चाणक्य नीतिमा भनिएको छ– शान्तितुल्यं तपो नास्ति न सन्तोषात् परं सुखम्। न तृष्णायाः परो व्याधिः न च धर्मो दयापरः।।
अर्थात्, शान्ति भन्दा ठूलो तपस्या अरू छैन, सन्तोषजस्तो सुख अरु छैन । लोभभन्दा ठूलो अर्को रोग छैन, दया समान अर्को धर्म छैन ।
जीवनलाई सुख, शान्ति, प्रेम र सफलतातर्फ उन्मुख गराउन अशान्ति, दुःख, इर्ष्या र भागदौडमा लागिरहेका सम्पूर्ण मानव जातिलाई इतिहासदेखि नै विभिन्न धर्मशास्त्र, नीतिशास्त्र, पुराण, वेद लगायत ग्रन्थ र सन्तजनहरूले हितोपदेश दिँदै आइरहेका छन् । तर, मानिस सुन्नुपर्ने, मनन गर्नुपर्ने र अपनाउनुपर्ने मार्ग छोडेर आफ्नै लयमा भौंतारिरहेको छ । त्यसैले, उसमा सुख छैन, सन्तोष छैन । न त प्रेम र आनन्द नै छ ।
मृगतृष्णारूपी अपेक्षा र प्रतिस्पर्धारूपी सुखको मोहले भएको सम्पदाप्रति पनि कृतघ्न छ । हुनुपर्थ्यो कृतज्ञ । जे छ, त्यसमा खुसी हुने, सन्तोष मान्ने र त्यो सम्पदालाई अझ बढाउन त्यही खुसी र सन्तोषलाई मलजल गर्ने । तर, बाहिरी प्रतिस्पर्धाले उसलाई छोडेन । अनि, खुसी पनि मानिसले बाहिर बाहिरै खोजिरहेको छ, भित्र हराएको सामान बाहिर खोजे झैं ।
जीवनको मूलभूत उद्देश्य
आनन्द र प्रेमपूर्ण भावका साथमा समृद्धिको अनुभूति होस् । यो नै प्रत्येकको जीवनको मूलभूत उद्देश्य हो । ओशोले यसलाई नै जोर बा दि बुद्ध, बाहिर सफल र भित्र आनन्दित हुने कला जान्नु जीवनको उद्देश्य हो भनेर सम्झाउनुभयो र त्यसलाई हातपार्ने कला पनि सिकाउनुभयो । ध्यान र साधना अनि प्रज्ञा र समझको माध्यमबाट यसलाई व्यवहारिकता र वैज्ञानिकता दिने प्रयास गर्नुभयो । तर मानिसहरूले ध्यानको कलालाई पनि अर्कै कुनै धर्म र सम्प्रदाय हो कि भन्ने शंका उत्पन्न गराए ।
प्रेमी प्रेमिकाले एक अर्कालाई ध्यान दिएजस्तै, एक–अर्काको ख्याल गरेजस्तै जीवनको उद्देश्यप्रति पनि ख्याल गर्ने हो भने कति सहजता र सन्तोषको जीवन बित्थ्यो होला !
हुन त, धर्म र ध्यान फरक कुरा हो । मैले धर्म मानेकै छु, ध्यान किन गर्नुपर्यो र भन्ने धारणा हुन सक्छ । धर्म, विचार र मान्यताले धानेको सानो ऊर्जाशक्ति हो भने, ध्यानले भावको विकास गर्दै आफू छु र हुनुको बोधमा लैजान्छ । बाहिरको मान्यताले बोध प्राप्त नहुन सक्छ । त्यसैले सम्पूर्ण समस्याको समाधान नै ध्यान हो । स्वयंलाई प्रेम गर्नु र अन्तर्मनको निराकारप्रति जागृत हुनु ध्यान हो । अरूलाई ध्यान दिनु प्रेम हो ।
एउटा प्रेमी प्रेमिकाले एक अर्कालाई ध्यान दिएजस्तै, एक–अर्काको ख्याल गरेजस्तै जीवनको उद्देश्यप्रति पनि ख्याल गर्ने हो भने कति सहजता र सन्तोषको जीवन बित्थ्यो होला ! सन्तोषमा रहने जम्मा पाँच कलालाई व्यवहारिकता दिन जान्यो भने जीवनमा दुख र अतृप्तिको अनुभव हुनै पाउँदैन ।
१. प्रशन्नता : के कुराले प्रशन्नता मिल्छ, त्यो प्राप्त गर्नका लागि मानिस मिहिनेत गर्छ । वास्तवमा प्रशन्नता मानिसको आन्तरिक गुणवत्ता हो । जुन कर्म गर्दा उसलाई प्रशन्नता मिल्छ, ऊ त्यही कर्म गर्छ । तर, जब संसारलाई हेर्छ, अर्कोले त अर्कै कर्म पो गरिरहेछ त, त्यो पो ठिक हो कि ? मभन्दा प्रशन्न ऊ पो देखिन्छ, उसले गरे जस्तो पो गर्नुपर्ने हो कि ? उसलाई भ्रमले थिच्न थाल्छ अनि अरूले गरेको कर्मको सिको गर्न थाल्दछ र आफ्नो गुणवत्ता, आफ्नो प्रकृति उसले बिर्सिन्छ ।
सर्वप्रथम कर्मको आयाम र शुरूवात प्रत्येकको अन्तर्मनबाट प्रष्फुटित हुन्छ, जसले उसलाई खुसी राख्न सक्छ। अरूसँग यसको कुनै तुलना हुँदैन । किनकि प्रशन्नताको मापन गर्ने कुनै अंकगणित छैन । के गर्दा ठ्याक्कै खुसी र प्रशन्न रहने हो भन्ने अंकगणित छैन । जे गर्दा र जे बन्दा भित्रैबाट आफूलाई प्रशन्नता मिल्छ, त्यो सही कर्म र सही तरिका हो । कर्मको आयाम र तरिका व्यक्तिपिच्छे फरक हुन सक्छ र हुन्छ नै पनि । बीचमा आउने प्रतिस्पर्धा, लोभ, मोह, इर्ष्या, क्रोध र द्वेषले अरूजस्तै बन्न प्रयास गर्छ मानिस । यो सही तरिका होइन ।
जीवनको यो उमेरसम्म आइपुग्दा गरेको मिहिनेत र संघर्ष अनि प्राप्त गरेका हरेक परिणामको बाबजुद पनि असन्तोष र दुःख बाँकी छ भने त्यसको कारण हो, व्यक्तिले आफ्नो झूठो पहिचान बनाउनु
कतिपय अवस्थामा अरूबाट सिक्नु सही कुरा हो तर सिक्नु र आफ्नो तरिकाले त्यसलाई अभ्यासमा ल्याउन प्रयास गर्नु भनेको उस्तै गर्नु र बन्नु भने होइन । आफ्नो गुणवत्ता अर्थात् स्वभाव र प्रकृतिलाई जानेर जे गर्दा भित्रबाट र दीर्घकालीन प्रशन्नता मिल्छ, त्यो कर्म र व्यवहार गर्नु प्रत्येक व्यक्तिलाई प्रशन्नता मिल्ने सूत्र हो ।
जब आफ्नो स्वभाव विपरीत कर्म हुन्छ र फल प्राप्त हुन्छ, तब अप्रसन्नता मिल्छ, अरुकोजस्तो नभएर होइन । जीवनको यो उमेरसम्म आइपुग्दा गरेको मिहिनेत र संघर्ष अनि प्राप्त गरेका हरेक परिणामको बाबजुद पनि असन्तोष र दुःख बाँकी छ भने त्यसको कारण हो, व्यक्तिले आफ्नो झूठो पहिचान बनाउनु । असली पहिचानले त सधैं प्रसन्नता र खुसी नै दिन्छ ।
प्रतिस्पर्धापूर्ण मान्यता र संस्कारको नक्कल गरेर आफ्नो स्वभावबाट पर हुनु नै दुःखको कारण र झूठो पहिचान हो । वास्तवमा भन्नुपर्दा दुःख नै झूठो पहिचान हो । प्रसन्नता असली पहिचान र गुणवत्ता हो । आफूसँग, आफ्नो वरपर भएका र आफूले पाएका चिजप्रति सन्तोष मान्न सक्नु असली पहिचानमा बाँच्ने कला हो ।
२. जागरूकता : शारीरिक एवं मानसिक रूपले सक्रिय रहनु, स्वस्थ रहनु र त्योभन्दा माथि आफ्नो चेतनाको स्तरप्रति सचेत रहनु जागरूकता हो । आफ्ना हरेक कर्मप्रति होशपूर्ण रहनु, आफ्ना अधिकार, कर्तव्य र निर्णय क्षमताप्रति सजग र सचेत रहनु जागरुक हुनु हो ।
जागरूकता जानकारीमात्र होइन, जानकारीमा आएका कुरालाई व्यवहारगत रूपमा जीवनमा अपनाउनु हो । शारीरिक, मानसिक, पारिवारिक, सामाजिक, वैधानिक, आर्थिक, भौगोलिक, सांस्कृतिक, आध्यात्मिक एवं धार्मिक दृष्टिकोणले समेत सचेत र होशपूर्ण रहनु जागृत रहनु हो ।
आफ्नो मन र यसका कर्मप्रति जाग्नु, आफ्नो अहंकार र बेहोशीप्रति जाग्नु, लोभ, मोह, क्रोध र ईर्ष्याप्रति जाग्नु सचेत रहने सूत्र हुन्
आफ्नो मन र यसका कर्मप्रति जाग्नु, आफ्नो अहंकार र बेहोशीप्रति जाग्नु, लोभ, मोह, क्रोध र ईर्ष्याप्रति जाग्नु सचेत रहने सूत्र हुन् । प्रकृतिमा भएका सबै सम्पदालाई साक्षीपूर्वक देख्नु, आफ्नै स्वासप्रति जागृत हुनु, विना वकालत सबै चिजलाई मौनपूर्वक देख्नु जागृत रहने सहज सूत्र हुन् ।
बेहोशी नै दुःखको परिणाम हो । एक जागृत व्यक्ति कहिल्यै दुःखमा रहन सक्दैन । के लाई दुःख मान्ने र केलाई सुख मान्ने उसको रोजाइ हो । प्रतिकूलतालाई पनि अवसरका रूपमा देख्न सक्ने व्यक्ति जागृत व्यक्ति हो । ध्यानको कला र अभ्यासले सधैं जागृत अवस्थामा रहन मद्दत गर्छ ।
३. निष्काम : मैले भनेजस्तै नै होस्, मैले गरेको कर्मको परिणाम मैले चाहेअनुसार नै मिलोस् यो कामनापूर्ण, अपेक्षासहितको कर्म हो । अपेक्षा अनुसार भएन भने हामी दुःखी बन्छौं । आफ्नो निजी स्वार्थ मात्र नराखेर कर्म गर्नु मेरो स्वभाव हो, असल कर्म गर्छु, कर्मयोगी बन्छु भन्ने संकल्पसहित कर्म गर्नु तर परिणामजस्तो आउँछ, त्यसबाट दुःखी नबन्नु निष्काम कर्म हो ।
कर्मजस्तो गर्छौं, फल त्यस्तै आइ नै हाल्छ । कहिलेकाहीँ सोचेको भन्दा राम्रो आउँछ
कर्मजस्तो गर्छौं, फल त्यस्तै आइ नै हाल्छ । कहिलेकाहीँ सोचेको भन्दा राम्रो आउँछ र धेरै खुसी हुन्छौं भने सोचेभन्दा कम राम्रो हुँदा दुःखी हुनु चाहिँ स्वार्थीपन हो ।
श्रीमद्भगवद गीतामा उल्लेख छ– कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ।।
यसको मर्म पनि यही हो कि कर्मयोग तिम्रो स्वाभाव हो । कर्मको आनन्द लिऊ। परिणामप्रति आशक्त नबन । किनकि मनका आकांक्षा असीमित हुन्छन्। कुनै एक कर्म र त्यसबाट आएको परिणामले मन खुसी नहुन सक्छ । थप कर्म गर्दै जानु तिम्रो स्वाभाव हो तर परिणाम यस्तै नै हुनुपर्छ भनियो र भनेजस्तो भएन भने त्यसले दुःखमा लैजान्छ ।
समझदारी र इमान्दारीले गरेको हरेक कर्मको फल राम्रो नै आउँछ । राम्रोभन्दा उच्च कोटीको आउँछ। कर्मलाई पूजा मान, फलप्रति अशक्त नबन । निष्काम कर्मयोगी नै सदा सुखी र सन्तोषी रहन्छ ।
प्रजहाति यदा कामान् सर्वान्पार्थ मनोगतान् ।
आत्मयेवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ।।
भगवान श्रीकृष्ण अर्जुनलाई सम्झाउनुहुन्थ्यो– सुख दुःख, आकर्षण विकर्षणबाट प्रभावित नभई हर स्थितिमा समान भाव (समभाव) मा रहेर कर्म गर्ने व्यक्ति नै स्तिथप्रज्ञ र सुखी व्यक्ति हो । निर्मल, स्वच्छ मनले आत्मिस्थ भएर कर्म गर्नेले सधैं सुख र सन्तोष प्राप्त हुन्छ । अपेक्षा, राग, द्वेषपूर्ण कर्म गर्ने व्यक्तिले जतिसुकै राम्रो फल प्राप्त गरे पनि ऊ स्वयंमा खुसी रहन सक्दैन । तृप्त रहन सक्दैन । आफ्ना लागि कर्म त सबैले गर्छन् तर बहुजन हिताय, बहुजन सुखाय र कल्याणकारी कर्म गर्ने व्यक्ति सबैभन्दा सुखी रहन्छ।
४. अहंकार रहित : होशपूर्ण नहुनु, अपेक्षामा रहनु, सन्तोष नलिनु, प्रसन्न हुन नसक्नु अनि काम, क्रोध, लोभ, मोह, इर्ष्या र द्वेष जस्ता रिपुहरू छोड्न नसक्नु, प्रेमको भावना नहुनु नै अहंकारपूर्ण स्वभाव हुन् । म नै सही, उसलाई सही हुन दिन्नँ। मैले गरेको ठिक, उसलाई सही गर्न दिन्नँ, यो भाव अहंकारपूर्ण स्वभाव हो । आफ्नो नकारात्मक स्वभाव र व्यवहारप्रति जागृत बन्दै अहंकाररहित जीवनशैली अपनाउने व्यक्ति नै सुखी व्यक्ति हो ।
म नै सही, उसलाई सही हुन दिन्नँ। मैले गरेको ठिक, उसलाई सही गर्न दिन्नँ, यो भाव अहंकारपूर्ण स्वभाव हो
५. अहोभावको जीवनशैली : यो शरीर, स्वास, परिवारजन, प्रकृति, चराचर जगत, अस्तित्व, सूर्य, चन्द्रमा, सौर्यमण्डल, जसले पनि हाम्रो जीवन बाँच्न मद्दत गरेका छन्, ती सबैप्रति अहोभावले भरिनु सुखी जीवन बाँच्ने कला जान्नु हो ।
मित्रजन, आफन्तजन, रूखविरूवा, किसान, डाक्टर सबै–सबै, जसले हाम्रो जीवन विकासमा सानो मात्र पनि सहयोग पुर्याएका छन्, ती सबैप्रति धन्यवाद व्यक्त गर्न जान्ने व्यक्ति नै सुखी व्यक्ति हो । सहयोग सानो होस् या ठूलो केही फरक पर्दैन, कसैले आफ्नो कर्म र पेशाको भूमिका नै निर्वाह किन नगरोस् तर ऊ धन्यवादको पात्र हो ।
धन्यवाद र अहोभावलाई जीवनशैली बनाउन जान्नु नै सुखी र सन्तोषपूर्ण बाँच्न जान्ने कला हो ।
प्रतिक्रिया