समाचार

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

By खबरहब

October 06, 2024

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर खसीबोका र च्याङ्ग्रामा १०/१० रुपैयाँ छुट दिएर आइतबारदेखि बिक्री खुलाएको छ । कम्पनीले चाडपर्वका लागि भन्दै भित्र्याएको १५०० खसीबोका र ३०० च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

कम्पनीले चाडपर्वका बेला उपभोक्तालाई सहुलियतस्वरुप खसीबोका र भेडाच्याङ्ग्राको बिक्री खुलाएको हो । कम्पनीले भित्र्याएका खसीबोका जिउँदोको मूल्य प्रतिकेजी ६७० रुपैयाँमा १० रुपैयाँ छुट दिएर बिक्री गरेको छ । त्यस्तै, मुस्ताङको च्याङ्ग्रा प्रतिकेजी १२३० रुपैयाँमा १० रुपैयाँ छुट दिएर बिक्री भइरहेको छ ।

अर्थात्, कम्पनीले छुटपछि खसीबोका ६६० रुपैयाँ प्रतिकेजी र च्याङ्ग्रा १२२० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्दै आएको हो ।

त्यस्तै, सहुलियतसँगै निजी व्यापारीहरूले पनि खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेका छन् । काठमाडौं उपत्यकाका खसी बजारहरुमा व्यापारीहरूले खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरिसकेका छन् ।

चौपाया बिक्री संघका अनुसार, यसपाली निजी व्यापारीहरूले दशैंका लागि ४१ हजार खसीबोका काठमाडौं भित्र्याउँदै छन् । ती खसीबोका विभिन्न खसी बजारमा व्यापारीहरूले बिक्रीका लागि भित्र्याएका हुन् ।

दशैंका बेला मासु खाने परम्पराका कारण खसीबोका तथा च्याङग्राको कारोबारसमेत बढी हुने गर्छ । आम उपभोक्ताले दशैंका लागि खसीबोका खरिद गर्ने र मासु खाने गर्छन् । यसपालिको दशैंमा भने खाद्य कम्पनी र बाहिर व्यापारीबाट खरिद गर्ने खसीबोको मूल्य उस्तै-उस्तै पाइएको छ ।

खाद्य कम्पनीले १० रुपैयाँ छुट दिएर खसीबोका प्रतिकेजी ६६० रुपैयाँमा बिक्री गरेको छ । उता, खसीबजारमा पनि खसीबोकाको मूल्य निर्धारण भई लोकल खसी ६६० देखि ६९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । बाहिर बजारमा व्यापारीबाट किन्दा र छुट लिएर किन्दा पनि मूल्य उत्ति नै पर्ने गरेको छ ।

खसीबोकाको मूल्य उस्तै भए पनि मुस्ताङको च्याङ्ग्रामा भने खाद्य कम्पनीबाट किन्दा ८० रुपैयाँ सस्तो हुने देखिएको छ । कम्पनीले  च्याङ्ग्रामा १० रुपैयाँ छुट दिएर १२२० रुपैयाँ प्रतिकेजीमा बेचेको छ भने खसीबजारमा व्यापारीहरूले च्याङ्ग्रा भने केही १३०० रुपैयाँ प्रतिकेजीमा बेचिरहेका छन् । बाहिर व्यापारीहरूबाट च्याङ्ग्रा किन्नुभन्दा खाद्य कम्पनीबाट खरिद गर्दा ८० रुपैयाँ सस्तो हुन गएको देखिन्छ ।

विगतका दशैंमा जस्तो खसीबोकाको बिक्री त्यति नभएको व्यवसायीहरूको गुनासो छ । ‘यसपाली खसीबोकाको कारोबार त्यति छैन, उपभोक्ताहरू पनि विगतका दशैंमा जस्तो खसी किन्न आउनुभएको छैन ।’ काभ्रेका खसीबोका व्यापारी सोभित लामाले भने । उनी दैनिक काभ्रेलगायतका जिल्लाबाट खसीबोका खरिद गरी ठुकुचास्थित खसीबजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । आइतबार ठुकुचास्थित खसीबजारमा खसीबोका खरिद गर्नेहरूको भीड भने लागेको थियो ।

खसीबजारमा खसीबोका किन्ने र व्यापारीको मोलमोलाइ भइरहेको थियो । तर, व्यापारीहरूले भने सन्तोषजनक रुपमा खसीबोकाको बिक्री नभएको गुनासो गरेका थिए । ‘दशैंमा बढी मासुको खपत हुने गरे पनि यसपाली खसीबोका बिक्री गरेर नाफा गर्न सकिने अवस्था छैन ।’ उनले गुनासो गरे ।