सफल इलमी नरमाया – मकैको खोस्टा केलाउँदै, आयात घटाउँदै ! « Khabarhub

सफल इलमी नरमाया – मकैको खोस्टा केलाउँदै, आयात घटाउँदै !



मोरङ– मोरङ उर्लाबारीकी नरमाया दङ्गाल (खनाल) सानैदेखि स्वेटर बुन्न रुचि राख्थिन्‌ । उनले बाल्यकालमा फुर्सदको समय स्वेटर बुन्न जान्ने व्यक्ति खोज्न र सिक्न सदुपयोग गरिन्‌ ।

त्यही लगावले उनलाई हाल सफल उद्यमी तथा प्रशिक्षकका रूपमा स्थापित गराएको छ । अहिले उनी हस्तकला उद्यमी तथा प्रशिक्षकको रूपमा परिचित छिन् । सीप, क्षमता र काम प्रतिको लगावका कारण नरमायालाई छोटो समयमै नाम र दाम दुबै मिलेको छ ।

उनले गाउँघरमा खेर जाने सामग्रीबाट हस्तकलाका आकर्षक सामग्री उत्पादन र बिक्री गर्दै आएकी छिन् । गाउँघरमा पशुबस्तुले नखाए मिल्काइने मकैको खोस्टा, खोलाबगरमा पाइने सिरु झार या केराको थाम.. यी र यस्तै कम महत्वमा पर्ने या खेरा जाने बस्तुमा कला र सीप मिश्रण गरेर उनले आकर्षक र उत्कृष्ट हस्तकलाका सामग्री तयार गर्ने गरेकी छिन् ।

उर्लाबारी–७ स्थित आफ्नै घरमा १२ वर्षअघि नरमायाले हस्तकला उद्योग खोलेकी हुन्‌ । सोही उद्योगमा मकैका खोस्टा प्रयोग गरी आकर्षक फूलदेखि उपहार दिन प्रयोग गरिने गुच्छा र सार्वजनिक कार्यक्रमका लागि ब्याच लगायत सामग्री बनाउन नरमायालाई भ्याइ-नभ्याइ छ । उनले तयार पार्ने मकैको खोस्टाको फूल र ब्याचलाई धेरैले रुचाउने गरेका छन् ।

उनको उद्योगमा मकैका खोस्टा काटेर रङ भर्दै घर तथा कार्यालयका टेबल र भित्ता सजाउनका साथै उपहार दिन प्रयोग गरिने गुच्छा र ब्याच, ढक्की लगायत सामग्री उत्पादन हुने गरेको छ । अहिले त उनले उत्पादन गर्ने फूल र ब्याचले स्थानीयस्तर तथा जिल्लामा हुने साना–ठूला सार्वजनिक कार्यक्रममा विशेष स्थान पाउन थालेको छ ।

उनको हस्तकला उद्योगबाट उत्पादित सामग्रीमध्ये छोटो समयमा सबैभन्दा रुचाइएको उत्पादन मकैको ब्याच हो । रङ्गीबिरङ्गी फूलहरूको माग पनि बजारमा उच्च छ ।


घर, कार्यालय, विवाहमा गाडी सजाउनदेखि प्रणय दिवस (भ्यालेन्टाइन डे) मा मायाको चिनोको रूपमा पनि खोस्टाबाट बनेका फूलको प्रयोग बढ्न थालेको नरमाया बताउँछिन् ।

‘प्लाष्टिकबाट बनेको आयातित सामग्रीले केही अघिसम्म सार्वजनिक समारोहमा कब्जा जमाउने गरेको थियो,’ नरमाया भन्छिन्, अब क्रमिक रूपमा आयातित यस्ता सामग्रीको बजार तोडिँदैछ । मकैको खोस्टाका ब्याचले ठाउँ लिन थालेको छ ।’

तार र टेकको सहायताले खोस्टाबाट आकर्षक फूल तयार गरिन्छ । फूलको माग विशेषगरी ‘भ्यालेन्टाइन डे’ का दिन उच्च हुने गरेको नरमाया बताउँछिन् । खोस्टाबाट तयार फूल राख्न नरमायाले बाँसका चोया काढेर गमला बनाउने काम पनि गर्छिन्‌ ।

भन्छिन्, ‘स्थानीय स्तरमा हुने कार्यक्रमदेखि विराटनगरसम्म हुने ठूला कार्यक्रममा पनि खोस्टाबाट बनाइएको ब्याचको माग आउन थालेको छ, भविष्यमा यो उत्पादनले राम्रो बजार पाउनेमा आशावादी छु ।’

नरमायाले खोस्टाबाट तयार गरिएको ब्याचको मूल्य ५० रुपैयाँ तोकेकी छिन्‌ । फूलहरूको मूल्य एक हजारदेखि १५ सय रुपैयाँसम्म छ । खोस्टाबाट तयार गरिने उत्पादन आयातित सामग्रीभन्दा सस्तो र वातावरणमैत्री हुने उनी बताउँछिन्‌ ।

उनको आफ्नै घरका कोठाहरू अहिले तीनै आकर्षक सामग्रीले भरीभराउ छ । केराको पहेँलपुर घरी, विवाहमा ओढिने रङ्गीचङ्गी छाता, पैसा राख्ने ढाकी, सिरुढाकी, पिरा, गुडिया, सुइटर, ऐना र झुमर लगायतका हस्तनिर्मित सामग्रीले आकर्षण बढाएको छ ।

सो हस्तकला उद्योगमा उत्पादित सामग्री अहिले देश-विदेशसम्म कोसेलीको रूपमा लाने गरिएको नरमाया बताउँछिन् ।

सीप सिकेर नरमाया आफूलाई आत्मनिर्भर बनाएकी छिन्‌ । स्थानीय महिलाहरूलाई रोजगारी दिँदै आएकी छिन्‌ । सजावटका सामग्री बनाउन चाहिने धागो, मोती र फलामे रिङ उर्लाबारी, विराटनगर, धरान, इटहरी, पथरी र दमकको बजारबाट ल्याउने उनी बताउँछिन्‌ ।

लगानी अनुसार मनग्गे कमाइ भएको उनले सुनाइन्‌ । उनले अरूलाई पनि यस्ता सीप सिकेर स्वरोजगार बन्न आग्रह गरेकी छन् । विवाह र पार्टी लगायत उत्सवका लागि घरैमा आएर छिमेकीले अर्डर दिने गरेको उनी बताउँछिन् । सिरु र काँसका ढाकी, बेहुलीले बोक्ने पर्स, अतिथि स्वागतका लागि गाग्रा, एैना र झुमर बनाएर उनले जिल्लाका व्यापारी र छिमेकीलाई बिक्री गर्ने गरेकी छिन् ।

अहिले उनको हस्तकला केन्द्रमा १० जनाले रोजगारी पाइरहेका छन्‌ । उनको कलाको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ५० हजार रुपैयाँसहित उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । दर्जन जति संस्थाबाट पनि सम्मान पाइसकेकी छिन्‌ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ४ : २१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२