रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ? | Khabarhub Khabarhub

रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ?

‘जनताको समस्या चिर्न आएको पार्टीले जनतालाई समस्यामा पार्नु हुँदैन’



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकाल एक्लिएका छन्। बुधबार पार्टी कार्यालय चमतीमा बसेको रास्वपाको बैठकमा महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको रिपोर्टिङ प्रतिवेदन प्रस्तुत भएको थियो। उक्त प्रतिवेदनमाथि सामान्य छलफल सुरु भएलगत्तै उनको महामन्त्री पदन नै धरापमा पर्यो।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर उनको प्रस्तावलाई बहुसंख्यक केन्द्रीय सदस्यले फेल बनाएपछि उनी पार्टीमा एक्लिए। त्यसपछि उनी मास्क बाहिर टेप टाँसेर विरोध जनाउँदै बैठकमा सहभागी भए।

बुधबारको बैठकमा खानापछि प्रतिवेदनमाथि छलफल भइरहेको थियो। त्यो बेला अधिकांश वक्ताहरुले ढकालको अभिव्यक्तिप्रति गम्भीर रूपमा प्रश्न उठाएका थिए। महामन्त्रीमाथि केन्द्रीय सदस्यले प्रश्न उठाउँदा सो अवधिभर ढकाल नबोली सुनिरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

महामन्त्रीमाथि केन्द्रीय सदस्यले प्रश्न उठाउँदा सो अवधिभर ढकाल नबोली सुनिरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

पार्टी सच्चिन गम्भीर रुपमा छलफल हुनुपर्ने र केही कुरा शुद्धिकरण गर्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने कुरामा अधिकांश केन्द्रीय सदस्यले समर्थन गरेपनि उनको अभिव्यक्ति र मिडियामा गरेका विभिन्न कुराहरूप्रति गम्भीर रुपमा प्रश्न उठाएका थिए। बैठकमा बोल्ने वक्ताले महामन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएपछि उनी पार्टीमा एक्लिएका हुन्।

सबै केन्द्रीय सदस्यले बोलिसकेपछि बोल्ने पालो महामन्त्री ढकाललाई दिइएको थियो। तर उनले बोल्न चाहेनन्। बैठकमा नबोलेका महामन्त्री ढकाल बैठकस्थलबाट बाहिरिएपछि पत्रकारसँग भने सभापति र पार्टी शैलीप्रति चर्को बोले। बैठकमा बोल्न लगाएर आफूलाई ‘हेरेस्मेन्ट’ गरिएको भन्दै ढकाल बैठक स्थलबाट बाहिरिएका थिए। त्यसपछि सभापतिले केही बेर बैठक स्थागित गरेर पुनः अनौपचारिक बैठक बसेको थियो। सो बैठकमा भने महामन्त्री ढकाल सहभागी भएनन्।

एक्लिएपछि मास्कमा टेप टाँसेर बसे मुकुल ढकाल

बैठकस्थलबाट बाहिरिएर ढकालले सभापति रवि लामिछानेको कार्यशैलीप्रति मिडियामा आएर तीव्र असन्तुष्टि व्यक्त गरे। ढकालले गम्भीर प्रश्न उठाउँदै भने, ‘सभापतिज्यू राजनीतिमा आउनुभन्दा पहिले गोरखा मिडियाको प्रबन्धक निर्देशक हुँदा गोरखा मिडियाको अध्यक्ष दोषी भयो। प्रबन्धक निर्देशक भएन। गोर्खा मिडियाको प्रबन्धक निर्देशक र पार्टीको महामन्त्रीको जिम्मेवारी एउटै हो। अहिले पार्टीको महामन्त्रीलाई दोष लगाउँदै आफू सर्वेसर्वा हो भन्ने ठान्नुभएको छ। उहाँ प्रतिपक्षी हुँदा सत्तापक्ष दोषी हुन्छ, उहाँ सत्तापक्ष हुँदा प्रतिपक्ष दोषी हुन्छ। उहाँ मिडियामा हुँदा नेता दोषी हुन्छन्। नेता हुँदा मिडिया दोषी हुन्छन्, यो कस्तो प्रवृत्ति हो। यो प्रवृत्तिको समयमै समीक्षा नगरे पार्टीको हालत के होला ?’

बैठकस्थलबाट बाहिरिएर ढकालले सभापति रवि लामिछानेको कार्यशैलीप्रति मिडियामा आएर तीव्र असन्तुष्टि व्यक्त गरे।

महामन्त्रीले यस्तो भनेपछि सम्पूर्ण मिडियामा उनको कुरा छताछुल्ल भएको थियो। त्यसपछि तत्कालै पार्टी सचिवालय र केन्द्रीय कमिटीका केही नेता राखेर पुनः सभापति लामिछानेले बैठक बोलाएका थिए।

त्यसपछि ढकाललाई पार्टीबाट तत्काल बर्खास्त गर्ने या निलम्बन गर्ने दुई धारमा छलफल भएको थियो। अधिकांशले पार्टीका सदस्यले तत्काल बर्खास्त नगरी सात दिनसम्म मात्र निलम्बन गरेर उनलाई सच्चिन मौका दिनुपर्ने तर्क राखेपछि ढकाललाई सात दिनसम्म पार्टीले निलम्बन गरिसकेको छ।

उनको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ भने पार्टी प्रवक्ताको जिम्मेवारी मनिष झाले सम्हालिरहेका छन्।

निलम्बन गरिएको खबर आएपछि ढकालले जनस्तरका गुनासा र पीडा पार्टीमा प्रस्तुत गर्न खोज्दा आफूलाई पार्टीले निलम्बन गरेको भन्दै असन्तुष्टि जनाए। तर उनले आफू राजनीतिमा सबै कुराहरू फेस गर्न आएकाले यहाँ भन्दा अगाडिका कुराहरु पनि सामना गरेर जाने खबरहबसँग बताएका छन्।

उनले खबरहबलाई भने, ‘म राजनीतिमा सबै कुरा सामना गर्न नै आएको हुँ। यी यावत कुरा सामना गरेर अगाडि बढ्छु। मैले पार्टी सच्चिएर र सभापतिज्यूलाई नायक बनाएर जान खोज्दा ममाथि यत्रो लाल्छना र आरोप लगाइएको छ मैले मैले ३८ जिल्ला घुमेर जनस्तरका जनताको जस्ताको तस्तै समस्या र कुराहरू पार्टीप्रतिको धारणा राखेको हुँ। यसमा मलाई कुनै पश्चाताप छैन। अगाडि जेसुकै हुन्छ म सामना गरेर जान्छु, म पार्टीमा सामना गर्नका लागि नै आएको हुँ। मैले उहाँका कतिपय कामलाई चित्त नबुझ्दै पनि समर्थन गरेको थिएँ। हामी त राजनीतिको फोहोर सफा गर्न आएका हौँ। थप राजनीतिलाई फोहोरी बनाउन होइन।’

निलम्बित महामन्त्री ढकालले जनताको समस्य समाधान गर्ने आएको रास्वपाले जनतालाई नै समस्या हुने काम गर्न नहुने धारणा राखेका छन्। उनले भने, ‘जनताको समस्या चिर्न आएको पार्टीले जनतालाई नै समस्यामा पार्नु हुँदैन।’ डाक्टरको काम छोडेर पार्टीको महामन्त्री जिम्मेवारी सम्हालिरहेका ढकाल सभापति गुटका नेता नै हुन् तर पछिल्लो समय उनी सभापतिसँग असन्तुष्ट छन्।

सभापतिको साथ रहँदा महामन्त्रीभन्दा ठूलो कोही थिएन
यता महामन्त्रीको यो अभिव्यक्ति आएपछि रास्वपा सभापति लामिछाने र ढकाल गुटभन्दा बाहिरका नेता भने बार्नेनिङ नमिल्दा सभापति र महामन्त्रीको लडाइँ छताछुल्ल भएको दाबी गर्छन्।

पार्टीमा ठुलो योगदान गरेका तर अवसर नपाएका केही नेताले भने महामन्त्रीको कार्यशैलीप्रति आफूहरू पहिलादेखि नै जानकार रहेकाले यो कार्यशैली सुधार गर्नुपर्नेमा पटक-पटक अवगत गराउँदा उल्टै सभापति र महामन्त्री आफूहरुप्रति खनिएको दाबी गर्छन्।

