‘लुट’को ‘हाकु’की ‘पुतली’ बनेपछि चम्किएकी सिर्जना | Khabarhub Khabarhub

कला

‘लुट’को ‘हाकु’की ‘पुतली’ बनेपछि चम्किएकी सिर्जना


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिर्जना सुब्बा नेपाली फिल्म ‘द डाइङ क्यान्डल’बाट ‘क्विन्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट नायिकाको अवार्ड जित्न सफल कलाकार हुन् । तर, उनलाई धेरै नेपाली दर्शकले फिल्म ‘लुट’ श्रृंखलाकी ‘पुतली’ भनेर चिन्छन् ।

सिर्जना विदेश जाने वहानामा नायिका बन्न पूर्वबाट काठमाडौं छिरेकी हुन् । मोडलिङ र नाटक हुँदै उनले फिल्मकी केन्द्रीय नायिका बनेर अन्तर्राष्ट्रिय अवार्डसमेत जितिन् ।

उनी आज जुन स्थानमा छिन्; एकल संघर्षले पुगेकी हुन् । नायिका बन्नुअघि सुन्दरी प्रतियोगिता (ब्यूटी पेजेन्ट)मा प्रतिस्पर्धी भइन्‌, नृत्य र अभिनय सिकिन् । गुजारा चलाउन सडक नाटक, रेडियो नाटक र नृत्य प्रशिक्षक सम्मका काम गरिन् । त्यही अनुभव र संघर्षले उनी सशक्त कलाकार बनेकी हुन् ।

काठमाडौं छिर्दासम्म नाटकमा कुनै आकर्षण नभएकी उनी सयौं विद्यार्थीलाई नाटकबारे दीक्षित गराउने थलो ‘मण्डला’की संस्थापक समेत रहिन्‌ ।

यो सामग्रीमा ५० भन्दा बढी नाटक, दर्जनभन्दा बढी फिल्म र सोही हाराहारीमा सडक नाटकमा अभिनय गरेकी सिर्जनाको कला यात्रा समेटिएको छ ।

पूर्वमा बाल्यकाल
मोरङ उर्लाबारीको कृषक परिवारमा जन्मिएकी सिर्जनाको बाल्यकाल सामान्य ढङ्गले बित्यो । ठूला आवश्यकता र चाहना थिएनन्‌ । याद नै हुनेगरी बाल्यकालमा पैसाकै कारण अभाव भोग्नुपरेको उनलाई याद छैन । थोरै ढिला गरेर भए पनि कृषक बाआमाले आवश्यकता पूरा गरिदिन्थे ।

‘पैसा खेलाउन नपाए पनि बाल्यकाल सहज थियो । कुनै बजारीया सामान पाउन कुर्नैपर्ने हुन्थ्यो, तर पाइन्थ्यो,’ उनी बाल्यकाल स्मरण गर्छिन्, ‘मन परेको फिल्म पहिलो हप्तामै नपाए पनि अर्को हप्ता हेर्न पाइन्थ्यो ।’

जन्मे–हुर्केको भूगोल तराई ! सानो छँदा अग्रजको बिलौनाले जंगलमा घाँसदाउरा गर्ने पहाडी जीवनशैली भोग्ने इच्छा पलाएको उनले नबिर्सने कल्पना हो ।

‘आमाहरूले जङ्गलमा घाँसदाउरा गरेको सुनाउनुहुन्थ्यो । जङ्गल जान पाए कति रामइलो हुन्थ्यो होला जस्तो लाग्थ्यो, तर उहाँहरूले त दुःखको पोख्नु भएको रहेछ,’ उनी भन्छिन् ।

छिमेकी गाउँमा १ रुपैयाँ तिरेर टेलिभिजनमा फिल्म हेरेको उनले नबिर्सिने बाल्यकालको याद हो । वि.सं. २०५२ ताका बिजुलीबत्ती आएसँगै घरमा टेलिभिजन भित्रिएपछि भने फिल्म हेर्न पल्लो गाउँ जानुपरेन । तर बढ्दो उमेरसँगै हल आकर्षणले स्कुल छोड्ने बदमासी बढ्यो ।

घरमा टेलिभिजन, काका र फुपूहरूको नाचगानको माहोलले उनलाई पनि तान्यो । ‘तिहारमा देउसी–भैलोका लागि अभ्यास गर्ने स्थान चाहिँ हाम्रो घर थियो । काकाहरू र फुपूहरू नाच्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘साँझ उहाँहरू अभ्यास गर्नुहुन्थ्यो । म पनि नाच्न लागेँ ।’

उनले पहिलो पटक नाटकमा अभिनय पनि गाउँमै देखेकी हुन् । कान्छो काकाले नाटक लेखन र निर्देशन गरेर स्कुलमा व्यवसायिक रूपले देखाउँदा उनले पटकपटक हेर्ने अवसर पाएकी थिइन् ।

‘काकाको नाटक चक्कामा रेकर्ड गरिएको थियो । पछिसम्म हामी सुन्थ्यौं,’ उनले सुनाइन्‌, ‘त्यही कुराहरूले मलाई हिरोइन बन्न मन लाग्यो जस्तो लाग्छ ।’

नायिका बन्न बढेको आत्मविश्वास
सिर्जना कक्षा ९ मा पढ्दा छोरीहरू पनि कामका लागि विदेश जाने क्रम ह्वात्तै बढेको थियो । उनी पनि त्यतै लाग्न खोजिन्‌ , कारणवशः प्रक्रिया लम्बियो ।

अन्य कक्षामा भन्दा बढी मिहिनेत गरेर एलएसली दिएकी उनी जीवनमा पहिलो पटक फेल भइन् । मिहिनेत गर्दा पनि दुई विषय लाग्दा ‘इगो हर्ट’भएर उनले मौका परीक्षा नदिइ पुनः १० कक्षा दोहोर्‍याइन् र एसएलसी कटाइन् ।

११ को परीक्षा दिएपछि फिल्म खेल्ने तीव्र इच्छाले उनी विदेश जाने वहानामा ०६२ मा काठमाडौं आइन् । मामा–माइजूसँग कालोपुलमा बस्दै गर्दा एक अफिसमा ‘रिसेप्सनिस्ट’को जागिर खाएपछि उनको कलाकारिता यात्रा सुरु भएको हो ।

‘काठमाडौंको बाटो चिनिन्छ भनेर पनि जागिर खाएकी थिएँ । मोरङकै काका पर्नेको अफिस थियो,’ उनी भन्छिन्, ‘यहाँ चिनेको एकजना पनि साथी थिएन, संयोगले जागिर खाएको त्यो अफिसमा चिनेकी फुपु पर्ने साथी आइन्‌ र ब्युटिपेजेन्टमा प्रतिस्पर्धा गर्न जाऊँ भनिन्‌ ।’

नायिका बन्ने इच्छा छँदै थियो । उनी कार्यालय समय व्यवस्थापन गरेर ‘मिस्टर एन्ड मिस ओमकार– २०६३’ प्रतियोगिताको अभ्यासमा सहभागी हुन पुगिन्‌ । घर, अफिस र अभ्यास गर्ने स्थान मैतिदेवी आसपास १० मिनेटको दूरीमै भएकाले उनलाई सहज भयो ।

‘मोडलिङको बारेमा ज्ञान नै थिएन । र्‍याम्प भनेको पनि थाहा थिएन,’ उनी भन्छिन्, ‘१ महिनाको अभ्यासपछि प्रतियोगितामा गएँ । सेकेन्ड रनरअप भएँ ।’

प्रतियोगितामा चिनजानले मोडलिङमा भिज्न उनलाई सहयोग भयो । भन्छिन्, ‘काठमाडौंमा यो क्षेत्रका कोही चिनेको थिइनँ । त्यहाँ गएपछि संगत बढ्यो । तिनै साथीहरूको सिफारिसमा र्‍यापमा हिँड्ने अवसर पाउँदै गएँ ।’

प्रतियोगिताले बढाएको आत्मविश्वास
काठमाडौं आएर नायिका बन्ने लक्ष्य पछ्याउन आँट पलाउनु पछिको जस सिर्जना ‘मिस्टर एन्ड मिस ओमकार’लाई दिन्छिन् । सोही आँट सदुपयोग गरी त्यसबेला नायिका बन्न चाहिने एक मापदण्ड ‘नृत्य’ सिक्न उनी बागबजारको एक इन्स्टिच्युटमा भर्ना भइन् ।

गाउँमै नृत्यको धेरथोर अभ्यास गरेकी उनलाई यहाँ सहज भयो । दुई/तीन महिनामै उनले नृत्य प्रशिक्षकको विश्वास जितिन् र त्यहीँ जिम्मेवारी पाइन् ।

‘दुई/तीन महिनापछि नृत्य अगाडि गरिने व्यायामहरू मैले नै गराउन थालेँ । केही समयपछि अरू कक्षाहरू हेर्न थालेँ,’ उनी भन्छिन्, ‘जिम्मेवारी आएपछि मैले शुल्क पनि तिर्नुपरेन । राम्रै नाच्ने पनि भइसकेको थिएँ ।’

नृत्य त सिकिन्, तर कसले फिल्म दिने ? मेकरसँग ‘नेक्सस’ बनेको थिएन । तर उनले इन्सिच्युटबाट ‘स्टेज’ कार्यक्रममा नाच्ने मौका पाइन् । त्यसबेला ‘स्टेज’ कार्यक्रम बाक्लै हुने भएकाले आम्दानी पनि बढ्दै गयो ।

‘केहीअघि स्टेज कार्यक्रममा लागि विदेश नै जान पाइन्थ्यो, त्यो चलन हराउने क्रम शुरू भएकाले म चाहिँ जान पाइनँ,’ उनी भन्छिन्, ‘तर काठमाडौंमै कता–कता कार्यक्रम भइरहेकाले खर्च पुग्ने पैसा आउन थाल्यो ।’

नृत्य सिक्ने क्रममा विस्तारै अवसरका ढोका खुल्दै गयो । इन्स्टिच्युटमै उनलाई पहिलोपटक लेखक तथा कलाकार लोकेन्द्र लेखकले नाटकमा प्रस्ताव गरे । जुन नाटक राष्ट्रिय नाचघरको अञ्चलस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ भन्ने थाहा पाएपछि लोभिएको उनी सुनाउँछिन् ।

‘पोखरामा प्रतियोगिता हुन्छ भनेपछि घुम्न नि पाइन्छ भन्ने लोभ भयो,’ उनी भन्छिन्, ‘१३ वर्षको किशोरीको भूमिका निर्वाह गर्नुपर्ने रहेछ, हुन्छ गर्छु भनेँ ।’

छोटो रिहर्सल पछि उनी नाटक प्रतियोगितामा सहभागी भइन् । उनको पहिलो नाटक ‘मैना’ नै प्रतियोगिताको उत्कृष्ट बन्यो । उत्कृष्ट निर्देशकको अवार्ड त्यही नाकटले जित्दा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् ।

‘मलाई त पाउँदा केही नै लागेको थिएन । तर मैले पाएको अवार्डका लागि कतिले वर्षौं कुरेका हुँदा रहेछन्,’ उनी भन्छिन्, ‘अवार्डसँगै १५ हजार नगद पनि पाएँ ।’

यो खबर ‘नारी’ पत्रिकामा आफ्नो नाम र फोटो समेत राखेर छापिएपछि भने अभिनयमा थप गम्भीर बनेको उनी सम्झिन्छन् । ‘मलाई त नाटक गर्नु नै थिएन । यसको महत्त्व थाहा पनि थिएन,’ उनी भन्छिन्, ‘पत्रिकामा फोटो नै आएपछि भने यसको महत्त्व बुझेँ ।’

त्यसबेला मोडलिङ र अभिनयको सुरुवाती यात्रामै मिडियामा स्थान पाउने एक्लो व्यक्ति भएको उनको दाबी छ । उनी भन्छिन्, ‘म विभिन्न प्रतिस्पर्धामा जाँदा पनि मिडियामा स्थान पाउँथें । म भन्दा अगाडि नाटकका कलाकारको त्यसरी पत्रिकामा कभर भएको सायदै होला ।’

सोही समयमा रंगकर्मी राजन उप्रेतीले दिएको सल्लाह बमोजिम एक्टर्स स्टुडियो भर्ना भएको उनी सम्झिन्छिन् । भन्छिन्, ‘तिमीमा सम्भावना छ, त्यहाँ गएर भर्ना होऊ भनी सल्लाह दिनुभयो । तेस्रो ब्याजमा भर्ना भएँ ।’

एक्टर्स स्टुडियोको संयोग
सिर्जनाले नायक दयाहाङ राईलाई पहिलोपटक एक्टर्स स्टुडियोमै भेटेकी हुन्‌ । उनीहरू तेस्रो ब्याजका विद्यार्थी थिए । सिर्जनाले प्रोडक्सनको नाटकका लागि कलाकार अभाव हुँदा अवसर पाइन् । सोही नाटकमा काम गरेकाले उनी छात्रवृत्तिमा एक्टर्स स्टुडियोमा पढ्न पाएको बताउँछिन् ।

दयाहाङको ‘कन्सेप्ट’मा तयार भएको विद्यार्थी प्रोडक्सन नाटक ‘माइला डटकम’ ले थिएटरको संगत विस्तार गर्न सहयोग पुगेको उनको बुझाइ छ ।

‘म र रवीन पाण्डेले अभिनय गरेका थियौं । नाटकको कन्सेप्ट चाहिँ कलाकार मनिटरमा देखिने र दर्शकलाई की-बोर्डका रूपमा चित्रण गर्ने थियो,’ उनी थप्छिन्, ‘त्यो नाटक राम्रो भएकाले गुरुकुलमा समेत हामीले देखाउन पायौं ।’

थप दुई विद्यार्थी प्रोडक्सनका नाटक चेरीको बगैँचा र कोरा भन्ने गुरुकुलसँग जोडिएपछि नाटकका साथीहरू बढ्दै गएको उनी सुनाउँछिन् । यही नाटकको आडमा ‘मण्डला’ स्थापना भएको भन्दा पनि फरक नपर्ने उनी तर्क गर्छिन् ।

फिल्म खेल्ने अवसर
नाटकतिरको संगत बढे पनि सिर्जनाको नायिका बन्ने इच्छा पूरा भएको थिएन । संघर्ष जारी नै थियो । यहीबीच उनी नेपाल टेलिभिजनको ‘सुपर एक्टिङ’ प्रतियोगितामा सहभागी भइन्, तर यो कार्यक्रम बीचमै रोकियो ।

कार्यक्रम पूरा नभए पनि उनलाई फाइदा पुग्यो । यही कार्यक्रमबाट ‘आवाज’ फिल्मको मेकरको नजरमा परेकाले उनलाई अडिसनका लागि फोन आयो ।

अडिसनमा पास भएपछि ३० हजार रुपैयाँ पारिश्रमिक लिएर उनले सहायक भूमिकामा काम गरिन्, तर दर्शकको नजरमा भने पर्न सकिनन् ।

‘वास्तविक माओवादीको अभिनय छ भनेर फिल्मको प्रचार भयो । म मंगोलियन भएकाले माओवादी नै सोचेजस्तो छ । लामै भूमिका भए पनि दर्शकले मलाई कलाकारका रूपमा याद गर्नुभएन,’ उनी भन्छिन् ।

यस बेलासम्म काठमाडौंमा एक्लै डेरा गरेर बस्ने भएकाले उनीमाथि पैसा कमाउनु पर्ने दबाब थियो । यही क्रममा स्कुलमा नृत्य प्रशिक्षक भएर समेत काम गरिन् ।

‘एक्लै भएपछि त पैसा नि चाहियो । तीनवटा स्कुलमा जागिर खान्थेँ । तलब राम्रो आउँथ्यो, स्कुटर किन्ने हैसियत बन्यो,’ उनी भन्छिन्, ‘समय मिल्यो भने नाटक गर्ने, सडक नाटक गर्ने, रेडियो नाटक गर्ने सबै गरिन्थ्यो ।’

सडक नाटक र रेडियोबाट त्यसबेला राम्रै आम्दानी भएको उनी बताउँछिन् । भन्छिन्, ‘त्सबेला धेरै पैसा आउने माध्यम नै सडक नाटक थियो ।’

‘लुट’ मा अवसर
चलचित्र ‘लुट’ मा पुतलीको भूमिकामा सिर्जनालाई प्रस्ताव आएको ‘मण्डला’को सुरुवाती क्षणमै हो । तर फिल्ममा अनुबन्ध हुँदा उनको पात्रको नाम थिएन रे । सिर्जनाका अनुसार हाकु (सौगात मल्ल)की श्रीमतीको नामविहीन पात्रमा उनी अनुबन्ध भएकी हुन् ।

‘नयाँ कन्सेप्टमा काम गर्ने निर्देशक आएको छ भनी प्रस्ताव आएको थियो । नामै नभएको पात्र भए पनि काम गरौं न त भन्ने भयो,’ उनी थप्छिन्, ‘पछि सुटिङमा सौगातले पुतली नाम राखिदियो । अलिकति भूमिका पनि बढ्यो ।’

सानो भूमिका भएकाले फिल्म प्रदर्शन हुँदासम्म आफ्नो पात्रको नाम नै बिर्सिएको किस्सा पनि उनीसँग छ । ‘फिल्म हिट भयो । पत्रिकामा समीक्षा आउन लाग्यो ,’ उनी भन्छिन्, ‘समीक्षामा पुतलीको बारेमा पनि लेखेको रहेछ । को रहेछ पुतली भन्ने लाग्यो । पछि हाकुको बुढी भनेर खुलाएको रहेछ । अनि पो ए ! मैले गरेको पात्र पुतलीको पो भन्ने लाग्यो ।’

तर सानो भूमिका भए पनि उनलाई धेरैले सोही फिल्मबाट चिन्छन् । हाकु र पुतलीको किस्साका जोक्सहरू बन्न थालेपछि उनलाई चर्चित बन्न थप सहयोग पुग्यो ।

लुटपछि ‘मण्डला’ नाटकघर स्थापना गर्न दयाहाङ सहितको टिममा उनी पनि जोडिइन् । अहिले पनि उनी संस्थापककै जिम्मेवारीमा छिन् । जुन संस्था सयौं कलाकार उत्पादन गर्न सफल छ ।

केन्द्रीय नायिका बनेको पहिलो फिल्म नै सफल
लुटमा हिट भए पनि उनलाई केन्द्रीय भूमिकामा आउन समय लाग्यो । तर उनी अभिनयबाट टाढा रहेर खाली भने बस्नु परेन ।

नृत्य सिकाउने जागिर, सहायक भूमिकामा फिल्म र बाँकी समयमा उनी नाटकमै व्यस्त रहिन् । जसले उनको अभिनय क्षमता थप निखारिन सहयोग पुग्यो ।

०७३ मा प्रदर्शनमा आएको फिल्म ‘डाइङ क्यान्डल’मा केन्द्रीय भूमिका पाइन् । निर्देशकसँग वैचारिक विभेदले बीचमा काम छोड्ने मनस्थितिमा पुगेकी सिर्जनालाई यही फिल्मले प्रतिष्ठित अवार्ड दिलायो ।

‘छायांकनमको सुरुवाती दिनमा निर्देशकसँग विचार नमिल्दा काममा धेरै दुःख पाएको फिल्म पनि हो । मैले झण्डै काम पनि छोडेको थिएँ । पछि विचार मिल्दै गयो, फिल्म पनि राम्रो भयो,’ उनी भन्छिन्, ‘यो फिल्म धेरैले मन पराउनुभयो । केन्द्रीय नायिका बनेर म धेरै दर्शकमाझ पुग्न पाएँ ।’

उनी यस फिल्मबाट घरेलु दर्शकमाझ मात्रै नभएर विदेशी दर्शकमाझ समेत पुग्न पाइन् । यही फिल्मबाट उनले ‘साउथ एसियन फिल्म फेस्टिभल–२०१८’मा उत्कृष्ट अभिनेतृको अवार्ड जितिन् । साथै, ‘क्विन्स फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट नायिकाको नोमिनेसनमा अटाउन सफल भइन् । स्वदेशी अवार्डहरु राष्ट्रिय फिल्म अवार्ड, कामना फिल्म अवार्ड लगायतमा उत्कष्ट अभिनेतृ घोषित भइन् ।

के गर्दैछिन् अहिलेहाल ?
सिर्जना अहिले एक छोराकी आमा बनिसकेकी छन् । ०७५ देखि उनी विवाह बन्धनमा छिन् । यद्यपी; उनी रंगकर्मबाट टाढिएकी छैनन् ।

फिल्म नहुँदा नाटक, नाटक नहुँदा फिल्म र अभिनय प्रशिक्षण उनको अहिलेको दैनिकी हो । मण्डलाको जिम्मेवारीमा उनी छँदैछिन् ।

उनी अभिनयसँगै कास्टिङ निर्देशकको भूमिकामा पनि देखिन थालेकी छिन् । उनी सो जिम्मेवारी रहेको फिल्म ‘गाउँ आएको बाटो’ दुई दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन सफल भयो । जुन अहिले प्रदर्शनरत छ । यसअघि उनी टेलिसिरियल ‘सिंहदरबार’मा समेत कास्टिङ निर्देशकको जिम्मेवारीमा थिइन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १० : ३४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको