दशैँमा घुमघाम : देशका १५ मनोहर गन्तव्य ! | Khabarhub Khabarhub

दशैँमा घुमघाम : देशका १५ मनोहर गन्तव्य !


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 14 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाडपर्वका बेला खानपानसँगै घुमफिर गर्ने नेपालीको सङ्ख्या बढ्दो छ । उदाउँदो मध्यम वर्ग र बढ्दो पर्यटन संस्कृतिका कारण पछिल्ला वर्षहरूमा प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकमा अधिकांश नेपाली छन् । झापाको केचनाकवलदेखि मुस्ताङका गुफासम्म विदेशीभन्दा नेपाली धेरै देखिइन्छन् । अझ चाडबाडका बेला त ट्राभल कम्पनीहरूले आन्तरिक पर्यटकलाई नै लक्षित गरेर विभिन्न प्याकेज बिक्री गर्ने गर्छन् ।

केही दिन छुट्याउनुपर्ने गन्तव्यमा घुमघाम गर्न नेपालीले दशैँकै बिदाको छेको पार्छन । कतिपय कार्यालय घटस्थापनादेखि नै बन्द हुने तथा झण्डै एक साता पाइने पर्व बिदा उपयोग गर्न अधिकांशले उपयुक्त भ्रमण गन्तव्य खोजिरहेका हुन्छन् । चाडबाडका बेला घुमफिर गर्नेमध्ये केही हजारले वाह्य गन्तव्य रोजे पनि लाखौं मानिसहरूले आन्तरिक गन्तव्यलाई नै लक्ष्य बनाउँछन् । नेपाल उसै पनि विश्वकै शीर्ष गन्तव्य हुँदै हो ।

आफन्त भएका र चाडबाड मनाउन अवसर जुटेकाहरू विजयादशमीका दिनसम्म परिवारसँगै हुन्छन् । त्यसपछि बिदा लम्ब्याएरै भए पनि साथीभाइ जम्मा भएर उनीहरू घुम्न निस्कन्छन् । आफन्तसँग चाडबाड मनाउन नपाउनेहरू चाहिँ बिदा भएलगत्तै घुमघाममा निस्किइहाल्छन् ।

यो वर्षको दशैँ रौनकले यतिखेर नेपालीहरूलाई छोपिसकेको छ । बीचमा झेल्नुपरेको प्राकृतिक विपत्तिसँग सामना गर्दै संघीय राजधानी काठमाडौं र देशका अन्य भूभागबाट गाउँदेहात फर्कनेको सङ्ख्या बढ्दो छ । बाढीपहिरोले देशका कतिपय प्रमुख राजमार्ग बन्द भए पनि वैकल्पिक मार्ग प्रयोग गर्दै घर फर्कने र घुम्न निस्कने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ । त्यसो त केही बढी नै खर्च गर्न सक्ने र चाहनेहरूका लागि हवाई यात्रा पनि विकल्प छँदैछ ।

दशैँका बेला परिवार र साथीभाइ जमघट भएर पदयात्रा (ट्रेकिङ) गर्नेदेखि विभिन्न धार्मिक पर्यटकीय गन्तव्यमा घुमफिरकै लागि पुग्नेहरूका लागि दशैँको भ्रमण तालिका तय गर्ने यो उपयुक्त समय हो । अबको पाँच दिनपछि पर्ने फूलपाती (सप्तमी)देखि पाइने बिदा सदुपयोग गर्न चाहनेहरूका लागि यी १५ गन्तव्य सिफारिस गरिन्छ ।

मर्दी हिमाल ट्रेक

घुमफिरमा दशैँको सीमित बिदा उपयोग गर्न चाहनेहरूका लागि मर्दी हिमाल पदयात्रा निकै उपयुक्त योजना हो । यो गन्तव्यमा ट्रेकिङ (पदयात्रा) जाने मानिसहरूको सङ्ख्या केही वर्षयता बढ्दो छ । दशैँतिहारका बेला त आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य उपस्थितिले यो पदयात्रामा झनै रौनक थपिन्छ ।

मर्दी हिमाल सङ्घीय राजधानी काठमाडौंबाट उत्ति परेको गन्तव्य पनि होइन । यो ट्रेकको प्रमुख हिस्सा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्छ । मर्दी हिमाल बेसक्याम्प नेपालको पर्यटकीय राजधानी पोखराबाट जम्माजम्मी ३१ किलोमिटरको दूरीमा छ । पदयात्रा लम्बाइ चाहिँ करिब ५७ किलोमिटर हो ।

मर्दी हिमाल ट्रेक जान दशैँ बिदाको पाँच दिन उपयुक्त समयावधि हो । अन्य गन्तव्यको तुलनामा कम खर्चिलो र सजिलो तथा मनोरम दृश्यावलोकन गर्न सकिने मर्दी ट्रेक पटकपटक विश्वको उत्कृष्ट गन्तव्यमै सूचीकृत भइसकेको छ ।

मर्दी हिमाल बेसक्याम्प जाने आइटीनरी (गन्तव्यको व्यवस्थित रूट) खोजेकाहरूले पोखरा पुगेपछि काँडे जाने बस चढ्नुपर्छ । पदयात्राको रोमाञ्च अनुभव गर्न पोखरा–बाग्लुङ भूपी शेरचन राजमार्गमा पर्ने काँडेमा ओर्लिएर पैदल यात्रा थाल्नुपर्छ । अष्ट्रेलियन बेस क्याम्पसम्म पैदलयात्रा गरेपछि त्यो दिनको गाँसबास त्यतै गर्न सकिन्छ ।

अष्ट्रेलियन क्याम्पबाटै हिमाल र पोखरासम्मका दृष्य एकैपटक देखिन्छ । सूर्योदयले पनि यायावरलाई थप पुलकित बताउँछ । भोलिपल्ट बिहान सबेरै उठेर आवश्यक तयारी गरी त्यहाँबाट हिँडेपछि फोरेस्ट क्याम्पलाई सो दिनको अन्तिम गन्तव्य बनाउँदा राम्रो ! तपाईं अलिक छिटो हिँड्नुभयो भने त रेस्ट क्याम्पसम्मै पुगिन्छ । पदयात्रामा थकित ज्यानलाई हिमाली शीतल सिरेटोमा फालेर हृदयलाई थप प्रफुल्लित बनाउने मर्दी हिमाल ट्रेकको मुख्य गन्तव्य यही हो ।

सो ट्रेक जान चाहनुहुन्छ भने खाना र बासका लागि पहिल्यै फोन गरेर जाँदा सजिलो पर्छ । सडकमार्गबाट मर्दी हिमाल ट्रेक पुगेर फर्कन करिब १५ हजार रुपैयाँ लाग्छ । खर्च बढाउने या घटाउने चाहिँ तपाईंमै भर पर्छ ।

पोखरा

पोखरा त नेपालको पर्यटकीय राजधानी नै भइहाल्यो । सडकमार्गबाट होस् या हवाईमार्गबाट, तपाईं पोखराको छेउछाउ पुग्नेबित्तिकै त्यहाँको दृश्य र वातावरणले तपाईंलाई मन्त्रमुग्ध बनाइदिन्छ । प्रेमप्रकाश मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ बोलको गीत त्यसै रचेका होइनन् नि ! पोखरासँग वास्तवमै तपाईंलाई आह्लादित बनाउने भरपूर क्षमता छ ।

यो शहर नेपालमै सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ हो । बाह्रैमास आन्तरिक र वाह्य पर्यटकको घुइँचो लाग्ने यो शहरको वातावरण नै घुमघाम अनुकूल छ । न धेरै गर्मी, न त अधिक जाडो ! एकनाश मौसम ! पानी परिरहने ! अस्तित्वमा रहेका फेवा र बेगनास तथा नरहेका अन्य गरी सात तालको जिल्ला कास्कीको सदरमूकाम तथा गण्डकी प्रदेशको राजधानी शहर भैहाल्यो ।

हिमाल, ताल, मन्दिर, गुम्बा, आतिथ्यता र संस्कृति र साहसिक पर्यटन : यी सबै मूर्त र अमूर्त कलाको अभूतपूर्व फ्यूजन हो पोखरा । फेवातालको किनारा क्षेत्र अर्थात् लेकसाइडदेखि माथि माथि पहाडसम्म सुविधासम्पन्न आधुनिक होटल छँदैछन् । तपाईंको खर्च क्षमताअनुसार भरपूर आतिथ्यता दिन पोखरा सधैँ तम्तयार रहन्छ ।

नेपाल घुम्न आउने पर्यटकका लागि पोखरा इच्छाएको गन्तव्य हो । प्राकृतिक छटा र सांस्कृतिक सम्पदाले सिँगारिएको यो शहरमा पछिल्ला वर्ष आन्तरिक पर्यटक पनि उल्लेखनीय बढिरहेका छन् । बजेट त उही हो – तपाईं जति खर्चन चाहनुहुन्छ । सामान्यतयाः तपाईंले सात हजार रुपैयाँ बोकेर जानुभयो भने नियन्त्रित खर्चमाा पोखरा घुमेर आफूलाई फेवातालजत्रै विशाल र माछापुच्छ«ेजत्रै अग्लो महसुस गराउन सक्नुहुन्छ ।

रारा ताल

तपाईंले सामान्यज्ञानमा पढ्नुभएकै छ – रारा नेपालको सबैभन्दा ठूलो ताल हो । यो ताल कर्णाली प्रदेशको मुगु जिल्लामा पर्छ । पीँध नै देखिने सफा पानीले भरिएको विशाल ताल समुद्री सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ ।

उचाइमा पुगेर स्वर्गीय आनन्द लिन चाहनेहरूका लागि ताल र यसको अवस्थिति नै पर्याप्त छ । असोजदेखि मङ्सिर नै राराताल घुम्ने उपयुक्त अवधि हो । दशैँतिहारका बेला त सबैभन्दा उपयुक्त समय भैहाल्यो ।

रारा ताल पुग्न हवाई र सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । नेपालगञ्जबाट जुम्ला हुँदै मुगु सदरमुकाम गमगढीसम्म सडक यात्रा गर्न सक्नुहुन्छ । सडक यात्रा गर्दा पनि काठमाडौंबाट बढीमा ३० घण्टामै जुम्ला सदरमुकाम खलङ्गा पुगिन्छ । त्यहाँबाट करिब सात घण्टा यात्रा गरेपछि रारा ताल पुगिन्छ । सुर्खेतबाट जीप चढेर कालीकोटको नाग्म हुँदै जुम्ला नै प्रमुख रुट हो । खलङ्गाबाट बिहान हिँडेको मानिस बेलुकीपख सजिलै राराताल पुग्न सक्छ ।

रारा जान सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने २० हजार रुपैयाँमै त्यहाँ पुगेर काठमाडौंं फर्कन पर्याप्त हुन्छ । काठमाडौंंबाट गाडीभाडा २७ सय रुपैयाँ र बाटोमा खाजा खानाका लागि एक हजार रुपैयाँ छुट्याउनुस् । जुम्ला सदरमुकाममा एक हजार रुपैयाँमा खानासहित बास पाइन्छ । त्यहाँबाट दुई दिन हिँडेर रारातालसम्म पुग्दा तीन हजार रुपैयाँ भए पुग्छ । बाँकी खर्च त तपाईंको खर्चालुपन र क्षमतामा भर पर्छ ।

राराताल वरपर घोडा चढ्नदेखि एक रातको बसाइ र खानाका लागि दुई हजार रुपैयाँ पर्याप्त हुन्छ ।सोही रुटमा फर्कँदा सबैगरी १७ हजारमा काठमाडौंं आइपुगिन्छ । फर्कँदा हवाई यात्रा गर्ने हो भने त्यसैअनुसार खर्च व्यवस्थापन गर्नुहोला ।

खप्तड

सुदूरपश्चिम उसै सुन्दर ! त्यसमाथि धार्मिक तथा प्राकृतिक छटाले भरिएको खप्तड ! पृथ्वीमा रहेको स्वर्ग अर्थात् भूस्वर्ग उपमाले प्रख्यात ! २२ पाटन र ५३ थुम्का ! रङ्गीचङ्गी फूल फुलेका विशाल पहाडी फाँट ! खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहर्ष लिङ्ग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल ! आफ्नै देशमा रहेको यस्तो स्वर्ग घुम्न किन छुटाउने त !

खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछामसम्म फैलिएको छ । यहाँ सिफारिस गर्न खोजिएको गन्तव्य डोटीको खप्तड पुग्दा तपाईंले राम्रो आइटीनरी बनाउनुभयो भने यी चारै जिल्लामा फैलिएको भूस्वर्गको आनन्द उठाउन सक्नुहुन्छ । यो सिजनको पहिलो हिँउ टेक्न चाहनुहुन्छ भने खप्तड गन्तव्य तपाईंका लागि उत्कृष्ट छनोट हुनसक्छ ।

काठमाडौंबाट धनगढीको गेटा विमानस्थल भएर जान चाहनुहुन्छ भने तपाईंले खप्तड घुम्न समयावधि बढाउन सक्नुहुन्छ । गाडीमा चाहिँ काठमाडौंबाट करिब १५ घण्टा यात्रा गरेपछि कैलालीको अत्तरिया पुग्न सकिन्छ ।

धनगढीदेखि झिग्रनासम्म करिब ९ घण्टा गाडीमै यात्रा गरेपछि निकुञ्ज क्षेत्र शुरू हुन्छ । त्यहाँबाट खप्तड पुग्न ८ घण्टा लाग्छ । कैलालीको अत्तरियाबाट खप्तड जान बझाङ, बाजुरा, अछाम र डोटीमा प्रवेशद्वार बनाइएको छ । ती मध्ये खप्तड पुग्न सबैभन्दा नजिक रहेको सडक सञ्जाल बझाङ छान्नाको मेल्तडी हो । मेल्तडीबाट खप्तड जान अढाई घण्टा समयमात्रै लाग्छ ।

डोटीबाट खप्तड जाँदा अत्तरियाबाट बुकिङ गाडीमा १० घण्टामा झिग्राना बजार पुगिन्छ । त्यहाँ खान बस्न राम्रो सुविधा भएका होमस्टे र होटलहरू छन् । गेटा विमानस्थलबाट दिपायलसम्मको हवाई भाडा पाँच हजार रुपैयाँ छ ।

काठमाडौंँबाट खप्तड गएर काठमाडौंँ फर्किँदा हवाई रुट प्रयोग गर्ने हो भने न्यूनतम ४० हजार रुपैयाँ खर्च लाग्छ । स्थल मार्गबाट जाँदा न्यूनतम २० हजार खर्च हुन्छ ।

लाङटाङ

नुवाकोट, सिन्धुपाल्चोक र रसुवामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जको रसुवा खण्ड स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो ।

हिउँमा रमाउने क्षेत्रका रूपमा प्रख्याती कमाएको लामटाङ जैविक विविधता, हिमाली दृश्यावलोकन, प्राकृतिक तातोपानी र बौद्ध संस्कृति अनुभव गर्ने आकर्षक गन्तव्य हो । जैविक विविधतामा हाब्रेदेखि हिमालयन थारसम्मका दुर्लभ वन्यजन्तुले पर्यटकलाई आकर्षित गर्छन् । लाङटाङ हिमाल र गणेश हिमालको दृश्यावलोकनले पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँछ ।

लाङटाङ यात्रा काठमाडौंबाट हेलिकोप्टर या बसबाट गर्न सकिन्छ । काठमाडौंको माछापोखरीबाट हरेक विहान रसुवाको स्याफ्रुवेँशीसम्म पुग्ने सार्वजनिक यातायात छुट्छ । निजी गाडी या साथीभाइ भए मोटरसाइकल पनि तपाईंलाई लाङटाङ पु¥याउने सवारीसाधन हुनसक्छ ।

माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म छुटेको सार्वजनिक बस बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट, धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुग्छ । स्याफ्रुबेँसीबाट पैदलयात्रा गर्दा यात्रा रोमाञ्चक हुन्छ ।

स्याफ्रुबेँसीबाट तीन घण्टा पैदल हिँडेपछि त्यो दिनको बासस्थान ब्याम्बो हो । अर्को दिन बिहान उठेर हिँड्दा क्यान्जिङ गुम्बा हुँदै लाङटाङ खोलैखोला पदयात्रा गरिरहन पाइन्छ । सुन्दर झरना र चराचुरुङ्गीको चिरबिरले तपाईंलाई प्रकृतिमा करिब एकाकार गराउँछ ।

क्यान्जिङ उपत्यकाबाट क्याजिङ रीतर्फको यात्रा गर्न तपाईंले अर्को दिन छुट्याउनुपर्छ । केही पदयात्रीहरू चाहिँ क्यान्जिङ पुगेपछि यलापिक र सेर्गोेरीतर्फ लागिहाल्छन् । गुम्बाबाट क्यान्जिङ री–डेढ घण्टा र क्यान्जिङ–२ पुग्न करिब साढे दुई घण्टा लाग्छ । क्यान्जिङ री पुगेपनि बास बस्न लाङटाङ नै आइपुग्दा उपयुक्त ! त्यहाँबट स्याफ्रुबेँशी आएर सार्वजनिक सवारीसाधन चढेरै तपाईं काठमाडौं फर्कन सक्नुहुन्छ ।

दशैँका बेला पाँच दिन समय र न्यूनतम १५ हजार रुपैयाँ छुट्याएर लाङटाङतिर लाग्दा समयको राम्रो सदुपयोग हुन सक्छ ।

पाँचपोखरी

सिन्धुपाल्चोकमा रहेको पाँचपोखरी पनि पर्यटकका लागि पछिल्लो समय उत्कृष्ट गन्तव्य बनेको छ । यो पनि काठमाडौंबाट नजिकै रहेको पदयात्रा मार्ग हो । पछिल्लो समय पाँचपोखरी पैदलयात्राको गन्तव्य बनिरहेको छ ।

पाँचपोखरी गन्तव्यसम्म पुग्न काठमाडौंको चाबहिलबाट गाडी चढ्नुपर्छ । एउटै गाडीबाट भने पाँचपोखरी पुग्न सकिँदैन । काठमाडौंबाट मेलम्चीसम्म एउटा गाडीमा र त्यहाँबाट अर्को गाडीमा चढ्नुपर्छ ।

पाँचपोखरी घुम्न पाँचै दिन समय छुट्याए पुग्छ । सो गन्तव्य घुमघाममा खासै धेरै खर्च पनि लाग्दैन । करिब आठ हजार रुपैयाँ खर्च गर्दा पुग्छ ।
चाबहिलबाट मेलम्ची पुग्न सार्वजनिक यातायातमा ५०० रुपैयाँ भाडा लाग्छ ।

मेलम्चीबाट छिम्तीसम्म पुग्न अर्को गाडीमा ४०० रुपैयाँ भाडा तिर्नुपर्छ । पाँचपोखरीतर्फको पैदलयात्रा त्यहीबाट शुरू हुन्छ । करिब तीन घण्टा हिँडेपछि बास बस्नका लागि होटेलहरू भेटिइन्छ । ती होटलमा बास बसेर एक दिन हिँडेपछि पाँचपोखरी पुगिन्छ ।

पाँचपोखरी जाँदा पैदलमार्ग पर्ने खर्कहरूमा भेडा चरिरहेका मनोहर दृश्य देखिन्छ । आँखैअघि गौरीशंकर, दोर्जे लाक्पा, जुगल र रोल्वालिङ हिमालहरू हेर्न पाउँदा तपाईंको दृश्य तिनै चुचुरातिर अडिइरहन खोज्छन् ।

पाँचपोखरी पुग्न दुईवटा पदमार्ग प्रचलनमा छन् । एउटा पदमार्ग सानो ओखरेनीबाट चौतारा हुँदै पाँखपोखरी पुग्छ । अर्को चाहिँ भोताङ हुँदै !

बढी सजिलो र रूचाइएको मार्ग चाहिँ भोताङतर्फको हो । पहिलो दिन काठमाडौंंबाट भोताङ, मेलम्ची हुँदै देउरालीसम्म पुग्न सकिन्छ । दोस्रो दिन देउरालीबाट अघि बढेर नोसेम्पटी हुँदै लाहुरेभञ्ज्याङ भेट्न सकिन्छ । तेस्रो दिन लाहुरे भञ्ज्याङबाट पाँचपोखरी पुगिन्छ ।

यही दिन पाँचपोखरी हेरेर टाङ्गुमा बस्न सकिन्छ । चौथो दिन टाङ्गुबाट भोताङ र पाँचौं दिन भोताङबाट मेलम्ची हुँदै काठमाडौंं आउन सकिन्छ ।

जोमसोम–मुक्तिनाथ

हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य हो । तीन हजार ७१० मिटर उचाइमा रहेको मुक्तिनाथले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ ।

काठमाडौंंबाट पोखरा हुँदै बढीमा दुई दिनमा मुक्तिनाथ पुग्न सकिन्छ । मुक्तिक्षेत्रसम्म पुग्ने बाटोमा खानबस्नका लागि आवश्यक व्यवस्था उपलब्ध छ ।

मुक्तिक्षेत्र मात्र होइन, जोमसोमस्थित हिमाली गाउँ पनि पर्यटकीय आकर्षणको केन्द्र रहीआएको छ । अझ यतिखेर त मुस्ताङमा लटरम्मै स्याउ फलेका छन् । जताततै बगैँचामा पाकेका स्याउले डाँडाकाँडा नै रङ्गीन देखिन्छन् । मुस्ताङको रसिलो स्याउबारे थप केही भन्नुपर्छ र ? स्याउको रस सम्झेर मुखमा पानी भरियो नि !

मुक्तिनाथको दर्शन गरेपछि घर फर्किंदा आशीर्वादसँगै कोसेलीको रूपमा स्याउ ल्याउने गरिन्छ । त्यसैले दशैँतिहार अर्थात् असोज–कात्तिकका बेला मुस्ताङ घुम्ने र स्याउ चाख्ने योजना बनाउनुस् ।

पुनहिल

नेपालमा भएका पदमार्गहरू एक प्रख्यात पदमार्ग घान्द्रुक–घारेपानी–पुनहिल पदमार्ग पनि हो । म्याग्दी जिल्लामा रहेको यो गन्तव्य पछिल्लो समय आन्तरिक पर्यटकका प्रमुख रोजाइमा छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भाग पुनहिल जान पोखराबाट गाडीमा करिब ६ घण्टा यात्रा गरिसकेपछि वनठाँटी पुगिन्छ । अब शुरू हुन्छ पैदलयात्रा ! वनठाँटीबाट करिब तीन घण्टा हिँडेपछि घोरेपानी पुगिन्छ । घोरेपानीबाट दुई घण्टा हिँडेपछि तपाईं आफ्नो गन्तव्य अर्थात् पुनहिल पुग्न सक्नुहुन्छ ।

पैदलयात्रा गर्न बाटो राम्रै छ । चिसो मौसममा ज्यान तात्नेगरी हिँड्नुको मज्जा लिन पनि पुनहिल यात्रा उपयुक्त छ । एउटा पक्षमा चाहिँ ध्यान दिनुहोला – उच्चपहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा भएको पदयात्रा नै गर्दा लगाउने ग्रीप राम्रो भएको जुत्ता किन्नुस् । अनि, ब्ल्याक आइस अर्थात् जमेको हिउँमा चाहिँ टेक्दै नटेक्नुस् ! यो तपाईंको सुरक्षित यात्राका लागि राम्रो टिप्स हो ।

पुनहिल पदयात्राका लागि तपाईंले १२ दिन छुट्याउनुहोला । दशैँदेखि तिहारसम्म बिदा छ भने त्यो बीचको अवधि पुनहिल पदयात्रामा लाग्नुहोस् ।

तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट दर्जनौ हिमश्रृङ्खला नियाल्न सकिन्छ । पुनहिल क्षेत्रका होटलहरूले एकै रातमा सात हजार जनासम्म पर्यटकलाई आतिथ्यता र गाँसबास उपलब्ध गराउन सक्छन् ।

इलाम

नेपालमा सूर्योदयको जिल्ला, अनि पहाडकी रानीको उपमा पाएका सुन्दर ठाउँहरूमध्ये एक अर्थात् इलाम ! कन्यामको चियाबारी त कसलाई थाहा नहोला । अनि माइखोलालाई बिम्ब बनाएर रचिएका हृदयस्पर्शी प्रेमगीत सुन्नुभएको तपाईंका लागि इलाम अवश्य छुटाउन नहुने गन्तव्य हो ।

कन्यामको चियाबारीमा आन्तरिक तथा वाह्य पर्यटकको भीडभाड नै देखिन्छ । चियाबगानले छोपिएका इलामका पाखापखेरीको चिसो बतास ! यो हिउँदको ठिहिरो शुरू हुनुअघि बतासको चिसो स्पर्श लिन चाहनुहुन्छ भने इलाम हाजिर छ ।

काठमाडौंबाट इलाम एक दिनमै पुग्न सकिन्छ । यद्यपी केही दिनअघि चलेको बाढीपहिरोले पूर्वतर्फ वीपी राजमार्ग भने अवरुद्ध छ । काठमाडौंबाट चितवन हुँदै इलाम जाने बाटो चाहिँ सुचारु भइसकेको छ । तपाईं काठमाडौंबाट भद्रपुर विमानस्थलसम्म विमान चढेर त्यहाँबाट स्थलमार्ग हुँदै इलाम पुग्न सक्नुहुन्छ ।

नेपालमा परापूर्वकालदेखि बसोबास गरिरहेको किराँतहरूको पोशाक लगाएर डोको बोक्दै चियाको मुना टिपेको फोटो खिच्न पनि इलाम त पुग्नैप¥यो । कन्यामको डिलमा उभिएर चियाबारी र टाढाटाढाका मनोरम दृश्य हेर्दै युगल जोडीले आफ्नो प्रेमभावलाई विस्तार गरिरहन्छन् । तपाईं किन छुट्ने त ?

इलाममा सानो पाथीभरादेखि नेपालमै आकाश खुलेका बेला हरेक दिन घामको पहिलो झुल्को पर्ने श्रीअन्तु डाँडा छन् । खान र बस्नका लागि पर्याप्त होटल छँदैछन् ।

दुई दिनदेखि एकहप्तासम्म समय छुट्याउनुभयो भने घुमघामको आनन्द उठाउन सक्नुहुन्छ । काठमाडौंबाट हिँड्दा चाहिँ चार दिन छुट्याउनुहोस् । एक जनाले कम्तिमा नौ हजार रुपैयाँ बजेट व्यवस्था गर्नुपर्छ ।

पाथीभरा

किरातीहरूको प्राचीन पूजास्थल मुक्कुमलुङ हिन्दुहरूको पवित्र धार्मिकस्थल पाथीभरा ताप्लेजुङ जिल्लामा पर्छ । ताप्लेजुङका चारवटा पालिकाहरू– फुङलिङ, फक्ताङलुङ, पाथीभरा याङवरक र सिरिजंगाको भूभाग समेटिएको ‘पाथीभरा’ क्षेत्रलाई हिन्दु धर्मावलम्बीहरूले पूर्वी नेपालको महत्वपूर्ण तीर्थस्थल मान्ने गरेका छन् ।

स्थानीय याक्थुङ लिम्बुहरूले यसलाई मुक्कुमलुङ नामले चिन्दछन् र आफ्नो पवित्र भूमि मान्ने गरेका छन् । उच्चपहाडी मनोरम वातावरणमा रहेको पाथीभरा पुगेपछि मनोकामना पूरा हुने विश्वास छ । यो स्थान हिन्दू शाक्त अर्थात् नारी शक्ति उपासना गर्नेहरूका लागि महत्वपूर्ण रहीआएको छ । सम्पदा वास्तुकलाका दृष्ट्रिले यो मन्दिर थान भएकाले कुनै भवन बनाइएको छैन ।

पाथीभरा पुग्न काठमाडौंबाट ताप्लेजुङसम्म पुग्ने गाडी पाइन्छ । झापाको बिर्तामोड हुँदै सानो फेदीसम्म पुग्ने गाडी पनि पाइन्छ । फेदीबाट पनि पैदलयात्रा गर्नुपर्ने हुन्छ । खान र बस्नका लागि आवश्यक व्यवस्था भए पनि पाथीभरा देवीको थानसम्म हिँडेर पुग्न नसक्नेहरूलाई भरियाहरूले बोकेर पु¥याइदिन्छन् । तर त्यसका लागि तपाईंले आवश्यक रकमको जोहो गर्नुपर्ने हुन्छ । किनकी तपाईंलाई मानिसले आफ्नो काँध र पिठ्यूँमा राखेर देवीको दर्शन गराउँदैछन् नि त !

झापा हुँदै पाथीभरा पुगेर फर्कन कम्तिमा सात हजार रुपैयाँ आवश्यक पर्छ । झापाबाट तीन दिनमा पाथीभरा पुग्न सकिन्छ । त्यसैले काठमाडौंमा हिँड्ने तयारीमा हुनुहुन्छ भने एक साता समय छुट्याउँदा यात्रामा हतारो हुनेछैन ।

चितवन–सौराहा

चितवन राष्ट्रिय निकुञ्ज नेपालका उल्लेख्य प्राकृतिक सम्पदा (नेचरल हेरिटेज) मध्ये एक हो । विशेषगरी वन्यजन्तु र वनस्पति तथा नौकाबिहारका लागि चितवन संसारमै प्रख्यात छ ।

काठमाडौंबाट गाडी चढेर करिब ६ घण्टामै तपाईँ चितवनको सौराहा पुग्न सक्नुहुन्छ । नेपालका परम्परागत जातिमध्ये एक थारुहरूको सामाजिक–सांस्कृतिक पहिचानसहितको बाहुल्यता रहेको सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो ।

पछिल्लो समय पोखरापछि सौराहा आन्तरिक पर्यटकको दोस्रो प्रमुख गन्तव्य बनेको छ । प्रकृति र संस्कृतिसँग निकटता चाहनेका लागि सौराहा उपयुक्त गन्तव्य हुँदै हो ।

काठमाडौंमा बसोबास गरिरहेकाले सौराहा घुम्न तीन दिन छुट्याए पुग्छ । तपाईं दशैँ मानेर वा त्यसअघि नै बिदा व्यवस्थापन गरेर पनि सौराहा घुम्न सक्नुहुन्छ । १५ हजार रुपैयाँ छ भने यात्रा तयारी आजै थाल्दा पनि हुन्छ ।

निकुञ्ज भ्रमण, सीमावर्ती क्षेत्रमा बसोबास गरिरहेका रैथाने थारु जाति र उनीहरूको मौलिक संस्कृति, हात्ती सफारी, हात्ती प्रजनन र गोही प्रजनन केन्द्र अवलोकन, मौका मिलिहाले समुदायमा घुलमिल हुँदै गरेका केही गैँडालाई धाप मार्दै सेल्फी र टिकटिक भिडियो नै बनाउने मौका, जीपबाट जङ्गल सफारी, मयुर, घडीयाल गोही, विभिन्न प्रजातिका मृग र पाटेबाघसँग सुरक्षित साक्षात्कार, उस्तै परे अजङ्ग सरीसृप अजिङ्गर दर्शन, रापतीको किनारमा बसेर सूर्यास्तको मनोरम दृश्यावलोकन, नेचर गाइड लिएर निकुञ्जका वनस्पति र जीवजन्तुको इकोसिस्टमबारे वृहत ज्ञान…चितवन राष्ट्रिय निकुञ्ज घुम्ने योजना कार्यान्वयन गरे तपाईंका लागि बोनस नै बोनस उपलब्ध छ ।

सौराहामा अर्को छुटाउन नहुने चाहिँ क्यानोइ राइड अर्थात काठे डुङ्गामा शयर हो । रापती नदीमा ४५ मिनेटसम्म क्यानोइ राइड गर्दा तपाईंले अनुभव गर्ने रोमाञ्चकता वर्णनसाध्य हुँदैन ।

अँ ! पानीभित्र या बगरमा लुकेका गोही तपाईं चढेको क्यानोइ वरपर नै देखिन सक्छन् । डुङ्गाबाट हात बाहिर निकाल्ने, चलाउने या जिस्क्याउने लगायतका गल्ती चाहिँ नगर्नुस् है ! आफूमाथि खतरा महसुस गरे यो पृथ्वीका हरेक चराचरले प्रतिरक्षामा तपाईंलाई आक्रमण गर्न सक्छन् । नदी किनारमा सुस्ताइरहेका ती गोहीलाई हेर्दै आनन्द लिनुस् ।

जलयात्रा सकेर करिब १० मिनेट यात्रा गरेपछि तपाईँलाई हात्ती प्रजनन केन्द्रमा राखिएका हात्तीहरूले स्वागत गर्नेछन् । हात्तीका चुलबुले छावाहरू खेलिरहेका र आमाको आश्रयमा बसिरहेका दृश्यले तपाईंलाई आफ्नै बालापन र अभिभावकत्वको महत्व बुझाउँछ ।

कहिल्यै हात्ती नदेख्नुभएकालाई त त्यो राम्रो अवसर हुने भैहाल्यो । सौराहाका बस्ती क्षेत्र र होटलहरूमा पालिएका घरपालुवा हात्तीहरूलाई नुहाइदिएको र आहारा दिएको देख्नभयो भने चाहिँ फोटो र भिडियो बनाउन नबिर्सनुहोला । खोलामा हात्तीहरूसँगै नुहाउन र उनीहरूको सुँडले फ्याँकेको पानीको सावर लिन पाउँदा तपाईं पक्कै पुलकित हुनुहुनेछ ।

भेडेटार

धरानको गर्मी छल्न भेडेटार ! धरान हेर्न भेडेटार ! अझ, भारतको विहार र उत्तर प्रदेशको उखर्माउलो तातोबाट राहत पाउन भारतीय पर्यटकको गन्तव्य बनिरहेको भेडेटार ! नियन्त्रित मात्रामा पेयपदार्थसँग बङ्गुरको सेकुवालगायत परिकारको स्वाद लिन पनि भेडेटार ! भ्यूटावरबाट तराईका फाँटदेखि कुम्भकर्ण हिमालसम्मको दृश्य एउटै ठाडो रेखामा !

भेडेटार पृथ्वीको आनन्ददायी स्वर्ग हो । यो ठाउँ धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तर पर्छ । सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाइमा छ । भेडेटारको भ्यूटावर अर्थात चाल्र्स प्वाइन्ट यतिखेर चर्चामा छ ।

भेडेटारसम्म पुग्न काठमाडौंको माछापोखीबाट गाडी चढ्न सकिन्छ । धरानसम्म एउटा गाडी र त्यहाँबाट अर्को गाडी फेरेर पनि भेडेटार पुग्न सकिन्छ । न्यूनतम १० हजार रुपैयाँ बजेट छुट्याउनुस्, भेडेटार घुम्न जानुस् ।

केही समय अघिमात्रै भेडेटारमा स्काइवाक जडान गरिएको छ । पूर्वको पहिलो स्काइवाक भएका कारण पनि त्यहाँ धेरै पर्यटक पुग्ने गरेका छन् । तपाईं चाहिँ किन छुट्ने ?

बडीमालिका

सुदूरपश्चिमको बाजुरास्थित त्रिवेणी नगरपालिकामा रहेको बडीमालिका धार्मिक–पर्यापर्यटन गर्ने आकर्षक गन्तव्य हो । बडीमालिका क्षेत्र बाजुरा, अछाम र कालीकोट जिल्लाको सिमानामा पर्छ ।

बर्खायाम करिब सकिएकाले यतिखेर बडीमालिका पुग्दा मन्त्रमुग्ध पार्ने हिमश्रृङ्खला र हरिया पाटनहरू देख्न पाइन्छ । व्यवस्थित व्यवस्थापन खोज्नेहरूका लागि बडीमालिकाका यात्रा केही असहज हुन सक्छ । किनकी यो गन्तव्यतिर लाग्दै गर्दा बाटोमा त्यतिधेरै होटल–रेस्टूराँ भेटिँदैनन् ।

फोटो स्रोत : हिमालय भट्ट

खानेकुरादेखि उपचारका लागि आवश्यक प्रबन्ध आफैँले मिलाएर यात्रा शुरू गर्नुपर्छ । गोठाला बस्ने भेँडीगोठहरूमा बास मागेर बस्नुपर्छ । त्यसैले खानेकुरा र टेन्ट प्रबन्ध गरेर गएकै राम्रो !

धनगढीसम्म हवाईमार्ग या सडकमार्गबाट पुग्न सकिन्छ । त्यहाँबाट बाजुराको मार्तडी हुँदै बडीमालिकाको थप यात्रा शुरू हुन्छ । बडीमालिकाबाट नाटेश्वरी मन्दिर दर्शन गरी काठमाडौं फर्कन करिब १० दिन छुट्याउँदा उपयुक्त हुन्छ ।

लट्ठी या ट्रेकिङ स्टीक लिनुस्, खानेकुरा, ओखतीमूलो र ओत लाग्ने विकल्प छान्नुहोस् । ८० हजार रुपैयाँ जुटाउनुहोस् र साथीको समूह मिलाएर बडीमालिकातिर लाग्नुहोस् । बाटो केही अप्ठेरो भएकाले सामूहिक भ्रमण योजना बनाउँदा नै उचित हुन्छ ।

बन्दीपुर

पहाडकी रानीको उपमा बोकेको तनहुँस्थित पर्यटकीय गन्तव्य बन्दीपुर काठमाडौंबाट नजिकैको मनोरम स्थान हो । नेवारी कला–संस्कृतिमा प्रसिद्ध यो स्थान हाइकिङका लागि पनि चर्चित छ ।

वरपर सुन्दर पहाड, प्याराग्लाइडिङ गर्दै आकाशबाट पहाडी डाँडापाखा र हिमाल अवलोकन, नेवारी खानपिन… नजिकको गन्तव्यमा जाने योजना बनाउनुभएको तपाईंलाई यत्ति विशेषता नै पर्याप्त हुन्‌ ।

११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा बन्दीपुरको अर्को आकर्षण हो । ग्लाइडर हाम फाल्ने बुरुञ्चे डाँडा त प्रख्यात नै भैहाल्यो । बस्तीमा रहेका एकनाशका घर ! मुग्लिनबाट करिब आधा घण्टामै पुग्न सकिने गन्तव्य !

काठमाडौंबाट तनहुँको डुम्रेबजार या पोखराका लागि छुट्ने सार्वजनिक सवारीसाधनमै चढेर तपाईं बन्दीपुरतर्फ जान सक्नुहुन्छ । तपाईं चढेको गाडी पृथ्वी राजमार्गको डुम्रेबजारमा रोकिनेछ । त्यहाँबाट सवारीसाधन चढेर या करिब ८ किलोमिटर पैदलयात्रा गरेरै तपाईं बन्दीपुर पुग्न सक्नुहुनेछ ।

बन्दीपुरसम्मको दूरी काठमाडौंँको कलङ्कीबाट १३५ किलोमिटर, पोखराको पृथ्वी चोकबाट ६६ किलोमिटर र चितवन पुल्चोकबाट ६० किलोमिटर पर्छ । डुम्रेबजारमा पुगेपछि बन्दीपुर जान बस, जीप वा ट्याक्सी पाइन्छ ।

बन्दीपुरका प्रमुख पर्यटकीय गन्तव्य घुम्न दुईदेखि तीन दिन छुट्याउनुहोस् । अझ विस्तृतमा त्यहाँको सम्पदा, संस्कृति, प्रकृति, रहनसहन, इतिहास लगायत पक्ष केलाउन चाहनुहुन्छ भने एक साता बन्दीपुरमै बिताउनुहोस् ।

बन्दीपुरबाट फर्कँदै गर्दा प्रियजन र आफन्तलाई तपाईंले स्थानीय कृषिउपज, रैथाने उत्पादन र स्थानीय गाईभैँसीका घ्यू कोशेली ल्याउन सक्नुहुन्छ ।

मनास्लु हिमाल ट्रेक

माथिल्लो गोरखास्थित मनास्लु संरक्षण क्षेत्र घुम्न पाइने मनास्लु पदमार्गसम्म पुग्ने यात्रा थाल्न काठमाडौंबाट बस चढेर गोरखाको माछीखोलासम्म पुग्न सकिन्छ ।

तपाईंका लागि अर्को नयाँ र आकर्षक बाटो पनि छ । गोरखाको पाँचखुवा देउरालीसम्म सार्वजनिक यातायातमा गएर त्यहाँबाट पदयात्रा थाल्न सकिन्छ । बारपाक सुलीकोट गाउँपालिका–७ को मुलाबारीस्थित गुरुङ बस्ती हुँदै धार्चेको पहाडको काख भएर पनि मनास्लु पदमार्गतर्फ लाग्न सकिन्छ ।

यो बाटोबाट हिँड्दा तपाईंले मध्यपहाडीदेखि हिमाली जनजीवनसम्म अनुभव गर्न पाउनुहुनेछ । साथै, कहिले डाँडाको चुचुरो त कहिले फेदमा पुग्दा हिमालको सुन्दरता र खोलानाला तथा जङ्गलको प्राकृतिक सङ्गीतमा तपाईंले तनाव र थकाई मेट्ने अवसर पाउनुहुनेछ । यो रुट भएर हिँड्न तपाईंले स्थानीय पथप्रदर्शकको सहयोग लिँदा थप सहज हुन्छ ।

माछीखोलासम्म पुग्न चाहिँ काठमाडौंबाट विभिन्न तीन स्थान हुँदै जाने गाडी चढ्दा हुन्छ । गोरखाको आरुघाट बजार हुँदै सोतीखोला, लापुबेँशी र माछीखोला पुग्ने एउटा रूट हो । दोस्रो – बारपाकबाट लाप्राक हुँदै सिँगला निस्किएर माछाखोला नै निस्कन सकिन्छ । तेस्रो –धादिङकोे फूलखर्क हुँदै गोरखाको केरौँजा यार्साबाट माछाखोला नै झर्न सकिन्छ । माछीखोला पुगेपछि तपाईंले दोभानतर्फ पदयात्रा थाल्न सक्नुहुन्छ । दुई जनाभन्दा कम संख्यामा रहेका विदेशी पदयात्रीलाई त रूट पर्मिट नै दिइँदैन ।

दोभानबाट हिँडेको बेलुकी जगत वा फिलिममा पुगेर बास बस्न सकिन्छ । चुमभ्यालीतर्फ जानेहरू त्यहाँबाट लोक्पामा पुगेर बास बस्छन् । त्यहाँबाट अर्को दिन चुम्लिङ हुँदै छेकम्पार या राजेन गुम्बामा पुग्छन् । लोक्पामा पुगेका केही पदयात्रीहरू ड्याङबाट मनास्लु विशेष क्षेत्रमा प्रवेश गर्छन् । त्यही बाटो भएर तीन हजार ६०० मिटर उचाइमा रहेको कालताल पनि पुग्न सकिन्छ । कोही चाहिँ सेराङतिर लाग्छन् । ल्होबाट स्यालातिर जाने पर्यटक पनि उल्लेख्य सङ्ख्यामा भेटिइन्छन् । जता गए पनि पृथ्वीको स्वर्ग अर्थात् साङिग्रला अनुभव ! किन कोही मनास्लु क्षेत्र पदयात्रामा छुटुन् ।

किलर माउन्टेनका नामले चिनिने मनास्लु हिमाल संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये निकै सुन्दर मानिन्छ । हिमचुली हिमालको सुन्दरताले त तपाईंलाई सम्मोहन नै गर्नेछ । पछिल्लो समय विदेशी पर्यटकको पहिलो रोजाइमा मनास्लु पदमार्ग पर्ने गरेको छ ।
तपाईंले तल्लो मनास्लु क्षेत्रसम्म पुगेर फर्कन या माथिल्लो मनास्लु क्षेत्रसम्मै पुगेर थप रोमाञ्च महसुस गर्न सक्नुहुन्छ । त्यसका लागि ४० हजार रुपैयाँ र १० देखि १२ दिन छुट्याउनुहोस् । मनास्लु क्षेत्रमा एक छाक खाना र एक रात बसेको औषतमा ११ रुपैयाँसम्म लाग्न सक्छ । होटल थपिने क्रम जारी छ ।

मनास्लु क्षेत्रमा तपाईँले उच्चपहाडी र हिमाली क्षेत्रमा पाइने वन्यजन्तुदेखि कहिल्यै नदेखेका विभिन्न वनस्पतिहरू देख्न पाउनुहुनेछ । सानाठूला थुप्रै हिमाली तालतलैया, हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्धमार्गीहरूको संस्कृति र जीवनशैली तथा हिमाली खोलानाला र चुचुराहरूले तपाईंको यात्रालाई थप स्मरणयोग्य बनाउनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ७ : २८ बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच