अन्तर्राष्ट्रिय

आइतबार मात्रै बंगलादेशमा मारिएका थिए ९३ विद्यार्थी, देशभर कर्फ्यू लगाएर बसेकी थिइन् शेख हसिना

By खबरहब

August 05, 2024

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन् ।

गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर राजधानी ढाकाबाट भागेर भारततिर लागेकी हुन् । तर उनी भारतको कुन ठाउँमा पुगिन् भन्ने खुलेको छैन।

शेख हसिनालाई सत्ताबाट उखेलेर फ्याँक्न आइतबारको प्रदर्शन निर्णायक रह्यो । बंगलादेशमा आरक्षणविरुद्ध चर्किएको आन्दोलनमाथि हसिना सरकारले चरम दमन गर्दा आइतबार मात्रै देशभर ९३ जनाले ज्यान गुमाएका थिए ।

रक्तपातपूर्ण हिंसात्मक घटनाबाट ९३ जनाको ज्यान जाँदा प्रधानमन्त्री शेख हसिनले आइतबारदेखि नै देशव्यापी कर्फ्यू लगाएकी थिइन् ।

आइतबार करिब सयको संख्यामा बंगलादेशमा विद्यार्थीले ज्यान गुमाएपछि नेपाल र भारतसहितका देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकका लागि एडभाइजरी पनि जारी गरेका थिए।

पछिल्ला केही सातादेखि बंगलादेशमा लगातार हिंसात्मक आन्दोलन चलिरहेको थियो। बंगलादेश निर्माणमा सहभागी स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने निर्णयविरुद्ध देशभर प्रदर्शन भएको थियो । सोमबार ६ जनासहित यस आन्दोलनका क्रममा मारिनेको संख्या ३०० नाघेको छ ।

पूरै देशभ भारी विरोध प्रदर्शन सुरु भएपछि सरकारले दमन थालेको थियो । केही दिनमै हिंसात्मक हुन थालेको यो प्रदर्शनका क्रममा बंगलादेशी सुरक्षाकर्मीले चर्को दमन गरे । समाचार अनुसार हिंसाका क्रममा सोमबारसम्म ३ सय बढी मारिए । दमन चर्किँदै गएपछि प्रदर्शनकारी विद्यार्थीहरू सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा छिरेका थिए । त्यसपछि उनी बहिनीसहित देशबाट भागेकी हुन् ।

आरक्षण प्रणालीको विरोधमा जुलाईदेखि चलेको आन्दोलनका क्रममा पुलिस र विद्यार्थीवीच चर्को द्वन्द्व भएको थियो । यस संघर्षका क्रममा पुलिसले बल प्रयोग गरी दमन गर्दा सयौँ विद्यार्थी मारिए । यो प्रदर्शन अझै खतरनाक रुपमा परिणत भएसँगै शेख हसिनाले ज्यान जोगाउन देश छाडेकी हुन् ।

यस प्रदर्शनमा विद्यार्थीलाई देशको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले समर्थन दिएको थियो । आइतबार मात्रै विद्यार्थीहरूले सरकारलाई करसहित कुनै प्रकारको बिल भुक्तानी नगर्न अपिल गरेका थिए । प्रदर्शनकारीले आइतबार खुलेका सरकारी कार्यालय र पसलहरूमा तोडफोड गरेका थिए ।

प्रदर्शनकारीले आइतबार ढाकाको शाहबाद इलाकास्थित अस्पताल र शेख मुजिब मेडिकल कलेजमा पनि आक्रमण गरेका थिए । ९३ जना मारिएपछि शेख हसिनाले देशभर कर्फ्यू घोषणा गरिन् । उनले यस हिंसाका लागि मुख्य विपक्षी दलसहित प्रतिबन्धित कट्टरपन्थी जमात-ए-इस्लामी संगठनलाई जिम्मेवार ठहराएकी थिइन् ।