शव जलाउनेको सास्ती : धुवाँले आँखा पोल्यो, दम बढ्यो  « Khabarhub

शव जलाउनेको सास्ती : धुवाँले आँखा पोल्यो, दम बढ्यो 


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

पुष्पराज पौडेल

हिउँद होस् या बर्खा, मध्यरात होस कि झिसमिसे बिहान पशुपतिको आर्यघाट सधैँ चलायमान हुन्छ । एकातिर पशुपतिको मूलद्वारबाट मन्दिर पस्नेहरू आफ्नो दीर्घायुको कामना गर्दै घण्टी बजाउँछन्, भाकल गर्छन्, लाख बत्ती बाल्नेदेखि अनेकानेक मंगलाचरण गर्छन् । पशुपतिनाथ मन्दिरको पारिपट्टि आत्म शुद्धिको कामनासाथ सधैँ सधैँ भजन कीर्तन चल्छ ।

यिनै कर्म चलिरहने एक कान्लामुनिको अवस्था बेग्लै छ । महाप्रस्थानमा लागेकाहरूको वियोगबाट स्वजनको पीडा अनि मुक्ति ढोका खोलिदिन चल्ने प्रक्रियाका आआफ्नै कथा व्यथा छन् । डाक्टरको हातबाट पार नलागेपछि पार्थिव शरीरलाई अर्को लोकको बाटो खोल्न माध्यम बन्ने पहिलो र अनिवार्य पात्र हुन– शव जलाउने पण्डित । दिनरात शव जलाउनेहरूको अधिकांश समय धुवाँमा बित्छ ।

चैतको टण्टलापुर घाममा पशुपति आर्यघाटमा शवमा अग्निदाहको कर्म चलिरहेको थियो । कतै फूलमाला अर्पण चल्दै थियो त कतै चिताको तयारी । शव घोचघाचपछि एक छिन थकाइ मार्न बसेका थिए– पुष्पराज पौडेल ।

उमेरले ६५ कटेका पौडेल २२ वर्षदेखि शव जलाउने काम गरिरहेका छन् । मध्यान्हको गर्मीमा पसिना पुछ्दै शव जलाइरहेका पौडेलले खवरहवसंग भने गाह्रो छ के गर्नु यही काममा लागियो । परीवार यही कामबाट पालिरहेको छु अरु काम खोजेर पनि के पाउनु अव सकुञ्जेल यही गर्ने हो । सुगर र प्रेसरका बिरामी पौडेलले शव जलाउँदा आउने पिरो धुवाँले आँखा पोल्ने र फोसोमा असर गर्ने गरेको बताउँदै भने कोषले सेवा सुविधा अलि बढाइदिएको भए अझै सहज हुने थियो ।

पौडेल जस्तै आर्यघाटमा अरु पनि घाटेहरू छन् जसले दैनिक यसै गरी शव जलाउने काम गर्छन् । उनीहरू सबैको कथा व्यथा उस्तै छ । नाम नबताउने सर्तमा अर्का घाटे धुवाँले खोकी र निमोनियाको समस्या देखिएको बताउँछन् । अझ चिसोमा गन्जी र खाली खुट्टाका भरमा काम गर्नुपर्ने भएकाले बाथ रोगले हिँडडुलमै समस्या आएको उनी बताउँछन् ।

कोषले वर्षौँदेखि सेवा सुविधा नबढाएको उनीहरूको गुनासो छ । एक शव जलाए बापत १३ सय ३५ रुपैयाँ कोषले दिन्छ । कतिपय मलामीहरूले पनि केही खर्च दिन्छन् त कतिले दिँदैनन् । उपचार खर्च भनेर वार्षिक १५ हजार दिने गरेको पौडेलले बताए । तर यता पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी भने उपचार  खर्च बापत उनीहरूलाई वार्षिक ३५ हजार रुपैयाँ दिने गरेको दाबी गर्छन् ।

अधिकारीका अनुसार पशुपति आर्यघाटमा ५५ जना शव जलाउने घाटेहरू छन् । कति जना ३०–३५ वर्ष उमेरका छन् भने कति ६०–६५ वर्ष कटेका पनि छन् । कति त यही काम माग्न आउनेहरु पनि छन् । कति जनाले पुर्ख्याैली पेशा पनि बनाएका छन् । बुवाले गरेको काम म पनि गर्छु भन्दै छोराहरू आउने गरेका छन् ।

‘आर्थिक अवस्था कमजोर भएकाहरू लामो समयसम्म काम गर्छन् भने कतिपय केही समय गरेर छोड्नेहरू पनि छन् । कसैले यसैलाई नै पेशा बनाएर परिवार पालेर राम्रो जीवनयापन गरिरहेका छन्’ प्रवक्ता अधिकारीले भने । बेला बेलामा उनीहरूको स्वास्थ्य जाँच र उपचार कोषले नै गर्ने गरेको छ । उनीहरूमा केही गम्भीर समस्या देखिए बिदा दिने गरेको उनले बताए । केही समय अगाडि फोक्सोमा समस्या भएका दुई जनालाई कोषले नै बिदा गर्‍यो ।

प्रवक्ता अधिकारी भन्छन्– ‘कामको प्रकृति नै यस्तै हो । आफूलाई कस्तो समस्या छ त्यो बुझेर स्वास्थ्यको ख्याल आफैँ गर्नुपर्‍यो । जस्तै मास्क लगाउने, शव जलाइसकेपछि सरसफाइ गर्ने जस्ता आधारभूत कुरामा ध्यान दिन जरुरी छ ।

एक जनाले दैनिक कति शव जलाउँछन् ?

‘म धेरै जलाउँछु भनेर कसैले भन्न पाउँदैन । सबैलाई पालो दिइन्छ । कहिलेकाहीँ एक जनाले एउटा मात्रै पनि जलाउनुपर्ने हुनसक्छ भने कहिलेकाहीँ २ वटा ३ वटा पनि भाग लाग्छ । सबैजना मिलेर जलाउँछन् ।’ कोषका प्रवक्ता अधिकारी भन्छन् । घाटे पौडेल कहिले त खाली हात बस्नुपर्ने अवस्था रहेको बताउँछन् ।

विद्युतीय शवदाह गृह एक मात्र विकल्प

हिन्दु संस्कार अनुसार दाउरामा शव जलाउने परम्परा रहे पनि वन विनाश, वातावरण, प्रदूषण, मानिसको स्वास्थ्य अवस्था लगायत एजेण्डा मध्यनजर गर्दै विद्युतीय शवदाह मार्फत नै शवहरू जलाउने विषयमा छलफल भइरहेको प्रवक्ता अधिकारीले बताए ।

परम्परा जोगाउनका  १/२ वटा ठाउँमा दाउराले जलाउने र अरु सवैमा विद्युतमार्फत शवदाह गरिने योजना रहेको उनले बताए । खर्चका हिसाबले पनि सस्तो पर्छ । दाउरामा जलाउँदा कम्तीमा पनि १५ हजार लाग्छ भने विद्युतबाट जलाउँदा ४ हजारले पुग्ने उनको भनाई छ । त्यस्तै दाउराबाट जस्तो धुवाँ पनि नआउने हुँदा शव जलाउनेहरूको स्वास्थ्यमा पनि असर नगर्ने भएकाले सबै कारणले गर्दा विद्युतीय शवदाह उपयुक्त हुने अधिकारी बताउँछन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ०० बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक