समाचार

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

By खबरहब

January 06, 2024

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा गत तिहारमा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्रधानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए । विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो ।

‘विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन्, अहिले पोसाकमा एकरूपता आएको छ’, उनले भने । प्रधानाध्यापक महतले पाँच हजार एक सय ११ रुपैयाँ चन्दा दिएर पोसाक अभियान थालेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एक–एक थान ऊनीको टोपी उपलब्ध गराएका थिए ।

सो असरमा प्रधानाध्यापक महतले न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद व्यक्त गरेका थिए ।