गगन र रविको गठबन्धन भएकै हो त ? यस्तो छ काठमाडौंको चुनावी गणित | Khabarhub Khabarhub

गगन र रविको गठबन्धन भएकै हो त ? यस्तो छ काठमाडौंको चुनावी गणित


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


34.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत आम निर्वाचनमा पुराना दलहरुको विकल्पमा जनताले आफ्नो पार्टीलाई ११ लाख भोट दिएको बताउने गरेका छन् । आफ्नै जनमतको बलमा संसदमा रास्पवाले २० सिट जितेको लामिछानेले दाबी गर्दै आएका छन् । तर, उनकै पार्टीका महामन्त्री (निलम्वित) मुकुल ढकालले भने काठमाडौंमा नेपाली कांग्रेसको ‘निगाह’ बाट चुनाव जितेको दाबी गरेका छन् ।

रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदन पढ्दै सहमहामन्त्री (कार्यवाहक महामन्त्री) कविन्द्र बुर्लाकोटीले भने,‘२०७९ मंसिरको चुनावमा गगनविरूद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर उनैलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ ।’

ढकालको प्रतिवेदनको वाक्यांशको अर्थ हो– रास्वपाले शुरुमा आफ्नै उम्मेदवार उठाएर गगन थापालाई हराउने रणनीति लिएको थियो । तर, अचानक गगन थापासँग चुनावी सहकार्य गर्ने निर्णय लिइयो र यसवापत रास्वपालाई दुई सिट फाइदा भयो ।

ढकालको प्रतिवेदनमा अगाडि भनिएको छ, ‘गगनले जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा हामीलाई २ सिट नाफा हुन पुग्यो ।’

तर, कांग्रेस नेता थापासँगको सहकार्यले रास्वपालाई घाटा लागेको ढकालको प्रतिवेदनमा दावी गरिएको छ । रास्वपाको केन्द्रीय कार्यालयमा दर्ता भएको सो प्रतिवेदनको २७ औं पृष्ठमा भनिएको छ, ‘नतिजाले काठमाडौं–४ पनि हामीले जित्ने देखाएकाले गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्न पर्ने हुन्छ ।’

इलाम–२ मा सम्पन्न उपनिर्वाचनपछि गत वैशाख २१ गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले उपनिर्वाचनको मात्रै नभएर स्थापनाकालदेखि नै पार्टीको समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको थियो । बैठकले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीका समर्थक, शुभेच्छुक र सदस्यहरुको समीक्षा सुनेर असार पहिलो सातासम्म समीक्षा प्रतिवेदन सचिवालय बैठकमा पेश गर्न निर्देशन दियो ।

सचिवालय बैठकको सोही निर्देशनअनुसार जेठ ६ गतेदेखि असार ५ गतेसम्म समीक्षा यात्रा गरेका महामन्त्री ढकालले विभिन्न ३८ जिल्लाका दुई हजार ७९ जनाभन्दा बढी मानिसहरुसँगको अन्तरक्रियापछि तयार पारेको ‘समीक्षा यात्रा प्रतिवेदन’ पार्टी समक्ष बुझाएका हुन् ।

यो पनि-

मुकुलको दाबी : गगनले सघाउँदा काठमाडौंबाट रास्वपाले २ सिट नाफामा पायो

जेठ ६ गते राति ८ बजे उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेसहितको नेताहरुले दही खुवाएर यात्राका लागि बिदाइ गरिएका महामन्त्री ढकालका लागि एक महिने समीक्षा यात्रा प्रतिउत्पादक सिद्ध भएको छ । यही मेसोमा ढकालले काठमाडौंको चुनावमा कांग्रेस नेता गगन थापा र रास्वपाका नेताहरुवीच गोप्य साँठगाँठ भएको दाबी सार्वजनिक गरिदिएका हुन् ।

