ने समय मागेरै हामीमध्येका दुईजना अगाडि नै गएर बोल्यौं । असहमति राख्दै गर्दा आदिवासीहरूको हकहितमा रहेका अन्तर्राष्ट्रिय महासन्धी आइएलओ १६९ र मानवअधिकारसम्बन्धी युएनड्रिप  तथा नेपालको संविधानले दिएको संवैधानिक प्रावधानहरूको समेत स्मरण गरायौं । उनीहरूले उठाएको ‘माइन्यूट’मै स्थानीय अधिकारवाला र सरोकारवालाहरूले ‘नोट अफ डिसेन्ट’ लेखि दियौं । ‘तेन्धङ मिथक’को नामको स्मरण पत्र ‘तेन्धङ याक्थुङ’ नामबाट जारी  गर्यौं ।

त्यो कार्यक्रममा तपाइँहरू जानुको प्रभाव के कस्तो रह्यो ?  त्यहाँ गएर के-के गर्ने, के-कसरी भन्ने र क-कसले भन्नेबारे पनि तयारी गर्नुभएको थियो ?  

त्यो कार्यक्रममा पाथीभरा केवलकारको डिपिआर सार्वजनिक गर्ने, केवलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने र अनुमोदन गर्ने-गराउने उनीहरूको वास्तविक उद्देश्य थिएछ । केवलकार निर्माण परियोजनामा कुनैपनि खालको विवाद वा बाधाहरू छैनन् भनेर अघि बढाउने ध्याउन्नमा जिल्लाबाहिरबाट उक्त टोली आएको रहेछ । यदि हामी त्यो कार्यक्रममा आफै सहभागी हुन नगएको भए उनीहरूले आफ्नो उद्देश्य पूरा गर्ने र गराउने काम सफल पनि बनाउन सक्थे होलान् । तर हामी अधिकारवालाहरूले उपस्थिति जनाएर असहमति जनाएपछि उनीहरूको उद्देश्य पूरा हुन सकेन । हामी जुन काम नहोस् भन्ने चाहन्थ्यौं त्यसमा रोक लगाउन सफल भयौं ।

हामीले त्यसबेला जेजति सूचना पायौं, त्यसको आधारमा आफ्नो तर्फबाट सक्दो पूर्वतयारी गरेका थियौं । त्यसैले त्यही दिन स्मरण पत्र जारी गरी कार्यक्रममा उपस्थित हुनुभएका व्यक्तिहरू- संस्कृति तथा पर्यटन मन्त्रीको स्वकीय सचिव, पाथीभरा क्षेत्र विकास समिति, वन विभाग प्रमुख, फुङलिङ नगरपालिका प्रमुख र प्रभावित पालिकाका अध्यक्षहरू लगायतलाई बुझायौं । मुक्कुमलुङ संरक्षणको लागि हामीले सामूहिक संघर्षको कदम त्यही दिनबाट थाल्यौं ।

त्यसपछिका दिनहरूमा मुक्कुमलुङ बचाउ र केवलकार निर्माण गर्ने दुबै पक्षबीचको संघर्ष झन् झन् पेचिलो बन्दै गयो । त्यस्तो अवस्थामा आन्दोलनलाई कसरी अघि बढाउदै लानुभयो ?

हामीले सामूहिक रूपमा खबरदारी गर्न थाल्यौं । तर उनीहरू पछि हटेनन् । हामी त झन् किन पछि हट्थ्यौं र ? न हामी अडान छाड्ने न उनीहरू पछि हट्ने भएपछि संघर्ष चर्किनु स्वभाविक प्रक्रियाझैँ बन्दै गयो ।

अब कसरी अघि बढ्दा उचित होला भन्ने बारेमा हामी आन्तरिक रूपमा निरन्तर व्यापक छलफलमा बस्यौं । आफ्नो थातथलो र सांस्कृतिक सम्पदा जोगाउनका लागि अनिश्चितकालका लागि लड्नुपर्ने बोध गरेरै एउटा संघर्ष समिति गठन गर्ने सहमतिमा पुग्यौं । पहिलेदेखि लड्दै आइरहेकै व्यक्ति तथा आन्तरिक समूहहरू एकतृत भएर ‘मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति’को घोषणा गर्यौं । श्री लिङ्खिमलाई संयोजक चुन्यौं । पाथीभरा क्षेत्र विकास समितिको काम र क्षेत्राधिकारबारे थाहा पाएपछि हामीले मुक्कुमलुङ बचाउनका निमित्त यो संघर्ष समिति बनाएका हौं ।

उनीहरूले गुरूयोजनाको खोल ओढाएर केवलकारको योजना ल्याए । त्यो हाम्रो नजरमा कुनैपनि कोणबाट विकास होइन । त्यो त सीमित पदमा रहेकाहरूका निमित्त भ्रष्टाचार गर्ने, भूमाफियाहरूले नाफा कमाउने र हाम्रो लागि पर्यावरणीय विनाश, मुन्धुमी सम्पदाको अन्त्य गर्ने काम हो । मुक्कुमलुङ संरक्षणको लागि पाथीभरा केवलकार एउटा ठूलो विनाशकारी योजना भएकोले उक्त विनाश रोक्नका लागि हामीले अर्को संघर्ष समिति पनि गठन गर्नैपर्ने आवश्यकता महशुस गर्यौं । अनि बनायौं- ‘केवलकार खारेजी संयुक्त संघर्ष समिति’ । त्यसको संयोजक खगेन्द्र फोम्बो र सह-संयोजक पूर्ण पालुङ्वालाई चुन्यौं । यो संघर्ष समितिले केवलकार खारेजीकै लागि आफ्नो शक्ति केन्द्रित गर्ने गर्छ ।

यी दुई संघर्ष समिति बनेपश्चात तपाईंहरूको आन्दोलनको प्रतिरोधीपन अझ सशक्त बन्दै गएझैँ देखिन्छ । तपाईंहरूले केवलकार निर्माण योजना सञ्चालन हुन नदिन पटक-पटक प्रतिरोध गर्नुभएको छ । त्यो काममा तपाईंहरू सफल पनि हुनुभएको छ । तर त्यस्ता कुराहरू सार्वजनिक थलोहरू विरलै सुन्न र देख्न पाइएको छ । ‘राष्ट्रिय’ र ‘मूलप्रवाह’का भनिने सञ्चारका माध्यमहरूमा पनि पढ्न र देख्न पाइएको छैन । केवलकार योजना अघि बढाउन नदिन कसरी सफल भइरहनु भएको छ ? 

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति घोषणा लगत्तै हामीले हाम्रा स्पष्ट धारणा र अडानहरूसहितको एउटा विज्ञप्ति जारी गर्यौं । हामी त्यो विज्ञप्ति लिएर जिल्ला प्रशासन कार्यलय जान तयार भएकै बेला उनीहरू केवलकार स्टेसन बनाउने ठाउँमा पुगेछन् । त्यसो भएपछि, एकातिर मेरो नेतृत्वमा पाँच जनाको टोली सम्बन्धित निकाय र निकायका पदाधिकारिहरूसमक्ष हाम्रो विचार र अडान राख्नेतर्फ लाग्यौं । अर्कोतिर १६ जना जति युवाहरू माथि केवलकार स्टेसन बनाउने भनिएको ठाउँतिर खटिए ।

फिल्डमा आन्दोलनकारी टोली पुगे । ठाउँ-ठाउँमा मेशिनहरू राखेर डिपीआरको काममा उनीहरू तल्लीन थिए । त्यहाँ इन्स्पेक्टरसहितको बटालियन टोली खटाइएको थियो । हामी थोरै संख्यामा थियौं । तर पनि हिम्मतका साथ पहिले वार्ताद्वारा शान्तिपूर्ण तरिकाले काम रोक्न अनुरोध गर्यौं । उनीहरूले कुरा खाएनन् । त्यसपछि अलिलि घम्साघम्सी पर्‍यो। आन्दलनकारीहरूले केवलकार स्टेसन बनाउनका लागि त्यहाँ पुर्याइएका मेशिनहरू सबै कब्जामा लिएर फुङलिङ झरे ।

सामान र आन्दोलनकारी पछ्याउँदै पुलिस र प्रशासनका मानिसहरू पनि  आइपुगे । अब के गर्ने ? जिल्ला प्रशासन कार्यलय गयौं । जिल्ला प्रशासन कार्यलयमा हाम्रो पक्षकाहरू ६० जना जति भेला भएका थियौं । केही व्यक्ति कार्यालयभित्र वार्तामा बस्यौं, बाँकी कार्यालयबाहिर धर्नामा । जिल्ला प्रमुख अधिकारीकै रोहबरमा सरसामानहरू बुझबुझारथ भयो ।

त्यो दिन अबेला भइसकेकोले भोलिपल्ट जिल्ला प्रमुख अधिकारीले सर्वदलीय बैठक बोलाउने सहमति गरेर छुट्टियौं । सर्वदलीय  बैठकमा सबै पक्षको प्रतिनिधित्व भयो- पाथीभरा क्षेत्र विकास समिति, पालिका र प्रशासन प्रतिनिधिहरू, सुरक्षा संयन्त्रहरू- अनुसन्धान, जनपद, सशस्त्र र हामी संघर्ष समितिका अभियन्ताहरु ।

त्यसबेलासम्म हामीलाई पाथीभरा केवलकारको योजनाबारेमा भित्री गुदी कुरा धेरै थाहा थिएन । तर हामीसँग बलियो भावना थियो- यो हाम्रो मुन्धुमी स्थल हो, सांस्कृतिक स्थल हो, यहाँ कसैको अतिक्रमण हामी मान्दैनौं । त्यसबेला हाम्रो  पवित्र स्थलको वास्तविक विकास हुन्छ भने गुरूयोजनामा हामी साथ दिन पनि सक्छौं, यदि होइन भने हामी ज्यान गए मान्दैनौं भन्यौं । यस्तो बलियो मनोभावनाबाहेक हामीलाई विस्तृत कानूनी जानकारी र संघर्ष गर्ने तौरतरिकाबारे ज्ञान थिएन ।

यो पनि
पाथीभरा केबलकार : तीन पालिकालाई बहिस्कार, विकास समिति बेखबर

मनोभावनाकै बलमा उक्त बैठकमा हामीले २०७७ साउन ९ गते तीन बुँदे सहमति गर्यौं- पाथीभरा केवलकारसम्बन्धी कामकाजहरूबारेको सबै सूचना र कागजातहरू (डीपीआर) अधिकारवाला र सरोकालवालाहरू सबैलाई उपलब्ध गराउनुपर्ने, केवलकारसम्बन्धी सर्भेको काम तत्काल रोक्ने र पाथीभरा विकासको सवालमा शान्तिपूर्ण तवरले छलफललाई अगाडि बढाउने ।

वार्ता र छलफलकै क्रममा हामीले स्थानीय सरकारले अनुमति नदिइकन कुनै पनि विकासको काम कसैले पनि गर्न नपाउने कानूनी प्रावधानबारे थाहा पायौं । त्यसैमा टेकेर तत्कालीन मेयर छत्रपति प्याकुरेललाई “किन र कसरी अनुमति दिनुभयो” भनेर सोध्यौं । नगरपालिकाले लिनुपर्ने राजश्व रकम असुलेर अनुमति दिएको हो तर यसलाई बनाउन दिने कि नदिने भन्ने कुरा संघको मातहतमा छ भन्ने जवाफ पायौं ।

अनि, तपाईंहरूले राज्य र केवलकार कम्पनीविरूद्ध मुद्दा पनि दायर गर्नुभयो नि हैन ? त्यसले कस्तो प्रभाव पार्‍यो ? 

हामीले एकपछि अर्को सम्बन्धित ठाउँहरूमा सोध्दै जाँदा थाहा पायौं कि केवलकार बनाउनका निमित्त बाहिर हेर्दा एउटा निजी कम्पनी देखिएपनि त्यो काममा राज्य आफै संलग्न रहेछ । पाथीभरा क्षेत्र विकास समितिमार्फत् मुक्कुमलुङ क्षेत्रलाई राज्यको नियन्त्रणमा लिइसकिएको रहेछ । सोही समितिको क्षेत्रअधिकार मानेर आवश्यक कानूनी प्रक्रियाहरू सबै पूरा गरिसकिएको रहेछ । पाथीभरा क्षेत्र विकास समिति संघकै मातहतमा रहेकाले पनि हामीले कानूनी रूपमै संघमा मुद्दा हाल्नुपर्छ भन्ने सुझाव विज्ञहरूबाट पायौं ।

मुद्दा हाल्ने तयारीमा म आफैं पनि खटिएँ । त्यही सिलिसलामा यति धेरै तथ्य कुराहरू हामीले भेट्यौं कि मेरो दिमाग नै रन्थनियो केही समय । अनेक कागजात र प्रमाणहरू जुटाउने क्रममा मेरो सोच, कल्पना केहीले नभ्याउने गरी यो परियोजनाको थालनी त उहिले २०४७ सालदेखि नै भएको रहेछ । बाफरे बाफ ! २०४७ सालमै त्यतिबेलाका माननीय सांसद, जिल्ला विकास समितिले नै केवलकार बनाउनका निमित्त निर्णय गरेका रहेछन् । हामीले चाहिँ बल्ल करिब ३० वर्षपछि थाहा पाइरहेका थियौं ।

मुद्दा हाल्नका लागि आवश्यक कागजातहरू भेला पार्‍यौं। नेपालका आदिवासी जनजातिहरूको वकिल समूह (लाहुर्निप)ले यो काममा संयोजकको भूमिका खेल्यो । सर्वोच्च अदालतमा मुद्दा हाल्नका लागि म ताप्लेजुङबाट काठमाडौं आएँ । मुद्दा हाल्दाखेरी जति धेरैजनाको अख्तियारी हुन्छ त्यत्ति नै हाम्रो पक्ष बलियो हुन्छ भन्ने भयो । आइन्द्र कुमार लिम्बु प्रमुख निवेदक रही ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम जिल्लाका करिब ३ सय भन्दा बढी व्यक्ति र संस्थाहरू- किरात याक्थुङ चुम्लुङ, थरगत सहजीकरण समूहलगायतकातर्फबाट संयुक्त रिट हाल्यौं- २०७७ फागुन ३ गते । हामीले संघीय पर्यटन मन्त्री, संघीय वन विभाग, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा दर्शन केवलकार समिति, सम्बन्धित नगरपालिका, ताप्लेजुङ जिल्ला वन कार्यलयलाई विपक्षी बनाएर रिट दायर गर्‍यौं।

त्यसपछि भने कानूनी रूपमै उनीहरूलाई काम अघि बढाउनमा बाधा पर्‍यो। तर उनीहरू कहाँ चुप लागेर बस्थे र ! २०७८ जेठमा पाथीभरा केवलकार निर्माण गर्ने लाइसेन्स पनि सकिँदैथियो । त्यो सकिनुपहिल्यै वैशाखमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा केवलकार निर्माण कार्यको शिलान्यास गराउने उनीहरूले योजना बनाए । त्यसकै लागि फागुन महिनादेखि जिल्लाको सुरक्षा व्यवस्था निकै कडा बनाइयो । केवलकार निर्माण गर्ने स्थलहरूमा सेनाहरूको आउजाउ निकै बढ्यो ।

हामीले केपी शर्मा ओली आउने भनिएको दिनभन्दा तीन दिन अघिदेखि अधिकारवालहरूसँगको सहमति र अनुमतिबिना केवलकार निर्माण कार्यको शिलन्यास गर्न पाइदैन भन्दै आन्दोलन घोषणा गर्यौं । आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आबद्ध जातीय संस्थाहरू, विभिन्न धार्मिक संस्थाहरू, साहित्यिक संस्थाहरू एकैठाउँमा जुट्यौं । जिल्ला सदरमुकाम फुङलिङमा सशक्त आन्दोलन गरेपछि पाथीभरा केवलकार शिलन्यास कार्य रोकियो । दोस्रोपल्ट हामीले केवलकार निर्माण कार्य सुचारू गर्ने उनीहरूको प्रयासलाई विफल पार्‍यौं ।

तत्कालीन समयका लागि केवलकार निर्माण कार्यको पूर्वनिर्धारित शिलान्यास कार्यक्रम रोकियो । तर, लाइसेन्स नवीकरण गर्नुपर्ने केवलकार निर्माण कम्पनीको आवश्यकता पूर्ति गर्ने प्रयास त पक्कै रोकेनन् होला । कम्पनीले समयमै नवीकरण गराउन सक्यो  ?

कहाँ त्यत्ति सजिलैसँग हामी उनीहरूलाई सफल हुन दिनेवाला थियौं र ? लाइसेन्स सकिने बेला भएपछि फुङलिङ नगरपालिकाका मेयरलाई उनीहरूले ताकेता गरिरहे । पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष र पाथीभरा केवलकार परियोजनाका एक मुख्य मान्छे पुष्प बरूवालले मेयरलाई अनेक हिसाबले ‘मनाउन’ खोजिरहेको कुरा हामीले सुन्यौ । अनेक अफवाहहरू हामीसम्म आइपुग्थे वा भनुँ न ल्याइपुर्याइन्थ्यो । हामीले पनि मेयरकै कार्यकक्षमा गएर खबरदारी गरिरहर्यौं । बेला-बेलामा हाम्रो विचार र अडान सम्झाइरह्यौं ।

सुखद कुरा, मेयरले “सर्वोच्चमा मुद्दा चलिरहेको छ, विचाराधीन छ । सर्वोच्चमा मुद्दा चलिरहँदासम्म मैले पुनः नवीकरण गर्न मिल्दैन” भनेर कानूनी रूपमै अडान लिइदिनुभयो । लाइसेन्स नवीकरण भएन । यो हाम्रो लागि अर्को एउटा ऊर्जा दिने घटना बन्यो ।

संयोग कस्तो पर्‍यो भने फेरि, पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष पुष्प बरूवाल, जो केवलकार योजनाका नाइके थिए, उनी बिते । त्यसपछि, केवलकार परियोजनाका अर्का लगानीकर्ता यति समूहका सञ्चालक आङछिरिङ शेर्पा र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी हेलिकप्टर दूर्घटनामा बिते । केही समय केवलकार निर्माण कार्य थाँती रह्यो । तर हाम्रो आन्दोलन भने जारी थियो ।

तर, केवलकार निर्माण कार्ययोजना त फेरि ब्यूँझिएर झन् दह्रो भएर पो आएझैँ लाग्यो मलाई चाहिँ, कि त्यस्तो हैन पो सरुजी ?  

षडयन्त्रकारी राज्य, नाफाखोरी व्यापारी र भ्रष्ट राजनीतिक दल मिलेपछि त ब्युँझिहाल्ने भयो नि । केवलकार बनाउन नयाँ पात्र ग्लोबल-एभरेष्ट बैंकसम्बद्ध चन्द्र ढकाल आए । थाँती रहेको केवलकार बनाउने कामलाई काँध थापेर अघि बढाउनका लागि उनै ढकालसँगै राज्य र राजनीतिक दलहरू फेरी एकैठाउँ भए ।

दोस्रो स्थानीय निर्वाचन आयो । निर्वाचनमार्फत् अर्को नयाँ मेयर- अमिर मादेन निर्वाचित भए । निर्वाचन पहिले मुक्कुमलुङ बचाउ आन्दोलनमा अमिर मादेन पनि हाम्रो सहयोद्धा थिए । त्यसैले निर्वाचनमा हामीले उनलाई सघायौं पनि । उनीप्रति हामी आशावादी थियौं ।

तर बिडम्बना के रह्यो भने, स्थानीय निर्वाचनमा उम्मेदार बनेपछि उहाँ हाम्रो आन्दोलनको स्पिरिटसँग अलग्गिदै जानु भयो । पहिले हामी साथमै आन्दोलन गरिरहँदा पाथीभरा हैन मुन्धुमी नाम मुक्कुमुलुङकै नामाकरण हुनुपर्ने र केवलकार बन्न नहुने कुरामा अडिग रहँदै आएका थियौं । मेयर बनेपश्चात उनले बहुपहिचानमा आधारित नाम- मुक्कुमलुङ पाथिभरा राख्न सकिने र केवलकार बन्नु ताप्लेजुङको विकासको लागि महत्वपूर्ण रहेको कुरा सार्वजनिक रूपमै बोल्नुभयो । स्थानीय सरकारसमेत पूर्ण रूपमा हाम्रो विरूद्धमा खडा भइदिएपछि आन्दोलन थप पेचिलो हुने नै भइगयो ।

तपाईंले मुक्कुलुङ र पाथीभरा केवलकारको हकमा राज्यलाई षडयन्त्रकारी भन्नुभयो । राज्यले के-के षडयन्त्र गरिरहेको छ ?

एक, राज्यले २०५३ सालमा पाथीभरा क्षेत्र विकास समिति गठन आदेशमार्फत् कानूनी रूपमा षडयन्त्रको शुरूवात गर्‍यो । २०७५ जेठ ८ गते फुङलिङ कार्यपालिकाको निर्णयबाट केवलकार बनाउने योजना पारित गर्‍यो । २०७५ चैत १८ गतेको नगर सभाको बैठकले पाथीभरा क्षेत्र विकास समितिको क्षेत्राधिकारलाई बढाएर थप तीनवटा पालिकासम्म पुर्‍यायो- फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र सिरिजङ्गा गाउँपालिकासम्म । पाथीभरा क्षेत्र विकास समितिको कार्य-क्षेत्राधिकारले नै कुनैपनि बेला यी तीन पालिकाका स्थानीयबासीहरू, जो १५ सयदेखि २ हजारसम्मका घरधुरीहरूलाई बेघरबार बनाउँछ । हामीले आन्दोलन शुरू गरेपछि बल्ल राज्यको यस्तो षडयन्त्रबारे थाहा पाउन थालेका छौं र समुदायलाई जानकार बनाउदै पनि छौं । जब की यो कुरा राज्यले स्थानीय जनताहरूको मञ्जुरीबेगर गर्न पाउँने कुरा होइन ।

दुई, अर्को षडयन्त्रको नमूना पनि म दिन्छु- मुक्कुमलुङ क्षेत्रका स्थानीयबासीहरूको किपट भूमिलाई व्यक्तिगत सम्पत्तिको रूपमा सरकारी मूल्य तोकेर एकजना व्यापारीले फुरूम्बो गाउँपालिकाभित्र ५९ रोपनी जग्गा किन्यो । रोपनीको १५ हजारको दरले सरकारी मूल्यांकन गरिँदा जम्मा ७ लाख २० हजार पर्न गयो । एक स्थानीय व्यक्तिबाट अर्को कुनै व्यापारीको नाममा नामसारी गरिएपछि त्यही जग्गालाई कम्पनीको नाममा लगियो । त्यसरी व्यक्तिबाट किनेर कम्पनीमा लाँदा पुनःमूल्यांकन गरी मालपोत श्रेस्ता मिलाएर २९ करोड ८५ लाख बराबरको मूल्यांकन गरियो ।

पाथीभरा दर्शन केवलकारले अहिले स्थानीयबासीहरूलाई सेयर बितरण गर्ने, रोजगारी दिने, जिल्लाको आर्थिक उन्नति, विकास र समृद्धि ल्याउने प्रलोभन दिँदै आएको छ । केवलकार नबन्दैमा यतिका घोटाला गरिसकेको कम्पनीले केवलकार बनाएर चलाइसकेपछि सेयर बिक्री बितरण गरेमा पनि सेयरवालाहरूलाई उक्त घोटालाको भागीदार बनाउनेबाहेक न रोजगार सिर्जना गर्ने छ न समृद्धि नै ल्याउनेछ । यो जालझेलबाहेक केही होइन ।

केवलकार निर्माण कम्पनीको ५० प्रतिशत हिस्सा चन्द्र ढकालको छ । स्थानीय सरकारका प्रतिनिधिहरूले बारम्बार भन्ने गरेका छन्- केवलकार परियोजनामा संघलाई १० प्रतिशत र  स्थानीय सरकारलाई २ प्रतिशत राजश्व दिनैपर्छ । राज्यले बनाउनुपर्ने हरेक प्रकारको कागजपत्रहरू तयारी गरिसकेको छ । तर स्थानीय सरकारलाई २ प्रतिशत दिनुपर्ने कुरा मैले पढ्न र देख्न पाएको छुइनँ । केवलकार कम्पनी र सरकारको कुनैपनि सम्झौतामा यस्तो सहमति भएको पाइदैन । कपोलकल्पित कुरा गरेर केवलकारबाट हुने फाइदा देखाएर हामीलाई थम्थमाइराखेका मात्रै हुन् । यसमा नाफा कसलाई छ ? राज्यलाई ? स्थानीयबासीहरूलाई ? कि व्यापारीलाई ?

तीन, षडयन्त्रको पछिल्लो उदाहरण- मुक्कुमलुङ संयुक्त संघर्ष समितिमार्फत् संघर्षरत पक्षले ‘कमिशनमा कुरो नमिलेर विरोध गरेको’ भन्दै आन्दोलनकारीहरूले ५ करोडदेखि बार्गेनिङ गरेर २५ करोड रकमको माग गरिरहेको आरोप मेयर अमिर मादेनले लगाउनुभयो ।  खबरहव अनलाइनकै प्रधान सम्पादक अरूण बरालसँगको संवादमा मेयरले त्यस्तो कुरा भन्नुभएको थियो । त्यसको खण्डन गरेर हामीले विज्ञप्ति जारी गर्‍यौं। उक्त विज्ञप्तिमा हामीले त्यो कुरा प्रमाणित गरेर देखाउनुस् अन्यथा आन्दोलनलाई बदनाम गर्ने मनसायले जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्दैन भनेर खबरदारी गर्‍यौं। प्रतिक्रिया स्वरूप मेयरले फुङलिङ बजारमा भेला बोलाउनुभयो । उक्त भेलामा उहाँले मुक्कुमलुङ बचाउ आन्दोलनहरूसँग जोडिएका अभियन्ताहरूलाई जथाभावी र तथ्यहीन आक्षेप लगाउनुभयो ।

फुङलिङ नगरपालिकाका मेयरले सार्वजनिक रूपमा भन्नुभएको ती कुराहरू आरोप मात्रै हुन् भन्नुहुन्छ भने वास्तविकता चाहिँ के हो ? 

वास्तविकता चाहिँ हाम्रो भूमि, सम्पदा, पहिचान र आस्थाको धरोहर हामीबाट खोसिएको छ । त्यही खोसिएको कुरा पुनःप्राप्ति गर्ने हाम्रो लडाईं हो । यो हाम्रो लडाईं बलियो बन्दै गइरहँदा यसलाई कमजोर पार्न र तुहाउनका निमित्त थोपरिएको एउटा आरोप मात्रै हो । नेतृत्वलाई बदनाम गरेर आन्दोलनमा लागेका धेरै मानिसहरूको आफ्नो नेतृत्वप्रतिको विश्वास टुटाउन खोजिएको हो । आन्दोलनमा इमान्दारिताका साथ लागिपरेकाहरूको मुक्कुम्लुङप्रतिको माया र आन्दोलनप्रतिको विश्वास टुटोस् भनेर रचिएको प्रपञ्च हो । त्यस्तो आरोपले आन्दोलनकारीहरूलाई डगमगाउन सक्दैन ।

यो पनि
पाथीभरा केबलकार विवाद : फुङलिङका मेयरको अभिव्यक्तिप्रति पहिचानवादीको आपत्ति

उनीहरूले आन्दोलनरत व्यक्तिहरूलाई बेलाबखतमा अनेक तरिका अपनाएर थकाउने, आन्दोलनको बाटोबाट अन्यत्रै लैजान खोज्ने प्रयत्नहरू गर्दै नै आइरहेका हुन् । पछिल्लो समयमा आइपुग्दासम्म उनीहरूले आर्थिक चलखेललाई अस्त्र बनाउन पुगेका छन् । हामी आफ्नो मुन्धुमी थलोलाई कुनैपनि मूल्यमा गुमाउन सक्दैनौं । उनीहरूले जुनसुकै मूल्य तोकून् त्यो उनीहरूको कुरा हो । हामी आफ्नो अडान छाड्ने छैनौं ।

मुक्कुमलुङ बचाउने संयुक्त आन्दोलनको तर्फबाट तपाईं पनि राज्यको सम्बन्धित निकाय र व्यक्तिहरूसँगको वार्ता, छलफल र सहमति गर्ने समूहमा सक्रिय रहीआउनुभएको छ । पछिल्लो समय तपाईंहरूको आन्दोलन भुइँतहमा चर्किरहँदा आन्दोलनले उठाएका सवालहरूलाई संघीय सरकारका विभागीय मन्त्रीहरूसमक्ष पुर्याइरहनुभएको थियो । तपाईंहरूले विभागीय मन्त्रीहरूसँगको भेटवार्तामा के कस्ता प्रतिक्रिया र प्रतिबद्धताहरू पाउनु भएको थियो ?  

हो, हामीले आन्दोलनका मागहरूलाई बारम्बार सम्बन्धित निकायसमक्ष पुर्याउदै आएका छौं । हामीले मुक्कुमलुङमा केवलकार बनाउन किन हानीकारक छ भन्ने कुरा जानकारी गराउनका लागि  २०८० माघ ५ गते तत्कालीन वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतो, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई उहाँहरूकै कार्यकक्षमा ज्ञापनपत्र बुझायौं ।

वन मन्त्री महतोले ज्ञापनपत्र बुझ्ने क्रममा “यो केवलकार बनिसक्यो भन्ठानेको मैले त, अझै बनेकै पो छैन ?” भनेर आश्चर्य मान्नुभयो । उहाँको कुरा सुनेर हामी पनि छक्कै पर्यौं । उहाँले आफ्नो कार्यकालअघि संघिय मन्त्रालयबाट गर्नुपर्ने सबै काम गरिसकिएको जानकारी दिँदै यदि थप काम गर्नुपरेमा चाहिँ नगर्ने वचन दिनुभयो ।

मुक्कुमलुङ क्षेत्रका आदिवासीहरूले ८ वर्षदेखि न दिन, न रात, न भोक, न आइया न आत्था, न परिवार सबै त्यागेर संघर्ष गरिरहेका छौं । केवलकार योजनालाई अघि बढ्न दिइरहेका छैनौं । यो तथ्यबाट वन मन्त्रीजस्तो जिम्मेवार व्यक्ति कसरी बेखबर रहन सक्छ ? गृहमन्त्री श्रेष्ठले “९० प्रतिशत त्यहाँका जनताहरूको माग केवलकार बन्नुपर्छ भन्ने छ” भन्नुभयो । त्यो जनता भनेका को हुन् ? सरकारले कहिले त्यहाँका जनताहरूसँग केवलकार बन्नुपर्छ कि पर्दैन भनेर जनमत संकलन गर्‍यो? के हामी त्यहीका जनता हैनौं र ?

संस्कृति मन्त्री किरातीले “यो विषय आफ्नो मन्त्रालय अन्तर्गत नपर्ने” कुरा राख्दै यो विषयलाई संघबाट प्रदेशको अधिकारभित्र लैजान पहल गर्ने वचन दिनुभयो । अहिले पाथीभरा क्षेत्र विकास समितिलाई प्रदेश सरकारको मातहतमा लगिएको त छ । तर पहिले ताप्लेजुङ जिल्लाकै योगेश भट्टराई पर्यटनमन्त्री हुँदा केवलकार बनाउने काम मन्त्रालयसँग पनि सम्बन्धित थियो । त्यही काम केही समयपश्चात कसरी सोही मन्त्रालयको कामभित्र परेन ?

२०८० फागुनको अन्तिम सातातिर मलगायत केही अनुसन्धानकर्ता र अभियन्ताहरूको एउटा समूह प्रदेश १ पुनःनामांकन आन्दोलन, मुक्कुमलुङ एवं मुन्धुमी सम्पदा बचाउ आन्दोलन भइरहेका ठाउँहरूमा पुगेर केही बुझ्ने प्रयत्न-यात्रामा थियौं । भोलिपल्ट बिहानै मुक्कुमलुङतर्फ उक्लिने योजनाअनुरूप २९ गते हामी पान्थरको फलैचामा बास बसेका थियौं । हामीले खबर पायौं कि राति सशस्त्र सुरक्षा बलले मुक्कुमलुङ क्षेत्रमा प्रवेश गरेर आफ्नो बेस क्याम्प खडा गर्ने प्रयास गर्‍यो । आन्दोलनकारीहरूले उनीहरूलाई सफल हुन दिएनन् । ३० गते बिहानै हाम्रो समूह मुक्कुमलुङको लागि बाटो लाग्यौं । अर्को खुशीको कुरा, भौतिक एवं शारिरीक क्षतिबिना उक्त आन्दोलन चलिरहेको थियो । जुन दिन सशस्त्र सुरक्षा बल मुक्कुमलुङ क्षेत्रमा जबरजस्ती प्रवेश गर्न खोज्यो, त्यही दिन काठमाडौंमा तपाईंसहितको एउटा समूहले संयुक्त विज्ञप्ति लिएर मुक्कुमुलङ आन्दोलनबारेको ताजा वस्तुस्थितिको जानकारी गराउन गृह मन्त्रालय पुग्नुभएको थियो । गृहमन्त्रीसँग के कुराकानी भएको थियो ?

मुक्कुमलुङ संरक्षणका लागि ताप्लेजुङमा लडिरहेका साथीहरूबाट सशस्त्र प्रहरी  बलको क्याम्प केवलकार निर्माण क्षेत्रमा जान लागेको खबर पायौं । खबर पाउने बित्तिकै हामी गृहमन्त्री भेट्न गयौं ।

सरकारको मन्त्रिमण्डल हेरफेर भएपछि २०८० फागुन २९ गते तत्कालीन गृहमन्त्री रबि लामिछानेलाई भेट्न पुगेका थियौं, दिउँसो १:३० बजे । केवलकार बनाउनका लागि कुनै पनि बेला रूख काट्ने र सशस्त्र क्याम्प राख्ने दाउमा उनीहरू रहेको हामीले सूचना पाएका थियौं ।

केवलकार बनाउने नाममा जंगल फडानी नगर्न, सुरक्षा प्रदान गर्ने नाउँमा मुक्कुमलुङको सैनिकीकरण नगर्न र त्यसो गरेमा हुन जाने क्षतिको जिम्मा सरकारले लिनुपर्ने हाम्रो अडानबारे जानकारी गराउन हामी गृहमन्त्रीको कार्यकक्षमा पुगेका थियौं । गृहमन्त्रीले त्यहाँको वस्तुस्थितिबारे जानकार रहेको र थप गहिरोगरि अध्ययन गरेर अघि बढ्ने, जनताहरूको आस्थासँग खेलवाड गर्न नहुनेमा सहमत रहेको र आवश्यक सहयोग गर्ने कुरा हामीसित राख्नुभयो ।  तर, साँझ नपर्दै ६:३० मा सदरमुकामबाट सशस्त्र सेनाहरू हात हतियारले सुसज्जित भएर माथि क्याम्प खडा गर्न उक्लेको खबर हामीले पायौं । दिउँसै गृहमन्त्रीलाई जानकारी गरायौं, साँझपख नै सशस्त्र बल माथि उक्लियो । यो सरकारको दोहोरो चरित्र थियो ।

एकातिर, जिल्लामा रहनुभएका साथीहरू सशस्त्र बललाई रोक्ने प्रयासमा लाग्नुभयो । अर्कोतिर, संघर्ष समितिका संयोजकज्यूहरूले जिल्लाका सम्बन्धित सरकारी निकाय र सुरक्षा बलका प्रमुखहरूसँग सम्पर्क गर्न थाल्नु भयो । जिल्ला प्रमुख अधिकारीदेखि सुरक्षा निकायका प्रमुखहरूबाट एकैखाले वाक्य सुन्यौं- “यो गृह मन्त्रालयको आदेशबाट चालिएको कदम हो । हामीले आदेशको पालना मात्रै गरेका हौं ।”

फुङलिङबाट गाडीमा चढेर तल्लो फेदी पुगेका सशस्त्र सुरक्षा बल र  आन्दोलनकारीहरूबीच एकापसमा भनाभन शुरू भयो । तनाबको माहौल त यसै पनि हुने नै भइगयो । आन्दोलनकारीहरूले कुनैपनि हालतमा त्यसभन्दा अघि बढ्न नदिने ढिपी छाडेनन् । सशस्त्र सुरक्षाकर्मी पनि आदेशको पालना गर्नैपर्नेमा अडिग थिए ।

यता जसरी हुन्छ गृहमन्त्रीसँग पुनः सम्पर्क गर्ने प्रयत्नमा हामी लाग्यौं । जसोतसो स्वकीय सचिवसँग सम्पर्क हुन सक्यो । उहाँलाई फुङलिङबाट तल्लो फेदीसम्म पुगेका सशस्त्र बल यदि त्यहाँभन्दा अगाडि बढ्न खोजेमा जे पनि हुन सक्ने जानकारी गरायौं । गृहमन्त्रीले स्वकीय सचिवमार्फत् “आन्दोलनकारीहरूलाई संयमित भइ बस्न भन्नुहोस्, सुरक्षा बल फर्काउने आदेश म दिन्छु” भन्ने वचन दिनुभयो । ९:३० मा “सुरक्षा बल फर्काउनु भन्ने आदेश आयो” भन्ने जानकारी आन्दोलनकारी साथीहरूबाट पायौं । त्यत्तिन्जेलसम्म हाम्रा आन्दोलनकारी साथीहरू सशस्त्र बलको सामु निडरताका साथ ज्यानै दिन पनि तयार भएर डटिरहनुभयो ।

फर्किने आदेश त भयो । तर उनीहरू कुनैपनि बेला पुनःफर्केर चोरीदाउले घुसेर क्याम्प खडा गरिहाल्ने पो हुन् कि भनेर फिल्डका साथीहरू ढुक्क भएनन् । केवलकार निर्माण क्षेत्रमा  रहेका साथीहरू रातभरि जागेरै मुक्कुमलुङको रक्षामा खटिरहनुभयो । अरू साथीहरू सशस्त्र बलसँगै रातको २ बजे फुङलिङ् बजार झरे । यसरी तेस्रोपल्ट हामी हाम्रो मुक्कुमलुङलाई बचाउन सफल बनेका थियौं ।

अँ, मैले फुङलिङमा रीता मादेनजीसँग भेटेर कुराकानी गरेकी थिएँ । उहाँ फुङलिङबाट सशस्त्र बलहरू माथि उक्लिएको खबर पाउनसाथ तल्लो फेदीमा पुग्नेमध्येको एक महिला हुनुहुन्थ्यो । रातको २ बजेसम्म तल्लो फेदीबाट सशस्त्र बलहरूसँग २ बजे फुङलिङ बजार ओर्लिनुभएको कुरा मलाई सुनाउनुभएको थियो । नेपालमा मात्रै हैन विश्वकै सामाजिक आन्दोलनहरूमा महिलाहरूको सहभागिता र भूमिका महत्वपूर्ण छ । तर आन्दोलनको इतिहास रचिँदा र आन्दोलनको ताजा वर्णन प्रस्तुत गरिँदासमेत महिलाहरूको उपस्थिति र भूमिकालाई अरू-अरू पक्षहरूले छायाँमा पार्ने गरेको देखिन्छ । मुक्कुमलुङ संरक्षण र प्रदेश १ पुन: नामांकन आन्दोलनको सन्दर्भमा महिलाहरूको सहभागिता र योगदानको कस्तो छ ?

महिलाहरू मुक्कुमलुङ बचाउ र कोशी नाम खारेजी दुबै आन्दोलनमा सक्रिय हुनुहुन्छ । महिलाहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एकदमै प्रभावकारी भूमिका खेल्दै आउनुभएको छ । भौतिक रूपमै सहभागिता रहेपनि नेतृत्वकारी र अग्रपंक्तिमा भूमिका कम रहने स्थिति छ । म त भन्छु महिलाहरूकै भूमिका र योगदानबाट फिल्डमा आन्दोलन धान्न सकिरहेका छौं ।

मुक्कुमलुङ बचाउनका लागि भौतिक रूपमै जहिले पनि फिल्डमै खट्ने रीता मादेन, कमला पालुङ्वालगायतले अरू महिलाहरूलाई सक्रिय र संगठित रूपमा आन्दोलनमा लाग्न ऊर्जा र प्रेरणा दिइरहनुभएको छ । त्यसरी फिल्डमै खट्ने महिलाहरू आफ्नै बलबूतामा सक्रिय हुनुहुन्छ । महिलाहरू सामु रहेको चुनौतीहरू आफैले पन्छाएर आन्दोलनमा लागिरहनुभएको छ । साथै अरूहरूलाई पनि संगठित बनाउने काम पनि गरिरहनु भएको छ ।

ताप्लेजुङको भूगोल आन्दोलनकारीहरूको भौतिक उपस्थिति जुट्न अप्ठ्यारो हुने खालको छ । अपवादबाहेक पुरूषहरूले मोटरसाइकलको बन्दोबस्त गर्न र चलाउनु सक्नुहुन्छ । तर महिलाहरूसँग यातायातको आफ्नो साधन हुन्न । तैपनि महिलाहरू जुटिराख्नु भएकै छ । फक्ताङलुङ गाउँपालिकाबाट हरेक क्रियाकलापमा संलग्न हुनका लागि सविना केदेम, विपना केदेम र सोनिया नेयोङलगायतका युवा महिलाहरू आइपुग्नुहुन्छ । फक्ताङलुङबाट फुङलिङसम्म ८ सय रूपैयाँ र फुङलिङबाट तल्लो फेदीसम्म ४ सय रूपैयाँ गाडी भाडा तिर्नुपर्छ । आउजाउ गर्न एकजनाको गाडी भाडामात्रै चौबीस सय लाग्छ । पैसा नभएका बेला मुक्कुमलुङको माथ्लो बेल्टको जंगलको बाटो पैदल हिँडेरै आइपुग्नुहुन्छ ।  बाँकी भइपरि आउने अरू खर्च, खाना खाजाको बन्दोबस्त, आन्दोलनमा दिएको समयवापत घरायसी तथा पारिवारिक र खेतीपातीको काम, सानोतिनो खुद्रा व्यापार, पढाइमा भएको नोक्सानको लेखाजोखा नै छैन ।

त्यस अलावा धेरै संख्यामा महिलाहरूले आन्दोलनका निमित्त आवश्यक पर्ने अर्थ र खाद्यान्न संकलन, खानपान र बसोबासको बन्दोबस्त गर्नेदेखि आन्दोलनमा खट्ने जनशक्ति बटुल्नेसम्मको कार्यभार सम्हाल्दै आउनुभएको छ । मुक्कुमलुङ रक्षार्थ दिनरात खटिरहेका अभियन्ताहरूका घरपरिवार पूर्णरूपमा उनीहरूका घरका महिला सदस्यहरूले धानेका छन् । पुरूषहरूलाई ढुक्कै आन्दोलनमा लाग्ने वातावरण तयार पार्नु, आवश्यक सरसामाग्रीहरू उपलब्ध गराउनु, भइपरि आउने व्यवहारिक बाधाअड्चनहरू फुकाउनु महिलाहरूकै काँधमा छ ।

जस्तैः मुक्कुमलुङ बचाउन चौविसै घण्टा जंगलमै खटिएका कोही आन्दोलनकारी बिरामी परेमा उनलाई स्याहार-सुसार गर्ने, उनको लागि आवश्यक खानपिन, घरेलु ओखतीमूलो र दबाई पानी, तातो न्यानो लुगाफाटोहरूको बन्दोबस्त गर्ने काम महिलाहरूले नै सम्हालिरहेका छन् ।

नेपाल र संसारभरका विभिन्न ठाउँमा रहनुभएका महिलाहरूले आन्दोलनलाई आर्थिक, वैचारिक र नैतिकरूपमा निक्कै साथ समर्थन दिँदै आइरहनुभएको छ । आन्दोलनमा महिलाहरूको यस्तो भूमिका हुनु रेला (ख्यालठट्टा) होइन ।

कुराकानीको अन्त्यमा, मुक्कुमलुङ र पाथीभरा केवलकारको सन्दर्भमा हाम्रो लामो कुराकानी भयो । अझै कति धेरै पाटाहरूमा कुरा गर्न सकिन्छ । तैपनि अहिलेको हाम्रो कुराकानीमा छुटेका मध्ये तपाईंको लागि छुट्नै नहुने कुनै विषय छ ?

मुक्कुमलुङको सन्दर्भमा मलाई राख्नैपर्छ भन्ने लागेको केही कुरा भन्छु । युनेस्कोको विश्व सम्पदा सूचीमा नेपालका सात सम्पदाहरू परेका छन् । यो निकै गौरबको कुरा हो । अब ३१ वटा सम्पदा क्षेत्रहरू सूचीउन्मुख अवस्थामा रहेका छन् । हाम्रो मुक्कुमलुङलाई कंक्रिट विकासको जर्जर नमूना बनाउनुको सट्टा सिंगो समुदायको प्राकृतिक एवं मुन्धुमी सम्पदाको नमूनाको रूपमा विकास गर्नेतर्फ लाग्नुपर्छ । अनि मात्र यसलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गर्न सकिन्छ । यदि त्यसो गर्न सक्यौँ भने यसको गौरब, महत्व थप फैलिन्छ । त्यसले विश्व सामु नेपालको ओज नै बेग्लै खालको बनाउनेछ ।

अनि, केवलकारको सन्दर्भमा भन्नैपर्ने एउटा कुरा- केवलकारले स्थानीय अर्थतन्त्र, बजार र रोजगार खोस्नेछ । अहिले करिब ७ सय मान्छेहरूले तीर्थालुहरूलाई आफ्नो पिठ्यूमा बोकेर मुक्कुमलुङ शीरमा पुर्याउने र फेदीसम्म ओराल्ने काम पाएका छन् । करिब तल्लो फेदीबाट माथि लागेपछि बीच बाटोहरूमा होटल व्यवसायीहरू छन् । त्यहाँ स्थानीय उत्पादनहरू पनि खपत एवं बिक्री बितरण भइराखेको छ । त्यस्तै, झापा, इलाम, पाँचथरलगायतका जिल्लाहरूबाट तल्लो फेदीसम्म रूटमा व्यवस्थित ढंगले चलिरहेका यातायातहरू छन् । यी सबै पक्षहरू आ-आफ्ना काम व्यवसायबाट विस्थापित हुनेछन् ।

हामीले लामो समयदेखि मुक्कुमलुङ आन्दोलन गर्दैगर्दा र अघि बढिरहँदा देश-विदेशबाट आर्थिक र वैचारिक सहयोगहरू निरन्तर पाइरहेका छौं । पछिल्लो समयसम्म आइपुग्दा सहकार्य र समन्वय गर्ने आन्दोलनकारी संस्था- ‘प्रदेश नं. पुनःनामांकन संयुक्त संघर्ष समिति’, ‘पहिचानसहितको प्रदेश नं. १ प्रदेश पुनःनामांकन अभियान समिति’, ‘किरात धर्म तथा साहित्य उत्थान संघ’, ‘लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समिति’लगायतकाहरू जोडिनुभएको छ ।

आन्दोलनलाई विभिन्न पाटो र पक्षबाट उठाउन थालिएपछि संयोजनकारी संयन्त्रको रूपमा ‘मुक्कुमलुङ तान्सेःप् चुम्भो’ समेत गठन गरेका छौं । हाम्रो आन्दोलनबारेमा अध्येता-अनुसन्धाता, मिडिया र कलाकारहरूले चासो लिँदै जोडिँदै जाने क्रम चलिरहेको छ । यसले के देखाउँछ भने हाम्रो आन्दोलन फैलिँदै गइरहेको छ । बलियो बन्दै गइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : १८ बजे

‘आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ’

काठमाडौँ– भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले आगामी ३० वर्षमा

 पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला

 धनगढी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै

 भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने

काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन