छोरा कुट्ने ‘सेल्फ डिफेन्स’ | Khabarhub Khabarhub

ब्लग

छोरा कुट्ने ‘सेल्फ डिफेन्स’



केही दिन अगाडि कार्यालय आउँदा सार्वजनिक बसमा विद्यालयको युनिफर्ममा रहेकी बहिनी चिच्याएर रोइन् । त्यो समय बस स्टेशनमा यात्रु झर्दै थिए । ती बहिनी रोएपछि बसमा भएका अन्य यात्रु अक्क न बक्क भए ।

एकछिन त किन रोइन्‌ भनेर कसैले सोध्न पनि सकेन । उनले झनै डाँको छोड्न थालेपछि चालकले ‘उठेर के भयो ?’ भने । तर उनी केही बोलिनन् । म आफैँ पनि ओर्लने तयारी गर्दै थिएँ, तर उनको रुवाइले रोकिएँ ।

चालक लगायत अरू यात्रुले ‘के भयो ? किन रोएको ?’ सोधिरहेका थिए । तर उनी रोइरहिन् । एकपटक मलाई पनि सोध्न मन लाग्यो । दुई तिन पटकमा पनि उनले केही भनिनन्‌ । रोइरहेकी ती बहिनीलाई छोडेर हिँड्न मन मानेन ।

सबैले सोधिरहेपछि उनले भीडभाडमा अर्को यात्रुले आफ्नो संवेदनशील ठाउँमा छोएको बताइन् । चालकले ‘कुन हो त्यो ?’ भनेर साेधे । तर त्यो यात्रु भर्खरै ओर्लिएको उनले बताइन् ।

‘अगाडि नै किन नभनेको ? अब त्यो यात्रु कसरी खोज्ने ? घटना हुँदै किन नचिच्याएको ? केटीहरूको समस्या भनेकै घटना भएकै बेलामा बोल्न नसक्ने हो । जसले गर्दा अपराधी समात्न मुस्किल पर्छ…,’ चालक र अन्य यात्रुहरू भन्दै थिए ।

त्यो व्यक्तिको हुलिया सोधेर वरपर हेरियो, तर भेटिएन । काठमाडौंको भीडभाडमा त्यो हुलिया भएको व्यक्ति क्षणभरमै गायब भयो । कार्यालय समयको बस धेरैबेर रोकिएन ।

विद्यालय नजाने भनी उनी गाडीबाट आर्लिइन् । म पनि सँगै ओर्लिएँ । ‘प्रहरीकहाँ उजुरी गर्न जाऊँ’ भनेँ । तर उनले मानिनन् । ‘बलात्कारीलाई सफाइ दिने देशमा यौन दुर्व्यवहारको छानबिन कसले गर्छ ? त्यो अपराधीलाई कानूनले सजाय दिन्छ ?’ यस्तै प्रश्न उनले मतिर तेर्स्याइन्‌ । म केही बोल्न नसक्ने स्थितिमा पुगेँ ।

उनी रुँदैरुँदै बाटो लागिन् । अहो ! त्यो गह्रुङ्गो समयको साक्षी मलाई भने सासै फेर्न गाह्रो भयो । सार्वजनिक स्थलमा हुने दुर्व्यवहारमा न्याय पाउनु भनेको ढुङ्गा चपाउनुभन्दा मुस्किल छ ।

कानूनी प्रक्रिया झन्झटिलो र न्याय पाउने सम्भावना कम हुने हुँदा यस्ता घटना सामसुम हुन्छन् । पीडित खुम्चिएर बस्नुपर्ने स्थिति छ ।

त्यस्तो बेला घटना भएकै पल अपराधीको करङको हड्डी भाँचिनेगरी पिटे पीडितले न्याय पाउँलान्‌ जस्तो लाग्यो । भीडभाडको बीचमा यौनपिपाशु हर्कत गर्दै आफूलाई बहादुर/वीरङ्गना ठान्नेहरू आखिर सजायभागी नै हुन्‌ । एक बदमासले शारीरिक अस्मितामा खेल्दा एक किशोरीको मनोविज्ञानमा कति आघात पर्छ ? त्यो अपराधीले सोच्नसमेत सक्दैन ।

ठाउँका ठाउँ पीडकविरुद्ध प्रतिरोध गर्नु न्यायोचित हो ? झल्याँस्स मलाई ‘सेल्फ डिफेन्स’को याद आयो । ती बहिनीले आँशु बगाएको सम्झँदा लाग्यो- ‘हरेक छोरीलाई सिकाउनुपर्छ, लडाकु बनाउनुपर्छ ।’

स्थानीय तहले साना छोरीहरूलाई ‘सेल्फ डिफेन्स’ को प्रशिक्षण दिएर निकै राम्रो काम गरिरहेको छ । बढ्दो बलात्कार र यौन दुर्व्यवहारका घटनाबाट छोरीहरूले आफूलाई संरक्षण गर्न सक्ने सबैभन्दा उत्तम प्रशिक्षण यही हो ।

यस प्रशिक्षणले विविध प्रकारको हिंसाविरुद्ध प्रतिकार गर्न सशक्त बनाउँछ । त्यसमा किक, बक्सिङ र ब्लक प्रहार रोक्ने विधिबारे सिकाइन्छ । पहिलो चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्गको बचावट कसरी गर्ने र सुरक्षाका लागि प्रहार गर्ने लगायत सीप सिकाइन्छ ।

फेरि सोचेँ- ‘के यो सिकाइ न्यायोचित छ ? सेल्फ डिफेन्स सिकेपछि छोरीहरू यस्ता अपराधबाट सुंरक्षित हुन्छन् ? उनीहरूलाई कसैले छुन सक्दैन ? यो अभिभावक ढुक्क हुने स्थिति हो ? सबै छोरी तथा बालिका सेल्फ डिफेन्समा उत्रिन सक्छन् ? नसक्नेहरूको हकमा के हुन्छ ?’

म सेल्फ डिफेन्सको विपक्षमा छैन । तर लड्न, हिर्काउन, कुट्न र पिट्न उत्रिन नसक्ने बालिकाहरूका लागि के त ? हरेक बालबालिकाको रुचि क्षेत्र फरक–फरक हुन्छन् । सबै बालिकाको मनोविज्ञान लडाकु हुँदैन ।

उनीहरूले सेल्फ डिफेन्स सिके पनि आफूमाथि भएको हिंसाको प्रतिकार गर्न शारीरिक रूपले सक्दैनन् । त्यस्तो अवस्थाका बालिकाका लागि डिफेन्सको प्रशिक्षणले काम गर्छ ? गर्दैन

त्यसो भए डिफेन्समा जान नसक्ने बालिकाहरूले हिंसा नसहनुको विकल्प छैन ?

शारीरिक रूपले प्रतिकार गर्न नसक्ने बालिकाहरूका लागि पनि सुरक्षित हुने समाज हामीले निर्माण गर्नुपर्छ वा पर्दैन ? सेल्फ डिफेन्सको प्रशिक्षण बिना पनि यो समाजमा छोरीले मानव भएर बाँच्न पाउनु परेन ?

एक असल समाज, गाउँ, शहर र देश बन्न सबैभन्दा पहिले असल नागरिक हुनुपर्छ । जुन समाजमा पाँच वर्षकी छोरी आफन्तबाट सुरक्षित छैनन्‌, विद्यालय हिँडेकी छोरी सार्वजनिक बसमा यौन दुर्व्यवहारमा पर्छिन्, स्कुल गएकी १३ वर्षकी छात्रा आफ्नै शिक्षकबाट बलात्कृत र गर्भवती भएकी छन् ।

यी सबै अपराधको समाधान सेल्फ डिफेन्स हो ?

एक पक्षले अपराध गर्छ र अर्को पक्ष त्यो अपराधबाट कसरी जोगिने भनेर लाग्छ । मुख्य कुरा अपराध हुन नदिने स्थितिको सिर्जना गर्नु हो । जबसम्म समाजमा यौनजन्य अपराधविरुद्ध सचेतना जगाउन सकिन्न, तबसम्म यस्ता अपराध रोक्न सकिन्न ।

सिक्ने कुरा सधैँ छोरीकै भागमा किन पर्छ ? हिजो पुरुषसँग जोगिएर हिँड्न सिकाइयो । आज दुर्व्यवहार गर्नेलाई कुट्न र हातखुट्टा भाँच्न सिकाइएको छ । यस खालका सिकाइले समाजमा अराजकता निम्तिन्छ ।

‘ब्याड टच’ र ‘गुड टच’ बारे छोरालाई भन्दा धेरै छोरीलाई सिकाइएको छ । ‘ब्याड टच’बारेमा जानकारी नै नपाएका छोराहरूको हातखुट्टा र नाकमुख भाँचिने भए । बाटोमा एक्लै हिँडेकी केटीलाई जिस्काउनुलाई केटाहरू सामान्य मान्छन् । सार्वजनिक स्थलमा छुने वहाना उनीहरूलाई सामान्य लाग्छ ।

यो गलत हो भनेर हामीले छोराहरूलाई सिकाएकै छैनौँ । सिकाए नै सिक्ने हो नि ! हामीले छोरालाई ‘असहज हुनेगरी हेर्नु वा छुनु गलत हो, सार्वजनिक स्थलमा जथाभावी छुन गलत हो’ भनेर सिकाएको भए यस्ता घटना देख्नु/भोग्नु पर्दैनथ्यो ।

सदियौँदेखि महिलाले आफूलाई पुरुषसँग जोगिँदै हिँड्नुपर्‍याे। पुरुषले जे पनि गर्न सक्छ, जसो पनि गर्न सक्छ, त्यसको पूर्ण तयारी महिलाले गर्नुपर्छ । हिंसा भोग्नेकै चरित्रमाथि प्रश्न उठाइन्छ । फलानाकै छोरी नक्कली थिई, उत्ताउली थिई , छोटा लुगा लगाएर हिँड्थी भनियो ।

मानवमात्रै नभएर जनावरको समेत हक-अधिकारको वकालत गर्ने युगमा आज पनि छोरीले नै जोगिएर हिँड्नुपर्ने अवस्था छ । पुरुषसँग सुरक्षित छैन भनेर हिँड्नुपर्ने अवस्था छ ।

कुनै पनि महिलालाई जिस्क्याउने, ब्याड टच गर्ने, भीडभाडको फाइदा लिने, यौनजन्य सङ्केत गर्ने जस्ता क्रियाकलाप अपराध हो भनेर छोराहरूलाई नै सिकाउनुपर्छ । विद्यालयहरूमै सिकाउनुपर्छ ।

ब्याड टचजस्ता क्रियाकलापलाई हालसम्म पुरुषप्रधान समाजले सामान्य मान्दै आएको छ । यिनै सामान्य क्रियाकलापले नै यौन दुर्व्यवहार र बलात्कारजस्ता जघन्य अपराघसम्म धकेल्छ ।

छोरीलाई डिफेन्स सिकाउने र छोरालाई ब्याड टचबारे नसिकाउँदाको नतिजा के हुन्छ ? स्कुल गएको छोराले हातखुट्टा, नाक भाँचेर घर आइपुग्छ । त्यसकारण सिक्ने पालो अब छोराहरूकै हो । हामीले छोरीहरूलाई फाइटर नै बनाए पनि हुन सक्ने आपराधिक घटनाबाट जोगाउन सकिँदैन ।

आपराधिक मानसिकता जन्म हुनै नदिने शिक्षा आजको आवश्यकता हो । छोरीलाई अपराधबाट जोगिनका लागि दिइने लडाकु प्रशिक्षणभन्दा छोरालाई यौनजन्य अपराध के–के हो ? के गर्नु हुन्छ र के गर्न हुँदैन भनी सिकाउन आवश्यक छ ।

छोरीहरूलाई कराँते र तेक्वान्दो जस्ता खेलकुदमा उनीहरूको रुचि अनुसार प्रोत्साहन गर्नुपर्छ । खेल वा शारीरिक कसरतको रूपमा सेल्फ डिफेन्स असाध्यै राम्रो सिकाइ हो ।

‘सबै पुरुष अपराधी हुन् । पुरुषहरू गलत नै हुन्छन्, उनीहरूलाई ठोक्नुपर्छ’ भन्ने सिकाइको प्रभावकारिता कति हुन्छ ? यो समाजमा असल पुरुषहरू पनि त उत्तिकै छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ७ : ०६ बजे

क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी

एजेन्सी– रुसले क्रिमियामा ३३ युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका १०

पीडितलाई न्याय महसुस हुनेगरि कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर

वर्तमान सत्ता समीकरण ८४ सम्म कायम रहन्छ : विमलेन्द्र निधि

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु

लखनऊ- भारतको उत्तरप्रदेश राज्यमा बिहीबार दिउँसो एउटा रेल लिकबाट उत्रिएको

बिजुलीको साढे ८ अर्ब नतिर्ने यी हुन् ५७ उद्योग (सूचीसहित)

काठमाडौं- शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको सपथ खाएका प्रधानमन्त्री केपी