प्रसव पीडामा किन धेरै गर्भवतीले सिएस रोज्छन् ? | Khabarhub Khabarhub

प्रसव पीडामा किन धेरै गर्भवतीले सिएस रोज्छन् ?


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

हाल नेपालमा अझ विशेष गरी सहरी क्षेत्रमा बच्चा जन्माउन शल्यक्रिया अर्थात् सिजेरियन सेक्सन (सिएस)को प्रचलन बढ्दो छ। निजी वा सरकारी अस्पतालमा पनि चिकित्सकले बिना कारण सिएस गरिदिन्छन् भन्ने धारण व्यापक छ। जसलाई केही हदसम्म नकार्न सकिँदैन। प्राकृतिक रुपमा बच्चा जन्माउनु सबैभन्दा उपयुक्त हो भन्ने ज्ञान सबैलाई हुँदा हुँदै प्राकृतिक डेलिभरीका लागि लामो समय कुनुपर्ने भएकाले छिटोछिटो सिएस गराएर प्रसव पीडाबाट गर्भवती मुक्त हुन चाहन्छन्। सिएस कुन अवस्थामा गरिन्छ ? नर्मल र सिजरियन गरेको बच्चामा फरक हुन्छ कि हुँदैन ? कति पटकसम्म सिएस गरेर बच्चा जन्माउन मिल्छ ? यी र यस्तै विषयमा आधारित भएर ओम अस्पतालमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर ज्योति लामिछानेसँग खबरहबका लागि गरिएको कुराकानी :

कुन अवस्थाका गर्भवतीको शल्यक्रिया गरेर मात्र बच्चा निकालिन्छ ?
कुनै पनि स्वास्थ्य संस्थाको पहिलो प्राथमिकतामा सिएस हुँदैन। पाठेघर काटेर बच्चा निकाल्ने प्रविधिलाई सिएस भनिन्छ। बच्चा ठुलो भएमा, बच्चा भन्दा अगाडि नै साल आएर बसेमा, बच्चाले दिसा गरिससकेको भएमा, बच्चाको धड्कनमा समस्या देखिएमा वा आमाको स्वास्थ्यमा केही समस्या देखिएमा सिएस गरिन्छ। गर्भवतीमा पाठेघरको मुखको क्यान्सर छ भने पनि सिएस गरिन्छ। अन्य अवस्थामा नर्मलकै लागि प्रयास हुन्छ।

पहिलेको तुलनामा सिएस गराउने महिलाको संख्या एकदमै बढ्दो छ। गर्भवती भएदेखि नै धेरैले सिएस गर्ने सोच बनाइसकेका हुन्छन्।

पछिल्लो समय नेपालमा पनि सिएस गराउने महिलाको संख्या बढ्दै गएको छ। प्रसव पीडाबाट बच्न धेरै महिलाले सिएस नै रोज्छन् भनिन्छ के हो वास्तविकता ?
पहिलेको तुलनामा सिएस गराउने महिलाको संख्या एकदमै बढ्दो छ। गर्भवती भएदेखि नै धेरैले सिएस गर्ने सोच बनाइसकेका हुन्छन्। थोरैले मात्रै नर्मल प्रयास गर्छु भन्छन्। व्यथा सुरु हुन्छ बच्चा जन्मिनलाई १० घर खुल्नुपर्ने हुन्छ। तर जब १/२ घर खुल्छ अनि म सहन सक्दिन अप्रेशन गर्दिनुस् भन्छन्। त्यसपछि अप्रेशन गर्नुपर्ने हुन्छ।

स्वास्थ्यका दृष्टिले गर्भवतीको रोजाइअनुसार सुत्केरी गराउन मिल्ने हो ?
प्रकृतिक भनेको प्राकृतिक नै हो। सिएस त केही जोखिम अवस्थामा मात्रै गर्न मिल्ने हो। आमाले अप्रेसन गर्दिनुस भनेर गर्न मिल्ने होइन। तर म नर्मल बच्चा जन्माउन सक्दिन अप्रेसन नै गर्दिनुस् भनेपछि हामीसँग विकल्प हुँदैन। बच्चा जन्मिदा कति धेरै पीडा हुन्छ त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ। शरीरका सबै हड्डीहरु एकैपटक भाँचिदा जति पीडा हुन्छ त्यति नै पीडा हुन्छ भनिन्छ। त्यो पीडा सहनको लागि शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ। त्यस्तो अवस्थामा आमा नै तयार छैन भने हामीले पनि जबर्जस्ती नर्मल नै पाउनुस् भन्ने अवस्था हुँदैन।

म नर्मल बच्चा जन्माउन सक्दिन अप्रेसन नै गर्दिनुस् भनेपछि हामीसँग विकल्प हुँदैन। आमा नै तयार छैन भने हामीले पनि जबर्जस्ती नर्मल नै पाउनुस् भन्ने अवस्था हुँदैन।

तपाईंकहाँ आउने गर्भवतीमध्ये कतिले नर्मल रोज्छन् र कतिले सिएस ?
शिक्षितहरु, अलिकती हुनेखाने वर्गका महिला धेरैले सिएस रोज्छन्। अलिकती कम पढेका आर्थिक अवस्था अलि कमजोर भएका र सहर भन्दा गाउँका महिलाले नर्मल प्रयास गर्छु भन्छन्। हुनेखाने वर्गका आमाले नर्मल प्रयास नै गर्न चाहदैनन्। मेरो अनुभवका आधारमा भन्ने हो भने पछिल्लो समय धेरै आमाले नर्मल पाउने आँट नै गर्र्दैनन्।

नर्मल र अप्रेसन गरेको बच्चामा के कस्तो फरक हुन्छ ?
धेरै फरक हुँदैन तर नर्मल बच्चा जन्माउँदा पीडा आमालाई मात्रै हुने होइन बच्चालाई पनि हुन्छ। पाठेघर खुम्चिँदा भित्र भएको बच्चाले बाहिर निस्किने प्रयास गरिरहेको हुन्छ। सिएस गरेको भन्दा नर्मल जन्मिएको शिशुको पाचन शक्ति राम्रो हुन्छ। यस्ता बच्चालाई स्वासप्रस्वास सम्बन्धी समस्याबाट बचाउन सकिन्छ। नर्मलका यस्ता विभिन्न फाइदा हुन्छन्। त्यो फाइदा सिएस गरेको बच्चाले पाउन सक्दैन।

नर्मल र शल्यक्रियामा कुन डेलिभरी जोखिमपूर्ण हुन्छ ?
डेलिभरी हुनु आफैमा जोखिम अवस्था हो। तर नर्मल भन्दा शल्यक्रिया अलि बढी जोखिम हुन्छ।

नर्मल बच्चा जन्माउँदा पीडा आमालाई मात्रै हुने होइन बच्चालाई पनि हुन्छ। पाठेघर खुम्चिँदा भित्र भएको बच्चाले बाहिर निस्किने प्रयास गरिरहेको हुन्छ।

कति पटकसम्म सिएस गरेर बच्चा जन्माउन मिल्छ ?
यति पटक गर्न सकिन्छ भन्ने हुँदैन। तर जति शल्यक्रिया गर्दै गयो त्यति नै बढी जोखिम हुन्छ। पटकपटक सिएस गर्दा बच्चा जन्मिने समय अगाडि नै पाठेघर फुट्ने, पेट भित्रको आन्द्रा लगायत अन्य अङ्गमा चोटपटक लाग्ने लगायतका समस्या आउन सक्छन्। त्यसैले साधारणतया तीन पटक भन्दा धेरै सिएस गर्नु हुँदैन भनिन्छ। तर विदेशमा ५/६ पटकसम्म सिएस गरेको सुनिएको छ। सकेसम्म दुई पटक र त्यस्तै अवस्था आयो भने तीन पटकसम्म शल्यक्रिया गर्न सकिन्छ।

पहिलो बच्चामा सिएस गरिएको छ भने दोस्रो बच्चामा सिएस नै गर्नुपर्छ ?
त्यो नहुन पनि सक्छ। पहिले अप्रेशन गरेको छ भने अर्को पनि अप्रेशन नै गर्नुपर्छ भन्ने प्रवृत्ति अहिले बढ्दो छ। यो पाठेघरमा काट्दा तेर्सो वा ठाडो कसरी काटिएको छ भन्ने कुरामा भर पर्छ। यदि तेर्सो काटिएको छ भने कम्तिमा पनि दुई वर्षको ग्यापमा नर्मल डेलिभरी गर्न मिल्छ। यसमा नर्मल प्रयास गर्दा पाठेघर फुट्ने सम्भावना ०.५ प्रतिशत हुन्छ। अहिलेको अवस्थामा त्यति जोखिम कसैले लिन चाहदैनन्। अर्को कुरा केही गरी पाठेघर फुटिहाल्यो भने पहिले नै अप्रेशन गरिदिएको भए यस्तो हुने नै थिएन भन्ने हुन्छ र डाक्टर र बिरामी दुवैले जोखिम लिन नचाहने हुनाले सुरुमै सिएस गरिन्छ। तर नर्मल पनि गर्न सकिन्छ।

म सिजेरियन नै गर्छु भनेर राज्नु गलत हो। अहिले त प्रसव पीडालाई सहज बनाउने प्रविधि छ। आमाको स्वास्थ्यलाई हेर्ने हो भने नर्मल बच्चा जन्माउनु राम्रो हुन्छ।

शल्यक्रिया गरेपछि के के कुरामा ध्यान दिनुपर्छ ?
सिएस गरेपछि महिलालाई तत्काल र दीर्घकालीन हेरचाहको आवश्यकता पर्छ। सिएस गर्दा पेट काट्नुपर्ने हुँदा पेटभित्रका अंगहरु आन्द्रा भुँडी लगायतमा गम्भीर घाउ लागेको हुन्छ। ती अंगहरुको सुरक्षाका लागि पनि गरुङगो सामान उचाल्नु हुँदैन। सामान्य उठबस गर्दा ध्यान दिने गर्नुपर्छ। घाउ पाक्ने भएकाले केही समस्या देख्ने बित्तिकै अस्पताल जानुपर्छ। एक पटक सिएस गरेपछि डेलिभरीको समयबीच ग्याप राख्नुपर्छ।

शल्यक्रिया रोज्ने आमालाई के सुझाव दिनुहुन्छ ?
म सिजेरियन नै गर्छु भनेर राज्नु गलत हो। अहिले त प्रसव पीडालाई सहज बनाउने प्रविधि छ। ढाडमा सानो सुइ लगाएर दुखाइ कम गर्ने औषधि दिइन्छ। सहन कठिन हुँदै गयो भने त्यो पनि गर्न सकिन्छ। आमाको स्वास्थ्यलाई हेर्ने हो भने नर्मल बच्चा जन्माउनु राम्रो हुन्छ। त्यसैले हरेक आमाले सकेसम्म नर्मल डेभिरीका लागि आफूलाई शारीरिक र मानसिक रुपमा तयार पारौं। यदि त्यस्तै अप्ठेरै परिस्थिति आयो भने डाक्टरले आफै सचेत गराउनुहुन्छ। बच्चा र आमा दुवैको लागि नर्मल डेलिभरी राम्रो हो। नर्मल डेलिभरीलाई प्रोत्साहन गरौं। नर्मललाई चाहना र सिजेरियनलाई बाध्यता मात्र बनाऔं।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ०४ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार