दम्पती हत्या घटना : अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस | Khabarhub Khabarhub

दम्पती हत्या घटना : अनुसन्धान जारी, दोषी पत्ता लगाउन सकस


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ ।

सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयको ओइरो नै लागेको थियो ।

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।

वृद्ध दम्पतीलाई हत्या नै गर्नुपर्ने कुनै कारण नदेखिएको स्थानीय लालबहादुर अधिकारीले बताए । अकल्पनीय र सुन्नै नसकिने घटनाले गाउँ नै शोकमग्न बनेको उनको भनाइ छ । दम्पती हत्या भएको पाँच दिनसम्म पनि दोषी पक्राउ पर्न सकेका छैनन् ।

नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली अहिले पनि गाउँमै अनुसन्धानमा व्यस्त रहेको छ । आफन्त वा शङ्कास्पद व्यक्तिलाई शोधपुछ गर्ने, बयान लिने र अन्य प्राविधिक कोणबाट अनुसन्धान कार्य जारी रहेको जिल्लाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

जिसी दम्पतीलाई लुटेराले नै हत्या गरेको प्रहरीको ठहर छ । गरगहना लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गर्नेजस्ता घटनाले लुटेरा समूहले हत्या गरेको प्रहरीको निष्कर्ष रहेको छ ।

जिसी परिवारले एक सातापछि कास्कीको पोखरामा जग्गा किन्ने तयारीसमेत गरेको खुलेको छ । जग्गा खरिदका लागि रकम जुटाइरहेको र त्यही रकम लुट्ने उदेश्यले दम्पतीको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानको निष्कर्ष छ । दम्पतीको हत्या सम्पत्ति लुट्ने उद्देश्यले भएको निष्कर्षमा पुगेको प्रहरीलाई हत्या कसले गरेको हो भन्ने विषयमा पाँच दिनसम्म पनि पत्ता लगाउन समस्या देखिएको छ ।

जिसी परिवारका बारेमा पहिचान भएकै व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भुसालले बताए ।

जलजला–२ का वडाध्यक्ष प्रकाशबहादुर जिसीले मृतक दम्पतीले यही महिना पोखरामा जग्गा किन्न लागेको जानकारी दिए । वडाध्यक्ष जिसीका अनुसार पोखरामा जग्गा किन्नका लागि पहिल्यै बैना गरिसकेको र यही महिनाभित्रमा पास गर्ने तयारी गरेको थाहा पाएर रकम लुट्नका लागि हत्या गरेको हुनसक्छ ।

उनीहरुले स्थानीय साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट रु पाँच लाख, रोक्का भएको जग्गाबाट पाँच लाख  रुपैयाँ ऋण लिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने योजना बनाएको जनाइएको छ ।

त्यसैगरी मल्लाज बहुद्देश्यीय सहकारी संस्थाबाट यही चैत २७ गते १० लाख रुपैयाँ लिने तयारी रहेको स्थानीयले बताएका छन् । उनीहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शङ्कामा लुटपाट गरेको र त्यस क्रममा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : १८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले