भर्खरै उपनिर्वाचन सकिएर नतिजा पनि सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । उनैको चुनावी प्रचारमा कांग्रेस महामन्त्री गगनकुमार थापाले गरेको भाषण भने अझै सेलाएको छैन । उनको भाषणलाई लिएर निकै ट्रोल बन्यो ।
थापाको भाषण यस्तो थियो- कीर्तिपुरलाई नेपालको यस्तो नमूनाको नगर बनाउन सकिन्छ । जसको घरबाट निस्केका बच्चाहरूले अबको पाँचदेखि सात वर्षपछि यी कतार जाने छैनन्, मलेसिया जाने छैनन् । इजरायल जाने छैनन् । यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको दुई लाख, तीन लाख, चार लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन् ।
ती तन्नेरीहरू बनाउन सकिन्छ । कीर्तिपुरले बनाउँछ । तपाईँले अहिले गएर टिकटक बनाउने कुरामा मात्रै हुँदैन, फेसबुकमा पोस्ट गर्ने कुरामा मात्रै हुँदैन । यहीँ बसेको केटाकेटीलाई महिनाको तीन लाख, चार लाख कमाउने बनाउन सकिन्छ । यसको अवसर के मा आएको छ ? नेपाल जस्तो देशले यसको अवसर ल्याएको छ । र पर्यटकलाई तपाईँ अर्को एक दिन काठमाडौं बसिदिनुस् ।
म तपाईँलाई बसन्तपुर घुमाउँछु, म तपाईँलाई पाटन घुमाउँछु । म तपाईँलाई भक्तपुर घुमाउँछु र तपाईँलाई कीर्तिपुर पनि घुमाउँछु । एक दिनले भ्याइन्न दुई दिन लाग्छ भन्यो भने एउटा पर्यटक १२ दिनको ठाउँमा १३ दिन बस्छ । अनि त्यो व्यक्ति एक दिन बढी बस्दा एउटा पर्यटकबाट दुई वटा रोजगारी सिर्जना हुन्छ ।
उनका भाषणलाई लिएर अधिकांशले ट्रोल बनाएका छन् । केही थोरैले उनको कुरा जायज भएको बताएका छन् । सामाजिक सञ्जालमा आएका केही टीकाटिप्पणी यस्ता छन् ।
पूर्व सचिव भीम उपाध्याय लेख्छन् – अब त कीर्तिपुरे डाँडोमा कुस्त पैसा फल्ने दिन आउने भयो । हाम्रो मान्छे जिताए लाखौँ लाख पैसा फलाइदिन्छु भनेकै दलको मेयरले चुनाव जित्यो । अब कीर्तिपुरको डाँडोमा देशैभरिका ७७ जिल्लाबाट जागिर खान आउने ल्यापटपे दर्खास्तवालाहरूको घुइँचो लाग्ने होला । यसरी घुइँचो लाग्ने भएपछि चा, बदाम, चटपटेको बेपारीले पनि लाखौँ कमाउने दिन आउने भयो ।
उपाध्यायलाई प्रतिवाद गर्दै किरण शर्मा लेख्छन् – तपाईँका छोरा छोरी पो युरोप अमेरिका पुगेका छन्, यहाँ रहेका युवाहरू शारीरिक श्रम गर्न पनि रुचाउँदैनन् र रोजगारको खोजीमा पनि छन् । तिनको लागि आईटी सेवा भरपर्दो आय हुन सक्छ । र यस सम्बन्धी ज्ञान भएकाहरूको लागि सम्भावना र अवसर पनि छ । तपाई जस्तो मान्छेले गगन थापाको रोजगारी विकल्पका बारेमा दिएको अभिव्यक्तिलाई प्रोत्साहित गर्नुपर्नेमा खिसिट्युरी गर्न कति सम्म सुहाउँछ भीम उपाध्याय ? सर्वत्र निराशा मात्र छर्ने र युवाहरूलाई भड्काउने प्रवृत्ति राम्रो होइन ।
त्यस्तै अनिल क्षेत्री लेख्छन् – थापाले गरेको कुरा त ७–८ वर्ष पछिको हो । अहिले नै महिनामा १–२ लाख कमाउने धेरै मान्छे छन् । गत आर्थिक वर्षमा मात्रै झन्डै ८० अर्ब पैसा आइटी सेक्टरबाट आएको हो । गगन थापाले कतै भनेका थिए– मलाई बाख्रा भन्दै गर्दा आफू भेडा भएको नबिर्सौँ । हरेक समाजले आफ्नो हैसियत र चेतना अनुसारको नेता पाउँछ । भिडमा शक्ति हुन्छ तर विवेक हुँदैन । भीडको भेडा नबनौँ । पढौँ, कुराहरू बुझौँ । विवेकी बनौँ ।
आईटीका विद्यार्थीले घरमै बसेर चार लाख कमाइरहेका छन् : प्रविधि विज्ञ
सूचना प्रविधि विज्ञ उत्तम कार्कीका अनुसार आइटी क्षेत्रका विद्यार्थीले घरमै बसेर काम गरेर महिनाको दुईदेखि चार लाख रुपैयाँ अहिले पनि कमाइराखेको बताएका छन् । उनले भनेका छन्, ‘कोभिडपछि धेरैले अनलाइनबाट काम गर्न थालेपछि आईटीको अवसर बढेको हो । आईटीमा सीप भएका युवाले नेपालमा बसेर लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।’
‘विश्व बजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र सूचना प्रविधि हो । सबै काम इन्टरनेटको सहायतामा अनलाइनमार्फत हुन थालेपछि यसको माग बढेको हो । हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाईन मार्केटिङलगायत कामहरू आईटी सेवामा पर्छ’ कार्कीले भने ।
उपनिर्वाचनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्रीले निकै समय सान्दर्भिक विषय उठान गरेको कार्की बताउँछन् । उनी थप्छन् ‘कीर्तिपुरको मेयरले आफ्नो घोषणापत्रमै कक्षा १० पछि सूचना प्रविधिलाई विकास गर्ने भन्ने एजेण्डा उल्लेख गरेकाले थापाले त्यसैलाई व्याख्या गरेको पाइन्छ ।’
सूचना प्रविधिमा विद्यार्थीलाई अब्बल बनाउनको लागि सीप सिकाउनुपर्ने कुरामा थापाले जोड दिएको कार्कीको बुझाइ छ । ‘म आफै कलेजमा पढाइरहेको छु । मेरै विद्यार्थीहरूले महिनाको दुई चार लाख रुपैयाँ घरमै बसेर कमाइ नै रहेका छन् । ज्ञान कति छ भन्ने कुरा हो, उनले भने, ‘सीप हुने हो भने सामाजिक सञ्जाल चलाएर पनि कति मानिस रहरले पैसा कमाइरहेका छन् । सीप चाहिँ हुनुपर्यो । ल्यापटप बोकेर कीर्तिपुरको डाँडोमा जाँदैमा चार लाख कमाइने भनिएको होइन ।’
आईटी सेवाअन्तर्गत कम्युटर र इन्टरनेट प्रयोग गरेर हुने सूचना प्रविधिसँग सम्बन्धित सेवा हो । नेपालबाट वार्षिक करिब एक अर्ब डलरको आईटी सेवा निर्यात हुन थालेको कार्कीले बताए । ‘आईटी कम्पनीले मात्र नभएर व्यक्तिगत रूपमा पनि आईटी सेवा निर्यात हुन्छ । कम्पनीले संस्थागत रूपमा गरेको निर्यात मात्र राज्यको रेकर्डमा देखिन्छ । व्यक्तिगत रूपमा विदेशमा सेवा गरेर अर्बौँ रुपैयाँ भित्रिएको छ’ उनले भने ।
नीतिगत निर्णय गरेर कानुनको व्यवस्था गर्ने हो भने यस क्षेत्रबाट नेपालले धेरै लाभ लिन सक्ने उत्तमको भनाइ छ । ‘विद्युतीय कारोबार ऐन २०६३ छ । नीतिगत निर्णयमा नै धेरै काम गर्नुपर्ने छ । कम्प्युटर शिक्षा कक्षा एकदेखि नै लागू गर्नुपर्छ । सफ्टवेयर सानैदेखि सिकाउनुपर्छ’ उनले थपे, ‘सूचना प्रविधि विधेयकमा नै धेरै कुराहरू थप गर्नुपर्ने छ । टेकहब भन्छौँ, हामी त्यो भनेको टेक्नोलोजी हब बनाउँदै विस्तार गर्ने हो भने नतिजा उन्मुख सफलता हासिल गर्न सकिन्छ ।’
आईटी प्रवर्द्धनमा सरकारको प्राथमिकता शून्य : आईटी व्यवसायी
आईटी व्यवसायी प्रमोद पोखरेल आईटी क्षेत्रको प्रवर्द्धनमा सरकारको प्राथमिकता शून्य बराबर भएको बताउँछन् । साथै उनले नेपालमा आईटी क्षेत्रको प्रवर्द्धन गर्न नीति निर्माता तहमै ज्ञान नभएको आरोप लगाएका छन् । नेपालमा यस क्षेत्रले हालसम्म जति सफलता हासिल गरेको छ, त्यो नितान्त व्यक्तिगत भएको उनले बताए ।
उनले भने, ‘नेपालमा आईटी क्षेत्र आज जुन अवस्थामा छ, त्यो आफ्नै बलबुताले मात्रै भएको हो । यसमा सरकारको कुनै सहयोग छैन । सरकारसँग रियलाइजेसन पनि छैन र आईटीको महत्त्व पनि थाहा छैन । नीति बनाउने ठाउँमा पुगेकाहरूलाई यसको महत्त्व थाहा छैन ।’
त्यसकारण गगन थापाले आफूले नजानेको विषयमा बोलेका कारण ट्रोलको सिकार हुनुपरेको उनको बुझाइ छ । उनले भनेका छन्, ‘होटल म्यानेजमेन्टमा एक भनाइ छ – इफ डाउट, थ्रोइट आउट । अर्थात् आफूलाई शंका लागेको विषयमा प्रवेश नगर्नु, जानकारी नभएको विषय नखोतल्नु । गगनको भएको त्यही हो ।’
‘गगनले पाहुना आउने दिन घर सफा गरे जस्तो भाषण गरे । चुनावको बेला हतार–हतारमा गएर कीर्तिपुरमा के बिक्छ, त्यो बेच्ने प्रयास गर्दा ट्रोलको सिकार बन्नु पर्यो, प्रमोद थप्छन्, ‘कवाडी उठाउनेहरू सिजन हरेर कहिले आलु बेच्छन् , कहिले सुन्तला बेच्छन् । उनको त्यो बोली तर्कसंगत छैन ।’
यसो भनिरहँदा उनले गगनले भनेको कुरा असम्भवै भने नभएको बताउँछन् । उनी भन्छन्, ‘मेरा धेरै साथीहरूले महिनामा ७ देखि १५ हजार डलर नेपालमै बसेर कमाइरहेका छन् । युवाहरूले यसरी आईटी क्षेत्रमा कमाइरहेका छन् ।’ सरकारले नीति नै बनाएर सहयोग गर्यो भने अझै राम्रो कमाउन सक्छन् भन्ने तर्क खै ? उनी प्रश्न गर्छन् ।
आज पनि पर्यटन क्षेत्रबाट भन्दा धेरै मुनाफा आईटी क्षेत्रले गरेको पोखरेल बताउँछन् । पर्यटन क्षेत्रलाई सरकारले जति प्राथमिकतामा राखेर काम गरेको छ, त्यति नै यस क्षेत्रमा गर्ने हो भने नेपालको विकासमा नसोचेको परिवर्तन गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया