'दाहाल, देउवा र ओलीको उपयोगिता १५ वर्षअघि नै सकिएको हो' | Khabarhub Khabarhub

‘दाहाल, देउवा र ओलीको उपयोगिता १५ वर्षअघि नै सकिएको हो’


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

नेपाली राजनीतिमा प्रचण्ड प्रवृत्तिको बारेमा धेरै बहस गर्न आवश्यक छैन । उनको प्रवृत्ति बारे आम नेपालीलाई थाहा भइसकेको छ ।  तर राजनीतिमा जुन दलहरूको धेरै वर्षको इतिहास छ, जसले विभिन्न कालखण्डमा एक प्रकारको आन्दोलनको  नेतृत्व गरेका छन् र उनीहरूको सानो होस् वा ठूलो समाजको एक तप्कालाई प्रशिक्षित गरेका छन् ।

यस्तो मुलुकमा कुनै पनि पार्टीको नेता सधैँ ५० वर्ष सम्म निरन्तर राजनीतिको केन्द्रमा राखिरहन्छौँ । त्यस्तो राजनीतिमा कुनै नेताले अरु पार्टीसँग गठबन्धन गरेर हिजो हामीले संसदीय व्यवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो सानो पार्टीका दुई प्रधानमन्त्री भएको पनि देखेका थियौँ । र ठूला दुई दलमा हुने प्रतिस्पर्धाको फाइदा सानो दलले लिने अस्थिर राजनीतिमा सधैँ त्यो मौका भइरहन्छ ।

प्रचण्ड भनेको सधैँ एउटा सत्ता र शक्तिमा रहन जस्तोसुकै कर्म गर्ने प्रवृत्ति हो । उहाँमा कुनै विचार, सिद्धान्त र नैतिकता भन्ने नै छैन । त्यस्तो निर्लज्जताको पराकाष्ठा, समाजका सामाजिक र आर्थिक आधारहरूलाई थाम्न नसक्ने राजनीतिक नेतृत्व भएपछि  जस्तोसुकै अराजनीतिलाई पनि हामीले राजनीति भनिदिनु पर्नेछ  । जोसुकै अराजक र अवसरवादी नेतालाई राजनीतिक रूपमा चलाख भन्नु पर्नेछ । अनि जो जति झुक्न सक्छ,  जति झुक्क्याउन सक्छ र शक्तिमा टिक्न सक्छ, त्यसलाई कुशल राजनीतिज्ञ भन्नुपर्ने अवस्था छ । त्यसकारण यस्तो बेलामा राजनीति प्रति टिप्पणी गर्नु सुखद छैन ।

चेतना पुगिसकेपछि त्यसबाट फाइदा लिनुपर्छ भनेर चेतनाले उल्टो छलाङ लगाएको हो । हिजोको कुनै चेतना नभएको एउटा मूर्खता पूर्ण रूपमा  नेपाली समाजको विध्वंश गरेको हो । र त्यो  विध्वंशमार्फत् जुन वर्षात प्राप्त भयो अब त्यस मार्फत आफ्नो र परिवारको जीवनस्तर माथि उठाउने, मुलुक र जनताको जीवन बरबाद गर्ने भन्ने चेतना आयो  । यो चेतना हिजो पनि उल्टो थियो र आज पनि उल्टो छ ।

हिजो पनि मूर्खतापूर्ण कुरा थियो । त्यो अज्ञानताबस मूर्खता थियो वा उनीहरूको सैद्धान्तिक अज्ञानता वा कमजोरी भनेर मानौँ र आज त्यो विचारबाट राज्य दोहन, नागरिक दोहन मार्फत शक्ति सत्ता र  ऐसआराम सबै प्राप्त हुने रहेछ भन्ने भएपछि त्यो चेतनाले उल्टो छलाङ लगाउन थाल्यो । त्यसकारण न त्यो हिजो चेतना थियो, न आज छ । बरु आजको उन्नत चेतना भनेको राज्य दोहन बाहेक केही गर्न नसक्ने कुनै नेता जब सत्तामा आउँछ, उसको चेतना व्यक्तिगत स्वार्थमा लाग्छ  । अहिले देखिएको दुर्गतिको कारण पनि त्यही हो ।

हिजो पनि उनीहरू सानो ठग थिए, एक अर्कालाई सानो रूपमा हिंसा गर्ने थियो, अहिले त्यो राज्य स्तरमा पुग्यो । त्यही चरित्रको विस्तारित रूप अहिले हो । हिजो भयंकर नैतिक थियो, आज  अनैतिक भयो भन्ने हैन । हिजो नैतिक भएका मान्छेहरू सत्तामा जाँदा पनि नैतिक देखिएका छन् । कृष्णप्रसाद भट्टराई मनमोहनलगायतका मान्छेहरू जहिल्यै नैतिक नै रहे त ।

हिजो एउटा गठबन्धन गरेर भोट लिएर आउने बित्तिकै अर्को विजातीय गठबन्धन गरेको छ । ती नागरिक, मतदातालाई यिनले के जवाफ दिन्छन् ? हिजो कुनै विचार सिद्धान्त थियो भने त्यसले गलत गर्ने हैन रहेछ । हाम्रो जस्तै संसदीय राजनीतिक प्रणालीले बेलायत भारत लगायतका देशमा काम गरेको छ त ।

कम्युनिस्ट जस्तो विचारधाराले चीनमा काम गरेको छ । तर त्यही विचारधाराले कोरियामा काम गरेको छैन । त्यही विचारधाराले कयौँ देशहरू टाट पल्टिएका छन् । त्यसैले हामीले अभ्यास गरिरहेको संसदीय व्यवस्थामा कुनै विचारधाराले त्यो कम्युनिस्ट विचारधारा भए पनि  वर्तमान  प्रणाली अन्तर्गत यसैबाट काम गर्ने हो ।

त्यस कारणले यी कम्युनिस्ट, कांग्रेस लोकतान्त्रिक भए पनि आर्थिक उन्नति भएको छैन । गरिबी बढ्दै गइरहेको छ । न शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत अवस्था सिर्जना गर्न नै सकिएको छ ।

हाम्रो छिमेकी देश स्वतन्त्रताको शताब्दीमा पुग्दै छ । त्यसमा उनीहरूले निश्चित गोल राखेर जुनसुकै प्रधानमन्त्री हुँदा पनि त्यही गोल हेरेर हिँडेका छन् । हाम्रो गोल के हो त ?

हाम्रो गोल यही भद्रगोल हो । दिनदिनै सत्ता परिवर्तन हो । दिनै त्यो सत्ता परिवर्तनका लागि नयाँ नयाँ खेलाडी जोगीहरू हुन । र यसले अझ बढी जनतामा आत्मविश्वास गुम्ने र अविश्वास पैदा गर्ने हो । अहिले राजनीतिकप्रति मान्छेमा यति वितृष्णा छ कि यसप्रति टिप्पणी गर्नु नै  आफ्नो बेइज्जत हुनु बराबर भइसकेको छ ।

यहाँ एकले अर्कोको प्रयोग हैन कि जोसँग मिल्दा फाइदा हुन्छ, त्योसँग मिलिरहेका छन् । प्रधानमन्त्री जुन हो, त्यसले अरूलाई प्रयोग गरेको जस्तो देखिन्छ । तर प्रधानमन्त्री स्वयं के भएको छ त कहिले एमालेको त कहिले कांग्रेसको खेलौना भइरहेको छ । एउटा सानो पार्टीले आफ्नो फाइदाको लागि  जुन ढंगको संसदीय अङ्कगणितलाई प्रयोग गरेर वितण्डा मच्चाइरहन्छ, त्यसलाई राजनीतिक सफलताको रूपमा बुझ्ने समाज जबसम्म रहन्छ, तब सम्म यस्ता प्रकरण दोहोरिरहन्छन् ।  यस्तै मान्छेले चुनाव जित्छन्, सत्ता चलाउँछन् ।

अहिले मन्त्री भएका मान्छेहरूको क्षमता हेरेर नै काम भएन भनेर आशा गर्नु नै बेकार हो । आशा नगर्न नै मन्त्री बनाएको हो र सत्तामा पठाएको हो ।  अहिले खाडी, युरोपमा दौडधुप बढ्दो छ । विद्यार्थीका नाममा सबै मजदुर नै गएका हुन् । नेपालमा यो आर्थिक दौडधुप सुगौली सन्धि देखि कै हो । यसलाई रोक्न सक्ने नेतृत्व चाहिएको हो । तर त्यो छैन ।

हाम्रो अवस्था २०५० सालयता धेरै बिग्रिँदै गइरहेको छ । किनकि हाम्रो शैक्षिक, आर्थिक अवस्था र अपेक्षाबीच दुरी धेरै भयो । पहिला आशा कम थिए, सानो अर्थतन्त्रले धान्थ्यो । तर अहिले इन्टरनेटको विकासले धेरै कुरा ल्याएर मान्छेका अपेक्षा ठूला भए । त्यसैले अबको नेतृत्वले डिपार्चरको विकासको अपेक्षा गरेको छ । तर हाम्रो नेतृत्व बामपुड्के भयो । संसारको परिवर्तन प्रति बेखबर छ । यहाँ भएका दुई पार्टीसँग मिलेर राज्यलाई कसरी लुट्ने भन्दा माथि जाने नेतृत्व नै पाएनौँ । २०१७ साल यताको आम निर्वाचनपछि दिन प्रतिदिन हामीले नालायक नेतृत्व पाउँदै गयौँ ।

दाहाल, देउवा र ओलीको ध्याउन्न सत्तामा टिक्नु बाहेक केही छैन । यिनीहरूको उपादेयता सकिएको १५ वर्ष जति भयो । तर ती पार्टी कब्जा गर्न दोस्रो पुस्तामा त्यो बहस नै छैन । माओवादी जस्तो एक मनवादी पार्टी प्रचण्डको निजी कम्पनी जस्तो छ । त्यसमा आन्तरिक लोकतन्त्रको विषय उठाउनासाथ फुटिहाल्छ । तर एमाले जस्तो पार्टी,  जो संसदीय राजनीतिको अभ्यास गरेको थियो र ०४६ सालको चौथो महाधिवेशनबाट आन्तरिक–बाह्य प्रतिस्पर्धालाई मदन भण्डारीले जसरी सूत्रबद्ध गरे, त्यो महत्त्वपूर्ण थियो ।

एमालेले संसदीय अभ्यासमा औपचारिक लोकतन्त्रबाट वास्तविक लोकतन्त्र तर्फ रूपान्तरण गर्ने नाममा खुम्च्याउँदै लग्यो । तर पार्टी भित्र त्यसका बहस जीवितै थिए । तर ओलीको नेतृत्वमा आइसकेपछि त्यो बहस सकियो । उनले पार्टीको अधिनायकवादी शैलीमा प्रचण्डको सिको गरे । वास्तवमा ओली मदन भण्डारीको उत्तराधिकारी भन्दा पनि प्रणालीको उत्तराधिकारी बढी देखिए किनकि उनलाई पार्टी कब्जा गर्नु पर्छ भन्ने लाग्यो । कांग्रेस चाहिँ देउवा जस्तो एउटा गिरोह चलाउनेको नेतृत्वमा पुग्यो ।

राजनीतिक भ्युटावर प्रोजेक्टका कुराहरू नेता विशेषलाई ठूलो रकम बुझाउन आवश्यकता भन्दा बाहिरका आयोजना आए   । जसले गर्दा हाम्रो पूर्वाधारको क्षेत्र चौपट भएर गयो । त्यसैले यो भयावह अवस्था सिर्जना यही तीन मूल नेतृत्वका पार्टीको असफलता मात्रै हैन, यो विगत १५ वर्षमा हामीले सबै राजनीतिक पार्टीका नेताहरू चाहिँ  एकदमै औसतभन्दा तलका पायौँ । जसको प्रभाव हाम्रा अरु लोकतान्त्रिक संस्थाहरूमा पनि पर्‍यो । र राम्रो सचिव छैन, राम्रो प्रोफेसर छैन, संस्थामा राम्रो डाक्टर छैन भने जस्तो प्रकारको नेतृत्व हाबी भयो । हाम्रा सम्पूर्ण लोकतान्त्रिक र अरु अनौपचारिक, विकास निर्माणका संस्थाहरू यी सबैतिर व्यक्तिवाद हाबी भयो । जसले गर्दा मुलुकले यो दुर्भाग्य भोगिरहेको छ ।

हाम्रो विनिमय दर स्थिर हुनाले व्यापार घाटा बढ्दै बढ्दै गइरहेको छ । किनकि उनीहरूले विकास गरिरहेका छन् हामी विकासमा तलतल परिरहेको छौँ । त्यस्तै राजनीतिक पुँजी पनि ह्रासोन्मुख भयो । नकारात्मक पूँजीका रूपमा यो जम्मा भयो । यो राजनीतिका लागि ब्याज धेरै तिर्नुपर्ने भयो । त्यसैले सञ्चिति पुँजी त्यो सकारात्मक पुँजी भए त राम्रो भयो । तर हामी चर्को राजनीतिक ब्याज तिर्नको लागि हामीलाई निकै सकस परेको छ ।

जस्तो फास्ट्रयाकबाट पूर्वाधारका सामान वा लगानीको एजेन्डालाई मन्त्रालयमा समन्वय गरेर जसले लगानी गर्छ, त्यो लगानी अगाडि बढाउन लगानी बोर्ड बनायौँ । तर त्यो लगानी बोर्ड अहिले राजनीतिक पार्टीका लागि जागिर खाने र राज्यको लागि बोझ मात्रै साबित भयो । त्यस्तै यस्ता अरु संस्थाहरू राज्यलाई बोझ थुपार्ने भन्दा त्यसको अरु उपादेयता केही छैन ।

त्यसैले कुनै राजनीतिक पुँजी सकारात्मक रूपले साँच्चैमा प्रतिपक्ष भएको भए सत्ता पक्षले नराम्रो गरेको छ  भने प्रतिपक्ष मार्फत सञ्चित जुन राजनीतिक पुँजी हो, त्यसले अर्को निर्वाचनमा आफ्नो त्यो ब्याज जनतालाई सकारात्मक रूपले फिर्ता दिन्थ्यो तर हाम्रोमा त नागरिक बाहेक कोही प्रतिपक्ष छैन ।

त्यसैले अबको राजनीतिमा गएका जति सबै सत्ता पक्ष र आम जनता प्रतिपक्ष हो । ओलीहरू पार्टी एकता गर्न तयार भइरहेका छन् । कति टिक्छ आफ्नो ठाउँमा छ । तर यस पटक पहिलो पटक भएको पार्टी एकता जत्रो त नहोला । यो एकता आगामी चैतसम्म टिक्ला नटिक्ला । तर वैशाखसम्म यिनले पार्टी एकता गर्छन् । अहिले ओलीको पनि सजिलो पार्टी छ । ओलीले भनेको अक्षरशः लागू हुन्छ । पार्टी निजी कम्पनी जस्तै हो । यिनको व्यक्तिगत स्वार्थमा थोरै टकराब भयो भने कांग्रेससँग मिलिहाल्छन् । त्यसका लागि कांग्रेसको नेतृत्व तयार नै छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  २ : ३२ बजे

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा 

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको