‘विह्वल’ को मिथिला मिथक प्रकाशित « Khabarhub

‘विह्वल’ को मिथिला मिथक प्रकाशित


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरैलाई थाहा नहुन सक्छ वरिष्ठ पत्रकार धर्मेन्द्र झा र साहित्यकार धर्मेन्द्र ‘विह्वल’ एकैजना हुन् । पत्रकारका रूपमा ख्याति आर्जन गरेका झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

उनी अहिले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष छन् । थुप्रै अनेकौँ पुस्तक प्रकाशित छन् । यो भयो प्रायः सबैले चिन्ने उनको पाटो । तर, अर्को पाटो पनि छ झाको, जसका बारेमा जानकारीको अभाव छ । नहोस् पनि कसरी ? उनी आफ्नो यो पाटोका बारेमा प्रायः प्रचार रुचाउँदैनन् ।

सामान्यतया अरूसँग कुरा पनि गर्दैनन् । तर, बुझ्नुपर्ने कुरा त के हो भने पत्रकार झाको तुलनामा कुनै पनि अर्थमा साहित्यकार ‘विह्वल’ को पाटो कमजोर छैन । बरू बलियो नै हुन सक्छ ।

उनै ‘विह्वल’ को मैथिली भाषामा एक अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ प्रकाशित भएको छ । विमोचन हुनुअघि नै चर्चामा आएको यो कृतिभन्दा पहिला ‘विह्वल’ का नेपाली र मैथिली भाषामा एक दर्जनको हाराहारीमा साहित्यिक कृति प्रकाशित छन् ।

मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारको परिचय बनाएका ‘विह्वल’ यस पटक फरक रूप र शैलीमा प्रस्तुत भएका छन् । उनको  यो नवीनतम कृति ‘मिथिला मिथक’ अनुसन्धानमा आधारित छ ।

नेपाली भाषामा पनि मिथकबारे खासै काम हुन नसकेको पृष्ठभूमिमा प्रकाशित यो पुस्तक यस विषयमा मैथिलीमा भने पहिलो नै मानिएको छ ।

यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको सङ्कलन प्रकाशित गरेको थियो । ‘विह्वल’ उक्त कोषका पनि एक सम्पादक हुन् ।

इतिहासका रूपमा प्रमाणित हुन सकेका भए पनि मैथिलीभाषी समाजमा किम्वदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरू पुस्तकमार्फत प्रस्तुत गरिएका छन् ।

मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देवदेवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी ६ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक सङ्कलित छन् ।

मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन् जसको खोजी र अध्ययन हुनु जरूरी छ ।

यस्ता सन्दर्भहरूको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउने कुरा यसै पुस्तकका भूमिका लेखक मैथिली साहित्यका अनुसन्धानकर्ता लेखक विद्वान डा. रमानन्द झा ‘रमण’ ले उल्लेख गरेका छन् ।

भारतलाई कर्मभूमि बनाएका विद्वान रमणले मैथिली भाषामा सङ्कलन गरिएका यस्ता, उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन् ।

यस्तै अर्का भूमिका लेखक त्रिभुवन विश्वविद्यालयमा नेपालीका उपप्राध्यापक राजेश यादव ‘विद्रोही’ ले कुनै पनि समाज र सभ्यता बुझ्न मिथक सहयोगी हुने बताउँदै ‘विह्वल’ को यो कार्य अत्यन्त महत्वपूर्ण ठहरिने विश्वास व्यक्त गरेका छन् ।

अध्ययन प्रक्रियाका दृष्टिले निकै जटिल मानिने मिथक स्वयंमा इतिहास मानिँदैन तर यीनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता ‘विह्वल’ ले यसमा सङ्कलित सबै सामग्री मिथक नै हुन् भन्ने दाबी गरेका छैनन् ।

उनलाई जे मिथक भन्नेजस्तो लागेको छ ती सामग्री प्रस्तुत गरेका छन् । ‘विह्वल’ भन्छन्, ‘तर, यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।’

कूल एक सय १२ (कभरसमेत) पृष्ठको यो पुस्तक मुन्नीकुमारी मिश्रले प्रकाशित गरेकी हुन् । पुस्तकमा समेटिएका सामग्रीहरूको प्रतिनिधित्व हुने गरी कलाकार आकांक्षा झाले आवरण कला तयार गरेकी छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १२ : २५ बजे

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

खलङ्गा– दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको