मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक | Khabarhub Khabarhub

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ। मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ। व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन्।

जनकपुरधामको पेठिया बजार, जानकी चोक, राममन्दिर तथा बाह्रबिघा रङ्गभूमि मैदान क्षेत्रमा किनमेल गर्नेको भीड देखिएको थियो।

यसका साथै ग्रामीण क्षेत्रका बजारहरूमा पनि किनमेल गर्नेको अत्यधिक भीड देखिएको थियो। चौरचनमा प्रयोग हुने माटाको भाँडावर्तन एक साता अगाडि नै किनेका भए पनि फलफूल तथा अन्य पूजाका सामग्री आजसम्म किनमेल गरिने भएकाले बजारमा भीड बढेको हो।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ। मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगत्लाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ। यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ। मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन्।

चौरचन पर्वका दिन व्रत बस्ने चलन छ। यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन्। “खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। सो क्रममा नयाँ माटोको भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ”, कापडीले भने।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउँछन्। प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ। फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ। दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ।

पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ।

जनकपुरधाम उपमहानगरपालिका–४ की ज्योतिदेवी झा झण्डै एक दशकदेखि यो व्रत बस्दै आएका छन्। उनका अनुसार चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ। साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुने झा बताउनुहुन्छ। मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने परम्परा रहिआएको छ।

चौरचन पर्वको महत्त्व

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद् डा. राजेन्द्र बिमलले बताए।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ। यो वास्तवमा चन्द्रमाको पूजा हो। भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ।

पर्वको प्रारम्भ

मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वको प्रारम्भबारे प्रमाणिक तथ्य केही उपलब्ध छैन। जसरी यो समाजले आफ्नो आवश्यकता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे। त्यो कतै अभिलेखका रूपमा पाइँदैन।

मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिषशास्त्रकै ऋचाजस्तै स्वीकार गरिएका छन्। कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो। आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ।

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको सुन्दर सदनका बाबा नबल किशोर बताउँछन्। उनका अनुसार श्रीकृष्णलाई यसै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक महत्त्व पनि स्थापित भएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ७ : ०८ बजे

जनताको अवस्था बदल्न दृढताका साथ अघि बढौँ : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं– आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी