तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु | Khabarhub Khabarhub

तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज बिहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड सुरु भएको हो । 

मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लिएका छन् । इचङ्गुनारायणस्थित ‘सिङ्गल ट्री’बाट सुरु भएको दौड काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र छिचोल्दै पुनः सोही स्थानमा आएर टुङ्गिने आयोजक मञ्जुश्री ट्रेल रेसका प्रबद्र्धन जिमी ओस्त्रोमले जानकारी दिए ।

इचङ्गुनारायणको सिङ्गल ट्रीबाट सुरु भएको यो दौड जामाचो, मुड्खु, गर्जे भञ्ज्याङ, बाघद्वार, चिसापानी, झुले, नगरकोट, कालामासी बसपार्क, साँगा ब्रिज, आशापुरी भ्यूटावर,  चापाखर्क, पुलचोकी, नाल्फु, टीकाभैरब, डोलु, चापभञ्ज्याङ, चित्लाङ सडक, नागढुङ्गा, कालुपाँडे हुँदै पुनः सिङ्गल ट्रीमा आएर टुङ्गिनेछ ।

आयोजक मञ्जुश्री ट्रेल रेसका अनुसार यसै दौडसँगै सोही मार्गमा विभिन्न चार वटा दौड पनि आयोजना हुनेछन् । आज बिहान ८ बजे एक सय माइल दूरीको पहिलो दौड सुरु भइसकेको छ भने एक सय किलोमिटरको दोस्रो दौड झुलेस्थित हिल भिजन रिसोर्टबाट आज दिउँसो ३ बजे सुरु हुनेछ । 

साथै सोही मार्गमा ५० किलोमिटर दूरीको तेस्रो दौड बडिखेलस्थित होटल तपेश्वर लजबाट भोलि बिहान ६ बजे सुरु हुनेछ भने चौथो दौड १० किलोमिटर दूरीको हुनेछ । सो दौड भोलि बिहान ११ बजे कालुपाँडे फरेष्ट क्याम्पबाट सुरु हुनेछ । त्यसबाहेक ३० किलोमिटर दूरीको केभीए स्टेज दौड डोलुस्थित सोलिड रक लजबाट भोलि बिहान ८ बजे सुरु हुनेछ ।

आयोजकका अनुसार यी सबै दौडमा कूल तीन सय २४ धावक सहभागी छन् । जसमध्ये दुई सय ८९ महिला र ३५ जना पुरुष छन् । दौडमा विभिन्न आठ देशका ४० धावक सहभागी छन् । जसमा बेलारुस, चीन, सिङ्गापुर, बेलायत, मलेसिया, इन्डोनेसिया, भारत र डेनमार्कका धावक रहेको मञ्जुश्री ट्रेल रेस, २०२४ का निर्देशक आशिष मिश्रले बताए।

मञ्जुश्री ट्रेल रेस सबैभन्दा लामो दौडमध्येको एक हो । यो काठमाडौँ उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुरामार्फत एक सय माइल दुरी पूरा गर्दा १० हजार मिटरभन्दा बढी उचाइ समेत हासिल हुने ट्रेलमाण्डूका सहसंस्थापक तथा २०२३-२४का एसिया ट्रेल मास्टर च्याम्पियन रसिला तामाङले जानकारी दिए । 

पौराणिक कथनअनुसार मञ्जुश्री भिक्षुले काठमाडौँमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन विभिन्न डाँडा घुमेर हेरेका थिए । यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामांकन गरिएको हो । सेतो र पहेँलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ ।

यस दौडमा धावकहरुले जङ्गल, खोला, खेत र केही गाउँहरू पार गर्नेछन् । आयोजकका अनुसार ७० प्रतिशत दौड वनजङ्गल र गोरेटो बाटोमा हुनेछ । दौडका क्रममा धावकहरुले तामाङ, नेवारी, पहाडी बस्ती हुँदै विभिन्न संस्कृति नियाल्न पाउनेछन् । दौडमा धावकलाई सहज बनाउनका लागि १९ वटा चेक प्वाइन्ट उपलब्ध गराइएको छ । जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको हुन्छ ।

त्यस्तै तीन स्थानमा केही समय आरामका लागि बासस्थानको पनि ब्यवस्था गरिएको छ । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सबै चेक प्वाइन्टमा आधारभूत तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीका साथै एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो ‘ट्रेल’को परिकल्पना गरेका थिए । त्यसपश्चात् उनीहरूले सन् २०१६ मा यो ‘ट्रेल’ छिचोलेका थिए ।

जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटक–पटक गरी ट्रेलको वैकल्पिक रूटसहित नक्सांकन गरेका थिए । पछिल्लो समयमा ट्रेलमाण्डू र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै यस ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जीपीएस नक्सांकन गरिएको मञ्जुश्री ट्रेल रेस प्रवद्र्धक अस्त्रोमले जानकारी दिए ।

विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा यो रूट पूर्णरूपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको थियो । फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन ९आइटिआरए० र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने गरेको छ ।

आयोजकका अनुसार एक सय माइलको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । एक सय किलोमिटर दौडका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । 

पचास किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु २० हजार, रु १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

एक सय  माइल, एक सय  किलोमिटर र ५० किलोमिटरको दौडमा शीर्ष पाँच धावक एसिया ट्रेल मास्टर्समा स्वतः छनोट हुनेछन् । एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो प्वाइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्टमार्फत सबै वर्गका धावकहरूलाई समान अवसर  दिइन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १ : ०२ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले