टोखाको चाकु ! | Khabarhub Khabarhub

टोखाको चाकु !



काठमाडौं- अहिले पुसको तेस्रो साता चलिरहेको छ । काठमाडौंको उत्तरी भेगमा पर्ने प्राचीन शहर टोखाको वडा नम्बर २ र ३ मा जानुभयो भने तपाईले सिंगै बजार मगमग बासनाले भरिएको पाउनुहुन्छ । बासना हो– माघे संक्रान्ति लक्षित चाकुको ।

माघे संक्रान्तिलाई लक्षित गरेर, विशेष गरी पुस महिनामा टोखाका उद्यमीहरुलाई चाकु बनाउन भ्याई–नभ्याई छ । कसैसँग बोल्ने फर्सद छैन ।

विशेषतः जाडोयाममा चाकु अत्यधिक खपत हुने गरेको छ । बजारमा अघिल्लो वर्षको भन्दा चाकुको माग बढ्दो छ ।

त्यसो त टोखाको नामै चाकुसँग जोडिएर बनेको छ । नेपाल भाषामा ‘तु’ भनेको उखु हो । ‘ख्व’ भनेको बारी हो । ‘तुःख्व’ अर्थात उखुबारी अपभ्रंसित भएर ‘टोखा’ बनेको स्थानीयको मान्यता छ । चाकु बनाउन चाहिने सख्खरको मूल स्रोत उखु नै हो । यसमा दूध, खुवा र मरमसलाको समेत प्रयोग गरिन्छ ।

माघे संक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ । प्रत्येक वर्ष माघ १ गते मनाइने पर्वमा घिउ र चाकु दुई परिकार निकै महत्वपूर्ण मानिन्छन् । चिसो मौसममा चाकु खाँदा शरीर न्यानो हुने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले माघे संक्रान्तिमा चाकु लोकप्रिय मानिँदै आएको छ ।

स्वदेश र विदेशमा समेत गरी हरेक वर्ष करिब ४ करोडको चाकुको व्यापार गर्ने टोखाबासीले कपिलवस्तु, नवलपरासी लगायत उखु खेती हुने तराईका जिल्लाबाट सख्खर ल्याउने गरेका छन् ।

थरिथरिका चाकु

टोखाका कृष्णबहादुर श्रेष्ठ चाकु संरक्षण समाजका अध्यक्ष हुन् । उनी चाकुका विभिन्न प्रकारहरुबारे जानकारी दिँदै भन्छन्, ‘सादा चाकु २५० ग्राम र ५ सय ग्रामका प्याकेटमा उत्पादन हुन्छ । सादा चाकु विशेषगरी स्वास्थानीको पूजा, सत्यनारायण पूजा आदिमा चलाउने गरिन्छ । गोसाइँकुण्ड जाने तीर्थयात्रीले पनि चाकु प्रयोग गर्ने गरेका छन् ।’

अध्यक्ष श्रेष्ठका अनुसार टोखामा विभिन्न १३ प्रकारका चाकु बन्छन् । मसला चाकु पूजामा नभएर खानका लागि मात्र प्रयोग गरिन्छ, जसले शरीरलाई न्यानो गराउँछ ।

भुजा लड्डु र वृद्धहरुका लागि झोल चाकु पनि बनाइने गरेको छ, जसलाई रोटी पाउरोटी आदिमा जामको रुपमा प्रयोग गर्न सकिने श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हामीले सुत्केरी चाकु पनि निकालेका छौं । यसमा काजु बदाम, नरिवलसमेत राखेर बनाइएको छ । खुवा र गरम मसलाहरु राखेर गुदपाक चाकु पनि बनाइने गरेको छ । खुवा चाकुमा ७५ प्रतिशत खुवा र गरम मसला राखिएको हुन्छ । त्यसैगरी तिलको लड्डुका साथै बदाम लड्डु पनि निकालिएको छ ।’

चाकुमै पाँच पुस्ता

बुद्ध श्रेष्ठ टोखास्थित चाकु संरक्षण समाजका उपाध्यक्ष हुन् । उनी काशीलाल चाकु प्रोडक्सन प्रालिका प्रोप्राइटरसमेत हुन् । उनी खबहबसँग भन्छन्, ‘मैले चाकुमै खेल्दै आएको ४० वर्ष भयो । म चौथो पुस्ता हुँ, छोराछोरीले पनि काम गरिरहेका छन्, उनीहरु पाँचौं पुस्ता हुन् ।

श्रेष्ठ अगाडि भन्छन्, ‘पहिले बुबा एक्लैले चाकु बनाउने काम गर्नुहुन्थ्यो । पछि हामी तीनजना दाजुभाइले गर्‍यौं। पोहोरदेखि एउटा कम्पनी खोलेका छौं । अहिले यही कम्पनीमार्फत् काम गर्दैछौं । हामीले चाकु उत्पादन गर्ने काममा र बाहिरसमेत गरी करिब ४०/५० जनालाई रोजगारी दिएका छौं ।’

गुणस्तर मापदण्डमा टेकेर अगाडि बढ्ने बताउँदै श्रेष्ठले टोखा र नेपालमा मात्रै होइन, विश्वमै यसको बजार विस्तार गर्ने योजना सुनाए ।

चाकुलाई गुणस्तरीय बनाउन पहिले सख्खरलाई गुणस्तरीय बनाउनुपर्ने बताउँदै उनले हालै तराईमा गएर सख्खर उत्पादन र त्यसको गुणस्तर हेरेर आएको खबरहबलाई सुनाए ।

टोखामा बनेको चाकु विदेशमा समेत जाने गरेको श्रेष्ठले बताए । उनी भन्छन्, ‘चाकु नेवारी जातिले मात्र खान्छ भन्ने होइन, माघे संक्रान्ति आएपछि ७७ जिल्लाका सबै नेपाली दाजुभाइले चाकु खान थालिसकेका छन् ।’

प्रायः जाडोयाममा मात्र चल्ने मौसमी व्यवसाय भएका कारण यो व्यवसायलाई व्यवस्थित गर्न नसकिएको तर गुणस्तर भने सुधार गरिएको उपाध्यक्ष श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पहिले भुइँमै चाकु सुकाइन्थ्यो भने अहिले टेबलमाथि सुकाइन्छ । गुणस्तर मापदण्ड अनुसार मानिसले टेक्ने ठाउँमा चाकु सुकाउन हुँदैन भनेको हुनाले हामीले सफासुग्घर गरिरहेका छौं । ग्राहकहरु हाम्रो घरसम्मै लिन आउँछन् । हामी ग्राहकलाई निराश बनाएर पठाउँदैनौं ।’

चाकुको गुणस्तर र बजार वृद्धिबारे संघमा छलफल हुने गरेको बताउँदै श्रेष्ठ भन्छन्, ‘अध्यक्षज्यूले पनि निरन्तर प्रयास गरिरहनुभएको छ । नगरपालिका, प्रदेश सरकार र गुणस्तर विभाग जतात्यतै लागेर हामीले गुणस्तर बढाउने र विश्व बजारमा पु¥याउने प्रयास गरिरहेका छौं ।

‘सरकारले संरक्षण गरोस्’

टोखाको चाकु उद्यमबारे जानकार कुमार रन्जितका अनुसार संस्कृतको सुश्रुत संहितामा उखुको रसबाट चाकु बनाउने कलालाई विभिन्न १८ कलामध्ये एक मानिएको छ । चाकुसम्बन्धी पाक कलालाई भारतमा धेरै प्राथमिकता दिएर उद्योगका रुपमा विकास गरिएको उनी बताउँछन् ।

कुमार भन्छन्, ‘यो टोखामा पनि प्राचीन समयदेखि नै चाकु बनाउने गरिएको छ । हामी टोखाको चाकु भन्छौं । तर, यति भनेर मात्रै पुग्दैन । टोखाको यो प्राचीन शहरमा चाकु पेलेर, फिटेर बनाउने जुन परम्परा विद्यमान छ, यो एकदमै मानव इतिहासको प्राचीन कला हो ।’

उनी अगाडि भन्छन्, ‘यो प्राचीन कलालाई टोखाको परम्परागत चाकु संरक्षण समाजले जीवन्त राखेको छ । यसलाई एउटा राष्ट्रिय प्राचीन कलाका रुपमा संरक्षण गर्नुपर्छ भन्नेबारे सरकारले सोच्नुपर्छ ।’

कुमारले थपे, ‘जस्तो ललितकलाको शहर भनेर ललितपुरलाई चिनिन्छ । त्यसैगरी प्राचीन प्रमाणिकताका आधारमा टोखाको यो क्षेत्रलाई पनि चाकु कला शहरका रुपमा संरक्षण गर्नुपर्छ भन्ने माग यो समाजले अगाडि बढाउनुपर्छ र सरकारले पनि बुझ्नुपर्छ ।’

चाकु उद्यमीका पाँचौं पुस्ताले चाकु बनाइरहेको बताउँदै रन्जित भन्छन्, ‘यो एकदम उत्कृष्ट छ, हामीले यसलाई संरक्षण गर्नुपर्छ । सरकारले बुझ्नुपर्छ कि टोखामा चाकु बनाउने कामको पुरानो इतिहास छ । त्यसैले यो कलालाई विशिष्टरुपमा संरक्षण गर्नुपर्छ भन्ने कुरालाई सबैले बुझ्नुपर्छ ।’

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : ५४ बजे

‘गण्डकी सरकारको साझेदारी : बाँझो रहन्न खेतबारी’

गण्डकी– गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी : बाँझो रहन्न

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल

पाथीभरा क्षेत्रमा वृक्षरोपण

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ ।

युरोकपको १७औँ संस्करण भोलिदेखि

काठमाडौं– युरोकपको १७औँ  संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल