रोनाल्डोलाई ल्याउने गफ दिएका राजदूतले पोर्चुगल नटेकी गुमाए जागिर | Khabarhub Khabarhub

रोनाल्डोलाई ल्याउने गफ दिएका राजदूतले पोर्चुगल नटेकी गुमाए जागिर


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेससमेत संलग्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन २०८० माघ २६ गते पोर्चुगलका लागि शनिल नेपाल र क्यानाडाका लागि भरतराज पौडेललाई राजदूतमा नियुक्त गर्‍यो ।

क्यानाडाका लागि राजदूत बनेका पौडेलले अहिले उक्त जिम्मेवारी सम्हालिरहेका छन् । उनले राजदूतमा नियुक्त भएलगत्तै क्यानाडा पुगेर काम थाले ।

उनले ओटावामा आयोजित कार्यक्रममा गत वैशाख २० गते त्यहाँस्थित गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र पनि बुझाइसकेका छन् ।

पौड्यालले त्यसक्रममा सिमोनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश पनि सुनाए।

तर उनै पौडेलसँग एकैदिन नेपाली राजदूतमा नियुक्त शनिल नेपालले एक पटक पनि पोर्चुगल टेकेनन् ।

पोर्चुगलमा दूतावास खोल्ने गरी पहिलो आवासीय राजदूतको जिम्मेवारी पाएका उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

तर नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईले राजदूत नेपाललाई आफूले त्यहाँ देख्न नपाएको बताए । उनका अनुसार राजदूत नेपालको एग्रिमो पनि स्वीकृत भएको थिएन ।

‘उहाँ राजदूतमा नियुक्त भएको समाचार सुनेको थिएँ, आज उहाँ राजदूतबाट फिर्ता भएको खबर तपाईंले सुनाउनु भयो’, राईले खबरहबसँग भने, ‘राजदूत नेपाल पोर्चुगल आउने अपेक्षामा थियौँ । तर, उहाँ आउने कुरा दन्त्य कथा जस्तो भयो । न उहाँ आउनु भयो, न दूतावास नै खोलियो ।’

राईका अनुसार पोर्चुगलमा हजारौँ नेपाली राहदानी नवीकरण गर्न नसकेर तनावमा थिए । आवासीय दूतावास खोल्ने सरकारको निर्णयले त्यहाँका नेपाली राहत मिल्ने आशमा थिए । पत्रकार राई यसअघि पोर्चुगलमा बस्दै आएका थिए, उनी अहिले बेल्जियममा रहेका छन् । उनले युरोपका ३० देशमा रहेका नेपाली पत्रकारहरूको नेतृत्व गरिरहेका छन् ।

‘यहाँ ५ हजारभन्दा धेरै नेपाली राहदानी नवीकरण गर्न नपाएर तनावमा छन्’, राईले खबरहबलाई भने, ‘राजदूत नेपाल यहाँ ५ दिन मात्रै आएर बसिदिएको भए पनि ठूलो राहत हुन्थ्यो । तर उहाँले पाइलासमेत नटेकी सरकारले फिर्ता बोलाएको सुन्दा आश्चर्य लाग्यो ।’

राजदूत नेपाल तत्कालीन कांग्रेससहितको गठबन्धन सरकारको पालामा कांग्रेस नेता डा. शेखर कोइरालाको कोटाबाट नियुक्त भएका थिए । उनलाई कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठनमा आबद्ध भएकै आधारमा राजदूतमा सिफारिस भएको भन्दै सांसदहरूले त्यसबेला आलोचना पनि गरेका थिए ।

पोर्चुगलका लागि राजदूतमा सिफारिस भएपछि गत मंसिरमा २२ मा भएको सुनुवाइका क्रममा नेपालले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने बताएका थिए ।

संसदीय सुनुवाइका क्रममा सांसदहरूको जिज्ञासामा उनले रोनाल्डोलाई नेपाल ल्याएर सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तनबारे सन्देश दिने गरी फुटबल खेलाउने बताएका थिए ।

‘रोनाल्डोलाई भित्र्याउन चाहेको छु, मनमा योजना छ । सगरमाथाको बेसक्याम्पमा लगेर जलवायु परिवर्तनमा काम गर्ने योजना छ,’ उनले त्यसबेला भनेका थिए ।

राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइका क्रममा रोनाल्डो नै नेपाल ल्याएर फुटबल खेलाउने प्रशिक्षण गराउने कार्य योजना सुनाएका नेपालले पोर्चुगल नै नटेकी राजदूत पद पनि गुमाएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ७ : ३२ बजे

प्रतिरोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल

हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

चङ्खेली– हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य

‘धरान रन’को उपाधि केन्याली धावकलाई

धरान– केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन् 

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र

नवलपरासीमा व्यावसायिक आलुखेती विस्तार

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–२ सेहरीकी सुशीला महतो विगत