समाचार

तीन एआइजीको सरुवा : को कहाँ पुगे ?

By खबरहब

August 06, 2024

काठमाडौं– मन्त्रिपरिषद्‌ बैठकले नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गरेको छ ।

मङ्गलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले एआइजीत्रय दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीलाई सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकमा बलिया दाबेदार मानिएका एआइजी दीपक थापालाई उपत्यका प्रहरी प्रमुखबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा सरुवा गरेको छ ।

सीआइबी प्रमुख श्यामलाल ज्ञवालीलाई प्रदेश समन्वय ब्यूरो र किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रमुख बनाउने निर्णय मन्त्रिपरिषद्‌ बैठकले गरेको हो । यसअघिका एआइजी उमेशराज जोशीले अनिवार्य अवकाश लिएपछि प्रदेश समन्वय ब्यूरो प्रमुख पद रिक्त थियो ।

सरकारका प्रवक्ता एवम्‌ सूचना प्रविधि तथा सञ्‍चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका जानकारीअनुसार रामदत्त जोशी कार्य विभागमा पदस्थापन भएका छन्‌ ।