पसलेले महंगोमा बेच्यो ? ११३७ मा फोन गर्नुहोस् ! | Khabarhub Khabarhub

अन्तर्वार्ता

पसलेले महंगोमा बेच्यो ? ११३७ मा फोन गर्नुहोस् !

म त भन्छु– सुपथ मूल्यको पसलमा सामान किन्नोस् : आपूर्तिमन्त्री



काठमाडौं- देशभर बाढी र पहिरोबाट सडक सञ्जाल अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका र अन्य जिल्लामा तरकारी लगायत खाद्य सामग्रीको भाउ ह्वात्तै बढेको, बढाइएको छ । यस्तो बेलामा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने सिंहदरबारको सरकार, के गर्दैछ ? आपूर्तिमन्त्री के गर्दैछन् ? यसबारे चियोचर्चो गर्न हामी घटस्थापनाको अघिल्लो दिन सिंहदरबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्र पस्यौं ।

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन्– दामोदर भण्डारी । उनी सुदूरपश्चिमको बैतडीबाट निर्वाचित नेकपा एमालेका सांसदसमेत हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेलादेखि भण्डारीले यो मन्त्रालय सम्हालिरहेका छन् । केपी ओलीको विश्वासपात्र भएका कारण उनी दोहोर्‍याएर मन्त्री बन्ने भाग्यमानीको सूचीमा परेका हुन् । पदम गिरी लगायतका मन्त्रीहरु भने दोहोरिने मापदण्डमा परेनन् र प्रचण्डको सरकार ढल्नासाथ सिंहदरबारबाट बाहिरिए । तर, भण्डारी भने मन्त्रालयमा दोहोरिए ।

तथापि, देशमा बाढी पहिरोको विपदपछि खाद्यान्नमा महँगी बढेका बेलामा मन्त्री भण्डारी खासै ‘भिजिबल’ देखिन सकेका छैनन् ।

विपदका बेला मन्त्री भण्डारी मन्त्रालयमा के गर्दै होलान् भनेर बझ्न सिंहदरबारमा पुग्दा उनको कार्यकक्ष बाहिर भिडभाड थियो । भेट्न आउने मानिसलाई ‘वेइटिङ रुम’ मा तीन घण्टासम्म कुराएका भण्डारी गोप्य कोठामा कुनै एक व्यक्तिसँग घण्टौंसम्म व्यस्त भेटिए । भेटघाटको तारतम्य मिलाउन उनको सचिवालय असफल देखियो । पत्रकार ऋषि धमलाले ‘गेट क्रस’ गरेर ढोका ठेलेपछि बल्ल मन्त्रीको लामो मिटिङ क्रमभंग भयो ।

चाडपर्वका बेला खाद्य सामाग्रीको मूल्यवृद्धि भइरहेको छ । यस्तो बेलामा बजार अनुगमन गर्ने र आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने जिम्मेवारी मन्त्री भण्डारीकै मन्त्रालयलाई छ ।  तर, उपभोक्ताहरुको गुनासो सुनिन्छ– यो देशमा सरकारै छैन ।

यतिखेर आपूर्ति मन्त्री बजारतिर देखिएको भए जनतालाई सरकार रहेछ भन्ने महसुस हुँदो हो, तर उनी सिंहदरबारमै सीमित थिए । शायद जनआक्रोशको शिकार भइने डरले प्रधानमन्त्री र मन्त्रीहरु जनताका माझमा निस्कन डराइरहेका छन् ।

घण्टौं कुरेपछि मन्त्री भण्डारीसँग बातचित गर्ने समय मिल्यो । बजारमा तरकारीको भाउ बढेको उनी आफैंले स्वीकारे । तर, यो पनि भन्न भ्याए– कसैले तोकिएको भन्दा बढी मूल्यमा सामान बेचेको पाइएमा ११३७ नम्बरमा फोन गर्नू, सरकारले तत्काल कारबाही गर्छ ।

हामीले जानकारीका लागि ११३७ नम्बरमा शुक्रबार बिहान सवा ८ बजे फोन गर्दा ‘तपाईले सम्पर्क गर्न खोज्नुभएको नम्बरबाट जवाफ आएन’ भन्ने आवाज आयो ।

सुनौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँगको कुराकानीको अंश :

दशैं आइसक्यो, सरकारले आपूर्ति व्यवस्था कसरी मिलाएको छ ?

राजमार्गकेन्द्रित हाम्रा अभियानहरू छन् । मापदण्डविपरीत कसैले बिक्री वितरण गरे कारबाही हुन्छ । एमआरपी भन्दा बढी कहीँ बिक्री वितरण भएको भए त्यसलाई कारबाहीको दायरामा ल्याइएको छ ।

पछिल्लो एक–दुई दिन बाढी पहिरोबाट जनजीवन प्रभावित भएपछि राजमार्ग अवरुद्ध भएर तरकारी लगायत फलफूल प्रभावित भएको छ । बाटो अवरुद्ध भएर एक–दुई दिन बजार अलिअलि प्रभावित छ । खासगरी तरकारी सागसब्जीमा तोकेको भाऊ भन्दा बढी छ ।

हामीले आपूर्ति श्रृंखलालाई हिजोका अनुभव र अनुभूति जे छन्, त्यसैमा टेकेर अगाडि बढिरहेका छौँ । सहज आपूर्ति र स्वच्छ बजार र मूल्यवृद्धि जस्ता प्रश्नमा हामी सचेतनापूर्वक केन्द्रित छौं । अस्ति पनि मुख्य सचिवज्यूले सचिवस्तरीय बैठकमा सबै निकायलाई निर्देश गर्नुभएको छ ।

यो मन्त्रालयका तर्फबाट वाणिज्य विभागसहितको वाणिज्य परिषद् भन्ने हाम्रो समिति छ, त्यसको बैठक बसेर आज हामीसँग खाद्यान्न लगायतका अधिकांश बस्तुहरूको उपलब्धता कति छ ? मूल्य कति छ ? त्यसमा डाटाहरू लिएर काम गरेका छौँ । बैठक दिनहुँ भइरहेको छ । अनुगमन दिनहुँ भइरहेको छ ।

किराना पसलले १०७ भन्दा बढी मूल्यमा चिनी बेच्न पाउँदैनन् । कसैले बढीमा बेचेको पाइए हाम्रो टोल फ्री नम्बर ११३७ मा कल गर्दा हामी तत्काल कारबाही गर्छौं   

वर्षभरिमा चार हजार पटक अनुगमन गर्ने भनेका छौँ । वाणिज्य विभाग र अरू मातहतका विभागले पनि यसमा सबै बस्तुको निगरानी गरेर जाने छौँ । कुनै पनि अवस्थामा खाद्यान्न र पोट्रोलियम पदार्थको अभाव हुँदैन ।

हामीले सुपथ मूल्यका पसलहरू पनि सञ्चालनमा ल्याएका छौँ । खाद्य व्यापार तथा कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ, डीडीसी लगायतका संस्थाबाट ४१ जिल्लाका ६१ स्थानमा त्यस्ता पसलहरू सञ्चालनमा ल्याएका छौँ ।

दुई दिन भेलबाढी आउँदा पनि तरकारीजन्य वस्तु अभाव हुने रहेछ । व्यवस्थापन भएन भन्ने जनगुनासो छ नि ?

राज्यसँग सीमित स्रोत साधन छन् । हाम्रो आजको संयन्त्र स्रोत साधन उपलब्धता जनशक्ति प्रणालीबाट सम्पादन काम यो सबै तपाई हामीले देखेकै छौँ । यसमा सचेतना, तयारी र पूर्वतयारी सरकारले गरेकै हो ।

तर, यति धेरै अवस्था बिग्रियो कि तीन दिनको वर्षापछि उपत्यकाभित्र बढी प्रभाव पर्‍यो । यति धेरै क्षति होला भनेर अनुमान गरिएको थिएन । क्षतिलाई न्यूनीकरण गर्ने कुरामा सरकारको पूर्ण तत्परता रह्यो । तर, पनि विपत्तिले गर्दा हामी चुक्यौं ।

बजारमा चामल, चिनी, तेल लगायतको भाउ अस्वाभाविक बढेको देखिन्छ नि ?

हामीले पटक–पटक अनुगमन गरिरहेका छौँ । यहाँले वाणिज्य विभागको साइडमा हेर्नुभयो भने पटक–पटक कारबाही भएको देख्नुहुन्छ । अहिले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको पसलमा गयो भने यहाँले चिनी १०२ रुपैयाँमा पाउनुहुन्छ । योभन्दा अगाडि १०७ रुपैयाँ थियो, अहिले १०२ रुपैयाँमा पाइन्छ ।

किराना पसलले १०७ भन्दा बढी मूल्यमा चिनी बेच्न पाउँदैनन् । कसैले बढीमा बेचेको पाइए हाम्रो टोल फ्री नम्बर ११३७ मा कल गर्दा हामी तत्काल कारबाही गर्छौं ।

हामीले १२ वटा उच्चस्तरीय अनुगमन समिति बनाएर देशभरि अनुगमन गरिरहेका छौँ । आजसम्म १७ सय पल्ट अनुगमन भएको छ । चिनीका थुप्रै बोरा र पसल सिल गरिएको छ । मूल्य बढेको छैन । यदि लेखिएको मूल्य भन्दा बढीमा बेचेको पाए खबर गर्नुभए हुन्छ ।

यहाँहरूले गरेको अनुगमन प्रभावकारी भएन भन्ने जनगुनासो छ नि ?

होटललाई जरिवाना गराइएको छ । राजमार्गमा अखाद्य बस्तु बेच्न नपाइने भनिएको छ । कारबाही गरिएको छ । यदि राजमार्गका होटलहरुमा मनपरी भए म तुरुन्त नजिकको निकायलाई खबरदारी गर्न अनुरोध गर्छु । प्रभावकारी बनाएर लगिन्छ । यो हाम्रो बाचा भयो ।

कुनै पनि राजमार्गका होटेलमा मुल्यसूची अनिवार्य हुनुपर्छ । मूल्यसूची नभए त्यो होटललाई कारवाही हुन्छ । जुन खाद्यबस्तुको जति मूल्य हो, त्योभन्दा बढी लिन पाइँदैन ।

एउटा पसलमा राति १२ बजे गाडीले झार्ने, अन्यत्र अर्को पसल नै नहुने, त्यो गर्न पाइँदैन । चारवटा न्यूनतम पसल भएकोमा गाडीले रोक्नुपर्छ । यस्तो चाहिँ हामीले सुपथ पसलसँग आह्वान गरेका छौँ । सहुलियत गर्न भनेका छौँ ।

अनुगमन र कारबाही फितलो हुने छैन । तीव्र गतिमा सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको छ । स्वच्छ बजार बनाउने लक्ष छ । बासी खाना बेच्न पाइने छैन । यदि त्यो अवस्था भए तत्काल कारबाही हुन्छ ।

बाढीका कारण देशभरको लाइफलाइनमा असर परेको छ, अब दशैंका बेला खाद्यान्न अभाव हुँदैन त?

त्यस्तो केही छैन । अभाव हुँदैन । कतै नाकामा सामान रोकिएको पनि छैन । जनतालाई चाहिने अत्यावश्यक वस्तुको कुनै ठाउँमा अभाव हुन दिइने छैन । नोट गरेर राख्नू । चिनी, नुन, तेल, चामल लगायत सबै खाद्यान्न सामाग्री चाहिनेजति नै दिने भनेका छौँ । चिनी भन्सारमा एक थोपा रोकिएको छैन । अरू खाद्य सामाग्री अभाव हुन दिइँदैन ।

कर्णाली र सुदूरपश्चिमका विकट जिल्लामा पनि खाद्यान्न अभाव हुँदैन ?

हुँदैन । अभाव हुन दिने छैन । सरकारका डाटा हेरे पनि थाहा हुन्छ । असोज ३ गतेबाट सुपथ मूल्यका पसल सञ्चालनमा छन् । धेरै कर्णालीमा खपत भएको छ । त्यसपछि सूदुरपश्चिममा भएको छ ।

यस्तै, बागमती, लुम्बिनीमा पनि भएको छ । कुनै जिल्लामा अभाव हुँदैन । ढुवानी भाडा पनि अनुदान दिइएको छ । ७ रुपैयाँ दालमा, ५ रुपैयाँ तेलमा, चिउरामा र मैदामा सहुलियत दिइएको छ ।

म त जनतालाई शुपथ मूल्यको पसलबाट सामान किन्न अनुरोध गर्छु । दुर्गम ठाउँमा त सरकारले ढुवानी भाडासमेत दिएकाले सुपथ मूल्यकै पसलबाट सामान किन्न अनुरोध गर्छु।

ग्यासमा ४१ रुपैयाँ सरकारले सहयोग गरेको छ । हवाई इन्धनमा ६ रुपैयाँ सहयोग गरेको छ । पेट्रोलको पनि निरन्तर मूल्य घटेको छ । सहुलियत गर्‍यो भनेर साना अक्षरले देखाउने भइरहेको छ ।

म सरकारले नदेखेका समस्याहरू नागरिकलाई देखाइदिन अनुरोध गर्छु । त्यसले हाम्रो धेरै कुरा सुधारमा काम गर्छ ।

उद्योग वाणिज्य मन्त्रालयमा के–कस्ता समस्या रहेछन् ? तपाईले अहिलेसम्म के–काम गर्नुभयो ?

नीतिगत सुधार ठप्पै रहेछन् । सुधार कार्ययोजना बनाइएको छ । रोजगारी सिर्जना हुने क्षेत्र कहीँ हो भने नेपाल हो । नेपालको आन्तरिक श्रोत साधनको उपयोग गर्ने ठाउँ कहीँ हो भने नेपाल हो । त्यसै गरी हाम्रा व्यापार नीतिहरु समयअनुसार नवीकरण गर्ने र त्यसलाई पुनर्जिवित गरी नयाँ ढंगले लानुपर्ने छ ।

त्यसैगरी आपूर्ति श्रृंखला पनि त्यसै गरी व्यवस्थित गर्ने, मापदण्डलाई सरलीकृत गर्ने र व्यावसायिकता वृद्धि गर्ने कुराहरू छन् । यसले अर्थतन्त्रमा सुधार गर्छ । सुधार गरेर लागिन्छ ।

उखु किसानले अनुदान नपाएका कारण उखु नै रोप्न छाडेका छन् । उत्पादनमा आत्मनिर्भर हुने कुरा गफ मात्रै हो ?

उखुमा हामीले प्रतिकेजी १७ रुपैयाँ अनुदान दिइरहेका छौँ । किसानले पाएका छन् । तर अहिले पनि हामी चिनीमा आत्मनिर्भर बन्न सकेका छैनौं । उखु उद्योगलाई वृद्धि गर्नुपर्ने छ । उत्पादन बढाउनुपर्ने छ । सरकारले दिएको सहुलियत पर्याप्त नै देखिन्छ ।

अझै उत्पादकत्व वृद्धि गर्न सरकारले यो वर्ष कृषि दशक घोषणा गरेको छ । अब क्रमशः यसलाई वृद्धि गर्ने कुरामा लगिन्छ । यो पटक साँच्चै राम्रो काम भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : १५ बजे

पूर्वराष्ट्रपतिले भनिन्- केपी ओली नेता मात्रै होइन, राजनेता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्रै

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक 

रूकुम – हिउँ कसैको लागि रहर छ भने कसैको लागि

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित

एजेन्सी – जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न