३० वर्षपछि पूरा भयो दीपाश्रीको सपना... | Khabarhub Khabarhub

३० वर्षपछि पूरा भयो दीपाश्रीको सपना…


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


26.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब ५० वर्ष पहिले बिराटनगरमा जन्मे-हुर्केकी दीपाश्री निरौला अहिले सफल कलाकार र निर्देशक हुन् । उनी टेलिसिरियल, रेडियो, ठूलो पर्दा हुँदै चलचित्र निर्देशकका रुपमा स्थापित भइसकेकी छन् ।

टेलिसिरियल ‘तीतो सत्य’ बाट स्थापित कलाकार बनेकी दीपाश्रीले विवाह गर्न भ्याएकी छैनन् । विवाहबारे सोध्दा उनको प्रतिक्रिया छ, ‘काम गर्दा बिहे गर्ने फुर्सद नै भएन । म काठमाडौं काम गर्न आएकी थिएँ, काममै व्यस्त भएँ ।’

यद्यपि उनको पर्दाको जोडी दीपकराजलाई साँच्चिकै जोडी ठानेर भ्रममा पर्ने एउटा जमात पनि छ । उनले दीपकसँगको पहिलो भेटको रोचक प्रसंग खबरहबसँग ‘सेयर’ गरेकी छन् ।

करिब ३५ वर्षअघि ‘महजोडी’को कार्यक्रम ‘१५ गते’को गीतमा कोरस नाचेकी दीपाले तीन दशकपछि हरिवंशसँग फिल्म खेल्दाको अनुभव पनि साटेकी छन् ।

काठमाडौं आएर संघर्ष गर्दा हातमुख जोड्न समस्या भएकाले नाटकमा जोडिएकी दीपा कसरी रामविलासकी धनियाँ बनिन् ? दर्जन फिल्म खेलेपछि पनि कि टेलिसिरियलमा फर्किइन् ? सफल निर्देशक बन्न उनले गरेको संघर्ष कस्ता थिए ? जान्नुहोस् दीपाको बिराटनगरदेखि काठमाडौं, टेलिसिरियलदेखि निर्देशनसम्मको यात्रा :

जन्म छोरी, हुर्काइ छोरा

दीपाले तेस्रो सन्तानका रुपमा जन्म लिएकी हुन् । उनीमाथिका दुई दिदी थिए तर छोरो जन्माउने बुबाआमाको तीव्र चाहनाले गर्दा दीपाले जन्मने अवसर पाइन् ।

सोही कारण आफ्नो जन्म छोरीका रुपमा भए पनि हुर्काइ छोरा जसरी भएको उनी सुनाउँछिन् । उनी स्मरण गर्छिन्, ‘साथीहरु पनि केटा बढी, गट्टा भन्दा डन्डीबियो खेल्न मन पराउने, घाँघर ल्याउनभन्दा पनि पेन्ट लगाउन रुचाउथेँ ।’

अनुहारको वनावट कृष्ण भगवानसँग मिल्ने भएकाले बुबाआमालाई छिमेकीले पछिसम्म पनि ‘छोराको कल्पना गरिरहँदा भगवानले छोरारुपी छोरी दिएर पठाउनुभएछ’ भनेको दीपालाई सम्झना ताजै छ ।

उनी थप्छिन्, ‘मेरा बुबाआमालाई एकदमै छोराको अपेक्षा भएकाले मेरो स्वभाव केटाको जस्तो भएको होला । म सानैदेखि हक्की स्वभावकै हो ।’

एक बहिनीपछि दीपाले भाइ पाइन् ।

नाच्दा स्कुलमा पिटाइ

दीपा पढ्नमा भने सामान्य विद्यार्थी थिइन् तर नाच्नमा बाल्यकालदेखि नै अत्यन्तै सोख थियो । उनी भन्छिन्, ‘जता पूजा भए पनि नाच्न पुग्थेँ । नाच्न हिँडेकै कारण मैले पिटाइ पनि खाएकी छु ।’

रहरै-रहरमा दीपाले ०४० सालदेखि बिराटनगरको रंगमञ्च नाच्न थालिन्, पछि नाटक पनि गरिन्, जुन उनका लागि कलाकारिताको सिँढी बन्यो ।

रंगमञ्चमा नाच्दा-नाच्दै ०४५ सालमा महजोडीको ‘१५ गते’ कार्यक्रमको गीतमा कोरस नाचेको उनले बिर्सिएकी छैनन् । जुनबेला उनले देखेको ‘महजोडीसँग काम गर्ने सपना’ तीन दशकपछि पूरा भएको प्रसंग यसको अन्त्यमा उल्लेख गरिएको छ ।

नाटक र नृत्यले तिखारिँदै गरेकी दीपाले ०४८ सालमा ‘अग्निपथ’ टेलिचलचित्रमा काम गर्ने मौका पाइन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने सो कार्यक्रममा उनले १० भागसम्म काम गरिन् । सोही टेलिफिल्मबाट उनले ‘वेस्ट न्यू कमर’ अवार्ड जितिन् । त्यसबेलासम्म उनी बिराटनगरमै थिइन् ।

विसं २०४९ मा १२ कक्षा पास गरेपछि आर्थिक अवस्थाका कारण काम रोज्नुपर्ने अवस्था आएको उनी सुनाउँछिन् । उनी स्मरण गर्छिन्, ‘अवार्डले कलाकारिताको चस्का लागिसकेको थियो । अनि थप संघर्ष गर्न काठमाडौं आउने निर्णय गरेँ । आर्थिक अवस्थाका कारण स्नातक पढिनँ ।’

टेलिभिजनबाट रेडियो

बिराटनगरमा स्नातक गर्ने आर्थिक अवस्था नभएका कारण काठमाडौं आएकी दीपालाई सुरुवाती दिनमा हातमुख जोड्नै समस्या भयो । र उनले कलाकार मदनदास श्रेष्ठलाई सम्झिइन् । ‘अग्निपथ’मा ससुरा–बुहारीको भूमिकामा काम गरेकाले श्रेष्ठसँग उनको चिनजान थियो ।

दीपा सम्झन्छिन्- मैले विराटनगरमै मदनदास दाइलाई ‘तपाईं रेडियो नेपालको नाटक प्रमुख हुनुहुँदो रहेछ, काठमाडौं आएँ भने काम लगाइदिनू है’ भन्दा उहाँले घरको नम्बर दिनुभएको थियो, त्यसबेला मोवाइल फोन हुँदैन थियो ।

काठमाडौंमा संघर्ष गर्दा हातमुख जोड्न समस्या भएर रुँदै मदनदाससँग काम मागेको दीपालाई सम्झना ताजै छ ।

मदनदासले रेडियोमा तालिम दिलाएर, ‘द गेस्ट’ नाटकमा स्थान दिइ लगाएको गुन उनले बिर्सिएकी छैनन् ।

उनी सुनाउँछिन्, ‘०५० सालको कुरा, रेडियोको क्रेज ठूलो थियो । सिंहदरबारको मुख्यद्वारदेखि रेडियो नेपालको भवनसम्म नाटक खेल्न कलाकारको लाइन हुन्थ्यो । त्यो अवस्थामा पनि मलाई मदन दाइले फिट हुने बालकलाकारको रोल दिनुभयो ।’

नाटकबाट आउने पैसाले पुग-नपुग हुँदै रंगमञ्जको संघर्षमा होमिएको उनले बिर्सिएकी छैनन् ।

‘दीपकराज अहिले हेन्डसम’

दीपकराज गिरी र दीपाको सहकार्य तीन दशक पुग्नै लाग्यो । फिल्म क्षेत्रमा दीपासँग सबैभन्दा बढी जोडिने नाम दीपकराज गिरी हो ।
उनीहरुको पहिलो भेट संघर्षको दौरान रेडियो नेपालको प्राङ्गणमा भएको थियो ।

दीपा सम्झन्छिन्, ‘रेडियो नेपालमा आउँदा-जाँदा दीपकराज गिरी, जितु नेपाल, दमन रुपाखेतीहरुसँग भेट भएको हो । उहाँहरु मेरो सिरियल अग्निपथ चाहिँ घरमा बसेर हेर्नुहुन्थ्यो रे । उहाँहरुले हामी तपाईंको फ्यान थियौं भनेर सुनाउनुहुन्थ्यो ।’

नाटकमा दीपकराजहरु र सिरियलमा भने आफू सिनियर भएको दीपा बताउँछिन् । भेटको सुरुवातीमा नाटकमा आफूभन्दा दीपक, जीतुहरु प्रखर भइसकेको उनी सुनाउँछिन् ।

पहिलोपटक दीपकसँगको भेटबारे दीपा भन्छिन्, ‘दीपकजीको कपाल लामो, पेन्ट नाइटोसम्म लगाउने चलन थियो, त्यसरी नै लगाउनुहुन्थ्यो । दुब्लो, च्याँसे, दाह्रा अहिले जस्तै हो । ठीकै हुनुहुन्थ्यो । मोटो भएर अहिले दाह्रा अलि देखिँदैन । अहिले हेन्डसम हुनुभएको हो ।’

प्रेममा बसौं जस्तो लागेन ? भन्ने प्रश्नमा दीपा भन्छिन्, ‘लागेन । मेरो त काममा नै ध्यान थियो । अझै पनि त्यही छ । मलाई बिहेको मन भएको भए विराटनगरमै घरजम गर्थेँ । काठमाडौं आउने नै थिइनँ नि ।’

दीपकसँगको पहिलो सहकार्य

दीपक-दीपाको सहकार्य रेडियो नेपालबाट विसं ०५१ सालबाट सुरु भयो । त्यसबेला उनीहरु रामविलास र धनियाँका रुपमा परिचित थिए ।

दीपकले धनियाँको पात्रमा रेडियोमा काम गर्न प्रस्ताव गरेको उनलाई याद ताजै छ ।

उनी थप्छिन्- ‘च्याट्ट चुट्ट’बाट दीपकजीले धनियाँको खोजी गरिरहनुभएको रहेछ । म मधेसको केटी भएकाले मलाई प्रस्ताव गर्नुभयो । सिकाउने हो भने गर्छु भनेर सहकार्यका लागि तयार भएँ ।

सो कार्यक्रमबाट रामविलास र धनियाँको जोडी लोकप्रिय बन्यो ।

‘त्यसबेला रेडियो नेपालमा समाचार, फोन इन कार्यक्रम र रामविलास-धनियाँ सुनिथ्यो,’ उनी सम्झन्छिन्, ‘हामीलाई भेट्न रेडियोमा धेरै आउनुहुन्थ्यो । तर, रेडियोमा तराईको पात्र भएकाले वास्तविक हामी देख्दा पत्याउनै हुँदैनथ्यो ।’

विस्तारै कार्यक्रमले लोकप्रियता कमाएकाले स्टेसनमा चिठीका चाङ लागेको क्षण दीपाले बिर्सिएकी छैनन् । उनी स्मरण गर्छिन्, ‘मान्छे पुर्ने गरी चिठी आउँथे । कार्यक्रममा चिठी पढ्न हामीले आँखा चिम्लिएर थुत्थौं । चिठी देखेर रेडियोका मान्छे छक्क पर्थे ।’

त्यसपछि भने दीपक–दीपा गाईजात्रामा देखिन थाले । यससँगै आफ्नो आर्थिक पाटोमा समेत केही सुधार आएको दीपा बताउँछिन् ।

उनी भन्छिन्, ‘म टेम्पो चढ्न सक्ने भएँ । यही कार्यक्रमले दीपक-दीपाको जोडी स्थापित गरायो । अहिलेसम्म पनि हाम्रो सहकार्य जारी छ ।’

करिब तीन वर्षपछि रेडियोको सहकार्य छुटे पनि दीपक–दीपा विभिन्न स्टेज कार्यक्रममा सँगै देखिन्थे । त्यसबेला दीपक हास्यकलाकारका रुपमा स्थापित हुन संघर्षरत थिए भने दीपा नायिका बन्ने प्रयासमा लागिन् ।

फिल्लमा डेब्यू

रेडियोपछि दीपा फेरि अभिनयमा नै फर्किइन् । उनले देवी, छिमेकी, रहानी रोइरहेछ लगायतका दर्जन टेलिसिरियलमा पनि काम गरिन् । त्यसमध्ये देवी लोकप्रिय बनेको कार्यक्रम हो ।

दीपाले ०५४ सालमा ‘नासो’ फिल्मबाट ठूलो पर्दामा डेब्यू गरिन् । यो अवसर एकजना चिनेका दाइ (मोहन निरौला) ले मिलाइदिएको उनी सम्झन्छिन् ।

उनी सुनाउँछिन्, ‘नायिक बन्न मन लागेकाले मोहन दाइलाई भनेँ । उहाँले नासोको फिल्मका निर्देशक यादव खरेलसँग भेटाइदिनुभयो । मैले भ्याम्प केटीको रोल पाएँ । हिरो शिव श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ विराटनगरको भएर काम गर्न सहज नै भयो ।’

त्यसपछि दीपाश्रीले गाउँले फिल्ममा काम गरिन् । उनी मुख्य भूमिकामा रहेको फिल्म भने ‘सुकुम्बासी’ र ‘खरको छानो’ हो ।

पारिश्रमिक १२ हजार

दीपाले विसं ०५५ मा सालमा ‘गोली सिसाको’ भन्ने गीतमा नायक राजेश हमालसँग सहकार्य गर्ने मौका पाइन् । नृत्यकलालले ‘गाउँले’ फिल्मका निर्देशक दीपक श्रेष्ठको मन जितेर उनले यो अवसर पाएकी थिइन् ।

उनी सम्झन्छिन्, ‘चितवनको कार्यक्रममा मेरो नाच हेरेर दीपक दाइले फिल्ममा एउटा गीत दिने बचन दिनुभएको थियो । मैले फोन नभएर घरपेटीको नम्बर दिएको थिएँ । जति बेला फोन बज्दा पनि उहाँकै आयो कि जस्तो लाग्थ्यो ।’

दीपकले ‘गाउँले’ फिल्म निर्माण गर्ने भएपछि बचनअनुसार दीपाले सहायक भूमिका पाइन् । राजेश र विपना मुख्य भूमिकामा थिए ।

उनी थप्छिन्, ‘दीपक दाइले गीत एकदमै राम्रो छ । सिन थोरै भए पनि गर भन्नुभयो । मैले १२ हजार पारिश्रमिक लिएकी थिएँ ।’

सोही फिल्ममा दीपाले राजेशसँग नाचेको ‘गोली सिसा’ गीत एकदमै लोकप्रिय बन्यो । आजको दिनमा पनि सो गीतले सार्वजनिक कार्यक्रममा स्थान पाउँछ ।

नायिका नफापेर तितो सत्य

दीपाले रेडियो नेपालको कार्यक्रम छोडेपछि दर्जन चलचित्र र टेलिफिल्ममा काम गरिन् । तर, सोचे जस्तो सफलता मिल्न सकेन । उनी स्मरण गर्छिन्, ‘नायिका बन्ने काम खासै जमे जस्तो लागेन । दर्शकले पनि स्वीकार गरे जस्तो लागेन । अनि आफैँ काम गर्नुपर्छ भन्ने सोच बनाएँ । र, पर्दामा दीपकजीसँग सहकार्य गर्ने निर्णयमा पुगेँ ।’

विसं २०६० भदौमा दीपक–दीपाले मिलेर ‘तितो सत्य’ ल्याए । जुन एकदमै लोकप्रिय बन्यो ।

रोचक कुरा पहिलो भागमा दीपक, दीपाको भाइको भूमिकामा थिए, पछि उनीहरुलाई सोही कार्यक्रमका आधारमा रियल जोडी भनेरसमेत चर्चा हुन लाग्यो ।

दीपा स्मरण गर्छिन्, ‘नयाँ पुस्तालाई नेपाल टेलिभिजनले विश्वास गरेको अवस्था थिएन । नयाँ छन् हेरौं न त भनेर तीन भागका लागि समय पाएको, चर्चामा आएकै कारण १२ वर्ष चलायौं ।’

दीपा सोही कार्यक्रमलाई आफ्नो जीवनको ‘टर्निङ पोइन्ट’ मान्छिन् । उनी थप्छिन्, ‘तितो सत्यले हामीलाई कलाकारका रुपमा स्थापित मात्रै गरेन, टेलिभिजनले समेत दर्शक तान्यो ।’

तितो सत्य सफल गराउन शम्भुजित बास्कोटा र सोम धिताललगायतले लगाएको गुण दीपाले बिर्सिएकी छैनन् । तर, मिडिया हबले कलाकारको पारिश्रमिक नदिएसँगै तितो सत्य १२ वर्षपछि बन्द भयो । दीपक–दीपा फेरि ठूलो पर्दामा फर्किए ।

उनी थप्छिन्, ‘पारिश्रमिक नपाएपछि पनि हामीले केही भाग गर्‍यौं । सँगै फिल्ममा पनि हात हाल्यौं । तर धेरै दिन चलाउन सकेनौं । यद्यपि हाम्रो फिल्मको प्रचार पनि तितो सत्यबाटै पनि गरेका थियौं ।’

निर्देशनमा हात

तितो सत्यसँगै त्यसबेला चर्चित कार्यक्रम मेरी बास्सै, जिरे खुसार्नीका कलाकारहरु विभिन्न कारणले धमाधम टेलिसिरियल छोड्दै थिए ।

टेलिसिरियल छोडेका कलाकार ठूलो पर्दामा देखिए । पहिलो फिल्म ‘६ एकान ६’ मा सबै हास्य कलाकारको सहभागी भए । दोस्रो फिल्म ‘वडा नम्बर ६’ ल्याए । दुवै फिल्मले ‘माउथ पब्लिसिटी’ राम्रै पाए ।

उनी भन्छिन्– सुरुका दुई फिल्मले राम्रो व्यापार गरेनन् । दोस्रो फिल्म त नाकाबन्दीमा गुम्सिए जस्तै भयो । तेस्रो फिल्म छक्का पञ्जाले भने व्यापार र दर्शक दुबै पायो ।

‘छक्का पञ्जा’बाट दीपाले निर्देशनमा हात हालेकी थिइन् । निर्देशनमा भने उनी पहिलोपटक नै सफल बनिन् ।

उनी दाबी गर्छिन्, ‘लुटले हलमा दर्शकको बाढी ल्याएर फेरि धरमर –धरमरको अवस्था थियो । छक्का पञ्जाले दूरदराजका दर्शकलाई पनि हलमा तान्यो । यही फिल्मले हलमा दर्शकको उपस्थित बढ्न थाल्यो ।’

उनको दाबी सत्य नजिक पनि देखिन्छ । ०६० यता धेरै दर्शक हलमा पुगेको भनेकै छक्का पञ्जा टिमले निर्माण गरेको फिल्म हो ।

उनी थप्छिन्– हामी हलमा जाँदा एकै परिवारको तीन पुस्ता फिल्म हेरिरहेको देख्थ्यौं । हलका मान्छेले ‘यस्ता दर्शक आएको हामी पहिलो पटक देखेको’ भन्थे ।

तितो सत्य र विभिन्न कार्यक्रममा ‘कन्टिन्युटी’ निर्देशक भएर काम गरेकाले निर्देशनमा गाह्रो नभएको दीपा बताउँछिन् । उनी थप्छिन्, ‘तितो सत्यमा दीपकजी नहुँदा म नै निर्देशक हो, काम सिकेरै निर्देशनमा हात हालेकी हुँ ।’

अहिले छक्का पञ्जा टिम फिल्ममा आएको एक दशक भयो । दीपाश्री छक्का पञ्जा १, २ र ३ की निर्देशक हुन् । यो टिमले बनाएका सबै फिल्म सुपरहिट छन् ।

‘मह’ जोडीसँग काम गर्ने सपना ३० वर्षपछि पूरा

दीपाले ‘मह जोडी’ (हरिवंश आर्चाय र मदनकृष्ण श्रेष्ठ)को कार्यक्रम १५ गतेको एउटा गीतमा कोरस नाचेकी थिइन् । ठ्याक्कै मिति बिर्सिए पनि यो कुरा ०४५ सालअघिकै भएको उनी बताउँछिन् ।

दीपा थप्छिन्, ‘बिराटनगरमा सुटिङ हुँदा राम्रो नाच्ने भएकाले मैले त्यो अवसर पाएकी हुँ । उहाँहरुलाई देख्दा अहो ! उहाँहरु त टेलिफिल्ममा काम गरेर हसाउँने त्यति ठूलो मान्छे है भन्ने लागेको थियो । उहाँहरुसँग काम गर्ने सपना थियो ।’

दीपाले देखेको त्यो सपना ०७४ सालमा पूरा भयो । महजोडीले निर्माण गरेको ‘शत्रु गते’ फिल्ममा दीपाश्री हरिवंशको जोडी बनेर देखिइन् ।

उनी भन्छिन्- हरि दाइसँग सुट गर्दा म दीपा नै हो ? भनेर आफूलाई चिमोट्थेँ । उहाँसँग फिल्म खेल्न पाउँदा मैले विजयी महसुस गरेकी छु ।

अचेल केमा व्यस्त ?

दीपा फिल्म निर्माण बाहेक कमेडी शोको जजको भूमिकामा देखिन्छन् । उनी मुन्द्रेको कमेडी क्लबपछि ‘कमेडी क्लब विथ च्याम्पियन’को जजमा देखिन थालेकी छन् ।

वैशाखबाट सुरु हुने दोस्रो सिजनका लागि पनि उनी नै जजमा तय भएकी छन् ।

त्यस्तै, दीपक–दीपाको टिमले बानेश्वरमा फिल्म हल पनि सञ्जालनमा ल्याएको छ ।

आगामी वैशाखदेखि ‘छक्का पञ्जा ५’ छायांकनमा निस्किँदै छ । सोही तयारीमा व्यस्त रहेको दीपाले खबरहबलाई बताइन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ५६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड