स्वस्थ जीवनको मन्त्र- भोजन, व्यायाम र तनाव व्यवस्थापन | Khabarhub Khabarhub

स्वस्थ जीवनको मन्त्र- भोजन, व्यायाम र तनाव व्यवस्थापन

होम, होटल र हस्पिटलको गोलचक्कर


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मिठो मसिनो खानुपर्छ भन्दै स्वादको मोहमा दैनिक चिल्लो, पिरो, अमिलो खाना खाएर भोजनसँग जोडिएको हाम्रो अनुशासन बिर्सिन्छौं। तर चिकित्सक भन्छन्- मानव स्वास्थ्यका आधारभूत तीनवटा कुरा हुन्छन् भोजनको व्यवस्थापन, व्यायामको व्यवस्थापन र तनावको व्यवस्थापन। यी तीनवटै कुरामा ध्यान पु-याउन नसक्दा मानिस अनेक रोगको शिकार भइरहेको छ।

स्वास्थ्यसँग जोडिएका गम्भीर प्रकृतिका रोगको हामीले सामना गरिराखेका छौँ। हरेक दिन बिहानै उठेर औषधीबाट सुरु हुने हाम्रो दैनिकी बेलुकी औषधीबाटै अन्त्य गरेर बाँच्नुपर्ने अवस्थामा हामी पुगेका छौं। यस हिसाबबाट हामीले खानेकुरामा गरिराखेको हेल्चेक्रयाइँले हाम्रो स्वास्थ्यमा कस्ता कस्ता समस्या आइरहेका छन् ? भन्ने विषयमा वरिष्ठ प्राकृतिक चिकित्सक तथा योगगुरु डा.हरिप्रसाद पोखरेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानी :

अहिलेको पुस्ताले खानेकुरा तथा आनीबानीमा गरिराखेको हेल्चेक्रयाइँले स्वास्थ्यमा कस्ता कस्ता समस्याहरु आइरहेका छन् ?
यसलाई दुइटा प्रकृतिले चर्चा गरौं। एउटा दैनिक जीवनमा हामीले के गरिरहेका छौं भन्ने। दैनिक जीवनलाई हेर्दा के देखिन्छ भने हाम्रा धेरै खानेकुरा कृत्रिम रसायनयुक्त या शरीरको विरुद्धका रसायनयुक्त खानेकुरा दिनानुदिन बढ्दै गएका छन्। यो बढ्नुमा एउटा त हामी उत्पादन, भण्डारण र पाककला सबैमा कृत्रिम रसायन बढाइरहेका छौँ।

खेतीपातीमा कृत्रिम रासायनिक मल, किटनासक औषधीको प्रयोग एकातिर भयावह छ भने अर्कोतिर हामीले धेरै उत्पादन लिनका लागि प्रयोग गरिएका हर्मोन र ती बीउबिजनहरुमा त्यसको जेनेटिक क्यारेक्टरलाई बदल्ने लगायत यी सबै कुरा एउटा समस्याका रुपमा अहिले विश्वव्यापी देखिएका छन्। त्यसो त जैविक र प्राकृतिक कृषि प्रणालीलाई पुनस्र्थापना गर्नुपर्छ भनेर विश्वभर चर्चा पनि चलेको छ।

त्यस्तै अर्को फेरि हामी यस्ता उत्पादित चिजलाई लामो समय भण्डारण गर्नका लागि जुन कुरालाई प्रयोग गर्छौं, ती रसायन हाम्रा लागि त्यति नै हानिकारक छन्। त्यो कारणले पनि अहिले विश्वभर एउटा चर्चा चुलिएको छ कि सिज्नल कि रिजनल खानेकुरामा जोड देऊ। अफ सिजनका चिजको भण्डारणमा धेरै कृत्रिम रसायन या अन्य त्यस्ता शरीरलाई हानी गर्ने तत्त्वहरुको प्रयोग गर्नुपर्छ भन्ने कुरा आएको छ।
त्यस्तै पाक कलामा आएको परिवर्तन हामी समयसँग हरेक कुरालाई छिटो खोज्न थाल्यौं र त्यसको मौलिक स्वाद भन्दा पनि कृत्रिम स्वादतिर रमाउन थाल्यौं। त्यसले गर्दा अहिले जँकफुड, फास्टफुड जस्ता कुराहरु हाम्रो जीवनको अभिन्न अंग बन्न थाल्यो। समग्रमा भन्नुपर्दा कुनै उद्योगबाट पाउचमा या प्याकेटमा बन्द भएर आउने कुरालाई हामीले बढी प्रोत्साहन गरिरहेका छौं, यी सबै कुरा घातक रोगहरु जन्माउन स्वस्थकर दीर्घजीवनलाई क्षय गर्न बढी जिम्मेवार भएका छन्।

उत्पादन, भण्डारण र पाक सर्वाधिक महत्त्व दिनुपर्नेमा तपाईंको जोड छ। त्यसो भए हाम्रो जीवनशैली स्वस्थ राख्न पाककलामा कस्तो ध्यान दिनुपर्छ ?
यसमा धेरै कुरामा ध्यान दिनुपर्छ। मुख्यत हाम्रो पाककलामै आएर धेरै कुराहरु बिग्रिरहेको छ। त्यो भन्नुको अर्थ के भने हामीले दैनिक प्रयोग गर्ने जुन खाना पकाउने रैथाने तरिका थियो, त्यो स्वस्थकर थियो। जस्तै सामान्य एउटा कुरा भनौं- हाम्रो नेपाली भान्साघरभित्र सयभन्दा बढी प्रकारका औषधीय वनस्पति वा तत्त्वहरु मसलाका रुपमा प्रयोग हुन्थ्यो। अब आज ती मसला लोप हुँदैछन्। केही २-४ वटा मसलाका नामहरु हाम्रो स्मृतिमा छन्। ती पनि कस्तो भन्दा प्याकेटमा बन्द भएर अन्य कृत्रिम मसला अजिनोमोटो, गुल्टामेट, मनोसोडियम समेत मिसाइएर तैयार गरिएका हुन्छन्।

जिरा, धनियाँ, मरिच, पिपलाजस्ता पिसेर मिसाउने कुरालाई छोड्न थाल्यौं। सामान्य अदुवा पनि ताजा अदुवाको सट्टा त्यसको पेष्ट प्रयोग गर्न थाल्यौं। एकातिर यस्ता कुराहरु बढ्दै गए भने अर्कोतिर मसला धेरै जलाएर, पकाएर प्रयोग गर्ने चिज होइनन्।

सुरुवाती बेलामा थोरै तेल राखेर तरकारीलाई चलाउने, त्यसमा पानी राख्ने र लेदो तरिकाले पकाउने अन्तिममा पाक्नुभन्दा केही समय अगाडि ताजा मसलाहरु मिसाउने हो भने हरेक मसलामा रोग प्रतिरोधात्मक क्षमताहरु छन्। जसले हामीलाई विभिन्न रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्छ।

तर अहिलेको हाम्रो पकाउने तरिका नै स्वस्थकर छैन। पहिले तेलमा मसला कालो हुने गरी भुट्छौं। त्यसपछि तरकारी राखेर अझ बढी पकाउँछौं, यसले मसलामा भएको राम्रो गुँडहरु हराएर जान्छ।

त्यस्तै कैयौं हाम्रा रंगिन खानेकुराहरु छन्। निश्चित मात्रामा खायो भने हानी पुर्याउँदैन भन्ने रंगहरु छन्, ती अत्यन्त महंगा छन्।

सर्वसाधारणको पहुँचभन्दा बाहिर छन्। र त्यसको जानकारी पनि छैन। अर्को जुन हाम्रो रैथाने रङहरु थिए, पहेंलो बनाउन बेसारको प्रयोग गर्ने, हरियो बनाउनुपर्यो भने दुबो लगायत बनस्पतिजन्य कुराहरुको प्रयोग हुन्थ्यो।

अहिले आएर हामीले रैथाने रङलाई छोडेर आधुनिक भनौं या रसायनयुक्त रङहरुको प्रयोग गर्न थाल्यौं। यस्ता कुराहरु हाम्रा लागि क्यान्सर र अरु घातक रोगहरु जन्माउन पनि त्यत्तिकै जिम्मेवार छन्। यी कुराहरुप्रति सजगता पैदा गर्नु जरुरी छ।

अहिलेको फास्टफुड जीवनशैलीको युगमा भान्सामा सन्तुलन मिलाएर खाना पकाउन कसरी सम्भव होला ?
यसमा दुई किसिमले सकिन्छ। शतप्रतिशतको भाषा त अहिले नबोलौं तर के गर्न सकिन्छ त भन्दा सय प्रतिशत खराब हुनुभन्दा ९० प्रतिशत खराब हुनु ठीक हो। ९० भन्दा ८० हुनु ठीक हो। त्यो दृष्टिकोणबाट पनि सोच्न सकिन्छ। जस्तै बजारु खाना खानुप-यो भने फास्टफुड, जँकफुडलाई त छोड्न सकिन्छ नि होइन। त्यसको सट्टा अन्य सामान्य खानेकुराहरु खान सकिन्छ। त्यस्तै चिसो पेय पदार्थहरु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छन्। त्यसको सट्टामा मह कागती पानी खान सकिन्छ। मही, लस्सीहरु खान सकिन्छ। त्यो शैलीलाई हामीले बुझ्न सक्यौं भने पनि राम्रो हुन्छ।

हामीले हाम्रो स्वास्थ्यसँग सम्बन्धित जुन एउटा मापदण्ड छ त्यसमै परिमार्जन जरुरी छैन ?
सबैभन्दा मुख्य कुरा के हो त भन्दा हाम्रो राष्ट्रिय नीतिमा यी कुरा आउनुपर्छ। मान्छे स्वयंको सजगतामा पनि यी कुरा आउनुपर्छ। राज्य पनि सजक हुनुपर्छ र व्यक्ति पनि सजग हुनुपर्छ। अनि मात्रै हामीले पूर्ण स्वस्थ जीवन प्राप्त गर्न सक्छौं।

राज्य सजग के मा हुनुपर्यो भन्दाखेरि उसले जनतालाई स्वास्थ्यको सही ज्ञान दिनुपर्यो। अहिले त हामी उपचारात्मक स्वास्थ्यलाई मात्रै ध्यान दिइरहेका छौं। जसमा अस्पताल बनाउने, डाक्टर उपलब्ध गराउने, औषधी उपलब्ध गराउने कुराहरु होलान्। यी कुरामा धेरै सोचेका छौं। तर रोग लाग्नै नदिन प्रर्वद्धनात्मक र प्रतिरक्षात्मक स्वास्थ्यमा चाहिँ हामी पछाडि छौं।

हामीले त्यो कुरा सिकाउन सकेनौं। जस्तै हामीले कुनै प्याकेटको खानेकुरा या कुनै भिटामिन खानुपर्छ भनेर सिकाउनुभन्दा रैथाने रुपमा पाउने स्याउ खाउ, अम्बा खाउ या अरु सलादहरु खानुपर्छ भनेर सिकाउन जरुरी छ। तर हाम्रो स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका अन्य निकायले हामीलाई यी कुरा मिडियाका माध्यमबाट या जनचेतनाका माध्यमबाट कहाँ सिकाएको छ ? हामी बिहान उठेदेखि नै जँकफुडहरु, तयारी खानेकुराहरु जुन हानिकारक छन्, तिनकै विज्ञापन हेरेर उठ्ने हो, तिनकै विज्ञापन हेरेर सुत्ने अनि हामीले स्वास्थकर कुराको बारेमा जानकारी नपाउनु पनि एउटा समस्या हो।

यहाँ लामो समयदेखि प्राकृतिक चिकित्सा र योगमा जोडिरहनुभएको छ, तपाईंकहाँ आउने बिरामीको समस्या र गुनासो कस्तो हुन्छ ?
यसमा प्रमुख दुई कुरा देखिएको छ। आजभन्दा अगाडिको युवा समाज र आज देखिएको युवा समाजमा धेरै अन्तर आइसकेको छ। त्यो एउटा सुखद पक्ष पनि हो। किन भन्दा अहिले हाम्रो सूचनाको पहुँच भनेको हातहातमा पुगिसकेको छ।

विश्वव्यापी परिवर्तनले जुन कुरा ल्याइराखेको छ, त्यो कुराको नकारात्मक तथा सकारात्मक दुइवटै हाम्रो हातमा छ। त्यसो हुँदा एउटा युवा पुस्ता त्यस्तो पनि समाजमा बढ्दै गइराखेको छ कि उ स्वस्थकर जीवनका कुराहरु सोचिरहेको छ। मैले योग सिक्नुपर्छ, मैले ध्यान सिक्नुपर्छ भन्दै धेरै ध्यानका केन्द्रहरुमा युवाको संख्या बढेको छ।

अर्को नेपाल भारत लगायत दक्षिण एसियाली देशमा अत्यन्तै धेरै मान्छेहरु शाकाहारी हुने, प्राकृतिक खानपानतिर बढी आकर्षित हुनेक्रम बढेको छ। हामी १० वर्ष अगाडिसम्म आम होटलमा मही, कागती पानी जस्ता खानेकुरा पाइँदैनथे भने अहिले सामान्य होटलहरुमा पनि यस्ता कुरा पाइन थालेका छन्।

एउटा युवा पुस्ता त्यस्तो पनि समाजमा बढ्दै गइराखेको छ कि उ स्वस्थकर जीवनका कुराहरु सोचिरहेको छ। मैले योग सिक्नुपर्छ, मैले ध्यान सिक्नुपर्छ भन्दै धेरै ध्यानका केन्द्रहरुमा युवाको संख्या बढेको छ।

किनकी मान्छेले त्यो कुराहर खोज्न थाल्यो। त्यसैले पछिल्लो पुस्तामा परिवर्तन आएको छ। बरु अघिल्लो पुस्ताले सूचनाको पहुँचमा पुग्न नसकेकर हो या के कारणले अघिल्लो पुस्ता सजग देखिँदैन। तर अहिले वर्तमानमा जुन युवा पुस्ता छ नि यो पुस्ता यस्ता कुरामा अलि बढी सजग देखिन्छ।

मैले धेरै मिठाइ पसलको मान्छेहरुसँग कुरा गर्छु। उनीहरुको भनाइ अनुसार युवा पुस्ता मिठाइ किन्दा रंगिन र टल्किने मिठाइभन्दा सादा मिठाइ रोज्छन्। त्यसैले अबको आउने पिँढी स्वास्थ्यप्रति धेरै सजग हुनेछ भन्नेमा म आशावादी छु।

भान्सालाई अस्पताल बनाउनुपर्छ भन्ने तपाईंहरुको अभियान वर्षौदेखि चलिरहेको छ। तर तपाईंहरु नै घरबाट होटल, होटलबाट अस्पताल जाने पुस्ता बढ्यो भनिरहनुभएको छ। त्यसो हो भने यो वर्गलाई अलि बढी सचेत पार्नुपर्ने देखियो नि कसो ?

यसमा दुईटा कुरा मैले सधैं भन्छु- फास्टफुड फास्ट डेथ। दोस्रो कुरा थ्री एचको फर्मुला होम टु होटल, होटल टु हस्पिटल यो कुरा सबैले बुझ्न जरुरी छ। हामीले जतिसक्यो घरको खाना खाने बानी बसाल्न जरुरी छ। तपाईं हामीले २० वर्ष लगाएर कमाएको पैसा अहिलेको स्वास्थ्य सेवाले एक महिनामै सकिन्छ। यो कुरा त हामीले बुझ्नुपर्यो नि। त्यसैले आफ्नो स्वास्थ्यको रक्षा आफै गर्न सक्ने कला सिक्नु आवश्यक छ। कहिलेकाहीँ सबै कुराको ख्याल राख्दाराख्दै पनि अचानक स्वास्थ्य बिग्रिएला, त्यो अर्को पाटो हो। तर हामीले आफ्नो स्वास्थ्यको ठूलो हिस्सा वा ८० प्रतिशत त राम्रो बनाउन सक्छौं।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : ३५ बजे

रसुवागढी आयोजनाको बिजुली राष्ट्रिय प्रसारणलाइनमा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

अमेरिकामा घुस दिएको आरोपले अडानीका कम्पनीको शेयरमा पहिरो

काठमाडौं- भारतीय उद्यमी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ।

वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट

काठमाडौं – नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ। 

विश्व बैंकसँग सवा १७ अर्ब ऋण काढेर प्रादेशिक र स्थानीय सडक मर्मत गर्दै सरकार

काठमाडौं – सरकारले विश्व बैंकसँग सवा १७ अर्ब रुपैयाँ बराबर

तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र

म्याग्दी– बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