काल बन्दै मधेसका असुरक्षित पोखरी, तीन वर्षमा पाँच सयको डुबेर मृत्यु « Khabarhub

काल बन्दै मधेसका असुरक्षित पोखरी, तीन वर्षमा पाँच सयको डुबेर मृत्यु

अबोध बालकहरूका शत्रु पोखरी र खाल्डा !


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा जथाभाबी खनिएका पोखरी र खाल्डाखुल्डीहरूले बर्सेनि सयौँको ज्यान लिने गरेको छ । यस्ता मृत्युको जबाफदेहिता कानुनतः न कसैले लिने गरेको छ । न त यसको न्यूनीकरणका लागि हालसम्म कुनै प्रयास नै भएको छ ।

गर्मी छल्न बनाइने यस्ता असुरक्षित आहाल–पोखरीमा पौडी खेल्न जाँदा प्रायः जसो अबोध बालबालिका डुब्ने गरेका छन् । गएको ३ वर्षमा मधेस प्रदेशका विभिन्न पोखरीमा डुबेर मृत्यु हुनेको संख्या पाँच सय भन्दा बढी छ ।

अबोध बालकहरूका शत्रु तराईका पोखरी र खाल्डा !

बुधबार साँझ धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भयो । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक तीनै जना हजुरबुबा महावीर साहको घरमा भोज खान पुगेका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो । डुब्ने बालकहरू महावीर साहका तीन छोरीका छोराहरू रहेका छन् ।

सबै भोजमा व्यस्त रहेका बेला उनीहरू पोखरीमा पौडी खेल्न जाँदा डुबेर उनीहरूको मृत्यु भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस अघि केही साता अगाडी सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा रहेको राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भयो । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ का ६ वर्षका अंकित साहको पोखरीमा डुबेर मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरनजिकको पोखरीमा नुहाउन पसेका साहको डुबेर मृत्यु भएको हो ।

यी दुई घटना पछिल्ला उदाहरण मात्रै हुन् । प्रहरीको तथ्याङ्क हेर्ने हो भने मधेस प्रदेशमा प्रत्येक वर्ष डुबेर मृत्यु हुनेको संख्या भयावह छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा सयौँको संख्यामा डुबेर मानिसहरूको मृत्यु हुने गरेको छ ।

प्रदेश प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले मधेस प्रदेशमा पोखरी, खाडल, खोला, इनार तथा पानी थापेर राखिएका भाँडाहरूमा समेत डुबेर मृत्यु हुने गरेको बताउँछन् ।

पछिल्लो तीन वर्षको प्रहरी तथ्याङ्क अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी मधेस प्रदेशका आठ जिल्लामा झन्डै पाँच सय मानिसको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै बालबालिका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा मधेस प्रदेशका ८ जिल्लामा २०६ जनाको डुबेर मृत्यु भएको छ । जसमध्ये १०९ जना बालबालिका रहेका छन् । ७६ जना पुरुष र २१ जना महिलाको डुबेर मृत्यु भएको हो ।

तथ्याङ्क हेर्दा सबैभन्दा धेरै धनुषामा ३६ जना पुरुष र सिरहामा २५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा यो तथ्याङ्क केही घटेको देखिएको छ । यस वर्ष ६५ जना बालबालिकासहित डुबेर मृत्यु हुनेको संख्या १०५ छ ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा डुबेर मृत्यु हुनेको संख्या बढेको छ । आ.ब. २०८०/०८१ म १७० जनाको डुबेर मृत्यु भएको छ । ११३ बालबालिका, ४३ पुरुष र १४ जना महिलाको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुने घटनाको वार्षिक तथ्याङ्क हेर्दा बालबालिकापछि सबैभन्दा धेरै पुरुषहरू यस्ता घटनामा परेको पाइएको छ । तुलनात्मक रुपमा महिलाको संख्या कम छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ जना, २०७९/०८० मा १ जना र २०८०÷०८१ मा ११ जना डुबेर घाइते भएका छन् । ४८१ जनाको ज्यान गएकामा २ सय ८७ जना बालबालिका रहेका छन् ।

असुरक्षित पोखरी

मधेसमा जसरी जमिनको महत्वझैँ पोखरीको महत्त्व पनि सामाजिक, आर्थिक, सांस्कृतिक एवं पर्यावरणीय दृष्टिकोणले छ । कृषि संस्कृतिसँग जोडिएको मधेसी समाजमा पोखरीको निर्माण कृषि कार्य, सांस्कृतिक प्रयोजन, धार्मिक अनुष्ठान र पर्यटकीय, आर्थिक प्रयोजनको निम्ति गरिएको पाइन्छ ।

तर, पछिल्लो समय पोखरीको निर्माण बजेट कुम्ल्याउनका लागि पनि हुन थालेका छन् । जसले गर्दा अनावश्यक रूपमा खनिएका पोखरीहरू न त व्यवस्थित नै हुन्छन्, नत सुरक्षित नै ।

स्थानीय तह र प्रदेश सरकारले बिना उपयोगिता हेरेरै माछा पालन र पोखरी निर्माणका लागि आफ्नो बजेट छुट्टाउने गरेको र सो रकम पाउन जोखिमको मूल्यांकन नै नगरी खेतमै पनि पोखरी खनाउने जस्ता प्रवृत्तिले गर्दा पोखरीहरू असुरक्षित बन्न थालेका छन् ।

निजी जग्गामा जथाभावी पोखरी खन्ने र तिनलाई माछापालन लगायत अन्य कृषि सम्बद्ध कामका लागि उपयोग गर्ने क्रममा सुरक्षा प्रबन्धको खासै बन्दोबस्त गरिँदैन । यसले जोखिमलाई निम्त्याउने गर्दछ ।

पोखरीको प्रयोगका लागि सुरक्षा सामग्री, प्रयोग अभ्यास, निगरानी राख्ने र सीपयुक्त जनशक्तिको व्यवस्थापनतर्फ ध्यान नै दिइएको छैन ।

सार्वजनिक पोखरीको प्रयोग सबैका लागि सबै प्रयोजनले गरिन्छ तर, त्यसको सुरक्षा सतर्कता, प्रयोग विधि निर्धारण, सामग्री र हेरालु व्यवस्थापन जस्ता कार्यमा स्थानीय सरकारहरूको ध्यान पुग्न नसक्दा पनि पोखरीहरू असुरक्षित र दुर्घटनाको घर बन्दै गएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : १९ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र