समाचार

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल, पर्यटन व्यवसायी उत्साहित

By खबरहब

October 05, 2024

फुङ्लिङ– कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ । शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन् । 

घुन्सास्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्डस्, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन् । 

पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।  कञ्चनजङ्घा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटल खुल्न थालेका बताए । विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन् ।

फक्ताङलुङ गाउँपालिका–६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो । कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्या्कअनुसार, कञ्चनजङ्घा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटल सञ्चालनमा छन् ।

 फक्ताङलुङ गाउँपालिका—६ स्थित ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गीनामजोङ होटल पनि सञ्चालनमा छ । यहाँका होटलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ । 

कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको  ढुङ्गाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएका छन् । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् ।