‘समीक्षा यात्रा प्रतिवेदन’ माथि छलफल गर्न बुधबार (असार १९) बसेको रास्वपाको केन्द्रीय समिति बैठकबाट ढकाल एकसाताका लागि महामन्त्री पदबाट निलम्बित भएका छन् । पार्टीको केन्द्रीय समिति बैठकको सर्वसम्मत निर्णयबाट निलम्बनमा परेको उनै महामन्त्री ढकालले पार्टी समक्ष बुझाएको प्रतिवेदनमा नेपालकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाइएको छ ।

प्रतिवेदनमा ढकालले गरेको दावीले रास्वपामाथि नैतिक प्रश्न उब्जाएको छ । कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलको विकल्पमा पार्टी स्थापना गरेको दाबी गर्ने रवि लामिछानेले उनै पुराना दलका नेतासँग गोप्य चुनावी साँठगाँठ गरेकै हुन् त ? पुराना राजनीतिक दलका नेताहरुले आफू चुनाव जित्न घात–अन्तरघात गर्छन् भन्ने चर्चा चलिरहेकै बेला के रास्वपाले चुनाव जित्न त्यही बाटो अपनाएको हो ? यदि त्यसो गरिएको हो भने चुनावमा त्यसरी लुकिचोरी खेलिने फोहोरी खेललाई जायज मान्ने कि नाजायज ? रास्वपा नेताहरुमाथि गम्भीर नैतिक प्रश्न खडा भएको छ ।

तथापि, रास्वपाका निलम्बित महामन्त्री ढकालले कांग्रेस महामन्त्री थापाले आफ्ना पक्षधरलाई ‘घण्टीमा’ भोट हाल्न लगाउँदा प्रत्यक्षतर्फ २ सिट नाफा भएको दावी गरे पनि ती निर्वाचन क्षेत्रहरु कुन हुन् भन्ने खुलाएका छैनन् । ढकालले काठमाडौंकै निर्वाचन क्षेत्रहरुतर्फ संकेत गरेको भने सहजै बुझ्न सकिन्छ ।

कांग्रेस महामन्त्री गगन थापा

कांग्रेस महामन्त्री गगन थापा काठमाडौं–४ बाट निर्वाचन लड्दै आएका छन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार थिए । २०७९ मा सम्पन्न निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गरेर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

निर्वाचन आयोगका अनुसार थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिष्पर्धी एमालेका भट्टराईले १३ हजार ८५५ मत ल्याएका थिए । यहाँ ४ हजार ५० मत ल्याएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस महामन्त्री थापाले २०७९ कै निर्वाचनको मतपरिणामको हाराहारीमा जीत दर्ता गराएका थिए । उक्त निर्वाचनमा पनि थापाले २१ हजार ५५८ मत पाएका थिए । उनका निकटतम् प्रतिष्पर्धी एमालेका भट्टराईले १८ हजार १४० मत ल्याउँदा तेस्रो भएका विवेकशील साझाका उम्मेदवार सुबुना बस्नेतले तीन हजार ४० मत पाएकी थिइन् ।
२०७९ को निर्वाचनमा काठमाडौं–४ बाट रास्वपाले समानुपातिक निर्वाचन प्रणालीतर्फ ९ हजार ४१२ मत प्राप्त गरेको छ । यहाँ कांग्रेसलाई समानुपातिकतर्फ ११ हजार ८०८ मत आएको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ ।

के गगनले रास्वपाकै सहयोगमा जितेका हुन् ?

रास्वपाका निलम्बित महामन्त्री ढकालले २०७९ मंसिरको चुनावमा गगनविरूद्ध सशक्त उम्मेदवार उठाएर उनको राजनीतिलाई विराम लगाइदिने बनाएको रणनीति बदलेर जित्न सहज हुने वातावरण सिर्जना गरिदिएको दाबी प्रतिवेदनमा गरेका छन् ।

दाबीमा कति सत्यता छ त्यसबारे ढकाल र कांग्रेस महामन्त्री थापाबाहेक अरुलाई सायदै भन्न सक्लान । तर, थापानिकट कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी प्रतिवेदन ल्याएकै कारण आफ्नो पार्टीको कारबाही भोगेका ढकालको प्रतिवेदनमाथि चर्चा गरिरहनु आवश्यक नभएको बताउँछन् । ढकालकै पार्टी रास्वपाले गम्भीरतापूर्वक नलिएको र वाचनसमेत गर्न नपाएको प्रतिवेदनमा गरिएका टिप्पणी र सन्दर्भहरुमा कांग्रेसले गम्भीरतापूर्वक लिन आवश्यक नभएको उनको भनाइ छ।

‘मुकुल ढकालको प्रतिवेदनलाई उहाँकै पार्टीले गम्भीरतापूर्वक लिएको देखिएन । रिपोर्ट ल्याउने क्रममा आफ्नै पार्टीले निलम्बन गरेर कारबाही नै गरिसकेपछि त्यो रिपोर्टको धेरै चर्चा गरिरहनु पर्ने आवश्यकता छैन,’ शिवाकोटीले खबरहबसँग भने, ‘उहाँकै पार्टीले गम्भीरतापूर्वक नलिएको, आफूले वाचनसमेत नगरेको रिपोर्टमा गरिएका टिप्पणी र सन्दर्भहरुमा नेपाली कांग्रेसले धेरै गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्दैन ।’

गगनको सहयोगले रास्वपालाई २ सिट नाफा भएकै हो त ?

काठमाडौंबाट निर्वाचित रास्वपाका उम्मेदवारहरु

रास्वपाका निलम्वित महामन्त्री ढकालले काठमाडौं–४ मा कांग्रेसलाई सघाउँदा आफ्नो पार्टीलाई दुई सिट नाफा भएको पनि प्रतिवेदनमा दाबी गरेका छन् । ‘हुन त गगनले जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा हामीलाई २ सिट नाफा हुन पुग्यो,’ उनले प्रतिवेदनमा लेखेका छन् ।

तर, रास्वपाका नेताहरु ढकालको दाबी मान्न तयार छैनन् । रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की जनसमर्थन, पार्टी सभापति लामिछानेको छवि र घण्टीप्रतिको आकर्षणले चुनाव जितेको जिकिर गर्छन् । ‘त्यतिबेलाको जनसमर्थन, रवि लामिछानको छवि, घण्टीप्रतिको आकर्षणले चुनाव जितेको हो,’ उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका छन् ।

ढकालले कांग्रेस महामन्त्री थापामाथि लगाएको आरोपको खण्डन गर्दै उनले कसैले फलानालाई मत हाल्नु भन्दा जनता नेताले भनेकै भरमा मत दिन लामवद्ध नहुनेसमेत बताएका छन् । ‘गगन थापाले कहिले सार्वजनिक भाषण गरेको सुन्नुभयो ? कुनै अमुक पार्टीको महामन्त्रीले फलानालाई भोट हाल्नुस् है भन्दा खुरुरु लाइन लागेर भोट हाल्छन् मान्छेले ?,’ कार्की प्रश्न गर्छन्, ‘मान्छेको चेतना छैन ? नागरिकलाई यो स्तरमा सम्झिने ? यो नागरिकप्रतिको अपमान हो, पार्टीप्रतिको पनि अपमान हो ।’

कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ रास्वपाका निलम्बित महामन्त्री ढकालले लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी गर्छन् । खबरहबको जिज्ञासामा उनले उल्टै प्रश्न गरे, ‘उनको दाबीमा कुनै सत्यता छैन । अहिलेका सचेत मतदाताले फलानालाई मत हाल्नु भन्दैमा हाल्छन् र ?’

सभापति बानियाँले तत्कालीन चुनावी गठबन्धन र कांग्रेसले उचित पात्रलाई उम्मेदवार नबनाउँदाको परिणामको फाइदा रास्वपालाई पुगेको पनि जिकिर गरे ।

‘पार्टीले टिकट दिँदा सोचविचार गरेन । मैले ६ नम्बर क्षेत्रमा पात्र फेर्नुस्, नफेरे चुनाव जित्न मुस्किल हुन्छ भनेर पार्टी सभापतिज्यूलाई भनेकै थिएँ, मान्नुभएन । नतिजा हाम्रो पक्षमा आएन,’ बानियाँले भने, ‘कांग्रेसले उम्मेदवारी दिएको एक क्षेत्रमा मात्रै हो हामी हारेको । अरु त गठबन्धनबाट उम्मेदवार थिए । उहाँहरुलाई जनताले रुचाएनन्, घण्टीमा एक प्रकारको लहर थियो, चुनाव जिते ।’

काठमाडौंको अंकगणित

अब ०७९ को चुनावमा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र रास्वपाको पोजिसन के थियो, त्यसको अंकगणितीय विश्लेषण गरौं–

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेसले १, ३, ४, ५, ६ र १० नम्बर क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार उठाएको थियो । बाँकी रहेका २, ७, ८ र ९ नम्बर क्षेत्रमा तत्कालीन सत्ता गठबन्धनमा रहेका अन्य दलहरुका उम्मेदवारलाई सघाएको थियो ।

कांग्रेसले पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान उम्मेदवार रहेको क्षेत्र नम्बर ६ मात्रै गुमायो, बाँकी पाँचवटै क्षेत्रमा जित्यो । प्रधान भने चुनावी परिणाममा तेस्रो हुन पुगेका थिए ।

काठमाडौं–६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल १४ हजार २२१ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा एमाले उम्मेदवार पूर्वआईजीपी सर्वेन्द्र खनाल ८ हजार ९१७ मतका साथ दोस्रो भएका थिए । तेस्रो स्थानमा आएका कांग्रेस उम्मेदवार प्रधानको पक्षमा ८ हजार ८१२ मत खसेको थियो । यहाँ समानुपातिकतर्फ पनि कांग्रेसले ७ हजार ५७७ मत मात्र प्राप्त गरेको थियो, जुन प्रधानले प्राप्त गरेको भन्दा १२ सय ३५ मत कम हो । समानुपातिक र प्रत्यक्षतर्फको यो तथ्यले काठमाडौं ६ मा कांग्रेस कार्यकर्ताको मत रास्वपामा गएको मान्न सकिँदैन ।

रास्वपाले काठमाडौं ६ सँगै क्षेत्र नम्बर २, ७ र ८ पनि जितेको थियो । कांग्रेसले काठमाडौं–२ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती, ७ मा माओवादी केन्द्रकै अस्मिता सिंह (मानुषी यमी), क्षेत्र नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ र र ९ नं मा माओवादी केन्द्रकी कल्पना धमलालाई सघाएका थियो । तीमध्ये कसैले पनि गठबन्धनका तर्फबाट चुनाव जितेनन् । काठमाडौं–२, ७ र ८ मा रास्वपाले जित्यो भने र ९ नम्बर क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठले जिते ।

काठमाडौं–२ मा रास्वपा उम्मेदवार सोविता गौतम १५ हजार २३८ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन् । यो क्षेत्रमा कांग्रेससँगको तालमेलमा चुनावी प्रतिष्पर्धामा उत्रिएकी माओवादी नेतृ ओनसरी घर्ती ९ हजार ४५९ मत ल्याएर चौथो भएकी थिइन् । यहाँ माओवादीको समानुपातिक मत २९१५ मात्र थियो

काठमाडौं–२ मा कांग्रेसलाई समानुपातिकतर्फ ७ हजार १६९ मत खसेको थियो । कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको मत र माओवादी नेतृले ल्याएको मत जोड्दा १६ हजार ६२८ हुन जान्छ । जुन रास्वपा सांसद गौतमले प्राप्त गरेकोभन्दा १ हजार ३९० मात्र बढी हो । माओवादीको समानुपातिकतर्फको मत हेर्दा कांग्रेसको लगभग सबै मत ओनसरीलाई परेको देखिन्छ ।

रास्वपाले जितेको काठमाडौं–७ पनि हो । यो क्षेत्रमा ८ हजार ७४३ मतसहित गणेश पराजुली प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम् प्रतिष्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत प्राप्त गर्दा कांग्रेसको समर्थनप्राप्त माओवादी उम्मेदवार अस्मिता सिंह (मानुषी यमी) ६ हजार ६३ मत ल्याएर तेस्रो भएकी थिइन् । काठमाडौं–७ मा कांग्रेसले समानुपातिकतर्फ ५ हजार ४० मत ल्याएको थियो । यहाँ माओवादीको आफ्नो मत मात्र १६६८ थियो । यहाँ पनि कांग्रेसको मत माओवादीमा सेयर भएकै देखिन्छ ।

रास्वपा सभापति रवि लामिछाने

यस्तै काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनी १० हजार ११२ मतका साथ विजयी हुँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७९ र गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४ हजार ८८१ मत पाएका थिए ।

काठमाडौं–८ मा कांग्रेसले समानुपातिकतर्फ ४ हजार ८०७ मत प्राप्त गरेको थियो । यहाँ एकीकृत समाजवादीको समानुपातिक भोट ११६९ मात्र थियो । यो आँकडा हेर्दा जीवनरामले पाएको ४८ सय मतमा कांग्रेस पनि समेटिएकै देखिन्छ ।

काठमाडौं–९ मा भने एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । यहाँ उनले रास्वपाका टेकबहादुर पोखरेल र कांग्रेसको समर्थन प्राप्त माओवादी उम्मेदवार कल्पना धमलालाई हराएका थिए । ११ हजार ९५६ मतसहित एमाले नेता श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा रास्वपाका पोखरेलले १० हजार ९६१ र माओवादीकी धमलाले ६४०२ मत पाएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ मा रास्वपाले उम्मेदार खडा नगर्नु रहस्यमय देखिएको छ । रास्वपाले काठमाडौं ४ मा किन उम्मेदवारी नदिएको ? यसको जवाफ दिने जिम्मेवारी भने रास्वपा सभापति रवि लामिछानेकै हो   

काठमाडौं ९ मा कांग्रेसको समानुपातिक मत ८००५ थियो भने माओवादीको आफ्नो मत १५०१ मात्र थियो । यो क्षेत्रमा माओवादी उम्मेदवारलाई कांग्रेसको मत ट्रान्सफर भएको देखिँदैन । तर, यहाँ रास्वपाले नजिती एमालेले जितेको देखिन्छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रकाशमान सिंह, ३ मा सन्तोष चालीसे, ५ मा प्रदीप पौडेल र १० नम्बर क्षेत्रमा कांग्रेसकै राजेन्द्रकुमार केसीले जितेको हुनाले यी क्षेत्रमा रास्वपालाई फाइदा वा कांग्रेसलाई घाटा पुगेको विश्लेषण गर्ने ठाउँ छैन ।

काठमाडौंका ९ वटा क्षेत्रको चुनावी हिसाब–किताव हेर्दा कांग्रेसको भोट रास्वपामा ट्रान्सफर भएको खासै नदेखिए पनि काठमाडौं क्षेत्र नम्बर ४ मा रास्वपाले उम्मेदार खडा नगर्नु रहस्यमय देखिएको छ । रास्वपाले काठमाडौं ४ मा किन उम्मेदवारी नदिएको ? यसको जवाफ दिने जिम्मेवारी भने रास्वपा सभापति रवि लामिछानेकै हो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ४७ बजे

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय

दलित समुदायको सशक्तिकरणसम्बन्धी विधेयकमा छलफल सुरू

कर्णाली – कर्णाली प्रदेशसभामा ‘दलित समुदायको सशक्तिकरण तथा जीवनस्तर प्रवर्द्धनका

जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी – पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन

प्रेस काउन्सिलको निर्देशनपछि हट्यो विवादित क्लिप

काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने एक कार्यक्रमको विवादित क्लिप