राजनीति

गणतान्त्रिक व्यवस्थाबारे कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा

By खबरहब

September 04, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन् ।

पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए ।

सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र  एमालेबीच कुनै मतभेद नरहेको बताए । उनले देशको अवस्था चुनौतीपूर्ण रहेकाले कर्मचारीमा अझ यसको प्रभाव पर्ने बताए । चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सभापति देउवाले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी राजनीतिक दल मुलुकको समस्या समाधानका लागि एक ठाउँमा उभिएको बताए । उनले मुलुकको राजनीतिबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए।