समाचार

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

By खबरहब

October 05, 2024

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका  क्याबिन क्रु (विमान परिचारक-परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन । 

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक-परिचारिका) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले  आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ । त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएकोछ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा महान्यायाधिवक्तासँग छलफल गर्न दुइपक्ष सहमत भएका छन् । आन्दोलन फिर्तासँगै विमान परिचालिका एवम् परिचालकहरू आजैबाट काममा फर्किएका छन् । 

निगममा कार्यरत परिचारिका-परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । 

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।