काठमाडौं– संसारमा निर्वाचित सत्ता ढलेर जब सैन्य सत्ता स्थापित हुन्छ, तब देशमा विद्रोहको ज्वाला फैलन्छ । यो चलि आएको सामाजिक-राजनीतिक परम्परा पनि हो । बङ्गलादेशमा ठीक उल्टो भयो ।
प्रधानमन्त्री शेख हसिना बाजेदले सत्ता त्यागेपछि देश सेनाको नियन्त्रणमा छ । प्रदर्शन रोकिएका छन् । मानिसहरूले सडकमा खुसी व्यक्त गरेका छन् । विद्यालय तथा विश्वविद्यालय तहमा पढाइ सुचारु नभइसके पनि यी सबै खुल्न थालेका छन् ।
समावेशीता र कोटा प्रणाली विपन्न र सीमान्तकृतको उत्थानका लागि हो । त्यही कोटा प्रणाली आफ्ना दलका कार्यकर्ताका लागि उपयोग गरेको परिणाम बङ्गलादेशले भोगेको छ ।
हसिना बाजेदको गौरशाली विगतका केही पाटा पक्कै छन् । बङ्गलादेशको आर्थिक विकासमा हसिनाको शासन एउटा महत्त्वपूर्ण आयाम थियो । त्यसो त हसिनाको विगत आफैँ प्रजातन्त्र र लोकतन्त्रको पर्याय बनेको थियो ।
५० वर्षअघि बाबु मुजीवर रहमानले एक दलीय शासन सञ्चालन गरे झैँ एक दलीय शासनकै परिकल्पना हसिनाको थियो । त्यत्ति मात्र होइन, बङ्गलादेशको सामाजिक संरचना धार्मिक सम्प्रदायको आधारमा खडा भएको थियो । त्यहाँ बारम्बार हिन्दु र मुस्लिम दङ्गा पनि भएको थियो ।
हसिना दुवै खेमालाई मिलाउने पक्षमा थिइन् भने विपक्षी दल बङ्गलादेश राष्ट्रवादी दल (बीएनपी) मा इस्लामिक अतिवादको प्रभाव रह्यो । हसिना अतिवादी इस्लाममाथि नियन्त्रण चाहन्थिन् । उनी आम इस्लाम र हिन्दुलाई समान व्यवहार गर्ने तथा अतिवादी मुस्लिम गतिविधिलाई निस्तेज गर्ने पक्षमा थिइन् ।
हसिनाको यो चौथो कार्यकाल थियो । लामो कार्यकालमा तल्लो तहमा स्वाभाविक बढ्दै गएको असन्तुष्टि नियन्त्रण गर्न उनी असमर्थ थिइन् । असन्तुष्टि तल्लो तहदेखि नै थियो । त्यसलाई सम्बोधन गर्ने भन्दा चुनावी हथकन्डा अपनाएर सत्तामा रहने उनको अभिलाषा ७ जनवरीकै निर्वाचनमा सफल पनि भएको थियो । विपक्षीहरूले निर्वाचनको निष्पक्षतामा शङ्का गर्दै चुनाव बहिस्कार गरेपछि उनका लागि बाटो खुला भएको थियो ।
अहिले आरक्षणका कारण भएको आन्दोलनले बिस्फोटक रूप लिएको पक्कै हो । तथापि त्यो एक्लो र पहिलो कारण भने पक्कै होइन । अरब क्षेत्रको घटना र बङ्गलादेशका परिस्थिति धेरै हदसम्म मिल्दा थिए । लिबिया, ट्युनेसिया, सिरिया र इजिप्टमा पनि सत्ताको विरुद्धका आक्रोश देखिएको थियो । त्यसै संरचना भएको बङ्गलादेशमा पनि सत्ताको विरुद्धको आक्रोश त्यत्तिकै छ ।
विद्रोही भाव विस्फोट हुने क्रममा सरकारी जागिरमा आफ्नो उपस्थितिको सम्भावना नदेखेका समुदाय एकै पटक सडकमा उत्रिएका थिए । अतिवादी इस्लामिक गतिविधि बढी रहेको समयमा त्यहाँको सत्ताले सम्बोधन नै गर्न सकेन । सत्ताले त उनीहरूलाई हाबी हुन दियो, न त नियन्त्रण नै गर्न सक्यो ।
महत्त्वाकाङ्क्षा बढ्दै गएको बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिइरहेको छ । त्यो ऋणको व्यवस्थापनमा असफल भयो भने देशको अर्थतन्त्र एकै पटक सङ्कटमा पनि पर्न सक्ने छ । बङ्गलादेशमा अहिले आइपरेको सबैभन्दा कठिन चुनौती नै त्यही हो
बङ्गलादेशको भारत, पाकिस्तान र नेपालसँग भविष्यमा सम्बन्ध कसरी अघि जान्छ- अनिश्चित नै छ । अहिले दक्षिण एसियामा सीमा विवाद छ । लद्दाखमा पनि छ । त्यो विवाद चीन र भारतको पनि छ। बङ्गलादेश निष्पक्ष रहन्छ या कतै ढल्किन्छ भन्ने पनि निश्चित छैन । बङ्गलादेशले लिने बाटोले सिङ्गो दक्षिण एसियालाई प्रभाव पार्ने त निश्चित नै छ ।
बङ्गलादेशको अर्थतन्त्रमा ५ ट्रिलियन अमेरिकी डलर चलायमान छ । तर, त्यसले त्यहाँको नागरिकलाई पूर्ण सन्तुष्टि दिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । नागरिकले त्यो अर्थतन्त्रमा आफ्नो उपस्थिति खोजेको छ । व्यावहारिक रूपमा स्वामित्वको महसुस गर्न चाहेको छ । त्यो अर्थतन्त्रमा स्वामित्वको महसुस नहुने समुदाय नै सरकारको विरुद्धमा अहिले पनि सडकमा थियो ।
जुन समय हसिनाको निर्वाचनमा विजय हात पारेकी थिइन् । सो समयमा विपक्षी दलले त विरोध गरेका थिए नै ! राज्यका केही निकायले पनि त्यसलाई अस्वीकार गरेका थिए । मध्य जुलाईमा आन्दोलन चर्किरहँदा उनको दलको भातृ सङ्गठन छात्र लिगलाई प्रयोग गरिएपछि यसले गरेको दमनले आन्दोलन मात्र चर्काएन, सुरक्षा निकायलाई क्षुब्ध पनि बनाएको थियो । यसरी चर्किएको आन्दोलनमा यसै साता १४ जना प्रहरी अधिकारी समेत मारिए ।
बङ्गलादेशमा इतिहास फेरि दोहरिएको छ । बाबु मुजीवर रहमान १९७१ मा सत्तामा पुगेका थिए । ४ वर्ष पछि मारिए । अहिले उनको सालिक तोडफोड मात्र भएको छैन, उनको नाममा स्थापित सङ्ग्रहालयमा आगजनी नै भएको छ । प्रधानन्यायाधीशमाथि पनि आक्रोश थपिएको छ । सन् १९७० र १९८० मा पनि सैन्य हस्तक्षेप भएको बङ्गलादेशमा त्यही नियति दोहरिएको छ ।
बङ्गलादेश राष्ट्रसङ्घमा सबैभन्दा धेरै सेना पठाउने देश मध्येको हो । यो घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा, राष्ट्रसङ्घकै नजरमा बङ्गलादेशमाथि कस्तो असर गर्छ यसै भन्न सकिने छैन ।
हसिनाले आगामी दिन बिताउने स्थान अनिश्चित छ । भारतमा थुप्रै समस्या छन् । बेलायत पनि हसिनाका लागि सहज छैन । उनकै १५ वर्षे शासन कालमा थुप्रै बीएनपी समर्थक देश छाडेर बेलायत पुगेका छन् । यसले नै बेलायतमा एउटा समस्या थपेको छ
अहिले मानव अधिकारको सवालमा बङ्गलादेश बदनाम छ । ३२ जना बालबालिकाको ज्यान गएको विषय युनिसेफले उठाइसकेको छ । धेरैले सन् २००० को समय सम्झना गरेका छन् । त्यसै समयमा अन्तरिम सरकारले देश चलाएको थियो । प्रजातन्त्र पुनःस्थापना पनि भएको थियो ।
बङ्गलादेश मुस्लिम बाहुल्य मुलुक हो । यसको मतलब यो होइन कि अतिवादी इस्लामको सङ्ख्या अत्यधिक छ । इस्लाममा आधारित दलले अधिकतम १० प्रतिशत भन्दा बढी मत पाएको इतिहास छैन । सामान्य रूपमा ५ या ६ प्रतिशत मत पाएको इतिहास छ । यसबीच अतिवादी इस्लामिक सङ्गठनका कारण धेरै सशङ्कित हुनु नै हसिनाको मुख्य गल्ती भएको धेरैको ठहर छ ।
अहिले बङ्गलादेशभित्र भारतको लगानीमा व्यापारिक कोरिडोर निर्माण भएको छ । यो घटना क्रमले सो कोरिडोरको उपयोगितामा समेत केही गम्भीर प्रश्न उब्जिएको छ ।
मूल रूपमा बङ्गलादेशको भविष्यबारे केही प्रश्न उठेका छन् । इस्लाम प्रभावित भए पनि बङ्गलादेश बहुभाषिक भएको कुरा नकार्न मिल्दैन । इस्लामप्रति बढी लचिलो भएको बीएनपीको सत्तामा प्रभाव भए त्यसले धार्मिक सहिष्णुतामा पर्ने असर पहिलो चासो हो । बढ्दै गएको अर्थतन्त्रको आकारबीच सीमान्तकृत समुदायका लागि हसिनाले धेरै कार्यक्रम अघि सारेकी थिइन् । ती कार्यक्रमहरू के हुन्छन् भन्ने अर्को चासो हो ।
दक्षिण एसियाका अन्य देशको जस्तै सामाजिक र वर्गीय संरचना बङ्गलादेशमा पनि छ । महत्त्वाकाङ्क्षी र राजनीतिमा बढी चासो दिने मध्यम वर्गले फेरि सबै कुरामा चित्त बुझाउन सक्छ या सक्दैन ? यसले पनि बङ्गलादेशको भविष्य तय गर्नेछ ।
त्यत्ति मात्र होइन: अन्तर्राष्ट्रिय सम्बन्ध अर्को अनिश्चित विषय हो । त्यसो त अहिले संसार नै एकातर्फ ध्रुवीकरणमा गएको छ भने केही नेताले सन्तुलित रूपमा आफूलाई प्रस्तुत गर्न चाहेका छन् । दक्षिण एसियाको भू-राजनीतिमा बङ्गलादेशको उपस्थिति अर्को बाटो हो ।
हसिनालाई भारत निकटस्थ भएको आरोप लगाइएको समयमा विगतमा युद्धबाट भिन्न भएको पाकिस्तानसँगको सम्बन्ध पनि बङ्गलादेशका लागि पक्कै सहज होइन । सेनाले फेरि निर्वाचन र शान्ति स्थापना गर्छ या गर्दैन ? त्यो अर्को चासो हो ।
देश छाडेकी हसिनाले विज्ञप्ति जारी गरिसकेकी छैनन् । आन्दोलन चर्किंदै गर्दा ढाकामा सत्ता, सेना, कर्मचारीतन्त्र र विपक्षी राजनीतिक दलहरूबीच के कस्ता रस्साकस्सी भएको थियो भन्ने विषय खुल्दै जालान् ।
तर, संसारका धेरै देशमा आर्थिक अवन्नतिले विद्रोह भएर सत्ता ढलेका छन् । बङ्गलादेशमा समृद्धि उन्मुख भएको समयमा वितरण प्रणालीमा असन्तुष्टि रहेका कारण सत्ता ढलेको छ । सायद यो संसारमै विरलै हुने घटना हो ।
(स्रोत : फरेन पोलिसी,भक्स, एबीपी)
प्रतिक्रिया