टीकाबहादुरकाे टिप्पणी- ‘ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न पर्दैन’ « Khabarhub

टीकाबहादुरकाे टिप्पणी- ‘ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न पर्दैन’


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिए बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कँदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उनमा ।

छ दशक हुँदा पनि चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त छन् । बागलुङमा मात्र होइन अन्य जिल्लाका दूर दराजसम्म पुगेर ठेकी बनाउने उनको मुख्य पेसा हो । कामलाई कामलाई पूजा मान्ने टीकाबहादुरले ठेकी बनाउन सुरु गरेको ४८ वर्ष भयो । उनले बाउ, बाजे र काकाहरूबाट १२ वर्षकै उमेरदेखि सीप सिकेर ठेकी बनाउने पेसा अङ्गालेका थिए ।

चुनाराका अनुसार हिजोआज काठका ठेकीको प्रयोग निकै कम हुँदै गएका छन् । ठेकी बनाउनुका साथै यसको प्रयोगका बारेमा नागरिकलाई सचेत बनाउने काम पनि गर्दै आएको उनको भनाइ छ । दशक अगाडि काठका सामग्रीको बढी प्रयोग हुने गरे पनि पछिल्लो समय प्रयोगविहीन हुन थालेका उनले बताए ।

आधुनिक प्रविधिको विकासले मौलिकता हराउँदै गएको चुनाराको भनाइ छ । पहिलाको तुलनामा ठेकीको प्रयोगमा कमी आउन थालेपछि परम्परागत पेसा पनि सङ्कटमा पर्न थालेको उनले बताए ।

बिहान उठेदेखि रातिसम्मै काठ काट्ने, मुडा तास्ने र ठेकीका विभिन्न आकार दिने टीकाबहादुर नयाँ पुस्ताले आयातित भाँडाकुँडालाई प्राथमिकता दिँदा पेसा सङ्कटमा पर्न थालेको भन्दै चिन्तित थिए । आयातित धातुका सामग्री अति आवश्यक पर्दा मात्रै प्रयोग गर्नुपर्ने उनले सुझाव दिनुभयो । आयातित सामग्रीको प्रयोग गर्न सहज हुने भएकाले आफ्नो सुझाव कसैले नसुन्ने उनको गुनासो छ ।

तीन दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा फलाम, सिल्टी, तामालगायत धातुका भाँडाकुँडा निकै कम पाइने हुँदा स्थानीयले माटा र काठकै सामग्री बढी प्रयोग गर्ने गरेको चुनाराले स्मरण गरे । पछिल्लो समय घरै पिच्छे धातुका सामग्री आउन थालेपछि काठका सामग्री बिक्री कम हुँदै गएको उनले बताए ।

गाउँका बारीमा रहेका काठबाट बनाइने काठका ठेकी आयातित भाँडाकुँडा भन्दा स्वास्थ्यका लागि फाइदा हुने भन्दै यसतर्फ कसैको ध्यान नगएको चुनाराको भनाइ छ । समयसँगै परम्परा पनि परिवर्तन हुँदै जाँदा अचेल मानिसहरू गाउँमा नबस्ने तथा गाई भैँसी नपाल्दा ठेकीको पनि प्रयोग निकै कम भएको उनले बताए ।

‘हाम्रो पालामा एउटै परिवारले १५/२० वटा भैँसी पाल्ने, दूध, दही र मही ठेकीमा राख्ने चलन थियो । अहिले गाउँमा मानिस बस्न छोडे, गाई भैँसी पनि पाल्दैनन् । उहिलेका बुढापाकाले सिल्टी प्रयोग गर्ने होइन भन्थे, अहिले त्यही बढी प्रयोग गर्छन्’, चुनाराले भने, ‘सिल्टीमा एकै छिन हात गोट्यो भने कति कालो लाग्छ, त्यस्तो भाँडामा खाँदा बुढापुरानाले धेरै थरीको रोग लाग्छ भन्थे । काठको भाँडाको दूध दही, तामाको भाँडाको पानी, फलामको कुँडेमा तताएको दूध खानु पर्छ भन्थे, अहिले त्यो सबै हरायो ।’

पहिले आफ्नो गाउँमा ३०/४० जनाले ठेकी बनाउने गरे पनि अहिले नयाँ पुस्ताले काम नसिक्दा चार जना मात्रै रहेको चुनाराले जानकारी दिए । यो पेसा संरक्षणमा राज्यले पनि चासो नदिएको उनले गुनासो पोखे ।

गाउँपालिका/नगरपालिकाले आरन गर्ने, बाख्रा पाल्नेलाई अनुदान दिएर ती पेसामा लाग्नेलाई प्रोत्साहन गरे पनि ठेकी बनाउने सीप भएका र वर्षौँदेखि यहीँ पेसा गर्दै आएकालाई अहिलेसम्म कुनै पनि सम्बोधन नगरेको उनको भनाइ छ । ठेकी बनाउने पेसाबाटै परिवार चलाउँदै आएको भन्दै पछिल्लो समय बिक्री कम हुन थालेपछि जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए ।

चुनारा अहिले पनि अँधियामा ठेकी बनाउन गाउँ गाउँ पुग्छन् । अँधिया प्रथा अहिले पनि कायम रहँदै आएकाले यसलाई निरन्तरता दिएको चुनारले बताए । ४८ वर्षसम्म एउटै पेसा अङ्गालेर छोराहरूको लालनपालन र पढाइलेखाइसम्म गरेको सुनाउँदै अहिले आफ्ना सन्तानले सरकारी क्षेत्रमा काम गरिरहेका उनले बताए । ‘मैले कुनै सरकारी कार्यालयमा काम गरेको भए पेन्सन पाउने उमेर भइसकेको छ’, उनले भने ।

‘मैले १२ वर्षदेखि ठेकी बनाउने पेसा अङ्गालेको हुँ, उति बेला बा, दाइँहरूसँग हिँडियो, उनीहरूबाटै सिकियो, १७ वर्षदेखि आफैँ कमाउन थाले, अहिलेसम्म गर्दै आएको छु, केही वर्ष भयो व्यापार निकै कम हुँदै गएको छ । ठेकी किन्नेहरूले अहिले प्लास्टिक, सिल्टीका भाँडा ल्याउन थाले’, चुनाराले भने, ‘हात पाखुरा चल्दासम्म यो पेसा धान्ने छु । युवा पुस्ताले सीप नसिक्दा पेसा सङ्कटमा पर्ने चिन्ता छ ।’ राज्यले पनि ठेकी बनाउने पेसाको संरक्षण गर्न केही आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सबैभन्दा पहिले काठ र माटोकै भाँडाको आविष्कार भएको भन्दै प्रविधिको विकासले अन्य धातुका भाँडा बन्न थालेको चुनाराले बताए । ठेकीलाई एक मानाको रु एक हजार दुई सय पर्ने उनले जानकारी दिए । एउटा ठेकीलाई रु आठ सयदेखि १० हजारसम्म पर्ने उनको भनाइ छ ।

ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न नपर्ने चुनाराले बताए । स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले विशेष योजना बनाएर रैथाने सीप तथा पेसा संरक्षण र प्रवर्द्धनका लागि कदम चाल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ४१ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत