मुस्ताङको मार्फामा पदमार्ग निर्माण | Khabarhub Khabarhub

मुस्ताङको मार्फामा पदमार्ग निर्माण


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा पदमार्ग निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय मुस्ताङको  ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यीकरण गरिएको हो । मार्फा गाउँको शिरमा करिब एक किलोमिटर पदमार्ग निर्माण भएको कार्यालयले जनाएको छ ।

उक्त पदमार्गको डिलमा बत्ति जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको कार्यालयका प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिए । मुस्ताङ आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले पर्यटकीय गाउँ मार्फालाई सौन्दर्यीकरण सहित पूर्वाधार निर्माण गरिएको उनले बताए ।

यसअघि मार्फा देखि स्याउ उद्यान जाने पदमार्ग उकालो र साँघुरो थियो । मार्फाका वडा अध्यक्ष मनबहादुर हिराचनले पदमार्ग बनेपछि मार्फामा आउने पर्यटकहरू स्याउ उद्यान र गुम्बामा भुल्न थालेका बताए ।

गाउँमाथिको पदमार्गको डिलमा जडान गरिएको बत्तीले रातको समयमा मार्फालाई आकर्षण देखाएको उनले बताए । पर्यटकहरूले डिलमा रहेको स्याउ आकृतिको प्रतिमा र स्याउको राजधानी मार्फा गाउँलाई पृष्ठभूमिमा पारेर फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् ।

सघन सहरी विकास तथा भवन आयोजना बागलुङ मार्फत निर्माणाधीन स्याउ उद्यानदेखि स्याउबारी र मार्फा गाउँको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । स्याउबारी, थकालीको रहनशहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा र गुफा मार्फाको पर्यटकीय आकर्षण हुन् ।

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरूमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीऔ अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुख्खा पहाड छ ।

ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफा सुग्घर र चिटिक्क छन् । बसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका स्याउ बगैचा डुल्डा प्रकृतिको काँखमा रमाएको महसुस हुने काठमाडौबाट मार्फा घुम्न आएकी रिता खत्रीले सुनाइन् ।

धौलागिरि हिमाल फेदको धमाङबाट बसाई सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ति बसालेको एक सय ५० घरधुरीको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ ।

स्वदेशी तथा विदेशी चलचित्रहरु छायांकन भएको मार्फाका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् । मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृश्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा पनि अर्को आकर्षण हो । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग व्याधि नआओस् भनेर पूजाआजा गर्ने चलन छ ।

जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामाकरण गरिएको छ । इकाइ कावागुचीलाई नेपाल-जापान सम्बन्धका दूत मानिन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : ०० बजे

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ

नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

काठमाडौं – चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी