जलवायु परिवर्तनको असर : तमोर आसपास पानीको बढ्दो संकट  | Khabarhub Khabarhub

जलवायु परिवर्तनको असर : तमोर आसपास पानीको बढ्दो संकट 


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 9 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनकुटाको मूर्तिढुङ्गा गाउँमा यस वर्ष पनि पानी परेन । महालक्ष्मी नगरपालिका–९ को  यो गाउँमा पहिले बर्खे झरी राम्रै लाग्थ्यो, हिउँदे वर्षा हुन्थ्यो । पुस–माघमा हिउँ पथ्र्याे ।

केही वर्षयता साउन भदौमा पनि पानी पर्न छोडेको छ, हिउँ नपरेरै हिउँद जान्छ । वडा सदस्य लक्ष्मण काफ्ले भन्छन्, “लेकमा पनि तराई जस्तो सुख्खा छ, फागुन सकिनुअघि जाडो हराइसक्यो ।”

सन् २०१९ मा धनकुटाको औसत अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस थियो, २०२३ आइपुग्दा ६ डिग्री सेल्सियसले बढेर ३०.४ पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका मौसमविद् रामबावु मिश्रका अनुसार यसरी तापक्रम बढ्दै जाँदा वर्षा प्रभावित हुन्छ ।

पहिला आकाशबाट पानी पर्दा गाउँ रसिलो थियो । काफ्ले गाउँको कुवा, भन्डारी धारा, गैरी धारा, धितालको धारा जस्ता स्रोतबाट गाउँलेलाई पानी पुगेको थियो । १०–१२ घरका बिचमा कुँवा थिए, कतै धारा थिए । माङ्माया खोलाको पानीले कुलो चल्थ्यो । धान, मकै र तरकारी खेती हुन्थ्यो । सप्रेको खेतीपाती र पशुपालनले गाउँलेको जीवन सजिलै धानेको थियो ।

अचेल आकाशे पानी पर्न छाडेपछि गाउँका धारा, कुवा सबै सुकिसके । माङ्माया खोलाको मुहान सुकेपछि खेतीपाती हुन छाडेको छ, गोठमा गाईवस्तु छैनन् । चार घन्टा टाढाको लक्ष्मी खोलाबाट पाईपमा ल्याइएको पानीले गाउँलेको तिर्खा त मेटाउँछ, तर, सिंचाईका लागि पानी छैन ।
यही अप्ठ्यारोले बसाईं सराई तीब्र बनेको छ । महालक्ष्मी नगरपालिका–९ का वडासदस्य लक्ष्मण काफ्लेका अनुसार मूर्तिढुङ्गाका ५० घर बसाईं हिडिसकेका छन् । “पानी पर्न छाड्यो, खोलानाला सुके । खेती गर्न र वस्तु पाल्न नसकिने भएपछि बसाईं हिड्नेको लर्को लागेको छ,” काफ्ले भन्छन् ।

गाउँलेका अनुभवमा लामो समय वर्षा नहुने र पानीका मुहान सुक्ने समस्या एक्कासी आएको होइन । २०४५ सालको भूकम्पपछि धारा र कुवामा पानी केही घटेको महशुस भएको थियो । यो क्रम बढ्दै जाँदा २०६० सालबाट वर्षा निकै कम हुन थाल्यो । धारा, कुवा सुक्न थाले ।

माङ्माया खोलामा पानी कम हुन थालेको पनि त्यहि बेलादेखि हो । २०७२ सालको भूकम्पपछि भने बाँकी रहेका कुवा र कुलो पनि सुके ।
धनकुटाका चौबिसे, शहीदभूमि छिन्ताङ, साँगुरीगढी, लेगुवा, जीतपुर लगायतका गाउँमा पनि यस्तै अवस्था छ ।
सप्तकोशी नदीमा मिसिने तमोरको जलाधार क्षेत्र धनकुटा, तेह्रथुम र पाँचथरका गाउँहरुको पनि साझा समस्या हो यो । यी गाउँहरुमा दुई दशकयता वर्षाको प्रवृत्तिमा ठूलै परिवर्तन आएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयको तथ्याङ्कबाट थाहा हुन्छ, पाँच वर्ष यता धनकुटामा वर्षा कहिले ह्वात्तै बढ्छ त कुनै वर्ष सुखा लाग्छ । औसत ९३६.७ मिलिमिटर वर्षा हुने गरेको धनकुटामा सन् २०१९ मा १०७२, २०२० मा १४५४.२, २०२१ मा १२१२.५, २०२२ मा ९१५.१ र २०२३ मा ८२५.८ मिलिमिटर वर्षा भएको थियो ।

त्यस्तै जनवरी महिनामा ११.७ र फेब्रुअरीमा १५.४ मिलिमिटर वर्षा हुनु पर्नेमा सन् २०२४ को जनवरी र फेब्रुअरीमा पुरै सुखा लाग्यो ।  जल तथा मौसम विज्ञान कार्यालय धरानका मौसमविद् रामबाबु मिश्र औसत भन्दा निक्कै बढी वा निक्कै कम पानी पर्नुको कारण जलवायु परिवर्तनको असर भन्छन् । उनी भन्छन्, “अतिवृष्टि र अनावृष्टिले पानीको रिचार्ज सिष्टममा प्रभाव पार्छ त्यसले मुल सुक्ने समस्या देखिएको हुन सक्छ ।”

यस्तै समस्या भोगिरहेका गाउँ मध्येमा पर्छ तेह्रथुमको छथर गाउँपालिका क्षेत्र । छथरका वडा नं.३ मा पर्ने पन्चकन्या, ४ मा पर्ने फाक्चामारा र ५ मा पर्ने ओख्रेमा पानीको ठूलो समस्या छ । छथर गाउँपालिकामा काम गरेका सव–इन्जिनियर तोया बास्तोला फाक्चामारा, हाक्पारा, बतासे, पञ्चकन्या जस्ता गाउँमा कहिलेकाहीं लगातार तीन वर्षसम्म पानी नपरेको बताउँछन् । पानी नपरेपछि गाउँका मुल सुकेका छन् ।

सधैं सुख्खा हुँदा आगलागीका घटना बढिरहेको छ । गएको वैशाखमा पनि तेह्रथुमको पञ्चकन्या सल्लेरी वनमा एक्कासी आगो लाग्दा बारीमा काम गरिरहेका ६० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भूपेन्द्र भुजेलको ज्यान गएको थियो । त्यस घटनामा अन्य चार जना घाइते भएका थिए । त्यही घटनामा पूर्व वडाध्यक्ष तुलसीजङ्ग थापाको घर र गोठ जलेको थियो । गाउँमा पानी नहुँदा आगलागीका घटना नियन्त्रण गर्न पनि समस्या छ ।

अहिले प्रदेश सरकारको सहयोगमा छथर गाउँपालिकाले १४ किलोमिटर टाढाबाट पानी ल्याएर खाने पानीको गर्जो त जसोतसो टारेको छ तर, सिंचाई र गाइवस्तुका लागि पुग्दैन ।

स्थानीयवासिन्दाका अनुसार यस्तो सुख्खा लाग्ने क्रम शुरु भएको दशक नाघिसक्यो । “वरपर राम्रै वन छ, जथाभावी  निर्माण पनि छैन,” छथर गाउँपालिकाका अध्यक्ष सन्तबीर लिम्बु भन्छन्, “त्यै पनि सधैं खडेरी लाग्नुको कारण जलवायुमा आएको परिवर्तन नै हो कि ”

कुम्याकको रानी गाउँमा रहेको कुवा गाउँलेहरुका लागि खाने पानीको एकमात्र स्रोत थियो । पानी सुक्न थालेपछि गाउँलेहरुले कुवाको पानीलाई चोरीबाट जोगाउन ढोका बनाई ताला लगाउन थाले । तर, दुई वर्ष अघिदेखि यो कुवा लगायत गाउँका कुनै धारामा पानी छैन । पाँचथरका तुम्बेवा र कुम्मायक गाउँपालिका क्षेत्रमा वर्षा नभएको सात महिना भयो ।

मुल सुकेर पानीको हाहाकार भएपछि पाँचथरका सुख्खाग्रस्त क्षेत्रमा संघीय सरकारले ४५ करोड लगानीमा आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजना र ५२ करोड लगानीमा यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी योजना सञ्चालन गरेको छ भने कोशी प्रदेश सरकारले प्रति आयोजना ३० देखि ३५ करोड खर्चेर तीन ठाउँमा लिफ्टिङ गरेको छ ।

तर, तमोरबाट विजुलीले तानिएको महँगो पानी खेतीपाती र गाईबस्तुलाई पुर्‍याउन सम्भव नहुने स्थानीय सञ्चारकर्मी रमेश थापा बताउँछन् । यसरी ल्याइएको खानेपानीको उपभोक्ताले प्रति युनिट एक सय रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । ठूला लिफ्टिङ आयोजनाका लागि विद्युत महशुल नै मासिक ७ देखि ८ लाखसम्म पर्छ ।

‘यो क्षेत्रमा १०–१५ वर्ष अघिदेखि नै पानी सुक्न थालेको हो,” थापा भन्छन्, “पछिल्लो ७ वर्ष यता वर्षा निकै कम हुन्छ, तुसारो पर्न छाड्यो ।”
अहिले तमोर नदीले धार परिवर्तन गरेर पानीको सतह घटेपछि लिफ्टिङ्बाट पनि पर्याप्त पानी आउँदैन । लिफ्टिङ आयोजनाका पम्पले पानीको सट्टा बालुवा तानिंदिंदा यासोक आयोजनाका २ वटा पम्प जलेका छन् । आयोजनाबाट पानी खाईरहेका २२ सय घर परिवारलाई यसले ठूलो समस्यामा पारेको छ । यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौला भन्छन्, “लिफ्टको पानी मान्छेले खान त पुगेको छैन, सिंचाईका लागि त कल्पना गर्न पनि नसकिने रहेछ ।”

किन भयो यस्तो ?

सन् २०१३ मा तमोर आसपासको क्षेत्रमा अध्ययन गरेका जलाधारविद् मधुकर उपाध्या सुनसरीबाट माथि जाने बादलले भेडेटारसम्म पानी पार्ने तर गहिरोमा पर्ने तमोर आसपासको क्षेत्रमा पानी नपारी माथि हिले तिर पुग्ने गरेको बताउँछन् ।

“तमोर क्षेत्र गहिरोमा पर्ने भएकाले त्यहाँको हावाको तापक्रम फरक हुन्छ । तलबाट गएको बादलले त्यहाँ पानी पार्न सक्दैन ।” उनी भन्छन्, “भेडेटार  र हिलेको बीच भाग प्राकृतिक प्रणालीका कारण पानी कम पर्ने ठाउँ हो, त्यसमाथि अहिले तापक्रम वृद्धिले त्यो समस्या झनै बढाईदिएको छ ।”

अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २००९ मा प्रकाशन गरेको कोशी बेसिनका पहाडमा पानीको समस्या बारेको प्रतिवेदनमा कोशी बेसिनका वासिन्दाले लामो समयदेखि अनियमित मनसुन, बाढी र लामो समय वर्षा नहुने जस्ता जोखिम भोग्दै आएको उल्लेख छ । कोशी बेसिनमा तराईका चार सहित जम्मा १८ जिल्ला समेटिएका छन् ।

जलवायु विश्लेषक ङमिन्द्र दाहाल तमोरमा जस्तै लामो समय वर्षा नहुने र पानीका मुल सुक्ने समस्या सिन्धुली र रामेछापमा पनि देखिएको बताउँछन् ।

राष्ट्रिय योजना आयोगले सन् २०१६ मा गरेको राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षण प्रतिवेदनमा ७४.२९ प्रतिशत घरपरिवारले पानीका स्रोतहरूमा परिवर्तन भएको देखेको र ८४.४७ प्रतिशतले स्रोतमा पानीको मात्रा घटेको महसुस गरेको उल्लेख छ ।

अमेरिकी सहयोग नियोग ‘यूएसआईडी’ को सहयोगमा ‘वातावरणका लागि युवा सञ्जाल’ ले कर्णाली र आसपासका जलाधार क्षेत्रका ४ हजार २२२ वटा पानीका मूलमा गरेको अध्ययनपछि वि.सं.२०७५ सालमा सार्वजनिक प्रतिवेदन अनुसार ७० प्रतिशत भन्दा बढी मुहानहरूमा पानी घटेको पाइएको थियो ।

त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल पानी सदुपयोग फाउन्डेशन (एनडब्लूसीएफ)ले पहाडी क्षेत्रमा पर्ने तीन सय स्थानीय तहमा गरेको दुई वर्षअघि सार्वजनिक अध्ययन प्रतिवेदनमा ७४ प्रतिशत स्थानीय तहमा पानीका मूल सुक्ने र ५८ प्रतिशत मूल सर्ने समस्या देखिएको उल्लेख छ ।

त्यसमध्ये सबैभन्दा बढी चुरे क्षेत्रमा ७९ प्रतिशत, हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडी क्षेत्रमा ४६ प्रतिशत पाइएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनले जलवायु परिवर्तनलाई पनि मुल सुक्ने एक कारकका रुपमा औल्याएको छ । त्यसबाहेक जथाभावि सडक निर्माण, भूकम्प र वन फँडानीलाई पनि कारण देखाइएको छ । तीव्र गतिमा पानीका मुहानहरू सुक्दै जाँदा हिमाली समुदायका धेरै मानिसहरूको जनजीविकामा समेत असर परेको पनि उक्त अध्ययनमा उल्लेख छ ।

यो अध्ययनमा समेत संलग्न जलवायु विश्लेषक दाहाल वर्षाको शैली परिवर्तन हुँदा मुल सुक्ने र त्यसले समग्र जीवनशैलीलाई प्रभाव पार्ने बताउँछन् । उनी भन्छन् ‘सुख्खा भएपछि मान्छेले खेती गर्न छाड्छन् । पहाडमा खनजोत हुन छाडेपछि पानी जमिनभित्र जान पाउँदैन, बाहिर बाहिर कुद्छ । यसरी रिचार्ज हुन नपाएपछि पानीका स्रोतहरु थप सुक्छन् ।’

पानी नपाएर बसाईंसराई

सन् २०१३ मा पाँचथरको यासोकमा पानीको अध्ययन गर्ने क्रममा जलाधारविद् मधुकर उपाध्याले नजिकको मुल सुकेकै कारण घरजग्गा छाडेर मान्छेहरु दमकतिर बसाईं सरेको भेटाएका थिए । उनी भन्छन्, ‘मुल सुकेका कारण बालीनाली लगाउन र गाईबस्तु पाल्न नसक्ने भएपछि भएको घरजग्गा छाडेर दमकमा ऋण गरेर बसेका मान्छे पनि भेट्यौं ।’

एकदशक अघि जलाधारविद् उपाध्यालाई अचम्म लागेको यस्तो घटना अहिले यो क्षेत्रमा सामान्य हो । पाँचथर, धनकुटा र तेह्रथुमका सुख्खाग्रस्त क्षेत्रका धेरै जसो पुराना गाउँहरु अहिले बसाईं सराईका कारण खाली भईसकेका छन् ।

वर्षेनि दश बीस घर बसाईं हिड्नु यहाँका मान्छेका लागि नौलो घटना हुन छाडेको छ । तेह्रथुमको छथरमा एकै वर्ष २ हजार जनसंख्या घट्यो । त्यसमध्ये धेरै बसाईं सरेर अन्यत्र गएको र केही अध्ययन वा रोजगारीका लागि गएको गाउँपालिका अध्यक्ष सन्तबीर लिम्बु बताउँछन् । उनी भन्छन्,‘बसाईं सर्ने अन्य कारण पनि धेरै होलान् तर हाम्रो जस्तो सुख्खा क्षेत्रका मान्छे बसाईं जाने प्रमुख कारण पानीकै अभाव हो ।’

लामो समय वर्षा नहुने र मुल सुक्ने समस्या बढेपछि धेरै मान्छे बसाईं हिडे त्यसपछि अध्यक्ष लिम्बुले प्रदेश सरकारसँग सहयोग मागेर १४ किलोमिटर टाढाबाट गाउँमा पानी ल्याए । त्यति मात्र होईन उनले अन्यत्रबाट आफ्नो गाउँमा बसाईं आउनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने र कुनै कृषि परियोजना ल्याएमा पाँच लाखसम्म अनुदान दिने नीति ल्याए । त्यसो गर्दा ३४ घर बसाईं सरेर छथर आए । अध्यक्ष लिम्बु भन्छन्, ‘हामीले खानेपानीको व्यवस्था गर्न सक्दा त मान्छे गाउँमा बस्ने रहेछन् तर खेती र पशुपालनका लागि पुग्ने पानी ल्याउन हाम्रो क्षमताले मात्र भ्याउँदैन । प्रदेश र संघसँग हारगुहार गरिरहेका छौं ।’

नेपाल राष्ट्र बैंकले २०८९ साउनदेखि पुससम्म कोशी प्रदेशका १४ जिल्लामा गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्ध बार्षिक अध्ययन प्रतिवेदन) अनुसार कोशी प्रदेशमा अघिल्लो ६ महिनाको तुलनामा कृषि बालीले ढाकेको क्षेत्रफल ४.८ प्रतिशतले घटेको छ भने समग्र कृषि बाली उत्पादन २.२ प्रतिशतले घटेको छ । कृषि उत्पादन घट्नुमा अन्य कारणसँगै मौसमी प्रतिकुलता र बसाईं सराई पनि देखाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार अघिल्लो १० वर्षको तुलनामा तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर —१.३ छ । त्यस्तै पाँचथरको वृद्धिदर —१.०२ र धनकुटाको वृद्धिदर –०.७८ प्रतिशत छ । कोशी प्रदेशका १४ मध्ये पहाडी क्षेत्रमा १० जिल्लाको जनसंख्या घटेको छ । देशभरका ३४ जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ । जबकि समग्र नेपालको जनसंख्या वार्षिक औषत ०.९२ प्रतिशतले वृद्धि भएको छ ।

यसरी दश वर्षअघि भन्दा जनसंख्या घटेका जिल्लाहरु पहाडी र हिमाली क्षेत्रका छन् । जनसंख्या घट्नुको कारण बसाईं सराई हो । र बसाई सराईका विविध कारण मध्ये पानीको बढ्दो संकट साझा कारण देखिन्छ ।

नखाएको विषको असर

छथर गाउँपालिकाका अध्यक्ष लिम्बुले भने झैं यो क्षेत्रका मानिसले नखाएको विषको असर भोगिरहेका छन् । अर्थात जलवायु परिवर्तनमा ज्यादै न्यून भूमिका रहेका नेपालीहरुले यसको असर भने ठूलो भोग्नु परेको छ ।

जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यास उत्सर्जनलाई मानिन्छ । कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडलगायत हरितगृह ग्यास उत्सर्जनका कारण तापक्रम वृद्धि हुन्छ । त्यसले हावा र पानीमा असर पुर्‍याउँछ ।

दुई वर्षअघि नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) मा बुझाएको तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदनमा नेपालले वार्षिक २८ हजार १६६.०६ गिगाग्राम हरितगृह ग्यास उत्सर्जन गर्ने उल्लेख छ । विश्वभर वार्षिक ५० गिगाटन हरितगृह ग्यास उत्सर्जन हुन्छ । १ गिगाटनमा १० लाख गिगाग्राम हुन्छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका वार्षिक ०.०५ प्रतिशत जति छ । विश्वमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन, संयुक्त राज्य अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, इन्डोनेसिया, रुस, ब्राजिल, जापान, इरान, जर्मनी र क्यानाडा पर्छन् ।

हरितगृह ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि नेपालमा तापक्रम वृद्धिदर भने निक्कै छ । जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा नेपालमा वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । यो दर हिमालय क्षेत्रमा ०.०८६ डिग्री छ । भने पहाडको वार्षिक तापक्रम वृद्धिदर ०.०६ प्रतिशत छ । विभागका अनुसार पछिल्लो तीन दशकमा नेपालको तापक्रम १.६ डिग्री सेल्सियस बढेको छ । सन् १८५० देखि २००० सम्म विश्वव्यापी रुपमा १.१६ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा नेपालमा भने विगत ५० वर्षमै २.४६ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको तथ्याङ्क पाईन्छ ।

तापक्रम वृद्धिको असर वर्षाको दरमा पर्ने जलस्रोतविद् अजय दिक्षित बताउँछन् । तापक्रम वृद्धिका कारण वर्षाको दरमा परिवर्तन हुँदा पानीको रिजार्च (पुनःभरण) प्रणाली पनि असर पर्ने हुनाले स्रोत सुक्ने गरेको उनको बुझाई छ । विभागको विगत ४० वर्षको मौसमी विश्लेषण अनुसार महाभारत पर्वतबाट दक्षिण तर्फको चुरे अर्थात शिवालिक क्षेत्रको वर्षा–दरमा वार्षिक १.४८ मिलिमिटर घटेको छ भने मध्यपहाडमा १.५८ मिलिमिटर घटेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राक्टिकल एक्सनले सन् २०१७ र २०१८ मा गरेको एक अध्ययनले तापक्रम १ डिग्री सेल्सियसका दरले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा १.६१ प्रतिशतले घाटा हुने गरेको उल्लेख गरेको छ ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशमा पर्छ । जलवायु परिवर्तनले पार्ने जोखिम मापन गर्ने जर्मन वाचको ग्लोबल क्लाइमेट रिस्क इन्डेक्सअनुसार दीर्घकालीन जलवायु जोखिमको सूचकाङ्कमा सबैभन्दा धेरै जोखिममा परेका १० देशको समूहमा नेपाल पनि पर्छ । जलवायु परिवर्तनका कारण सृजित विपद्बाट नेपालले हरेक वर्ष ठूलो आर्थिक र मानवीय क्षति व्यहोरिरहेको छ ।

अब के गर्ने ?

इसिमोड र एनडब्लूसीएफले दुई वर्षअघि सार्वजनिक गरेको अध्ययनबाट वर्षेनी बढ्दो तापक्रमका कारण वर्षाको स्वरुपमा आईरहेको परिवर्तन, विकास निर्माणका नाममा प्रकृतिलाई वेवास्ता गरिएका गतिविधी र भूकम्प जस्ता कारणले खाने पानीको संकट बढिरहेको बुझ्न सकिन्छ ।

ग्रामीण क्षेत्रमा परम्परागत रुपमा रहेका दह, पोखरी, मुल, कुवा, पँधेराहरु संरक्षणको अभावमा मासिएका छन् । तिनलाई स्थानीय तहहरुले खोजि गरेर मर्मत गरी संरक्षण गर्नु आवश्यक रहेको जलवायु विश्लेषक दाहालको सुझाव छ । तर, स्थानीय तह र प्रदेश सरकारले यस्तो काममा भन्दा पानी सुकेको देखेपछि बोरिङ र लिफ्टिङका योजना ल्याइरहेका छन् ।

इसिमोडकै अध्ययनले पनि २९ प्रतिशत स्थानीय तहले लिफ्टका लागि टाढाको मुहान खोज्नका लागि बजेट छुट्याएका छन् । जलवायु सम्बन्धी जानकार दाहाल कतिपय ठाउँमा आकाशको पानी संकलन गर्न रिचार्ज पोखरीहरु निर्माण गर्दा मुल रसाएको पाइएकाले स्थानीय तहहरुले त्यस्ता काममा ध्यान दिनु पर्ने बताउँछन् ।

धनकुटाको गैरसरकारी संस्था मानव अधिकार, सामाजिक सचेतन विकास केन्द्र (हुसाडेक)ले इसिमोडको प्राविधिक सहयोगमा दुई वर्षयता धनकुटा नगरपालिकाका ८ वटा वडामा २२ र धनकुटाकै छथर जोरपाटी गाउँपालिकाका २ वटा वडामा ५८ वटा रिचार्ज पोखरी निर्माण गरेको छ ।

यसरी रिचार्ज पोखरी निर्माणपछि सुकेका मुहानमा पानी बढ्न थालेको हुसाडेक धनकुटाका अध्यक्ष सरोज भुजेल बताउँछन् । उनी भन्छन्, “सिक्किममा गएर हेर्दा रिचार्ज पोखरी बनाएपछि सुकेको पानीको मुहान फेरि पलाएको देख्यौं, त्यसपछि हामी पुराना आहालहरु जोगाउने र अरु पनि रिचार्ज पोखरी बनाउने काममा जुटिरहेका छौं ।”

जलाधारविद् मधुकर उपाध्याको भनाईमा जलवायु परिवर्तन निरन्तर प्रक्रिया हो । पहिले यसबाट मान्छेको दैनिक जीवनमा खासै असर नपारेकाले वास्ता थिएन तर अहिले छिटोछिटो परिवर्तन भएपछि त्यसको असर देखिएको हो । उनी अहिले सडक खनेर, जंगल फाँडेर पानीको मुल सुक्यो भन्ने भाष्यप्रति त्यति सहमत छैनन् । ‘किनभने, मान्छे कम भएको, जंगल विनास नभएको भुटानमा पनि मुल सुकेका छन् । हिमाञ्चल प्रदेशमा पनि सुकेका छन् ।’ उनी भन्छन्, ‘यसको अर्थ यो हिमालय क्षेत्रमा वृहत स्तरमा प्राकृतिक परिवर्तन भईरहेको छ । जलवायुका क्षेत्रमा काम गर्नेले यसको गहिरो अध्ययन गर्नु जरुरी छ ।’

यो रिपोर्ट क्लाइमेट च्याम्पियन एक्शन नेटवर्क अन्तर्गत ‘कम्युनिकेटिङ क्लाइमेट’ कार्यक्रमको सहयोगमा तयार पारिएको हो।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ६ : १० बजे

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि

बिस्का नखः जात्राको अवसरमा टोखामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक