पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती « Khabarhub

पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

धरान– छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।

उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन, स्थानीय उत्पादनलाई बजार  पुर्‍याउन  कठिन भएको स्थानीयको गुनासो छ । 

स्थानीय गम्बरसिंह राईले पुलको काम ढिलासुस्ती हुँदा भोजपुरका बासिन्दाले धेरै दुःख पाइरहेको गुनासो गरे। उनले भने, ‘धरान जोड्ने सबैभन्दा छोटो बाटो हिँड्न यही पुल नबन्दा समस्या भएको छ । पुल बन्यो भने भोजपुरका बासिन्दालाई हरेक कुरामा सहज हुन्छ ।’

यहाँका बासिन्दाका लागि स्वास्थ्योपचार, अध्ययनका लागि, आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्न, दैनिक आवश्यक सामान किन्ने प्रमुख बजार धरान रहेको राईले बताए । ‘चुहारमा पक्की पुल बनेपछि घोडेटारबाट चतरा हुँदै धरान पुग्न ५९ किलोमिटर यात्रा गर्नुपर्छ’, उनले भने, ‘अहिले घोडेटार बजारबाट भोजपुर सदरमुकाम–धनकुटा हुँदै धरान पुग्न करिब दुई सय किलोमिटर यात्रा गर्नुपर्छ ।’ 

चुहारमा पुल निर्माण भए दक्षिणी भेगका हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिका तथा खोटाङको साकेला गाउँपालिकाका बासिन्दाका लागि धरान आवतजावत गर्न आधा दूरी छोटिने स्थानीय बताउँछन् ।

कोशी प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत २०७७ सालमा चुहार पुलको ठेक्का लगाएको थियो । विसं २०७७ असोज २६ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको उक्त पुल दुई वर्षभित्र अर्थात् २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग रु २१ करोड २३ लाख १२ हजार चार सय सातमा ठेक्का सम्झौता भएको थियो ।

तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि विसं २०७९ चैत ६ गते कोशी प्रदेशसभा सदस्य सिर्जना राई, पूर्वमुख्यमन्त्री शेरधन राई, यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जितेन्द्रकुमार कर्ण, ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुरप्रसाद कँडेललगायत सरोकारवालाबीच भएको बैठकले चारबुँदे निर्णय गर्दै विसं २०८० असोज १३ गतेसम्ममा काम सक्ने गरी तत्काल निर्माण अघि बढाउने सहमति भएको थियो । दोस्रो पटकको म्याद सकिँदा पनि निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयलाई आवागमनमा सास्ती भइरहेको छ ।

चतराको कोशी पुलबाट चुहारसम्मचुहारबाट घोडेटारसम्म गाडी कुद्न सक्ने कच्ची सडक बनिसकेको छ । पक्की पुल निर्माण नहुँदा पुरानो झोलुङ्गे पुलबाट स्थानीय ओहोरदोहोर गरे पनि गाडी वारपार गर्न सकिँदैन । धरानबाट कुनै समान भोजपुर लानु वा ल्याउनु परे झोलुङ्गे पुलमा भरियालाई बोकाएर तार्नुको विकल्प छैन । 

हाल धरानमा व्यवसाय गर्दै आएका भोजपुर हतुवागढीका रमेश थापाले चुहार पुल अलपत्र परेको विषयमा स्थानीय नेतादेखि मन्त्रीसम्म कुरा गर्दासमेत सुनुवाइ हुन नसकेको बताए। 

चुहारमा पुल निर्माण भए भोजपुरलाई धरानसँगै पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तयार हुन्छ । यसले भोजपुरको आर्थिक अवस्था सुधार गर्न र विकासका गतिविधि अघि बढाउन टेवा पुग्ने सप्तकोशी पुल नजिक होटल व्यवसाय गर्नु हुने सम्पत राईको धारणा छ ।

नब्बे मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुलको पिल्लर निर्माण आधा पनि सम्पन्न भएको छैन । पुलको पिल्लर निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधि खगेन्द्र विष्टले विभिन्न समस्याले निर्माण ढिलाइ भएको दाबी गरे। अहिले पनि पुलको पिल्लर वरिपरि पर्खाल लगाउने काम भइरहेको र पुनः म्याद थपिएपछि कामले गति लिने उनको भनाइ छ । 

पटकपटक पुलको अनुगमन गरेकी कोशी प्रदेशसभा सदस्य सिर्जना राईले ठेकेदारले रकमको अभावले पुलको काम रोकिएको जानकारी गराएको बताए । ठेकेदार सम्पर्कमै रहेको र रकम भुक्तानी हुने बित्तिकै काम सुरु गर्ने निर्माण कम्पनीको भनाइ रहेको उनले बताए।

चुहारमा पुल बनेपछि सुनसरी, उदयपुर, भोजपुरदेखि सङ्खुवासभाको किमाथाङ्कासम्म जोडिने भएकाले समग्र प्रदेशलाई फाइदा हुने प्रदेशसभा सदस्य राईले बताए। 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ०९ बजे

टीसीएलले सार्वजनिक गर्‍यो क्रिकेट प्रेमीका लागि साउन्डबार

काठमाडौं– टीसीएलले नेपाली बजारमा मोडेल एस५५एच र क्यू६५एच सार्वजनिक गरेको छ ।  हालको

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने

जेन-जी आन्दोलनमा तोडफोड भएका सिसिटिभी क्यामरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने    

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी

व्यवस्थित बन्दै कुलेश्वर फलफूल बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानरपालिकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलान गर्ने

काठमाडौंलाई एकपछि अर्को झट्का, तीन ब्याटर सस्तैमा आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेट अन्तर्गत चितवन राइनोजविरुद्ध