दिनभर आजमा खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता, जनप्रदर्शनमा ५० हजार बढीको सहभागिता हुन्छ : अध्यक्ष लिङ्देन, न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक कायम गर्ने सहमति, लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्दा दायरलगायतका समाचारले प्रमुख स्थान पाए ।
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
- गण्डकीका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ
- लुम्बिनीका मुख्यमन्त्री महरासहित चार जनाले लिए शपथ
२२ स्थानीय तहको उपचुनाव मंसिरमा गर्ने तयारी
देशभरिबाट रिक्त रहेका स्थानीय तहका २२ पदमा आगामी मंसिरमा उपचुनाव गर्ने सरकारले तयारी थालेको छ ।
निर्वाचन आयोगसँगको छलफलपछि आइतबार गृहमन्त्री रवि लामिछानले स्थानीय तहको उपचुनाव आगामी मंसिरमा गर्नेबारे छलफल भएको बताए ।
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् ।
भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले संसद् सचिवालयमा दर्ता भएको उक्त विधेयकलाई फिर्ता लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन् ।
एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता (अपलोड) गरेको एक घण्टाभित्र आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति प्राप्त गर्न सकिने बताए। वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइनमार्फत दिइँदै आएको श्रम स्वीकृतिको सेवालाई छिटोछरितो बनाउँदै एक घण्टाभित्र उपलब्ध गराउन सम्भव भएको उनको भनाइ छ ।
जनप्रदर्शनमा ५० हजार बढीको सहभागिता हुन्छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ ।
जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पुरा भएको र ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेका हुन् ।
न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक कायम गर्ने सहमति
न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अंक ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो ।
नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन, को कहाँ ?
नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ ।
आइतबार न्याय परिषद्ले १० जिल्ला न्यायाधीशहरूको पदस्थापन गरेको हो ।
नेपाली सेनाले हिमालबाट १० टन फोहर सङ्कलन गर्ने
नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’ मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने छ ।
नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर सङ्कलन गर्ने योजना रहेको जानकारी दिएको छ । सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिए । उनीहरूमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन् ।
लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्का लिने निर्माण कम्पनीबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबी छ ।
फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सकुशल उद्धार
कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
आज साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय शोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।
अर्तर्राष्ट्रिय…
दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने
इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्दछ । इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार नयाँ ‘सुरक्षा क्षेत्र’ स्थापना भएपछि इजरायली रक्षा बल (आईडीएफ) ले गाजाको वरिपरि रहेका इजरायली क्षेत्रमा आफूलाई पुनर्गठित गरेको छ ।
सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु
सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ ।
र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिबार शहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण गरेको स्थानीय प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खेलकुद…
अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु
चितवनमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु भएको छ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ ।
नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि
नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो ।
आयरल्यान्ड ए ले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड एले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।
प्रतिक्रिया