अत्मनिर्भर बन्दै ताप्लेजुङका महिला | Khabarhub Khabarhub

अत्मनिर्भर बन्दै ताप्लेजुङका महिला


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै ताप्लेजुङका महिलाहरु आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने तालिम लिएका महिलाहरुको भनाइ छ ।

उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् । हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका–१० वडाको समन्वय तथा रेड पाण्ड नेटवर्क, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुई महिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिम बिहीबार सम्पन्न भएको छ ।

फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको प्रमाणपत्र सिरानी बनाएर थन्क्याएर नबस्न अनुरोध गरे ।

नगरपालिकाको लगानी र सहभागीको समय खर्च भएकाले उद्यम सुरु गर्न आवश्यक रहेको उनको भनाइ थियो । नगरप्रमुख मादेनले भने, “तालिम दियौँ । अब उद्यम सुरु गरौँ । स्थानीय सरकार सयहोग गर्न तयार छ ।” जङ्गलमा कुहिएर खेर जाने अल्लोबाट धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्नुपर्ने भन्दै उद्यम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने उनले जानकारी दिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङखिमले अल्लो नामी र दामी भएकाले उद्यमका रुपमा अगाडि बढाउनुपर्ने बताए । खेती नै नगरी अल्लो पर्याप्त उत्पादन भइरहेको भन्दै व्यवसायिक रुपमा अल्लो उत्पादन गर्नुपर्ने घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला अध्यक्ष राजेन्द्र भारतीले बताए । अल्लो उत्पादन गरेर आम्दानी गर्न सक्नुपर्ने भन्दै उनले उद्यमीलाई महासङ्घले सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे ।

उनका अनुसार महासङ्घले जिल्ला, प्रदेश र सङ्घसम्म आयोजना हुने कार्यक्रममा जिल्लाको उत्पादनको बजारीकरण गर्ने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोसाईका अनुसार सामुदायिक तथा सरकारी वन क्षेत्रमा अल्लो पाइने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न सकिने बताए । उद्यमी मिलेर उद्योग दर्ता गरी व्यावसाय सुरु गर्न उनले आग्रह गरे ।

सरकारी मान्यता प्राप्त गरेसँगै बजेट र तालिम दिन सहज हुने उनको भनाइ थियो । “अल्लोको गुणस्तरीय कपडा उत्पादन गर्न सके बजार अभाव छैन”, उनले भने । डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद शाहका अनुसार वनमा पाइने अल्लो सङ्कलन गर्न सके राज्य र उद्यमीलाई लाभ पुग्छ । उनले भने, “कानुनबमोजिम अल्लो सङ्कलन गर्न सक्छौँ । सहकार्य गर्न तयार छौँ ।”

सिकेको सीप व्यवहारमा लागू गर्न हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि लिम्बूले तालिममा सहभागीलाई आग्रह गरे । उनले भने, “सीप सिक्न मरिहत्ते गर्छौं । व्यवहारमा लागू गर्न चुक्छौँ । आशा छ, अब त्यो हुन्न ।” तालिममा सहभागीमध्ये चन्द्रकुमारी लिम्बूले भनिन्, “धागो कात्न र बुन्न हामी सक्षम छौँ । भविष्यमा गुणस्तरीय मेसिन पाउने आशा गरेका छौँ ।” सहभागीले अल्लोमा बुटिक भर्ने, लोगो लगाउने र नाम लेख्ने किसिमको तालिम आशा गरेका छन् ।

लिम्बूले थपिन्, “हामीमा धेरै लगानी छ । मेसिनमा उत्तिकै लगानी छ । त्यही भएर मेसिनको अपेक्षा गरेका छौँ ।” प्रशिक्षक आशा आङवुहाङ लिम्बूले आफूले जानेजत्तिकै सीप सहभागीलाई सिकाइएको बताइन् । तालिमसँगै अब बजारीकरणका लागि सहयोग हुनुपर्ने खाँचो औँल्याइएको छ ।

संरक्षण मञ्चका कार्यकारी निर्देशक रमेश राईले तालिममा सहभागीलाई आगामी वर्ष तालिमका साथै मेसिन उपलब्ध गराउने योजना रहेको जानकारी दिए । उनका अनुसार अल्लोको नर्सरी तयार गर्ने, तान बनाउने तथा वितरण गर्ने र बजार व्यवस्थापनलगायत कार्यक्रम छ । जिल्लाका अन्य स्थानीय तहबाट पनि तालिमको माग आइरहेकाले यसलाई निरन्तरता दिइने राईले बताए ।

उनका अनुसार झोला, टोपी, गलबन्दी, रुमाल र विभिन्न सामग्री उत्पादन गर्ने संस्थाले योजना बनाएको छ । कार्यक्रमका अध्यक्ष तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका वडाअध्यक्ष सन्तोष लिम्बूले वडावासीले लिएको सीपअनुसारको उद्यम गर्न सहयोग गर्ने बताए । फुरुम्बुमा दुई महिने (असोज २५–पुस १९) अल्लो प्रशोधन तथा कपडा बुनाइ सीप विकास तालिम आयोजना गरिएको थियो ।

उक्त तालिममा १६ जनाको सहभागिता थियो । तालिममा बोइलिङ मेसिन (पकाउने भाडा), बिटिङ मेसिन (कुट्ने मेसिन), रुवा बनाउने हेकल मेसिन र चर्खा उपलब्ध गराएको छ । हिमाली संरक्षण मञ्चको रु १३ लाख ५६ हजार, फुङ्लिङ नगरपालिकाको रु दुई लाख र घरेलु तथा साना उद्योग कार्यालयबाट रु एक लाख ५२ हजारको लगानीमा तालिम सञ्चालन भएको मञ्चले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ४२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि