पात्रोको दशैं, छाप्रोको दशा | Khabarhub Khabarhub

पात्रोको दशैं, छाप्रोको दशा



बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन
दाहिने दुर्गा अक्षता राता जमरा सुवर्ण
वर र पर घरौंले माइती मामा र ससुरा
पर्वको राजा रमाइलो चाड आइपुग्यो दशरा।
मेघदूतको यो पंक्तिले दशैंको छनक दिइसकेको छ। न जाडो, न गर्मीको शारदीय मौसमसँगै दशैं भित्रिएको छ। चाडपर्व एउटा खुसी हुने एउटा सुन्दर बहानाबाजी पनि हो। दशैंमा मीठो खानु र राम्रो लाउनुको मीठास अवर्णनीय छ। मुखमा दाँत नहुनेहरु यसबेला हड्डी चपाएको ती दिनको ‘नोस्टाल्जिक’मा रौसिन्छन्। यही मनोविज्ञानलाई साकार पार्न सरकारले नयाँ नोटको भण्डारा लगाउँछ। नयाँ कपडा, नयाँ नोटको बासना र खान्कीको बान्कीले नेपालीभित्र भिन्दै अतृप्त रहर भर्छ।

सरकारी कार्यालय जानोस, काम हाप्न शुरु भइसक्यो। स्कुलमा आग्लो लागिसक्यो। चेलीले माइती घुक्र्याउन थालेका छन्। घरदेशीहरु परदेशीसँग गौंथलीको बच्चाले चारो मागेको भावमा फर्माइस थालिसके। दशैंका लागि किताबदेखि सोमरसका पाने र सितनका प्रसंग छेडखानी शुरु भइसक्यो। विमानस्थलदेखि बसपार्कसम्म धुइरो बढ्न थालेको छ। दशैं यस्तो पर्व हो, छटपटीभित्र आनन्द छ।

दशैंका लागि किताबदेखि सोमरसका पाने र सितनका प्रसंग छेडखानी शुरु भइसक्यो। विमानस्थलदेखि बसपार्कसम्म धुइरो बढ्न थालेको छ। दशैं यस्तो पर्व हो, छटपटीभित्र आनन्द छ।

आँसुभित्र हाँसोको खोजी छ। असन्तुष्टिमा तृप्तिको ढाड्स छ। बाढीपहिरोले बगाएको त्रासदीभित्र पनि सिङ्गो भविष्यको आशा छ। परदेशीसँग घरदेशको छटपटी छ। घरदेशीसँग ममताको भोक छ। दशैं छ र नै त सपना छन्। त्यही सपनाले जिजीविषाको घर बनाउँछ। दशैं परिवार, समाज, अर्थतन्त्र, समाजशास्त्र, सन्तुष्टि सबैको एकमुस्ट अनुहार हो। अझ भनौं दशैं एउटा सामाजिक सलाद हो, यसभित्र सबैको सहअस्तित्व लुकेको छ। आँप, अम्बा, सुन्तला जो हाँगामा फल्छन, प्रशंसा र स्याहार पाउँछन्। आलु, मुला जो माटोमुनि फल्छन्, जरैदेखि उखेलिन्छन्। हेर्नुस त चराहरु कहिल्यै एकअर्काको पखेट लुछ्दैनन, तिनीहरु पंक्तिवद्ध भएर संगै उँड्छन्।

सर्वत्र असन्तुष्टि छरपस्ट छन्। अतृप्त चाहनाको संवेगले मानिस आफैंसँग चिडचिडाहट बाँचेको छ। विरामीसँग डाक्टर बिच्किएको छ। उध्रिएको जिन्दगी सिलाउँदा सिलाउँदै सियो हराएकाहरु आर्तनाद गरिरहेका छन्। नेतासँग कार्यकर्ता पड्किएको छ। जन्ती-मलामीमा अन्तरघुलित छिमेकीको साइनो एक अर्कालाई बिझाएको छ। पहिला परिवारको बागडोर बाको हातमा थियो, अहिले परिवारको कान्छो सदस्यको रहर, लहडमा परिवार चल्छ।

६ दशकअघि आफैंले जन्म दिएको सन्तानसँग अंशवंशको ठाकठुक परेपछि बाउले भन्छ- ‘बल्ल तँलाई चिनेँ।’ एउटा बाउले सन्तान चिन्न त पाँच दशक बिताउनुपर्छ भने यहाँ कसले कसलाई चिन्ने र विश्वास गर्ने भन्ने प्रश्न सधैं जीवित रहन्छ। त्यो ठाकठुक र ठासठुसबीच समझदारी खोज्ने साइत हो- दशैं।

पाकाहरु भन्छन्– ‘फाटेको बादल मात्र राम्रो हो।’ हो, दशैंको माहोलले सबैभन्दा पहिले बादल फटाउँछ। चराहरुका कोकिल आवाजले वातावरण झंकृत बन्छ। हिमाल दन्तलहर खोल्छन्। सुनौलो धानखेतमा प्रकृति रमाउँछ। मानिसका आशा पाखा भित्तामा नाच्छ। जहाज उडाउने पाइलट चंगा उडाउँदा अझ बढी खुसी हुन्छ। भित्ताको पात्रोले समेत रंगीन कोलाजमा दशैंको रातो कार्पेट बिछ्याउँछ। पहिला पहिला पहेंलपुर काँक्रो थाङ्ग्रोमा रमाउँथ्यो।

दशैंको माहोलले सबैभन्दा पहिले बादल फटाउँछ। चराहरुका कोकिल आवाजले वातावरण झंकृत बन्छ। हिमाल दन्तलहर खोल्छन्। सुनौलो धानखेतमा प्रकृति रमाउँछ। मानिसका आशा पाखा भित्तामा नाच्छ। जहाज उडाउने पाइलट चंगा उडाउँदा अझ बढी खुसी हुन्छ। भित्ताको पात्रोले समेत रंगीन कोलाजमा दशैंको रातो कार्पेट बिछ्याउँछ।

टाट्नामा बाँधिएका खसीबोकाको दृश्यले दशैं बोलाउँथ्यो। घरलौरी चाहारेर गाउँका पारखीहरु मासु धार्नी, बिसौली अडकलमा रमाउँथे। बाटो सिंगार्ने प्रतिस्पर्धा चल्थ्यो। लिङ्गे र रोटेपीङमा मानिसका रहर फुल्थे। कुन घरमा जेठो, माइलो, साइँलो, अन्तरे भित्रियो भन्ने लेखाजोखा गाउँले राख्थ्यो। राम्रो लाउनु र मीठो खानुबीचको प्रतिस्पर्धा बेग्लै थियो। जेठो बुढो चामलको बखानले अर्कै महत्त्व पाउँथ्यो। नयाँ लुगा आङमा नहालेसम्म टीकाको साइत खुल्दैनथ्यो।
नारायणगोपाल, धर्मराज थापा, लालबहादुर गन्धर्व, नारायण रायमाझी, बमबहादुर कार्की, हरिदेवी कोइरालाजस्ता स्वनामधन्य कलाकारहरुले संगीतका माध्यमबाट सरसपूर्ण बनाउँथे। त्यो दशैंमा भक्तिभावपूर्ण समर्पण थियो। अहिले त सबै रहर सामाजिक सञ्जालमा कैद भएका छन्। चुरा बजाउँदै आमाले पकाउने खाना मृगतृष्णा बनेको छ। डाइपर र टोप भीसाले आमाबा, भाउजु, आन्टीहरुको रहर खोसेको छ।

धानखेत भन्दा विदेशका उदेकलाग्दा दृश्यमा आमाहरु भुलेका छन्। यता छोडिएका आमाबा घरको दलिन गनेर बसेका छन्। सन्तानका हातबाट गंगाजल खाएर परत्रको बाटो सपार्ने अभिभावकको इच्छा अपूर्ण बन्दै गयो। नायग्रा फल्स, गोवा, पट्टाया, आइफेल टावटर, सिड्नीको ओपेरा हाउस, न्यूर्योकको स्क्वायर सिटी, स्ट्याचु अफ लिबर्टी, बेलायतको पुलका बखानका अगाडि नेपालका दुःख ओझेलमा परे।

पहिला पहिला आमा बाको मुख हेर्न सन्तान धाउँथे। अहिले सन्तानको मुख हेर्न आमा बा धाउनु परेको छ। यी सबै यथार्थ पन्छाएर हातमा होस या पातमा दशैं त दशैं नै हो। मानिसको जीवन झर्नाजस्तै हो। परबाट हेर्दा कन्चन देखिए पनि ढुंगासंग पौंठेजोरी खेल्दाको पीडा त त्यो पानीलाई नै थाहा हुन्छ। दशैंले दुखको सागरबाट छिनभरकै लागि भए पनि पार लगाइ दिन्छ। दशैं धेरै नेपालीका लागि एउटा साझा बिसौनी हो। माया जोड्ने सुपरग्लू हो। यिनै चाडपर्व छन् र नै त कर्तव्य जीवित छन्। त्यही कर्तव्य लीगमा अनुशासन हिँडेको छ।

दशैंले दुखको सागरबाट छिनभरकै लागि भए पनि पार लगाइ दिन्छ। दशैं धेरै नेपालीका लागि एउटा साझा बिसौनी हो। माया जोड्ने सुपरग्लू हो। यिनै चाडपर्व छन् र नै त कर्तव्य जीवित छन्। त्यही कर्तव्य लीगमा अनुशासन हिँडेको छ।

सानाले ठूलाबाट लिने आर्शिर्वादभित्र एउटा सिंगो समय छ। एउटा छिप्पिएको समयले कलिलो समयलाई लक्ष्मणरेखाको ज्ञान गराउनु दशैंभित्र लुकेको अतुलनीय, अवर्णनीय शाश्वत पाटो हो। मंगल धूनसंगै बीस सय आयुका लागि गरिने कामना आफैंमा ठूलो कमाई हो। अघिल्लो वर्ष दीर्घ जीवनको कामना गर्दै अक्षता लाइदिनेहरु अहिले इतिहास भएका छन्। दशैं त्यसै दशै भएको होइन। साहु दशैं तेस्र्याएर ऋण उठाउन तम्सिन्छ। आसामी दशैं निहुँ बनाएर उम्किने बाहना खोज्छ।

प्रविधिको प्रतापले के गाउँ, के शहर, के घरदेश, के परदेश सबै ठाउँ एकाकार भएको छ। खीर, कुराउनी, चाम्रेलाई गाउँघरसम्मै पिजा, बर्गर, स्याण्डवीचले विस्थापित गरिसकेका छन्। अब मासु हैन चिकेन, मटन, पोर्कका भेराइटीले सर्वत्र घर गरिसकेका छन्। शहरका चोक गल्ली मात्र होइन गाउँका पाखापखेरासमेत पानीपुरीका लागि किशोरकिशोरीको उदेकलाग्दो भीड देखिने गरेको छ। युट्युवमा हेरेर कपाल काट्ने, लुगाको डिजाइन छान्ने पुस्ता हावी हुन थालिसकेको छ। अब धेरै नौ जवानका लागि देश आमा नभएर रहर फुलाउने ट्रान्जिट भएको छ।

कर्म नभई भाग्य फुलाउने रहरले भाषणमा जति आत्मनिर्भर देखिन्छ, भोगाइमा भने मुलुक भारत र चीनको शोरुम बन्दै गएको छ। दशैंमा जसले जसलाई जति आशिर्वाद दिए पनि ढर्रा फेरिएन। बाउको आर्शिर्वाद लिएर मुन्टो हल्लाए पनि आफ्ना बा आमा जस्तो इमानी हुने साहस सन्तानले देखाएनन्। पहिला गाउँमा साना घरभित्र धेरै सदस्य थिए। पर्खाल बन्दिलो थिएन, एकताको साङलो प्रवल थियो। सानो ढोकाभित्र निहुरिएरै धेरै मान्छे छिर्थे। अहिले शहरमा ठूला ढोका छन् तर छिर्ने मान्छे छैनन। आफ्नैसँग हार्दिकता छैन। अब धेरै कुर्न पर्दैन टीका, आर्शिवाद भिडियोबाट दक्षिणा ‘डिजिटल पे’बाट भुक्तानी भएको खबर आउने छ।

पहिला पहिला थोरै आयस्ता, थोरै प्राप्तिबाट धेरैको सदिच्छा पूरा गर्नुपर्ने बाध्यता थियो। घुँडा टालेको मयलपोस सुरुवाल लगाउने बाउले एक दर्जन सन्तानको व्यवस्थापन गर्थे। जात्रामा मजेत्रो पाएका साइँली, काइँलीले दशैंको भाग पाउँदैनथे। तीजमा धोती जुरेका हजुरआमा, आमा र काकीका लागि दशैं आउँदैनथ्यो। दशैंमा जसले जुत्ता र कमिज पाउँथे, तिनीहरुका भागमा जाडो छल्ने खद्दरका बाक्ला कमिजसँग भेटघाट हुँदैनथ्यो। जेठा, माइला दाइले सानै उमेरमा बाउन्न लात, त्रिपन्न ठक्कर खाएर घर व्यवहारमा बाउसँगै साझेदार बन्नु पर्थ्यो।

घरैपिच्छेको सामाजिक अर्थशास्त्र यही थियो। आमाले भाग लगाएर दिएको हरेक चीज भगवानको प्रसादजस्तो हुन्थ्यो। घरभित्रको अनुशासन समाज हुँदै राज्यमा फैलिएको थियो। विकृति संस्कृति बनाउने दुष्प्रयास हम्मेसी कसैले गर्दैनथ्यो। अहिले ‘जिन्दगीको मेनू’ नै फेरिएको छ। न मीठोले कोही सन्तुष्ट हुन्छ, न राम्रोले कसैलाई फ्रेस बनाउँछ। दुख रोपेर सुख खोज्ने विडम्बनापूर्ण पात्र बन्दैछ मान्छे।

यो कली हो यहाँ कसम खानेले नभई रक्सी खानेले साँचो बोल्छ, नोट देख्दा सबै अघि सर्छन्, चोट देखेपछि पछि सर्नेको जमात गनी साध्य हुन्न।

अझ यो कली हो यहाँ कसम खानेले नभई रक्सी खानेले साँचो बोल्छ, नोट देख्दा सबै अघि सर्छन्, चोट देखेपछि पछि सर्नेको जमात गनी साध्य हुन्न। मन दुखाएर होइन, मन बुझाएर कटाउनु पर्छ समय। बच्नुपर्ने सानोतिनो गल्तीबाट नै हो, मान्छे पहाडसँग नभएर ठोक्किने ढुंगासँग हो। अन्ततः बुझ्नुपर्ने सत्य के भने हामी सबै यो पृथ्वीको पाहुना हो, मालिक होइन। निधारमा के लेखिएको हुन्छ नभोग्दासम्म कसैलाई थाहा हुन्न।

हाँसेको आफ्नै तस्वीर हेरेर हरेक रात रुनुपर्ने पात्र यही धरामा भेटिन्छन्। स्कुलको परीक्षा जस्तो हुँदैन जिन्दगीको परीक्षा। यसलाई घोकेर नभई सोचेर हल गर्नुपर्छ। राम्रो दिनको प्राप्तिका लागि नराम्रो दिनसँग लड्नुपर्छ। भाग्यको किताबमा लेखिएका धेरै पाना जिन्दगीले च्यातिदिन्छ। आखिर जिम्मेवारीको बोझ, परिवारको सोच र धनको खोजमा मानवयात्रा सकिने रहेछ। भनिन्छ- ‘पसिना र आँसु कहिल्यै झुटो हुन सक्दैनन’ किनकी पीडा नभई आँसु झर्दैन र दुख नगरी पसिना बग्दैन। मान्छेले घर बदल्छ, साथी बदल्छ तर पनि दुखी नै हुन्छ किन थाहा छ ? उसले आफूलाई बदल्न सक्दैन।

अरु त अरु रेशम किरोले समेत मानिसको आङ ढाकिदिएर अमर हुने काम गर्छ। कमिलाले मेहनत सिकाउँछ। कुकुरले स्वामीभक्तिमा कदाचित गद्दारी गर्दैन। शक्तिशाली भएको दम्भमा बाघले हप्ता त के भोलिका निम्ति पनि आहारा सञ्चय गरेको थाहा छैन। निरीह प्राणी भ्यागुतो र मृगपछि नै प्रकृतिले सर्प र बाघको निर्माण गरेको हो। प्रकृतिको सरल व्याकरणभित्र नेपाली मनोदशा विचित्र खालको छ।

जुनसुकै शासक आएपनि उसका दुखान्त कथा पढ्नु नयाँपुस्ताको नियति बन्दै आएको छ। हामी नेपालीकै जीन नै आँसुमा डुब्न शोख मान्ने हो कि जस्तो भइसक्यो। सधैं एक्लो दुखमा रमाउने पुस्तौनी विशेषता बन्दै गयो। बटुवाले एक गिलास खानेपानी माग्दा ‘छोरीको पेवा’ भनेर दिन इन्कार गर्ने गाउँमा आज घरघर पानी पुगेको छ। आज गाउँमा पीङको लट्ठा बनाउन एकजुट हुने त्यही समाज हिजो धारा बनाउन खटेको भए काकाकुल भएर कुनै पुस्ताले बाँच्नु पर्दैनथ्यो। गफ धेरैथोरै होला रे, पानीको स्रोत त घटीबढी हुन्न नि। कसैले एक थोपो पानी बनाउने सामर्थ्य राख्दैन। यो त रिचार्ज हुने वस्तु हो। जब घोडाभन्दाअघि बग्गीको साम्राज्य बढ्छ, त्यसबखत नीति फन्टुस बन्दै जान्छ। उनीहरुलाई थाहा हुन्न कि मुकुण्डो लगाएर अनुहारको आवरण छोपिँदैन। जो जहाँ जस्तो अवस्थामा भएपनि दशैंको सगुन सबै सबैका लागि फाप्य रहोस्।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ९ : १६ बजे

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा