राजनीति

प्रचण्डको दाबी- मैले रविलाई क्लीन चिट दिएको छैन

By खबरहब

October 06, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको बताएका हुन्  ।

लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले बताए । प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने जिकिर गरे। लामिछानेलाई क्लीन चिट दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको उनको भनाइ छ ।

त्यस्तै प्रचण्डले सहकारी छानबिनको समिति गठनको विपक्षमा रहेका केपी ओली नै अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको धारणा राखे ।

आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेलाई गलत ढंगले क्लीन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले बताए । त्यस्तै प्रचण्डले अहिले जनताको बीचमा जाने राम्रो आधार बनेकाले अव एक्लै चुनाव लडेर जित्ने दाबी गरे ।

उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफूहरू बाढीपहिरोपीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनको भनाइ छ ।