झापा– अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रशासनले गरेको आकस्मिक अनुगमनका क्रममा भण्डारमा मलको मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भण्डारका सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो । बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण सञ्चालकले देखाउन नसकेपछि जरिवाना गरिएको हो ।
भण्डारले १७० बोरा युरिया र २३० बोरा डिएपी खरिद गरेको थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डिएपी मात्रै भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डिएपीको हिसाब नदेखाएपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
यसैबीच, बुद्धशान्ति गाउँपालिका–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण भने दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।














प्रतिक्रिया