‘पूँजीबजार विकासमा शासक र कानून बाधक छन्, नयाँ एक्सचेञ्ज चाहिँदैन’ | Khabarhub Khabarhub

‘पूँजीबजार विकासमा शासक र कानून बाधक छन्, नयाँ एक्सचेञ्ज चाहिँदैन’


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज जेठ २५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)  ३२ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५० जेठ २५ गते बोर्ड स्थापना गरिएको थियो । तर, स्थापनाको ३१ वर्ष बितिसक्दा पनि बोर्डले पूँजीबजार विकासमा अपेक्षित भूमिका खेल्न नसकेको भन्दै आलोचना हुने गरेको छ । पूँजीबजार विकास हुन नसक्नुमा सरकारी लगानीको एकमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मात्रै हुनु र अर्को स्टक एक्सचेञ्ज स्थापना नगर्नु लगायतका कारण देखाउने गरिएको छ ।

बोर्डका पूर्वअध्यक्ष एवम्‌ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल पूँजीबजार विकास नहुनुमा शासक र कानून बाधक रहेको बताउँछन्‌ । डा. नेपाल ०६४ भदौ ११ देखि २०६५ मंसिर ११ गतेसम्म बोर्ड अध्यक्ष थिए । बोर्ड स्थापना दिवस अवसरमा डा. नेपालसँग गरिएको पुँजीबजार केन्द्रित सम्वादको सम्पादित अंशः

धितोपत्र बोर्ड ३२ औँ वर्षमा प्रवेश गरेको छ, तपाईंले पनि केही समय नेतृत्व दिनुभयो, पूँजीबजार नियामक यो संस्थाको विकासक्रम कस्तो रहेको पाउनुहुन्छ ?
बोर्डको जुन किसिमले विकास हुनुपर्ने हो, त्यो भएको छैन । म बोर्ड अध्यक्ष हँदादेखि नै धितोपत्रमार्फत गैर आवासीय नेपालीलाई लगानी गर्न दिने भन्ने कुरा भएको थियो । तर आजसम्म त्यो कार्यान्वयन हुन सकेको छैन । यसले पनि बोर्डको गति कस्तो छ भन्ने देखाउँछ । घरजग्गा कारोबार गर्नेलाई पनि नेप्सेमा समावेश गराउने योजना अहिलेसम्म सफल हुन सेकेको छैन ।

धितोपत्र बोर्डको आफ्नै भवन छैन । बोर्ड अहिलेसम्म पनि स्वायत्त संस्थाको रूपमा विकास हुन सकेको छैन । अहिले पनि अर्थ मन्त्रालयको सहसचिवले बोर्ड अध्यक्षको रूपमा काम गर्ने भन्दै कानून नै संशोधन गरेर पठाएको अवस्था छ । जनताको लगानी एकीकृत गरी ठूलो काम गर्ने बोर्डलाई एउटा सामान्य संस्थाको रूपमा अघि बढाइएको छ ।

डेढ वर्षको मेरो कार्यकालमा पूँजीबजारको जग हाल्ने काम भयो । तर, त्यसपछि बोर्डको जुन किसिमले काम हुनुपर्ने हो- त्यो भने हुन सकेन । बोर्डको आफ्नै भवन छैन । मेरो कार्यकालदेखि अहिलेसम्म ६/७ ठाउँमा सरिसकेको अवस्था छ

हामीले नेप्सेलाई परिकृत गर्ने सकेका छैनौं । सफ्टवेयर कति बेला बिग्रिने हो, त्यो टुङ्गो छैन । हामीले लगानीकर्ता र लगानीकर्ताको लगानीप्रति हेल्चेक्य्राइँ गरिरहेका छौँ । केही समयअघि भित्री कारोबार (इन्साइडर ट्रेडिङ) अनुसन्धानको जिम्मा प्रहरीलाई दिइएको छ ।

त्यसको अर्थ के हो ? विशेषज्ञ नचाहिने भन्ने हो ? विशेषज्ञको अत्यन्त महत्वपूर्ण भूमिका भएको संस्थाको साटो अनुसन्धान जिम्मा प्रहरीलाई दिइएको छ । हाम्रो देशको शासन सञ्‍चालन गर्ने राजनीतिज्ञमा आवश्यक सोच नहुँदा बोर्डको विकास हुन नसकेको हो ।

तपाईंले आफ्नो कार्यकालमा बोर्ड विकासका लागि के-कस्ता काम गर्नुभयो ?
मैले अध्यक्षको जिम्मेवारी सम्हाल्दा सेमि अटोमेसन पनि थिएन । बोलेर शेयर खरिद-बिक्री गर्नुपर्ने अवस्था थियो । एउटै व्यक्तिले ५०–६० हजार नागरिकताको फोटोकपी लिएर शेयरमा लगानी गर्ने गरेका थिए । जुन विकृति मेरै कार्यकालमा हटाइयो ।

बैंकमा खाता नखोली शेयरमा लगानी गर्न नपाइनेगरी नियमावलीमै संशोधन गरियो । केहीले सो संशोधनप्रति विरोध समेत गरेका थिए । तर, अहिले त्यो कुरा राम्रोसँग कार्यान्वयन भएको छ । रोकिएका १९ वटा नियमावली अघि बढाइयो । नेप्सेलाई अपग्रेड गराउने काम पनि त्यो बेला नै भयो, नयाँ सफ्टवेयर राखियो । त्यो बेला ब्रोकर पनि थपियो । २९२ इन्डेक्समा रहेको बजार नियमावली ल्याइएपछि ११७५ सम्म पुग्यो । शेयरबाट त्यतिबेला लगानीकर्ताहरूले निकै कमाए । ५० हजार लगानीकर्ता भएको ठाउँमा विश्वास बढेर मैले छाड्ने बेलासम्म १३ लाखसम्म पुगेका थिए ।

अन्तर्राष्ट्रिय रूपमा नेपालको धितोपत्र बोर्ड विकासको क्रममा रहेको छ भन्ने सन्देश दिनुपर्‍यो । बोर्डको आफ्नो भवन बनाउनुपर्‍यो । प्रशासनिक संयन्त्र कमजोर छ । यति धेरै संस्थालाई अनुगमन गर्न भवन र संयन्त्र सुधार्नुपर्छ

डेढ वर्षको मेरो कार्यकालमा पूँजीबजारको जग हाल्ने काम भयो । तर, त्यसपछि बोर्डको जुन किसिमले काम हुनुपर्ने हो- त्यो भने हुन सकेन । बोर्डको आफ्नै भवन छैन । मेरो कार्यकालदेखि अहिलेसम्म ६/७ ठाउँमा सरिसकेको अवस्था छ ।

धितोपत्र बोर्ड विकास गरियो भने अझ बजार बढ्छ । स्वार्थ बाझिएको व्यक्ति बोर्ड सदस्यको रूपमा राख्दा राम्रो सन्देश दिँदैन । यसतर्फ गम्भीरता देखाउनुपर्छ ।

तपाईंको विचारमा के कुराले गर्दा बोर्डको विकास हुन नसकेको जस्तो लाग्छ ?
राजनीतिज्ञ र जिम्मेवार व्यक्तिहरू नै बोर्डको विकासमा सहमत हुनुपर्‍यो । विशेषगरी नेतृत्व जसले गरेको छ- त्यो व्यक्ति नै यो विषयमा सहमत भयो भने बोर्ड रपुँजीबजारको विकास हुन सक्छ ।

सरकार सञ्चालन गर्नेदेखि कानून बनाउने व्यक्तिसम्मले धितोपत्र आवश्यक छ भन्ने कुरा बुझ्नुपर्छ । अहिले बोर्डको विकास नहुनुमा चाहिँ सरकार चलाउने र कानून बनाउने नै बाधक छन् ।

बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिस्टमा राखेको अर्थ मन्त्रालयले त्यस पछिको प्रक्रिया अघि बढाएको छैन । अध्यक्ष नियुक्त गर्न यति गाह्रो किन परेको होला ?
झण्डै कुल गाहर्स्थ उत्पादन (जीडीपी) आकार बराबरको कारोबार हेर्ने निकाय अध्यक्षविहीन छ । सरकारले अहिलेसम्म अध्यक्ष छान्न सकेको छैन । किन भइरहेको छ- त्यो देख्दा मलाई पनि अच्चम लाग्छ ।

हामीलाई विकास गर्न पैसा पुगेन पनि भन्ने, विदेशी निकायसँग पैसा पनि माग्ने, अनि हाम्रो देशमा भएको पैसालाई परिचालन गर्ने भने नियम कानून र नियुक्ति जस्ता कुराहरू रोकेर राख्ने गर्छौं । हामीले महत्व नबुझेर यस्तो भएको जस्तो लाग्छ ।

कानून नै संशोधन गरी बोर्ड अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव पठाइएको छ, यस्तो निर्णयले शेयरबजारमा कस्तो प्रभाव पार्छ ?
नेपालमा पुँजीबजार विकास सुस्त गतिमा भएको छ भनी यही कुराले देखाएको छ । यस्तो निर्णले गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई नेपालको धितोपत्रमा लगानी गर्ने बाटो बन्द गराउँछ ।

संसारभर नै स्टक एक्सजेञ्जहरू मर्ज गर्न थालिएको छ । सबैले लगानी गर्न सकुन्‌ भन्ने यसको ध्येय हो । ब्रोकरहरू पनि अन्तर्राष्ट्रिय रूपमै आउँदैछन्‌ । अहिले सबब्रोकर, नेस्नल ब्रोकर, इन्टरनेशनल ब्रोकरहरू आइरहेका छन्‌ । विश्वभर नै शेयर मूल्य चलायमान होस् भनी यस्तो गरिएको हो । त्यसैले मैले शुरूदेखि नै अर्को होइन, हालकै स्टक एक्सचेञ्ज नेप्सेलाई अपग्रेट गरौँ भनेको हुँ

यथाशीघ्र बोर्ड अध्यक्ष नियुक्त गर्नुपर्‍यो । नियुक्त गर्दा जानेको बुझेको मान्छेलाई नियुक्त गर्नुपर्‍यो । नियम कानूनहरू परिवर्तन गर्नुपर्‍यो, त्यस्ता कानूनले निरन्तर काम गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय रूपमा नेपालको धितोपत्र बोर्ड विकासको क्रममा रहेको छ भन्ने सन्देश दिनुपर्‍यो । बोर्डको आफ्नो भवन बनाउनुपर्‍यो । प्रशासनिक संयन्त्र कमजोर छ । यति धेरै संस्थालाई अनुगमन गर्न भवन र संयन्त्र सुधार्नुपर्छ ।

पछिल्लो समय स्टक एक्सचेञ्ज थप्ने विषय निकै चर्चामा छ, नेपालमा अर्को स्टक एक्सचेञ्ज आवश्यक हो कि होइन ?

अर्को स्टक एक्सचेञ्ज ल्याउने चर्चा १७ वर्ष अघिदेखि नै चलेको हो । मैले सोही बेला देखि नै त्यसको विरोध गरेको हुँ । किनभने हाम्रोमा अर्को स्टक एक्सचेञ्ज ल्याउने बेला भएको छैन । अहिले भएकोलाई नै व्यवस्थित गरेर रणनीतिक साझेदार जोडौं, विदेशी लगानीकर्ता कसैले दिन्छ भने लिऔं । सरकारी शेयर छ त्यो बेचेर बरू निजी क्षेत्रलाई दिऔं । निजी क्षेत्रबाट नै यसको विकास गरौँ ।

किनभने; हाम्रो अर्थतन्त्र सानो छ । सानो अर्थतन्त्र भएको ठाउँमा अर्को स्टक एक्सचेञ्ज ल्याउने बित्तिकै शेयरको मूल्यमा अत्यन्त उतारचढाव निम्तिन्छ र जनताको विश्वास गुम्छ । शेयर बजार नै ध्वस्त हुन्छ । त्यसैले अर्को स्टक एक्सचेञ्ज थप्ने कुरा राम्रो हुँदै होइन । भारत जत्रो ठूलो पूँजीबजार भएको देशमा एक समय स्टक एक्सचेञ्जको सङख्या १७ वटासम्म थियो । ती सबैलाई मर्ज गरेर अहिले नेश्नल स्टक एक्सचेञ्ज र बम्बई स्टक एक्सजेञ्ज बनाइएको छ ।

बोर्डको भौतिक संरचना व्यवस्थापनमा चाँडै पहल गर्नुपर्ने देखिएको छ । अहिले कर्मचारी कम छन्‌, त्यो पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । इन्साइडर ट्रेडिङ जस्ता कुराहरू हेर्न कर्मचारीको वृद्धि विकासमा लाग्न आवश्यक छ

संसारभर नै स्टक एक्सजेञ्जहरू मर्ज गर्न थालिएको छ । सबैले लगानी गर्न सकुन्‌ भन्ने यसको ध्येय हो । ब्रोकरहरू पनि अन्तर्राष्ट्रिय रूपमै आउँदैछन्‌ । अहिले सबब्रोकर, नेस्नल ब्रोकर, इन्टरनेशनल ब्रोकरहरू आइरहेका छन्‌ । विश्वभर नै शेयर मूल्य चलायमान होस् भनी यस्तो गरिएको हो । त्यसैले मैले शुरूदेखि नै अर्को होइन, हालकै स्टक एक्सचेञ्ज नेप्सेलाई अपग्रेट गरौँ भनेको हुँ । १७ वर्षदेखि अहिलेसम्म पनि भन्दै आएको छु । अहिले पनि म के भन्छु भने अर्को स्टक एक्सचेञ्ज नखोलौं, त्यसले नेपालको शेयर बजारमा ठूलो नकारात्मक प्रभाव पार्छ ।

अब धितोपत्र बोर्डमा आउने अध्यक्षले सामना गर्नुपर्ने चुनौतीहरू के-के देख्नुहुन्छ ?
अब आउने अध्यक्ष र भएकै अध्यक्षले पनि सबैभन्दा पहिला स्वार्थ बाझिएका व्यक्तिलाई कम्पनीको बोर्डमा आउन दिनु हुँदैन । त्यसको लागि ऐन नै संशोधन गरी काम गर्नुपर्छ । धेरै नियमावली बनाउनुपर्ने स्थिति छ । हाम्रो नेप्सेको सफ्टवेयर धेरै पुरानो भएको छ, त्यसलाई पनि परिवर्तन गर्नुपर्छ ।

अहिले देश भित्रकै सफ्टवेयर किन्नुपर्छ भन्ने गरिएको छ । सफ्टवेयर भनेपछि त्यसै अन्तर्राष्ट्रिय, त्यो पनि देश भित्रको र बाहिरको भन्ने हुँदैन । जहाँको मजबुत छ, त्यहाँको किन्नुपर्छ । अहिलेको स्थितिमा अर्को नेप्सेको आवश्यकता छैन ।

बोर्डको भौतिक संरचना व्यवस्थापनमा चाँडै पहल गर्नुपर्ने देखिएको छ । अहिले कर्मचारी कम छन्‌, त्यो पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । इन्साइडर ट्रेडिङ जस्ता कुराहरू हेर्न कर्मचारीको वृद्धि विकासमा लाग्न आवश्यक छ ।

बोर्डको ३२ औँ वार्षिकोत्सव सन्दर्भमा थप केही भन्न चाहनुहुन्छ ?
शेयर बजारको विकास गर्ने संस्था नै धितोपत्र बोर्ड हो । यो स्वायत्त निकायको रूपमा विकास भएर अघि जानुपर्छ । यसको आफ्नै भौतिक संरचना हुनु अहिलेको अत्यावश्यक कुरा हो ।

यो संस्था नभई हुँदैन र धितोपत्र बजारको विकास नभई देशको आर्थिक विकास हुन सक्दैन । त्यसालाई मनन गरी अघि बढ्नुपर्छ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ८ : ०२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः