गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर | Khabarhub Khabarhub

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

बराबरी मत आए मात्रै सभामुखले निर्णायक मत दिन पाउँछन् : विज्ञ


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै छन् ।

उनी नेकपा एमालेबाट चैत २५ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार विश्वासको मत लिने गरी प्रदेश सभा बैठक आइतबार दिउँसो ३ बजेका लागि डाकिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका उनलाई नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत ३० सांसदको समर्थन छ ।

३१ संसदको समर्थनमा अधिकारी चैत २५ मा मुख्यमन्त्री भएका थिए । तर कांग्रेसले सभामुखको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएको थियो ।

अधिकारीसँग सभामुखबाहेक प्रदेशसभा सदस्यको बहुमत रहेको भन्दै सर्वोच्चले कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेद्वारा दायर रिट नै खारेज गरिसकेको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले गण्डकीमा अधिकारी नेतृत्वको सरकार संविधानसम्मत् रहेको ठहर गरेको छ ।

प्रधान र सुवेदीको इजलासले अधिकारीसँग सभामुखबाहेक प्रदेशसभाका ५९ जना सदस्यको बहुमत ३० जनाको समर्थन रहेको भन्दै रिट खारेज गर्ने फैसला सुनायो ।

संविधानविद् डा. विपिन अधिकारी ।

अधिकारी भन्छन् : सर्वोच्चको फैसलामा विवाद छैन
यो फैसला विवादित भएको भन्दै कानुनविदहरुले फरक फरक टिप्पणी गरिरहेका छन् । सरकार गठनका क्रममा सभामुख तटस्थ बस्नुपर्ने भएकाले गण्डकीको फैसला संविधान र कानुन पालना गर्नेलाई ठिक रहेको संविधानविद् विपिन अधिकारीले बताए । उनले सर्वोच्चको फैसलामा कुनै विवाद नरहेको तर्क पनि गरे ।

संविधानको धारा १८६ मा सरकारले विश्वासको मत लिँदा यदि पक्ष र विपक्षमा बराबरी मत आएमा मात्रै सभामुखले निर्णायक मत दिन पाउने उल्लेख छ । तर, गण्डकीको फैसला हेर्दा सर्वोच्चले सरकार गठनका लागि दाबी गर्ने प्रक्रियामासमेत सभामुख संलग्न हुन नपाउने भनेको छ ।

‘यसमा अनौठो मान्नुपर्ने केही छैन । सरकार गठनका लागि ५९ जना प्रदेश सभा सदस्यको समर्थन हुनु कानुनविपरीत होइन । सभामुख त जहाँबाट गए पनि तटस्थ हुनुपर्छ । संविधान नबुझ्नेहरूले अपव्याख्या गरेका मात्रै हुन्’, संविधानविद् अधकिारीले थपे ।

सभामुखलाई गणना नगरी बाँकी सदस्यको बहुमत नहुनुपर्ने भन्ने चर्को आवाज उठिरहेका सन्दर्भमा अधिकारीले थपे, ‘जहाँ सभामुख संलग्न हुँदा स्वतन्त्र देखिँदैन, निर्णय प्रक्रियामा भाग लिँदा निष्पक्ष देखिँदैन, त्यहाँबाट सभामुख अलग हुनुपर्छ । यो हाम्रो संविधानको परिकल्पना हो । सभामुख नियुक्त भएपछि बाँकी सदस्यको बहुमत भन्नुपर्छ । उपसभामुखको हकमा पनि सभामुखको जस्तै हो । सभामुख र उपसभामुखबाहेक सदस्यको बहुमत भन्ने बुझ्नुपर्छ ।’

अधिकारीले कोशी र गण्डकी दुवैका हकमा सर्वोच्चको फैसला सही रहेको बताए । ‘कोशी र गण्डकीमा सर्वोच्च अदालतको व्याख्या संवैधानिक प्रश्नमा एकदम सही छ’, अधिकारीले भने ।

उनले संसदीय पद्धतिबारे सबै कुरा संविधानमा उल्लेख नभएकाले समस्या आएकोसमेत बताए । कतिपय कुराहरूमा संसदीय परम्परा हेर्नुपर्ने भएकाले संविधानमा उल्लेख नगरेका र प्रष्ट नभएका कुराहरूमा संसदीय पद्धतिमा कसरी समाधान खोजिन्छ, त्यो कुरा हेर्नुपर्ने अधिकारीको भनाइ छ ।

अधिकारीको भनाइकै आधारमा मुख्यमन्त्री खगराजको पक्षमा ३० र विपक्षमा कांग्रेसका २७ र राप्रपाका २ गरी २९ सदस्य हुन्छन् । यसो हुँदा खगराजले प्रदेश सभाबाट बहुमत पाउने देखिन्छ ।

भीमार्जुनको फरक तर्क

तर अर्का संविधानविद् डा. भीमार्जुन आचार्यले भने संविधानले प्रदेश सभाको कुल सदस्यको बहुमतका आधारमा मुख्यमन्त्री नियुक्तिको परिकल्पना गरेको बताएका छन् ।

‘यसमा सर्वोच्चले कुनै नजिर निकाल्यो भने त्यसको पालना पछिसम्म हुन्छ भन्ने हाम्रो अपेक्षा रहन्छ । गण्डकीको हकमा फैसला हेर्दा न्यायिक सक्रियता अलिक बढी भएको हो कि भन्ने देखाएको छ’, आचार्यले भने, ‘बहाल रहेका सबै प्रदेश सभा सदस्य नै गणना हुन्छ । कसरी व्याख्या गरिएको हो भन्ने छ । अहिले यति नै बोल्दा सान्दर्भिक होला ।’

संविधानविद् आचार्यका अनुसार सभामुखलाई गणना नगरी बाँकी सदस्यहरूको बहुमत भन्नु संविधानभन्दा बाहिरको हो । तर संविधानविद् अधिकारीको भनाइअनुसार सरकार गठनमा सभामुख संलग्न नहुनु कानुनसम्मत र ठिक अभ्यास पनि हो ।

यता विश्वासको मत लिन तयार मुख्यमन्त्री अधिकारी भने आफूलाई सर्वोच्चले न्याय दिएको बताउँछन् । उनी सदनबाट आजै विश्वासको मत प्राप्त हुने कुरामा ढुक्क छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ५८ बजे

छुद्र ग्रहमा पहिलोपटक देखिएको ‘जागरण’ के हो ?

एजेन्सी– खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट

‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भन्दै ठगी, समातिए चार जना

काठमाडौं– भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं – सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा

बर्लिनबाट दोहा उडे राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने

‘बर्ड फ्लूले भविष्यको महामारीविरुद्ध जुध्न विश्व तयार नभएको देखायो’

एजेन्सी– अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा