वायु प्रदूषणको प्रमुख कारण डढेलो | Khabarhub Khabarhub

वायु प्रदूषणको प्रमुख कारण डढेलो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचाङ्क एक्यूआई १५० देखि २०० को हाराहारीमा रहेको छ।सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धि, मुलुकको विभिन्न स्थानमा लागेको डढेलोको कारण वायु प्रदूषण बढिरहेको विज्ञ बताउँछन्। नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको भन्दै सचेत रहन वातावरण विभागले अनुरोध गरेको छ। मुलुकका विभिन्न स्थानमा लागेको डढेलोको कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो। पछिल्लो समय काठमाडौं विश्वकै पदुषित सहरको सूचीमा परेको छ, काठमाडौँमा धेरै वायु प्रदूषण हुनुको कारण के हो ? तत्कालको वायु प्रदूषणको अवस्था के छ ? तत्काल घट्ने सम्भावना छ कि छैन ? प्रदूषण घटाउन के कुरामा ध्यान दिनु आवश्यक छ ? भन्ने विषयमा वातावरण विभागका सूचना अधिकारी दिपक ज्ञवालीसँग गरिएको कुराकानी :

काठमाडौंको भू-धरातल वरिपरि पहाडले घेरिएको र बिचमा समथर मैदान छ। यहाँ बाहिरबाट आएको प्रदूषण र उत्सर्जन भएको वायु प्रदूषण साँगा हुँदै पूर्वतिर गएपछि घट्ने हो। त्यसको लागि कि त जोडसँग हावा चल्नुपर्छ या त पानी पर्नुपर्छ, नभए केही समय यस्तै रहने सम्भावना देखिन्छ।

पछिल्लो समय काठमाडौं विश्वकै पदूषित सहरको सूचीमा परेको छ, वायु प्रदूषणको कारण के हो ?
वायु प्रदूषणका विभिन्न कारण छन्। ती कारणमा एउटा यातायातका साधन हुन्। गाडीबाट निस्कने धुवाले प्रदूषण गराइरहेको हुन्छ। प्रदूषित धुवाले वायु प्रदूषण बढाउँछ। त्यस्तै विकास निर्माणका काम गर्दा निस्किने धुलो, उद्योग कलकारखानाबाट निस्किने धुवाधुलो, गाउँघरमा दाउरा बाल्ने, फोहोरमैला बाल्ने, वनजंगलमा लाग्ने डढेलोले प्रदूषणलाई बढाइरहेको हुन्छ।

त्यस्तै नेपालभन्दा बाहिरबाट पनि हावाका माध्यमबाट प्रदूषण आउने गर्छ। यी विभिन्न कारणले गर्दा हाम्रो वायु मण्डलमा धुलाका कण, कार्बन मनोअक्साइड लगायतका हानिकारक ग्यास हाम्रो वायु मण्डलमा रहेका हुन्छन्। जसले गर्दा वायु प्रदूषण भइरहेको हुन्छ। अहिलेको वायु प्रदूषणको मुख्य कारण भने देशभरका जंगलमा लागिरहेको डढेलोलाई मान्न सकिन्छ।

अहिले तुलनात्मक रुपमा काठमाडौंका सडक सफा देखिन्छन्, इँटा भट्टा पनि छैनन्। वायु प्रदूषण हुनुमा काठमाडौंको भूगोलको भूमिका कति छ ?
काठमाडौंमा वायु प्रदूषण हुनुमा भूगोलको भूमिकालाई विशेष मान्न सकिन्छ। काठमाडौंको पूर्वी र दक्षिणी भेग बाग्मती करिडोरबाट, उत्तरमा नार्गाजुनको खोँचबाट र पश्चिमी क्षेत्र थानकोटबाट काठमाडौं उपत्यकामा हावा प्रवेश गर्छ। यो हावा साँगा हुँदै पूर्वतिर बनेपा धुलिखेल तिर बहने हुन्छ। काठमाडौंको भू-धरातल वरिपरि पहाडले घेरिएको र बिचमा समथर मैदान छ। यहाँ बाहिरबाट आएको प्रदूषण र उत्सर्जन भएको वायु प्रदूषण साँगा हुँदै पूर्वतिर गएपछि घट्ने हो। त्यसको लागि कि त जोडसँग हावा चल्नुपर्छ या त पानी पर्नुपर्छ, नभए केही समय यस्तै रहने सम्भावना देखिन्छ।

तत्कालको वायु प्रदूषणको अवस्था के छ ?
वायु प्रदूषणको गुणस्तरलाई मापन गर्ने वायु गुणस्तर सूचाङकको विभिन्न स्टेसनको डेटाको आधारमा भन्नुपर्दा अहिले पनि त्यति स्वस्थकर छैन। एयर क्वालिटी १५० देखि २०० को हाराहारीमा अहिले रहेको छ।

तत्काल घट्ने सम्भावना छ कि छैन ?
अहिले नेपालमा मौसमको फरकास्टिङ गरेजस्तै वायु प्रदूषणको फरकास्टिङ गर्ने प्रविधिको विकास भइसकेको छैन। त्यसैले अहिले नै के हुन्छ भन्न सकिँदैन। तर पानी परेर जंगलमा लागेको डढेलो निभ्यो भने वायु प्रदूषण केही हदसम्म घट्छ।

वायु प्रदूषणका कारण जनस्वास्थ्यमा ठुलो असर गर्छ भनिन्छ के कस्ता समस्या देखिन्छन् ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य स्वस्थ्य क्षेत्रमा भएका अध्ययन अनुसन्धान अनुसार वायु प्रदूषणका मानिसमा विभिन्न खाले रोग जस्तै रुघाखोकी, निमोनिया, दम, घाँटी दुख्ने, आँखा पोल्ने, मुटु र दिमाखसँग सम्बन्धित रोग लाग्ने गर्दछन्। त्यस्तै वायु प्रदूषणका कारण क्यान्सर पनि हुन्छ भनिन्छ।

यो मौसममा हरेक वर्ष काठमाडौं प्रदूषणको चपेटामा पर्ने गरेको छ, प्रदूषण घटाउन सरकारले के पहल गरिरहेको छ ?
वायु प्रदूषण नियन्त्रणका लागि सरकारको तर्फबाट विभिन्न काम भएका छन्। विभिन्न नीति निर्माण बनाउने र कार्यान्वयन गर्ने, वातावरण सम्बन्धी ऐन, कानुन, नीति, नियम छ। त्यस्तै काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना छ। यिनीहरुलाई नेपाल सरकारका तिनवटै तह स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले कार्यान्वयन गरिरहेकै छन्। तर अहिले हामीसँग भएको स्रोत साधनले वायु प्रदूषण तत्काल नियन्त्रण गर्न सकिने अवस्था छैन। अहिले तत्कालको ठुलो समस्या डढेलको हो। यसमा सरकार र आम जनता सबैले आफ्नो तर्फबाट प्रयास गरे पनि सबै ठाउँको डढेलो नियन्त्रण गर्नसक्ने संयन्त्र पनि हामीसँग अहिले छैन।

सरकारले नीति नियम बनाउँछ तर कार्यान्वयन गर्दैन भन्ने स्वास्थ्यकर्मीको गुनासो छ, के हो वास्तविकता ?
अगलागीको केशमा हाम्रो विपत प्राधिकरण छ। उसले पनि विभिन्न काम गरिरहेको छ। जस्तै आगो निभाउन दमकलको व्यवस्था गर्ने, अग्नि नियन्त्रकलाई तालिम दिने, स्थानीय तहमा तालिम दिने, उपकरण खरिद गर्ने, अन्य निकायलाई पनि यसबारे सचेतना फैलाइरहेको छ। तर पनि कतिपय ठाउँमा धेरै क्षति हुँदा पनि हाम्रो स्रोत साधन र जनशक्तिले काम गर्न सकिरहेको अवस्था छैन।

वायु प्रदूषणलाई कम गर्नका लागि सरकारले मात्रै चाहेर केही गर्न सक्दैन। यो सबैको चासोको विषय र सबैले ध्यान दिनुपर्ने विषय हो।  प्रदूषणका कारण यति धेरै छन्। यी कारणमै हामीले काम गर्न सक्यौं भने मात्रै प्रदूषण घट्ने हो।

अहिलेको प्रदूषण नेपालसँगै दिल्ली र स्लामावादमा पनि उस्तै छ, यसमा छिमेकी मुलुकको भूमिका कत्तिको छ ?
विशेष गरेर भारतका विभिन्न ठाउँमा भएको प्रदूषण पनि हावाका माध्यमबाट नेपालमा आउने भएकाले वायु प्रदूषणलाई बढाइरहेको छ। तर अहिलेको प्रमुख कारण भनेको हाम्रो आन्तिरिक प्रदूषण नै हो। अहिले करिब १५–२० दिनको समयमा वायु प्रदूषणको मात्रा बढेको छ। त्यसको कारण वनजंगलमा लागेको डढेलो र फोहोर जलाउँदा निस्केको धुवा लगायत आन्तिरिक स्रोत मान्न सकिन्छ।

प्रदूषण घटाउन के कुरामा ध्यान दिनु आवश्यक छ ?
वायु प्रदूषणलाई कम गर्नका लागि सरकारले मात्रै चाहेर केही गर्न सक्दैन। यो सबैको चासोको विषय र सबैले ध्यान दिनुपर्ने विषय हो।  प्रदूषणका कारण यति धेरै छन्। यी कारणमै हामीले काम गर्न सक्यौं भने मात्रै प्रदूषण घट्ने हो। त्यसैले वायु प्रदूषण भइसकेपछि घटाउने भन्दा पनि प्रदूषण हुनै नदिने तर्फ सोच्नुपर्ने हुन्छ। यसका लागि सरकार सँगसँगै आम जनता स्वास्थ्यकर्मी, मिडियाकर्मी, विभिन्न एनजिओ, आइएनजिओ आ-आफ्नो तर्फबाट सक्दो पहल गर्न लाग्नुपर्छ। जस्तै केही वस्तु जलाउँदा निस्किने धुवाले प्रदूषण बढाउँछ भने फोहोरजन्य पदार्थ नजलाउने, हामीले चलाउने यातायातका साधन समय समयमा मर्मत गर्ने, वनजंगलमा आगो नलगाउने, सकेसम्म आफ्नो घर वरपर हरियाली वातावरण बनाउने यस्तै कुराहरुमा सबैले ध्यान दियौं भने केही हदसम्म वायु प्रदूषण कम गर्न सकिन्छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ३४ बजे

पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा

काठमाडौं– निर्वाचन आयोगले पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध निर्वाचित

फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य

काठमाडौं– फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन

नेपाल आइपुगे भारतीय सेना प्रमुख द्विवेदी (तस्बिरहरू)

काठमाडौं- भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं– चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२

बिजुलीका पोल र तार हटाएपछि सफा देखियो न्यूरोड क्षेत्र (तस्बिरहरू)

काठमाडौं- असरल्ल तार र बिजुलीका पोल हटाएपछि काठमाडौंको न्यूरोड क्षेत्र सफा