काठमाडौं– नेपालका अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पञ्चायतकालमा कसरी राजदरबारको आडमा आफ्नो बिजनेशलाई अघि बढाएका थिए ? तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका नाममा रहेको एपोलो स्टिलको ४९ प्रतिशत सेयर विनोदले कसरी आफ्नो नाममा नामसारी गरे ?
राजदरबारबाट धीरेन्द्र शाहको श्री ५ को पदवी खोसिएपछि धीरेन्द्रकी पत्नी प्रेक्षाले चौधरी परिवारसँग राखेको माग के थियो ? धीरेन्द्रको सेयर प्रेक्षालाई फिर्ता गर्न चौधरीले किन मानेनन् ? ०४६ सालमा बहुदल आएपछि चौधरी कसरी ‘पत्तासाफ’ हुनबाट जोगिए ?
यी यावत् प्रश्नको जवाफ दिन यतिबेला धीरेन्द्र शाह र प्रेक्षा दुबै जीवित छैनन् । धीरेन्द्र दरबार हत्याकाण्डमा दाजु वीरेन्द्रसँगै मारिए । प्रेक्षा चढेको हेलिकोप्टर रारातालमा डुब्यो, अहिलेसम्म भेटिएको छैन । जीवितै रहेका उद्योगी विनोद चौधरीकै शब्दमा त्यसबेलाको राजपरिवारसँगको व्यवसायिक पार्टनरसिप र चमक–धमकबारे सुनौं–
अनि धीरेन्द्रको सेयर आफ्नो नाममा सारें…
यी सबै २०४० सालतिरका घटनाक्रम हुन् । म २८ वर्षको थिएँ । त्यतिखेर धेरैले मलाई दरबारसँग वैरभाव राखेर हुँदैन, सम्झौता गर्नुपर्छ भनेर सम्झाएँ । …. म धीरेन्द्र सरकारलाई भेट्न गएँ ।
उहाँलाई मेरो नालीबेली सबै थाहा रहेछ । ‘मैले तिम्रो सबै कुरा बुझेको छु ।’ उहाँले मेरो पीठ थप्थपाउँदै भन्नुभयो, ‘यिनीहरु (चौधरीका विपक्षी) ले तिमीलाई टिक्न दिँदैनन् ।’
‘अब के गर्ने त सरकार ?’ मैले हात जोडेर बिन्ति गरेँ ।
‘तिमी मसँग मिलेर एउटा काम गर । तिम्रा सारा समस्या आफैं हराएर जान्छन् । तिमीलाई छुने ताकत कसैको हुँदैन ।’
मलाई त नारायणी सेना माग्न जाँदा स्वयं नारायणै पाएजस्तो भयो । चुपचाप हात जोडेर कुरा सुनिरहेँ ।
‘एउटा बिजनेश मसँग गर्यौ भने दुनियाँको नजरमा म तिम्रो पार्टनर हुन्छु,’ उहाँ भन्दै हुनुहुन्थ्यो, ‘पछि तिमीले एक्लै काम गर्दा पनि पछि दुनियाँलाई मेरो पार्टनरसिप छ भन्ने लाग्नेछ ।’
हामीले तुरुन्त एपोलो स्टिल इन्डिष्ट्रिजमा काम सुरु गर्यौँ । त्यतिखेर स्टिल उद्योगमा गोल्छाको एकाधिकार थियो । त्यो एकाधिकार तोड्दै हामीले एपोलो स्टिलको लाइसेन्स लियौँ । धीरेन्द्र सरकारको नाउँ जोडिएपछि लाइसेन्स पाउन अलिकति पनि माथापच्ची गर्नुपरेन । त्यतिखेर दरबारका मान्छेहरुसँग साझेदारी गर्दा ५१ प्रतिशत शेयर आफूसँग राख्थे, ४९ प्रतिशत लगानी गर्नेको भागमा जान्थ्यो । धीरेन्द्रले पहिलोचोटि मसँग यसको ठीक विपरीत अनुपातमा साझेदारी गर्नुभयो । ५१ प्रतिशत सेयर मेरो नाउँमा रह्यो, ४९ प्रतिशत उहाँले लिनुभयो ।
उहाँले भन्नुभएको थियो, ‘म तिमीलाई सहयोग गर्नमात्र सामेल भएको हुँ । तिमी आफैँ गरेर खाऊ । म ४९ प्रतिशतमा बस्छु ।’
एपोलो स्टिल भनेको मेरा लागि एउटा उद्योगमात्र थिएन, मलाई राजनीतिको भेलबाट किनारा लगाउने अचुक माध्यम थियो । …त्यसैमा टेकेर म आफ्नो भावी व्यवसायिक यात्राको मार्गचित्र कोर्न गइरहेको थिएँ ।
हामी यस्तो देशका नागरिक हौँ, जहाँ ठूलो मान्छे बन्नलाई ठूलो सोच राख्नैपर्दैन, ठूलो मान्छेसँग संगत गरे पुग्छ । मैले पनि ठूलो मान्छेसँग संगत गरेँ । पञ्चायती व्यवस्थाको जगजगीमा अधिराजकुमारसँग साझेदारी गरेर बिजनेस थालेँ । यो खबर जंगलको डढेलोजसरी फैलियो । म रातारात देशको प्रतिष्ठित उद्योगपतिमा गनिएँ । सारा मान्छेहरुको मप्रतिको हेराइ बदलियो । मेरो बोली बिक्न थाल्यो । मेरा कुरा सुनिन थाले । मेरो उछितो काडढ्न खोज्नेहरु ‘ओ विनोद बाबु क्या हाल हे’ भन्दै घुस्रिन आइपुगे । मेरा सबै बिजनेश सही बाटोमा आउन थाले । मैले थुप्रै नयाँ नयाँ क्षेत्रमा हात हालें । र, म सफल भएँ ।
सबै सफलतामा धीरेन्द्र सरकारको प्रत्यक्ष हात थिएन । तत्कालीन राजनीतिक खिचातानीले मेरो व्यवसायविरुद्ध सिर्जना गरिएका कृत्रिम तगाराहरु उहाँसँगको साझेदारीपछि हट्नु नै मुख्य कारण थियो ।
बिजनेसम्यानका लागि सबथोक बिजनेसै हो । मैले त्यही गरेँ, जो त्यतिखेरको सत्ता राजनीतिले मलाई गर्न बाध्य बनायो । सोझो बनेर बसेको थिएँ, साराले पेले । उनीहरुले मेरो बिजनेसमाथि राजनीति गर्न खोजे, मैले उनीहरुको राजनीतिमा बिजनेस गरिदिएँ । राजनीतिजस्तो कठोर र निर्मम दाउपेचभित्र टिकेर बस्न हामी उद्योगी व्यवसायी सबैले गर्ने र गर्नुपर्ने यही हो ।
०००
२०४० सालमा धीरेन्द्रमार्फत दरबारसँग गाँसिएको सम्बन्ध २०४५ को अन्तसम्म आइपुग्दा नराम्ररी चिस्सियो ।
यसबीच म राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग पनि निकट भएँ । वीरेन्द्र सरकारले मलाई १३ चोटि दर्शनभेट दिनुभयो । हाम्रो घरको बिहेबारीमा सरिक हनुभयो । वाईवाई कारखाना भ्रमण गर्न आउनुभयो । एकचोटि त नागार्जुन दरबारमा बोलाएर अन्तरंग कुराकानी गर्नुभयो ।
धीरेन्द्र सरकार दरबारमा टिक्न सक्नुभएन । उहाँ राजकीय सम्मान र पदवी त्यागेर नेपालबाट बाहिरिनुभयो । दरबारले उहाँको नाममा रहेका सबैजसो उद्योगधन्दा प्रेक्षालाई दियो । मसँग साझेदारी गरेर चलाएको उद्योग पनि उहाँकै भागमा पर्यो । …प्रेक्षाले तथ्य बुझ्दै नबुझी आफ्नो हिस्सा माग्न थाल्नुभयो । अवास्तविक खालका मागको फेहरिस्थ बनाएर दिनहुँजस्तो आफ्ना सहयोगीहरुलाई मकहाँ पठाउन थाल्नुभयो । २०३६ सालदेखि २०४० सालसम्म दरबारको जुन गुटले मेरो उठिबास लगाउन खोजेको थियो, धीरेन्द्रको अनुपस्थितिमा फेरि त्यही गुट जुर्मुरायो ।
२०४५ चैत महिनातिरको घटना हो । दरबारको एकजना मान्छे खबर लिएर आयो, ‘सरकारबाट जीवनकुञ्जमा तपाईँलाई हाजिर हुन हुकुम भएको छ ।’
प्रेक्षा जीवनकुञ्जमा बस्नुहुन्थ्यो ।
बुबा त खबर सुनेरै आत्तिनुभयो– अब फेरि के अनिष्ट हुने हो भनेर । मैले उहाँलाई ढाडस दिएँ, ‘नआत्तिनुस्, यिनले केही गर्न सक्दैनन् ।’
म र बुबा जीवनकुञ्ज गयौँ ।…
प्रक्षाले पुलुक्क मतिर हेरेर बढो रवाफसँग भन्नुभयो, ‘विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेंँ ।’
…मलाई त कुरा सुनेरै झनन्न भयो । पहिलो त एपोलो स्टिलमा हकदाबी गर्न प्रेक्षासँग कानुनी आधार नै थिएन । अर्को, उहाँ आफ्नो सेयर त्यस्तो व्यक्तिलाई दिँदै हुनुहुन्थ्यो, जससँग हाम्रो व्यवसायिक र व्यक्तिगत प्रतिस्पर्धा थियो ।
म एकछिन केही बोलिनँ ।
उत्तेजना शान्त भएपछि मसिनो स्वरमा भनेँ, ‘सरकार यस्तो हजुर कसरी गर्न सकिबक्सिन्छ ?’
मेरो जवाफले प्रेक्षा र उहाँका सहयोगीहरु मलाई सुलुत्तै निलुँलाजस्तो गरी आँखा ठूलो पारेर हेर्न थाले ।
‘किन गर्न सक्दिनँ ? ’ उहाँले हकार्ने लवजमा भन्नुभयो ।
‘सरकार यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ । बाँकी पनि मैले ऋण लिएर बनाएको हुँ । …बैंकले मेरै नाममा ऋण दिएको छ । … कान्छा सरकारलाई दिएको ४९ प्रतिशत सेयर मौसूफले मप्रति देखाइबक्सेको सदाशयताका कारण दिएको हुँ । त्यसबापत मौसूफले मलाई यो कागज दिनुभएको छ ।’
मैले खल्तीबाट एउटा कागज झिकेर देखाएँ । त्यो एपोलो स्टिलमा लगानी गर्दा धीरेन्द्रले दस्तखत गरेर दिनुभएको कागज थियो । उहाँले ‘४९ प्रतिशत सेयर लगानी गर्न विनोद चौधरीसँग ४९ लाख रुपैयाँ ऋण लिएको छु’ भन्ने भर्पाइ दिनुभएको थियो ।
०००
…मैले साधारणसभा डाकें । पुँजी बढाएँ । र, उनीहरुलाई थप अल्पमतमा पारेँ । कानुनी लडाइँ त जितियो । अब भौतिक आक्रमणको डर थियो । मैले यसको तोड सोचिसकेको थिएँ । सीधा किसुनजी (कांग्रेस नेता कृष्णप्रसाद भट्टराई) कहाँ गएँ । …उहाँको आडभर पाएर म फुलेल भएँ । छाती चौडा भएर आयो । …प्रजातान्त्रिक कित्तामा उभिएपछि प्रेक्षा र उहाँका सहयोगीहरुले प्रत्यक्षरुपमा मेरो केही बिगार्न सकेनन् । …धीरेन्द्रको सेयर आफ्नो नाममा सारेँ ।
२०४६ सालको जनआन्दोलन सफल नभइदिएको भए मेरो पत्तासाफ हुन्थ्यो । यो पक्का हो ।
दरबारबाट टाढिए पनि मैले आफ्नो कर्तव्य कहिल्यै भुलिनँ । आखिर जुन हैसियतमा म पुगेँ, त्यो कुनै समय राजपरिवारकै सदस्यसँगको सहकार्यबाट सम्भव भएको थियो ।
(‘विनोद चौधरी आत्मकथा’ पुस्तकबाट )
प्रतिक्रिया