कुनै पनि कुरा पार्टीमा छलफल गरेर सल्लाह गरेर अगाडि बढ्नुपर्ने हुन्छ। तर उहाँ सभापतिको साथ रहुन्जेल सभापति र महामन्त्रीले जे निर्णय गर्यो त्यही पार्टीमा चल्ने गथ्र्यो। एक केन्द्रीय सदस्यले भने, ‘अहिले सभापति र महामन्त्रीको द्वन्द्व सुरु भयो। हामी गलत कुरालाई किन साथ दिने पार्टीमा पनि त आफ्ना नियम छन्। हामीलाई पनि त उहाँजस्तै बोल्न आउछ होला नि ! तर केन्द्रीय समितिमा आफ्नो कुरा राखेर सभापतिले केही गरेको भए हामीले उहाँलाई साथ दिन सक्ने अवस्था आउँथ्यो होला तर त्यसको पनि पार्टीमा प्रक्रिया हुन्छ।’

रास्वपाले अहिलेसम्म पार्टी सचिवालय र केन्द्रीय समिति बैठकको लाइभ गरेको छैन। बैठक लाइभ गर्ने निर्णय पार्टीमा कहिले नभएको रास्वपा सांसद शिशिर खनालको भनाइ छ।

यता रास्वपा सचिवालयका नेता तथा पार्टी स्थापनाकालबाट नै रास्वपामा जोडिएर काम गर्दै आएका नेताले खबरहबलाई दिएको जानकारी अनुसार सरकारमा जाने निर्णयको वार्ता गर्न पटक–पटक महामन्त्री नै एमाले र माओवादी नेताहरूसँग बसेका थिए। यति मात्र होइन उनले पार्टीको सचिवालय र केन्द्रीय बैठकमा आफूले राखेको प्रस्ताव र कुराहरु छलफल नै नगरी हुबहु पारित गर्नसम्म बल गर्थे। मुकुलको कुरालाई सभापति रवि लामिछानेले पनि समर्थन गर्थे र दुई नेताहरू बसेर कतिपय निर्णयहरू यत्तिकै हुने गरेका थिए।

रास्वपाका अर्का केन्द्रीय सदस्यका अनुसार मुकुलले केन्द्रीय सदस्यलाई मिडियामा आएर बोले पनि कारबाहीसम्मको प्रक्रिया अगाडि बढाउन सभापतिलाई कान फुक्थे। प्रतिनिधि सभाका सांसदलाई पनि पार्टीको विषयमा बोल्न र आफ्नो धारणा राख्न पनि ढकालले नै प्रतिबन्ध लगाउने गरेको ती नेताको दाबी छ। उनले भने, ‘उहाँहरुको केमा कुरा नमिलेको हो हामी खोज्दै छौँ।’

यता रास्वपा सांसद मनिष झा पार्टीमा महामन्त्री सभापतिपछिको दोस्रो लिडर भएकाले अधिकांश निर्णय सभापति र महामन्त्रीले गरेका निर्णय नै पार्टीमा लागू हुँदै आएको स्वीकार गर्छन्।

उनले भने, ‘हाम्रो पार्टीमा कुनै विवाद थिएन। हामी सभापति र महामन्त्रीज्यू बसेर गरेको निर्णयलाई पनि कार्यान्वयन गरेर अगाडि नै बढिरहेका थियौँ। तर एक्कासी महामन्त्रीको कार्यशैली यस्तो आएपछि हामी नै अचम्मित छौँ।’

विवादमा वाग्ले ‘फ्याक्टर’
रास्वपाका अर्को नेता एक नेताका अनुसार डा. स्वर्णिम वाग्ले पार्टीमा आएपछि केही सिनारियो परिवर्तन भएको थियो। सभापति लामिछानेले अधिंकाशं कुरामा वाग्लेसँग सहकार्य गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो। वाग्ले आएपछि सभापतिले ढकाललाई भन्दा उनलाई बढी सोधपुछ गर्न थालेपछि महामन्त्री र सभापतिको सम्बन्ध चिसिएको ती नेताको बुझाइ छ। सभापतिप्रतिको आक्रोसमा यो एउटा फ्याक्टर हुनसक्ने ती नेताको तर्क छ।

पार्टीमा समीक्षा गरेर जानुपर्ने विषयमा दुईमत नरहेको भन्दै नेता भइसकेपछि आफ्नो कार्यशैली र कार्य प्रविधि कस्तो के हो भनेर पनि सोच्नु आवश्यक भएको उनको बुझाइ छ।

महामन्त्री र सभापति मिल्दासम्म त आफू खुसी बोल्न र स्वतन्त्रता प्रयोग गर्न पनि पाउनुहुन्नथ्यो नि होइन भन्ने प्रश्नको जवाफमा प्रवक्ता झा भन्छन्, ‘केही ठूला निर्णय र ठूला विषयमा उहाँले धारणा राख्नुहुन्थ्यो। तर त्यस्तो बोल्न नदिने वा बोल्नै नपाउने भन्ने चाहिँ थिएन। कसैकसैलाई विषयमा पोख्त नभएकाले आफ्नो विषयमा मात्र बोल्न भनिन्थ्यो। यो फरक विषय भयो।’

झाले अगाडि भने, ‘हामी त जान्नेलाई छान्ने भनेर हिँडेका छौँ। हाम्रो अभिव्यक्ति र व्यवहारले जनता र दोस्रो मान्छेको मन दुख्नु भएन भन्ने मात्र हो।’

आफ्नै तहका नेताले दिएनन ढकाललाई साथ
ढकाल निकट मानिएका केही नेताहरूले पनि रास्वपामा उनलाई साथ दिएका छैनन्। उनको कार्यशैलीप्रति उनीहरू पनि खुसी छैनन्।

छुचो स्वभाव र राजनीतिज्ञमा हुनुपर्ने गुण नभएका कारण आफूहरूले पनि ढकाललाई साथ दिन नसकेको ती नेताहरूको दाबी छ।

पार्टी समीक्षा गरेर अगाडि जानुपर्ने कुरामा तीव्र रुपमा प्रश्न उठाउँदै आएका विराजभक्त श्रेष्ठले पनि ढकालले गरेको कार्यशैलीप्रति सन्तुष्टि जनाएका छैनन्।

उनी महामन्त्रीमा अलिकति बालापन झल्किएको दाबी गर्छन्। मिडियामा जानु अगाडि पार्टीको छलफलमा सहभागी हुनुपर्ने उनको तर्क छ।

महामन्त्रीको शैली अव्यवहारिक र केटाकेटीपन भएको भन्दै उनलाई निलम्बन गर्न गरिएको निर्णयमा सबै उपलब्ध केन्द्रीय कमिटी सदस्यले हस्ताक्षर गरेको दाबी उनको छ।

अनि भड्कियो बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा छ। मङ्गलबार साँझ कांग्रेस एमाले गठबन्धन सरकार बन्ने भएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। एमालेका मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिइसकेका छन्।
प्रचण्ड सरकारमा रास्वपा पनि सहभागी छ। यता सहकारी अपचलनमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेमाथि मुद्दा चलिरहेको छ। यति मात्र होइन लामिछानेको नाम जोडिएको गोरखा मिडिया नेटवर्क र सहकारीको विषयमा संसदीय समितिले छानबिन समेत गरिरहेको छ।

यी गम्भीर विषयमा रास्वपा केन्द्रीय समिति चुपचाप बसेर महामन्त्री केन्द्रित छलफल मात्र गरेको छ।। महामन्त्रीको प्रतिवेदनमाथि दिनभर छलफल हुनुले यी सबै विषय ओझेलमा परेका छन्।

सभापति रवि लामिछानेको विषय उठ्नुपर्नेमा विषयान्तर गरेर मुकुल ढकालको मात्र कुरा उठ्नुले अब लामिछाने पार्टीमा जोगिए अथवा उनी पार्टीमा हाबी भए भन्ने प्रश्नसमेत उठेको छ।

सहकारी प्रकरणमा मुछिएपछि रवि लामिछानेमाथि वित्तीय दाग लागेको छ। तर सो दागको विषयमा छलफल र उपचार नभएर महामन्त्री ढकाल माथि मात्रै सम्पूर्ण कुराको शल्यक्रिया हुनुले रास्वपामा रवि प्रवृत्ति हाबी भएको हो कि भन्ने प्रश्न आम रुपमा उठ्नु स्वभाविक छ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियार जे विषय उठेको थियो त्यो विषयमा गम्भीर छलफल नगरी अरु विषयमा लाग्दा पार्टीको जीवनमा असर पर्ने बताउँछन्। मुकुलको समीक्षा प्रतिवेदनले गर्दा रवि लामिछाने पार्टीमा जोगिए अथवा उनी बलियो भए भन्ने कुराको एकिन नभए पनि पार्टी सच्चिएर अगाडि बढ्नुपर्ने कुरामा उनी सहमत छन्। पार्टीको समीक्षा हुनुपर्छ भन्ने विषयलाई यो सवालले गम्भीर रुपमा उठाएको उनको बुझाइ छ।

बुधबारको केन्द्रीय समिति बैठकमा उपस्थित एक नेताका अनुसार उपसभापति स्वर्णिम वाग्लेले पनि पार्टी सच्चिएर समीक्षा गरेर अगाडि जानुपर्ने कुरामा विशेष जोड दिएका छन्। बैठकमा वाग्लेले महामन्त्रीको कार्यशैली र आक्रमक अभिव्यक्तिप्रति प्रश्न भने उठाएका छन्। महामन्त्री आफै निर्णय गर्ने प्रक्रियामा भएको हुनाले आफूले गरेका निर्णयको पनि समीक्षा गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

अधिकांश केन्द्रीय सदस्यले महामन्त्री आफै सभापतिपछि ठूलो पद रहेकाले पार्टीलाई यहाँसम्म पुर्याउन महामन्त्रीको पनि हात होला नि भनेर प्रश्न उठाएका थिए। त्यो बेला तपाईं किन चुप लाग्नुभयो, बोल्नु भएन ? अहिले किन यसरी प्रस्तुत हुनुभएको हो तपाईंलाई के पुगेको थिएन ? के मा कुरा मिलेन महान्त्रीज्यू भनेर विराजभक्त श्रेष्ठ लगायतका नेताले समेत प्रश्न उठाएका थिए।

 

सहमहामन्त्री तथा शिक्षामन्त्री सुमना श्रेष्ठले निर्णय प्रक्रियामा महामन्त्री आफैं सरिक भएको हुनाले आफूले–आफूलाई पनि समीक्षा गर्न जरुरी रहेको बताइन्। यी सबै विषयको समीक्षा पार्टीमा हुनुपर्ने श्रेष्ठको भनाइ थियो। महामन्त्री, सभापति र पार्टीको निर्णयले नै आफू मन्त्री भएको कुरा उनले राखेकी थिइन्।

बैठकमा केन्द्रीय सदस्यको बहुमत संख्याले पार्टी सच्चिएर र समीक्षा गरेर अगाडि बढ्ने कुरामा एकमत जनाए पनि महामन्त्री ढकालको कार्यशैलीमा भने सबैले प्रश्न उठाएका थिए।

उनीहरुले पार्टी सञ्चालन गर्न महत्वपूर्ण भूमिका महामन्त्रीकै हुने भन्दै महामन्त्रीले पनि आफ्नो व्यवहार सच्यिाँएर मर्यादित र संयमित भएर पार्टीका गतिविधि गर्नुपर्ने तर्क गरेका थिए।

सात दिनपछि उनको कार्यशैली र व्यवहारमा सुधार भए पार्टीको जिम्मेवारीमा ढकाल फर्किने विश्वास नेताहरुले लिएका छन्। बिहीबार निलम्बित महामन्त्रीको नाम पार्टी वेवसाइटबाट हराइएको छ । पार्टीभित्र छलफल हुन नसकेको प्रतिवेदन मिडियामार्फत् सार्वजनिक भइसकेकाले यो विवाद रास्वपामा अझ चर्को बन्ने देखिन्छ ।

विवाद उत्कर्षमा पुगिसकेकाले निलम्बित महामन्त्री पार्टीमा नफर्किने सम्भावनासमेत उत्तिकै रहेको केही नेताको भनाइ छ। त्यसका लागि भने आगामी केही दिन कुर्नुपर्ने हुन्छ।

यस्तो छ मुकुल ढकाललाई संकटमा पार्ने प्रतिवेदन (पूर्णपाठ)

मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलकै हालत हुन सक्छ 

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ४१ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असार २४ गते सोमबार तदनुसार

आज २०८१ साल असार २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २४ गते सोमबार तदनुसार

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

खोटाङ – खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका विरुवा

बागलुङ – गाउँमामा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिदै