डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’मा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन् ।

मन्त्री लामिछानेले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने, “केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ । आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन । पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला । वनमा आगो लगाउनु अपराध हो । अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ । त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नूहोला ।”

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो । उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई दिन पनि अनुरोध गरे ।

विपद् नै पिच्छे स्रोत–साधनको अभाव देखाएर गर्न सकिने सामान्य काम पनि नगर्ने प्रवृत्ति रहेकातर्फ सङ्केत गर्दै मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने बताए ।

स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न निर्देशन पनि दिए ।

नीति, कानुन र व्यावहारिक कठिनाई भए फुकाउन आफूले नेतृत्व लिने भन्दै मन्त्री लामिछानेले डढेलोलगायत विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पनि स्रोत–साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एकीकृत कमान्ड सेन्टर’ स्थापना आवश्यक रहेको औँल्याएका थिए ।

दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको, एक सय ४० जना घाइते भएको तथा एक हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ ।

यही वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी रु ५० हजार अनुदान पाउनेछन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : २७ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन