विचार

धनकुटामा नेवारको २०० वर्ष पुरानो इतिहास

By खबरहब

August 04, 2024

धनकुटा नगरलाई मूल बसोबास क्षेत्र बनाएर बस्ने आठपहरिया राईहरू यस क्षेत्रका आदिवासी हुन् । यस क्षेत्रसँग सांस्कृतिक सम्बन्ध र रहनसहन र उपस्थितिले नेवारहरू धनकुटा नगर क्षेत्रका आदिवासी हुन् भन्ने पुष्टि गर्छ ।

ऐतिहासिक प्रसङ्ग कोट्याउँदा वि.सं. १८७५ फागुन वदी ६ रोज ३ मा तत्कालीन मुख्तियार जनरल भीमसेन थापाले विजयपुर र धनकुटातिर खटिएका काजी बहादुर भण्डारीलाई लेखेको एक पत्रमा धनकुटा शब्द परेको पाइएको छ । हालसम्म उपलब्ध लिखतको आधारमा यसैलाई धनकुटा उल्लेख भएको सबैभन्दा पुरानो ऐतिहासिक लिखत मान्नुपर्ने अवस्था छ ।

धनकुटा नगर क्षेत्रलाई मूल थातथलो बनाएर बसेका आठपहरिया राईहरूको नाममा जारी गरिएको वि.सं. १८७७ मङ्सिर सुदी ४ रोज २ मा लेखिएको राजकीय रुक्काको सक्कल नै पाइएको छ । राजेन्द्र राई र नौपगरीका नाममा लेखिएको उक्त रुक्कामा उनीहरूलाई दश लिम्बू सरह धनकुटा, साधन्या (बेल्हाराको सान्ने?), हिले र किन्ताङ क्षेत्रको जिम्मेवारी तोकिएको छ । हाल यी सबै क्षेत्र धनकुटा नगरपालिकाभित्र पर्छन् ।

धनकुटाभन्दा पहिले पूर्वी नेपालको चल्तीको प्रशासनिक मुकाम उत्तरी क्षेत्रमा चैनपुर र दक्षिणी क्षेत्रमा विजयपुर रहेको थियो । पछि पूर्वको सैन्य मुकाम धनकुटामा स्थापित भएको धनकुटा बजारस्थित निशान भगवतीस्थान परिसरमा ठडिएको एक शिलालेखले पुष्टि गर्छ । काजी जसपाउ थापाले धनकुटाको हाकिमी पाएको समयमा त्यहाँ कोतखाना स्थापना गरिएको थियो ।

जसपाउ थापा यस क्षेत्रको हाकिम रहेको बेला राखिएको वि.सं. १८७९ असार सुदी ७ उल्लेख भएको शिलालेखमा यहाँ कोतखाना स्थापना गरिएको उल्लेख छ । यसै समयदेखि धनकुटा पूर्वको सामरिक केन्द्रका रूपमा स्थापित भएको देखिन्छ ।

भीमसेनस्थानमा राखिएको वि.सं. १८८१ को शिलालेख (स्रोतः मनोजनारायण श्रेष्ठ)

पछि पूर्वी नेपालकै प्रशासनिक केन्द्रको रूपमा यस नगर धनकुटा गौँडाको रूपमा प्रख्यात हुन पुग्यो । राणाकालभरि धनकुटा गौँडाको हाकिम जर्नेललाई तोकिने व्यवस्था थियो । पूर्वी नेपालको केन्द्र भएकोले धनकुटाको चहलपहल लामो समयसम्म कायम रहन पुग्यो ।

तर, धनकुटाको त्यो सामरिक र प्रशासनिक गौरव अहिले आएर इतिहासमा सीमित हुन पुगेको छ । अहिले यहाँ पहिलेजस्तो चहलपहल छैन । राजनीतिक परिवर्तनसँगै धनकुटासँग यतिखेर पूर्वी नेपालको सदरमुकामको हैसियत छैन । तत्कालीन राजनीतिक विभाजनअनुसार पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम हुनुको इतिहासको गौरव बोकेर वर्तमानमा विस्थापित अवस्थामा गुज्रन पुगेको छ धनकुटा !

धनकुटा नगर क्षेत्रलाई गुल्जार बनाउनमा यहाँका नेवारहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । धनकुटाको भौगोलिक संरचनाअनुसार बजार क्षेत्र हुलाक टोलबाट बीचबजार हुँदै सिरानबजारसम्म उक्लिँदा होस्‌ वा माथिल्लो कोप्चे र तल्लो कोप्चेका नामबाट बिहीबारे हाटलाई भेट्न समानान्तर रूपमा तेर्सिदा होस्‌- यो बाक्लो बस्तीमा गैह्र नेवारको घर अत्यन्तै नगण्य छ । बजार क्षेत्रको बस्ती विकासमा नेवारहरूकै आधिपत्य छ ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर अनि धुलिखेल र दोलखा नेवारहरूको मूलथलो हो । यहीँबाट नेवारहरू नेपालभर छरिएका हुन् । मूल पेशा व्यापार-व्यवसाय भएकाले उनीहरूको बसोबास रोजाइ प्रायः बजार क्षेत्र परेको देखिन्छ ।

धनकुटा बजारका पुराना बासिन्दामध्ये एक साहित्यकार खगेन्द्र प्रधानाङ्ग (हालः दिवङ्गत) आफूहरू भादगाउँका राजा भूपतीन्द्र मल्लका सन्तान भएको बताउँथे । उपत्यकाका तीनवटै राज्य गोरखा राज्यको अधिनस्थ भएपछि आफूलाई जोगाउन थातथलो छाडेर अन्यत्र जानु परेको मात्रै होइन, मल्ल थर छाडेर प्रधानाङ्ग लेख्नु परेको पनि उनी बताउँथे ।

उनी र उनका बाबु गजेन्द्रबहादुरले प्रधानाङ्ग थर व्यवहार गरे पनि उनका सन्तानले भने मल्ल थर नै व्यवहार गर्न थाले । उनका सन्तानमध्ये जेठा छोरा मुकेश मल्लको चित्रकलामा र कान्छा अशेष मल्लको साहित्यिक क्षेत्रमा ठूलो नाम छ ।

कतिपय नेवारहरू व्यापारको सिलसिलामा उपत्यकाबाहिर निस्के भने कतिपय चाहिँ उपत्यकाबाट निष्कासनमा परेको इतिहास पाइन्छ । खासगरी राजा रणबहादुर शाहको निष्ठुर व्यवहारका कारण आफ्नो मूल थातथलो छाडेर उपत्यकाका नेवारहरू लाखापाखा भएका थिए ।

आफ्ना बालक छोरा गीर्वाणयुद्धलाई बिफर सर्ने डरले राजा रणबहादुर शाहले काठमाडौँका कलिला बालबच्चालाई उपत्यकाबाट निष्कासन गर्न कठोर आदेश जारी गरेका थिए । राजाको यस्तो आदेशपछि बिफर नआएका भए पनि आफ्ना बालबच्चालाई बोकेर आमाबाबुहरू काठमाडौँ छाडेर जान विवश भए । यसरी आफ्नो थातथलो छाडेर जाँदा उनीहरूले विरहको गीत गाउँदै गएका थिए, जुन अत्यन्तै मार्मिक थियो (चित्तरञ्जन नेपाली, “श्री ५ रणबहादुर शाह”–२०७५ः३७) ।

यसरी आफ्नो मूल थातथलो छाडेर विभिन्न ठाउँमा पुग्न बाध्य उपत्यकाका नेवारहरू धनकुटा पनि आइपुगे । धनकुटामा श्रेष्ठ, अमात्य, प्रधान, जोशी, कर्माचार्य, डङ्गोल, उदाश, योगी, शाक्य, मास्के, कसजु, राजभण्डारी, बौद्धाचार्य तथा तण्डुकार थरका नेवारहरूको बसोबास रहेको छ ।

वि.सं. २०२१ मा खिचिएको धनकुटाको हुलाकटोल (स्रोतः हाम्रो पुरानो धनकुटा)

पुरानो व्यापारिक मार्ग

धनकुटा पुरानो व्यापारिक मार्ग भएकोले पनि नेवारहरूले यो ठाउँलाई रोजेको देखिन्छ ।

उत्तरमा किमाथाङ्का हुँदै तिब्बत र दक्षिणमा विराटनगर हुँदै भारतको जोगवनी मात्रै होइन, फारबीसगञ्ज र कलकत्तासम्म जोड्ने व्यापारिक मार्गमा पर्थ्यो धनकुटा ।

आजभन्दा २०० पाँच वर्षअघि लेखिएको एक पुस्तकमा उसबेलै धनकुटा नगर व्यापक चल्तीको व्यापारिक मार्गमध्ये एक भएको उल्लेख छ । फ्रान्सिस बुकानन ह्यामिल्टनले आफ्नो पुस्तक “एन एकाउन्ट अफ् कीङडम अफ् नेपाल” (सन् १८१९ः१५७)मा उल्लेख गरेअनुसार त्यसबेला चैनपुरको सीधा व्यापार तिब्बतसँग चल्थ्यो ।

अरूणतिरको हटिया र तमोरतिरको ओलाङचुङमा व्यापार चल्थ्यो । यी दुई नदीको बीचमा रहेको पोकाङ (छोकाङ ?) ठूलो व्यापारिक केन्द्र थियो । यहाँ गर्मी मौसममा व्यापार चल्थ्यो । तिब्बतबाट भेडामा बोकाएर नून ल्याइन्थ्यो । यस्तै सुन, चाँदी, मृगको छाला, चौरीको पुच्छर, कम्बल आदि आयात हुन्थ्यो । चैनपुरतिरबाट धान, गहुँ, तेल, नौनी, सुतीको कपडा आदि निर्यात हुन्थ्यो । विजयपुर केन्द्रबाट पोकाङ पुग्ने बाटोमा मूलघाटबाट तमोर नदी किनार भएर, तमोर तरेर धानकोट (धनकुटा) हुँदै अनि माङमाया खोलाको बाटो भएर त्यहाँ पुगिन्थ्यो ।

तमोर नदीको किनारमा रहेको मूलघाट निक्कै पहिले पनि चल्तीको बस्ती भएको पुष्टि हुने एक सेनकालिन ऐतिहासिक पत्र पाइएको छ । राजधानी विजयपुरमा खासगरी त्यहाँका चौतारियासँग विवाद भई द्वैध शासन चलिरहेको अवस्थामा राजा कामदत्त सेनले वि.सं. १८०८ वैशाखमा लिम्बू सुब्बा कुम रायलाई मुकाम मुलघाटबाट लेखेको स्याहामोहरको सक्कल पाइएको छ । उनी त्यसबेला विजयपुरमा बस्न नसकेर यत्रतत्र भौँतारिइरहेका थिए ।

यस्तै लेखक तथा वनस्पतिविद्‌ जोसेफ डाल्टन हुकर सन् १८४८ मा वनस्पति अध्ययनका लागि पूर्वी नेपालको हिमाली तथा पहाडी क्षेत्र घुम्ने क्रममा उनले लेखेको पुस्तक “हिमालयन जर्नल” (सन् १८५५) मा धनकुटाको पनि छोटो प्रसङ्ग परेको छ । हुकर (सन् १८५५ः१८१) ले त्यसबेला करिब २५ माइल टाढाबाट धनकुटा बजारलाई हेरेर धनकुटा पूर्वी नेपालको राजधानी भएको तथा यो ठाउँ लोक्ताको बोक्रा लुछेर बनाइने नेपाली कागजका लागि प्रख्यात भएको उल्लेख गरेका छन् ।

पहिले धनकुटा बजारदेखि चार किलोमिटर उत्तरमा रहेको एउटा सानो बस्तीमा नेपाली कागज उद्योग थियो । उक्त ठाउँमा धनकुटाको सैनिक क्याम्पलाई खानेपानी आपूर्ति गर्न रिजर्भ्वायरको रूपमा एक पोखरी पनि निर्माण गरिएको थियो । सोही ठाउँमा नेपाली कागज पनि उत्पादन गरिने हुँदा र त्यसबेला कागजलाई कागत भन्ने चलनअनुसार त्यस ठाउँको नाम “कागते पोखरी” रहन पुग्यो । अहिले उक्त पोखरी विद्यालयको खेल मैदानमा परिणत भइसकेको छ । तर कतिपयले यहाँ पहिले प्रशस्त कागती फल्ने भएकोले यस ठाउँको नाम कागते रहन पुगेको हो भन्ने भ्रम फैलाएका छन् ।

व्यापार गर्ने उद्देश्य तथा अन्य विविध कारणले काठमाडौँ उपत्यकाबाट नेपालभरि छरिने क्रममा नेवारहरूले धनकुटा नगरलाई गुल्जार बनाएको माथि उल्लेख भइसकेको छ । धनकुटा नगरको बीच बजारमा नेवारहरूको इष्टदेव भीमसेनको स्थान स्थापना हुनुले पनि यस तथ्यलाई बलियो गरी पुष्टि गर्छ । बीचबजारलाई धनकुटा नगरको सबैभन्दा पुरानो बस्ती मान्न सकिने विभिन्न ऐतिहासिक आधारहरू उपलब्ध छन् ।

वि.सं. २०३१ मा खिचिएको धनकुटाको बिहीबार हाट (स्रोतः हाम्रो पुरानो धनकुटा)

धनकुटाको इतिहाससम्बन्धी जानकार पुराना पुस्ताका ऐतिहासिक व्यक्तित्त्व नरपति पोखरेलले “नरपति पोखरेलका कृति” (२०६६ः४५०) मा त्यसबेला बखतावरसिंह भण्डारीले भीमसेनको पूजा चलाउन बजारमा लाइन मिलाइ १० वटा झिंगटीको छानो भएका पक्का घर बनाएका थिए भन्ने उल्लेख गरेका छन् । यसले पनि धनकुटामा सहरी विकासको सुरुवात भीमसेनस्थान रहेको बीचबजारबाटै सुरु भएको थियो भन्ने सङ्केत गर्छ ।

नेवार समाजमा “भिं” अर्थ शुभ र “द्यः”को अर्थ देवता हुन्छ । अर्थात् भिंद्यः को समग्र अर्थ शुभ गर्ने देवता भन्ने हुन्छ । भिंद्यःलाई भीमसेन भनिन्छ । यो देवतालाई नेवारहरूले आफ्नै परिवारको सदस्यको रूपमा मान्यता दिँदै म्हपूजा गर्ने, जात्रा गर्ने गरेका छन् । सोहीकारण उपत्यका र उपत्यका बाहिर बसोबास गर्न पुगेका नेवारहरूले भिंद्यः अर्थात् भीमसेनको विशेष मन्दिर बनाएका हुन्छन् । कतिपय ठाउँमा मन्दिर नरहेको अवस्थामा पनि व्यापार गर्ने थलोको एक कुनामा भीमसेनलाई स्थापना गरिएको हुन्छ । भीमसेनको पूजा आराधनाबिना नेवारहरूको दैनिकी नै सुरु हुँदैन (डा. राजनलाल जोशी, “डीएमसी जर्नल” वर्ष ७ अङ्क ६–जुलाई २०२२ः४३) ।

दोलखालाई नेवारहरूको प्राचीन बस्ती मानिन्छ । पहिले दोलखा ठूलो व्यापारिक मार्ग रहेको र नेवारहरू त्यहाँबाट तिब्बतसम्म व्यापार गर्न जाने हुँदा दोलखाकै एक भीषण व्यक्तिलाई नेवार व्यापारीहरूले आफूहरूको सुरक्षार्थ लगेका थिए भन्ने भनाइहरू पाइन्छन् । भारतवर्ष र तिब्बत जोड्ने वा तिब्बत जाने सिल्करोडमा बस्दै आएका भीमसेन नामका ती बलिया व्यक्तिबाट व्यापारका क्रममा लुटपाटजस्ता सम्भावित खतराबाट जोगिनका लागि साथ सहयोग लिएका र पछि नेवार समाजमा उनी बलका देवताका रूपमा प्रसिद्ध भएका हुन् (जोशी, सन् २०२२ः४५) ।

नेवारहरू गणेशपछि भीमसेनको पूजा गर्छन् । धनकुटा नगरको बीचबजारमा भीमसेनस्थान भएजस्तै सिरानबजारमा गणेशको मन्दिर छ । धनकुटाको भीमसेनस्थान र यसको गुठीको स्थापना गरी यहाँको व्यापारिक नेवार समाजलाई खुसी राख्न २०० वर्षभन्दा अघि यस क्षेत्रको प्रशासन चलाउन खटिएका तत्कालीन काजी बहादुर भण्डारी र उनका छोरा बख्तावरसिंह भण्डारीको महत्त्वपूर्ण योगदान रहेको ऐतिहासिक प्रमाणहरू उपलब्ध छन् । यसबारे पनि यहाँ चर्चा गरिएको छ ।

धनकुटाका हाकिम बहादुर भण्डारी

कुनै बेला हालः धनकुटाको जिल्ला प्रहरी कार्यालय र निशान भगवतिस्थान रहेको ठाउँ सैन्य र सामरिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेको थियो । यसै स्थानमा ठडिएको वि.सं. १८७९ को शिलालेखले यहाँ काजी जसपाउ थापाले कोतखाना स्थापना गरेका थिए भन्ने माथि उल्लेख भइसकेको छ ।

वि.सं. २०१९ मा खिचिएको भीमसेनस्थानको मन्दिर । (स्रोतः हाम्रो पुरानो धनकुटा)

विभिन्न ऐतिहासिक पत्रहरूको अध्ययनबाट काजी जसपाउले पाँच वर्ष धनकुटामा रहेर पूर्वी नेपालको प्रशासन चलाएका देखिन्छ । उनीपछि धनकुटामा काजी बालनरसिंह कुँवर प्रशासक भएर पुगेका थिए ।

काजी जसपाउ थापाअघि काजी बहादुर भण्डारी त्यहाँको प्रशासन हेर्ने गरी धनकुटा पुगेको ऐतिहासिक पत्र इतिहासकार ज्ञानमणि नेपालले “नेपालनिरुपण” (२०५५ः२६९) मा प्रकाशित गरेका छन् ।

तत्कालीन मुख्तियार जनरल भीमसेन थापाले काजी बहादुर भण्डारीलाई वि.सं. १८७५ फागुन वदी ६ रोज ३ मा लेखेको यो पत्रमा “मधेस्को बाट विजैपुर आइ १ दिन मुकाम् गरी माघका २७ दिन जाँदा धनकुटा आइपुग्या केहीदिन विजैपुर बसी मुलुकको हालसुरत बुझी रैतीका सल्लाह गरी ७५ सालको कबुलियतबमोजिम रुपया कविराज खड्काबाट दर्वार पठाउन्या र उसको पनी मुलुकमा रह्याको बाजबी अुसल गराई दिन्या बंदोबस्त गरी तैले धनकुटा जानु भन्या हुकुमको लालमोहर आयो धनकुटा पुग्या काम बढिया…दाम काम बढिया गरी हुन्या पाठको बन्दोबस्त बाँधी धनकुटा जानु भन्या हुकुम हुँदा सोमाफिक लालमोहर तिम्रा नाउँमा भै गयाको हो…धनकुटा पुग्यापछि मोहर देषन्या काम भएछ” भन्ने ब्यहोरा परेको छ ।

यस पत्रले काजी बहादुर भण्डारीले धनकुटाको प्रशासकका रूपमा काम गरेको ऐतिहासिक रूपमा प्रमाणित गर्छ । काजी बहादुर भण्डारीका पुर्खाहरू पनि दरबारका भारदार थिए । रणबहादुर शाहको समयका सक्रिय सरदार जसिवन्त भण्डारीका छोरा हुन् काजी बहादुर भण्डारी । उनका हजुरबुवा पारथ भण्डारी हुन् ।

तत्कालीन राजा रणबहादुर शाहले आफूलाई मन परेकी तिरहुतिया बालविधवा कान्तवतिसँगको विवाह अघिको सर्तअनुसार वि.सं. १८५५ मा बालक युवराज गिर्वाणयुद्धविक्रम शाहलाई राजा घोषणा गर्दा ताँवापत्र गर्ने भारदारमध्ये सरदार जसिवन्त भण्डारी पनि एक थिए । ताँवापत्र गर्दा जसिवन्तलाई गजसिंहको नाती र पारथ भण्डारीको छोरा भनी लेखिएको छ (नेपाली, २०७५ः१०९) ।

काजी बहादुर भण्डारीका हजुरबुबा पारथ भण्डारी पृथ्वीनारायण शाहकालीन गोरखाली भारदार थिए । उनी बख्शी अभिमानसिंह बस्नेतको नेतृत्त्वमा पूर्वतिर बढेको गोरखाली सेनामा सहभागी थिए । उनका सन्ततीको बसोबास हाल नुवाकोटको झिल्टुङमा छ ।

सरदार पारथ भण्डारी पहिले लमजुङ राज्यसँग सम्बद्ध थिए । वि.सं. १८२३ को असोज महिनामा गोरखाली सेनाले लमजुङ आक्रमण गर्दा कुँजर भण्डारीलगायत लमजुङे सेनाले गोरखालीसमक्ष आत्मसमर्पण गरेका थिए । तीमध्ये सरदार पारथ भण्डारी पनि एक थिए । लाखाजुङमा अधिकार जमाएपछि गोरखाली सेनानायक वंशराज पाँडेले आत्मसमर्पण गरेका लमजुङे सेनाको हतियार खोसी उनीहरूलाई छाडिदिएका थिए । तर लमजुङको अवस्था राम्रो नदेखेर पारथ भण्डारीले भने सधैँका लागि लमजुङ परित्याग गरी गोरखाली सैन्यसेवामा प्रवेश गरेका थिए । (बाबुराम आचार्य, “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी”–२०६१ः३०७–८) ।

उनै पारथ भण्डारीका नाति र पनातिले राष्ट्रसेवा क्रममा आफ्नो कीर्ति र स्मृति धनकुटामा छाडेका छन् ।

धनकुटामा भीमसेनस्थान स्थापना

धनकुटामा रहेको भीमसेनस्थानमा एक शिलालेख ठडिएको छ ।

धनकुटाको ऐतिहासिक सामग्रीहरू” (२०६१ः११–१२) मा भीमबहादुर बस्नेत र ठाकुर बरालले उल्लेख गरेअनुसार शिलालेखको ब्यहोरा यस्तो छः श्री हनुमन्भीमशेन शिवम् २ स्वस्ति श्री महोरक्षावलाधीसकल सामन्त चुडामणि मरी विनीस जित पाद पीठ श्री श्री श्री श्री श्री मन्महाराजा धिराज राजेन्द्र विक्रम शाहदेव मन्त्रि तिलक श्री मद् भीमसेनधीस षित महावर भंडारीत्युपन्नामक श्री बहादुर द्वय मन्त्रिण …को प्रीतये प्रासादन्निर्माय भूव सुमति १८८१ मिति विक्रम शाके शुक्ल सित दशहरायं दशम्या रविवासरे समर्पित इति २ शुभ् ।

तर, लेखकद्वयले शिलालेखमा लेखिएको भनी उल्लेख गरेको महावर भंडारी नभई बख्तावर भण्डारी हुनुपर्छ । किनकि बख्तावरसिंह भण्डारी त्यो समयमा धनकुटातिरै खटिएका थिए भन्ने र भीमसेनस्थानसम्बन्धी अरू ऐतिहासिक पत्रहरू पनि उपलब्ध छन् ।

योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १” (२०५५ः३०५) मा बखतवारसिंह भण्डारीको नाममा तत्कालीन राजाले वि.सं. १८९७ असोज सुदी ७ रोज ६ मा लेखेको रुक्का प्रकाशित गरेका छन् । रुक्कामा “धनकुटामा तेरा बाबले र तैले थापना गर्‍याको र पौवा पाटी पक्की घर बनायाको गुठ निमित्य पौवा पाटी पक्की घरमाँ पसल राषन्या नेवार जति छन् तिन्हरूलाई ञहाँबाट जान्या भारदारहरूले रकम दै दस्तुर देउ भनि टंटा गर्छन्. तेस पाटी पौवामाँ पसल राषन्या नेवारलाइ रकम कलम दस्तुरादमाँ टंटा नगर्नु डंड कुंड भया ताँहाँका आमदानीले …लाई धुप दीप नैवेद निमित्य. फिर्ता गरिदिनु न लिनु हाँम्रो जंगी काँम पर्दा पुर्व तरफ…पल्टन जानु पर्‍यो भन्या तेस पौवा पाटीमाँ रहन्या पसल्याहरूले पल्टनका साथ जाई पसल थापनु औ पसल्याहरूले साँझ विहाँन नित्य पुजा भजन गर्नु…” उल्लेख छ ।

यसबाट बख्तावरसिंह भण्डारी र उनका बाबु काजी बहादुर भण्डारीले धनकुटाको बीचबजारमा भीमसेनस्थान स्थापनामा योगदान गरेको स्पष्ट हुन्छ । त्यसबेला बख्तावरसिंह कप्तान दर्जामा कार्यरत थिए ।

भीमसेनस्थानमा राखिएको शिलालेखमा वि.सं. १८८१ उल्लेख भएकोले त्यसबेलै यहाँ मन्दिर निर्माण भएको हो भन्ने देखिन्छ । यसबाट हेर्दा भीमसेनस्थान मन्दिर निर्माण सम्पन्न भएको २०० वर्ष पुगेको स्पष्ट हुन्छ ।

तर, त्यसअघि नै भीमसेनको पूजा चलाउन काजी बहादुर भण्डारीका नाममा तत्कालीन राजाले रुक्कामार्फत् आदेश दिइसकेका थिए । वि.सं. १८७६ भदौ वदी ५ रोज ३ मा तत्कालिन राजाबाट धनकुटामा खटिएका काजी बहादुर भण्डारीको नाममा लेखिएको रुक्कामा “धनकुटाका… पुजा अक्षता धूप वाति निमित्य. तेसै जगामा ७६ सालमा झाराले का विह्रौटा मध्ये पार्सि मुरि । २० साधन्यको पधेर्‍या मुरि । २० जम्मा षेतमुरि । ४० गुठ राषि बक्स्यौं” भन्ने परेको छ (योगी, २०५५ः३०४) ।

यसबाट हेर्दा वि.सं. १८७५ मा धनकुटा पुगेका काजी बहादुर भण्डारीले तत्कालै भीमसेनस्थान स्थापनामा सहयोग गरेका र त्यहाँ गुठी राख्न तत्कालै राजाको आदेश पाएको स्पष्ट हुन्छ । वि.सं. १८८१ मा बीचबजारमा भीमसेनको मन्दिर बने पनि यहाँ पूजाआजाका लागि गुठी भने वि.सं. १८७६ मै राखिदिएको भन्ने देखिन्छ ।

धनकुटाको भीमसेनस्थानको गुठी रहेको धनकुटा बेँसीको एउटा टारलाई अहिले पनि गुठीटार भनिन्छ । भीमसेनस्थानमा १० घर नेवारहरू गुठीयार रहेका छन् । भीमसेनस्थानको नित्यपूजा यहाँका शाक्य नेवार परिवारले चलाउँदै आएका छन् । कालुबहादुर शाक्यका सन्तति हालः यहाँका पुजाहारी रहेका छन् । नविनकिशोर शाक्यले भीमसेनस्थानको नित्य पूजा चलाउँदै आएका छन् ।